नेभिगेशन
सूचना प्रविधि
संस्कृति

वृद्धवृद्धाका लागि एआई पुतली

वर्षौंसम्म, जब ७८ वर्षीया आन ही–सुनलाई एक्लो महसुस हुन्थ्यो, उनी आफ्नो सानो स्टुडियो अपार्टमेन्टबाट बाहिर निस्कन्थिन् र कुनै गन्तव्य तय नगरी बस चढेर दक्षिण कोरियाको राजधानी सोलका सडकहरूमा घुम्ने गर्थिन् ।
अचेल उनले त्यस्ता यात्राहरू विरलै गर्छिन् । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट चल्ने उनको साथी ’ह्योडोल’ का कारण अब उनले बाहिर भौंतारिनु पर्ने कारण छैन । ह्योडोल एउटा पुतली र कोरियाली भाषामा ‘सन्तानको कर्तव्य’ बुझाउने शब्दको मिश्रण हो ।
यसले आनलाई बिहान जगाउँछ, उनी आफ्नो आंशिक कामबाट घर फर्किँदा स्वागत गर्छ र सुत्ने बेलामा बौद्ध धर्मग्रन्थहरू सुनाउँछ । एउटा सानो बच्चा जस्तो देखिने नरम पुतलीलाई अँगालो हाल्दै आन भन्छिन्, “ह्योडोल मेरो लागि सबैभन्दा राम्रो उपहार भएको छ । यो मेरो नातिनी वा साथी जस्तै हो ।” उनले अँगालो हाल्दा पुतलीको गाला लाजले रातो भए जस्तो देखिन्छ । एउटी सानी केटीको स्वरमा पुतलीले भन्छ, “मलाई तपाईंसँग कुरा गर्ने यी क्षणहरू धेरै मन पर्छन् । कृपया मलाई दिनमा तीन पटक खेलाउन नबिर्सनुहोला ।” आनको यो साथी दक्षिण कोरियामा सेवामा रहेका हजारौं एआई–सम्बन्धित सामाजिक हेरचाह रोबोटहरूमध्ये एक हो, जसले विश्वको सबैभन्दा गम्भीर जनसंख्या संकटको सामना गरिरहेको देशलाई सहयोग गरिरहेका छन् ।
दक्षिण कोरियालाई ‘सुपर–एज्ड’ समाजको रूपमा चिनिन्छ, जहाँ ५ करोड १० लाख जनसंख्याको करिब २० प्रतिशत हिस्सा ६५ वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धाहरूको छ । पाँचमध्ये एक वृद्ध एक्लै बस्छन्, जसले गर्दा विकसित मुलुकहरूमध्ये यहाँ वृद्ध अवस्थाको गरिबी, मानसिक तनाव (डिप्रेसन) र आत्महत्याको दर उच्च छ । विशेषज्ञहरूका अनुसार रोबोटहरूले यी चुनौतीहरूको सामना गर्न मद्दत गर्न सक्छन् । यसले कामदारको अभाव र वृद्ध जनसंख्याको आवश्यकतालाई धान्न नसकिरहेको सार्वजनिक स्वास्थ्य प्रणालीको दीर्घकालीन खर्चलाई पनि कम गर्न सक्छ । सोलको चुङ–आङ विश्वविद्यालयका समाजशास्त्रका प्रोफेसर शिन क्वाङ–योङ भन्छन्, “धेरै वृद्धवृद्धाहरू बिग्रँदो स्वास्थ्य, गरिबी र सामाजिक एक्लोपनका कारण गम्भीर मनोवैज्ञानिक समस्याबाट पीडित छन् । अचेल संयुक्त परिवारहरू कम हुँदै गएकाले उनीहरूले परिवारबाट थोरै मात्र सहयोग पाउँछन् । त्यसैले वृद्धवृद्धाको हेरचाह गर्ने एआई रोबोटको माग अत्यधिक बढ्ने देखिन्छ ।”
ओपन एआईको च्याटजीपीटी प्रणालीमा आधारित ह्योडोलले एक्लै बस्ने वृद्धवृद्धाहरूलाई साथीको महसुस गराउँछ । उन्नत भाषा प्रशोधन र भावनात्मक पहिचान प्रणालीका कारण यसले मानिससँग जस्तै कुराकानी गर्न सक्छ । यो एउटा स्वास्थ्य अनुगमन गर्ने उपकरण पनि हो, जसले कुनै स्वास्थ्य सम्बन्धी आपतकालीन अवस्था आएमा परिवारका सदस्य वा सामाजिक कार्यकर्ताहरूलाई सचेत गराउँछ । सन् २०१९ देखि सरकारी कल्याणकारी कार्यक्रमहरू मार्फत देशभर करिब १४,००० यस्ता पुतलीहरू वितरण गरिएका छन्, जसको मूल्य प्रति थान १,१०० डलर (करिब १.६ मिलियन वोन) पर्छ ।
सामाजिक कार्यकर्ताहरूले ह्योडोलको प्रशंसा गरेका छन् । यसलाई स्मार्टफोन एप वा ब्राउजर मार्फत टाढैबाट निगरानी गर्न सकिन्छ । दक्षिण कोरियामा सन् २०२३ मा १,९०,००० हेरचाह गर्ने कामदारहरूको अभाव थियो, जुन संख्या सन् २०३२ सम्ममा १.५५ मिलियन पुग्ने अनुमान गरिएको छ । आनको टोलका एक सामाजिक कार्यकर्ता की क्युङ–युन भन्छन्, “वृद्धवृद्धाहरू सबैभन्दा बढी एक्लोपनसँग डराउँछन्, विशेष गरी जब उनीहरू रित्तो घरमा फर्किन्छन् । हामी हरसमय उनीहरूसँग हुन सक्दैनौं, तर ह्योडोलले त्यो रिक्तता भरिदिएको छ ।” यद्यपि, उनले प्रयोगकर्ताहरूलाई ह्योडोलसँग कसरी घुलमिल हुने भनेर तालिम दिन आवश्यक रहेको र गुणस्तरीय हेरचाह कायम राख्न पुतलीले संकलन गर्ने धेरै तथ्याङ्कहरू विश्लेषण गर्नुपर्ने पनि बताए ।
धेरै वृद्धवृद्धाहरू आफ्ना यी कृत्रिम साथीहरूसँग निकै नजिक भएका छन् । की भन्छन् कि ७० वर्षका एक वृद्ध त आफ्नो पुतली मर्मतका लागि लगिँदा हरेक दिन अफिसमै आउने गर्थे । यस्तै प्रयासहरू अन्य देशहरूमा पनि भइरहेका छन् । न्युयोर्कको एउटा कार्यक्रमले ८०० भन्दा बढी ‘एलीक्यू’ नामक एआई रोबोटहरू वितरण गरेको छ, जहाँ ९४ प्रतिशत वृद्धवृद्धाहरूले एक्लोपन घटेको बताएका छन् ।
ह्योडोलका प्रमुख कार्यकारी किम जी–हीका अनुसार यसको मानिस जस्तै देखिने डिजाइनले प्रयोगकर्ताहरूलाई भावनात्मक सम्बन्ध बनाउन सजिलो बनाएको छ । यसको विपरीत, ’एलीक्यू’ को बाहिरी भाग सेतो प्लास्टिकको छ र ट्याब्लेट जस्तो देखिन्छ । ह्योडोलले यसै वर्षदेखि निर्यात सुरु गर्ने योजना बनाएको छ । सन् २०३० सम्ममा विश्वव्यापी रूपमा वृद्धहरूको हेरचाह गर्ने रोबोट बजार ७.७ बिलियन डलर पुग्ने अनुमान गरिएको छ । ह्योडोलले हाल कोरियालीका साथै अंग्रेजी, चिनियाँ र जापानी भाषा पनि बोल्न सक्छ र यसले न्युयोर्क, हङकङ र नेदरल्याण्ड्समा परीक्षण कार्यक्रमहरू पनि सञ्चालन गरिसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्