नयाँ सहरमा नयाँ जागिर । सान फ्रान्सिस्को आएकी मारी ल्यान्स्लीले दिन बिताइरहँदा नयाँ साथी र प्रेम सम्बन्ध खोज्ने प्रयास पनि गरिरहेकी थिइन् । उनले डेटिङका लागि गरिरहेको प्रयासमा एआईको सहयोग पनि समावेश छ ।
आजकल एआई च्याटबटहरू धेरै जनाका लागि डेटिङ सल्लाहकार र सम्बन्ध विशेषज्ञजस्तै बन्न थालेका छन् । ३६ वर्षीया ल्यान्स्लीले डेटिङ एपमा कुराकानी सुरु गर्न अप्ठ्यारो लाग्ने भएकाले एआई च्याटबटको सहारा लिने गरेको बताइन् । प्रत्यक्ष भेटमा आफू सहजै कुरा गर्न सक्ने भए पनि डेटिङ एपमा पहिलो सन्देश कसरी पठाउने भन्ने विषयमा उनलाई समस्या हुने गरेको छ । उनी एआईको सम्भावनाप्रति आशावादी छिन्, तर प्रेम र प्रविधिबीचको फरक पनि महसुस गर्छिन् ।
‘एआईले मेरो जीवनको प्रेम भेटाइदियो भने म खुला छु, तर त्यसो हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छैन,’ ल्यान्स्लीले भनिन्, ‘एआईले डेटिङलाई अझ प्रभावकारी बनाउन सक्छ, तर आपसी आकर्षण र भावना भने सधैं मानवीय नै रहनेछ ।’
एआई प्रयोग गर्ने मानिसहरूले प्रेम सम्बन्ध गाँस्न खोज्ने क्रममा यसलाई विभिन्न तरिकाले प्रयोग गरिरहेका छन् । केहीले एआईमा आधारित म्याचमेकिङ सेवाहरू प्रयोग गर्छन् भने केहीले आफ्नो डेटिङ प्रोफाइल बनाउन सहयोग लिन्छन् । तर सबैभन्दा सामान्य प्रयोग भनेको सम्भावित जोडीलाई पठाउने सन्देश तयार गर्न र आफूले पाएका सन्देशको अर्थ बुझ्न च्याटबट प्रयोग गर्नु हो ।
ल्यान्स्ली कहिले ओपनएआईको च्याटजीपीटी त कहिले एन्थ्रोपिकको क्लाउड प्रयोग गर्छिन् । अरू धेरै मानिसहरूले एलन मस्कको एक्ससँग सम्बन्धित ग्रोक, गुगलको जेमिनीलगायतका च्याटबट प्रयोग गरिरहेका छन् ।
डेटिङ एपहरू र एआई कम्पनीहरू पनि यो प्रवृत्तिमा अघि बढिरहेका छन् । च्याटजीपीटी र जेमिनीले टिकटकमा आफ्नो च्याटबटले व्यक्तिगत शैलीमा सम्बन्धसम्बन्धी सल्लाह दिने सामग्रीसमेत सार्वजनिक गरेका छन् । डेटिङ प्रशिक्षक केरी गेनेसले क्लाउडलाई नयाँ सिरानो भनेकी छन् । उनले १९औं शताब्दीको फ्रेन्च नाटक सिरानो डे बर्जेराकको उदाहरण दिँदै यस्तो तुलना गरेकी हुन्, जहाँ मुख्य पात्र सिरानोले अर्को पुरुषलाई प्रेमपत्र र प्रेमका शब्दहरू लेख्न सहयोग गर्छ ।
‘तपाईंले आफ्नै नभएको आवाज प्रयोग गरिरहनुभएको हुन्छ,’ गेनेसले भनिन् । उनका अनुसार उनका ग्राहकहरू र उनको युट्युब च्यानल ‘कफी विथ केरी’ हेर्ने मानिसहरूमध्ये सबै उमेर समूहका व्यक्तिहरूले डेटिङका लागि एआई प्रयोग गरिरहेको बताएका छन् । उनी एआई उपयोगी हुन सक्ने स्वीकार गर्छिन्, तर यसको अत्यधिक निर्भरताबारे चिन्ता पनि व्यक्त गर्छिन् ।
प्रेम र सम्बन्धमा एआईको भूमिकाबारे मानिसहरूको धारणा निकै फरक छ । कसैलाई यसको सम्भावनाले उत्साहित बनाएको छ भने केही मानिस यसप्रति शंकालु छन् । एआईले पहिलो सन्देश लेख्ने, सम्बन्धबारे सुझाव दिने र म्याच बनाउन सहयोग गर्ने काम गरिरहेको छ ।
ल्यान्स्लीले च्याटबटहरूले कहिलेकाहीँ भावनात्मक समझदारी देखाएजस्तो लाग्दा आफू अचम्मित भएको बताइन् । एआई म्याचमेकर एप ‘नोन’ मा सुरुको कुराकानी गर्दा उनलाई सोधिएका प्रश्नहरू सामान्य डेटिङ एपका प्रश्नभन्दा ‘एक–दुई तह गहिरा’ लागेको उनले बताइन् । उनलाई एआईले सहानुभूति देखाउन खोजेजस्तो महसुस भयो ।
तर यसले सधैं राम्रो परिणाम दिन्छ भन्ने छैन । उनको पहिलो एआईमार्फत मिलाइएको जोडी नै उपयुक्त रहेन ।
लस एन्जलसका २५ वर्षीय विद्यार्थी मेसन नाउङले आफू सन्देश लेख्न एआई प्रयोग नगर्ने बताए, तर सुरुवाती कुराकानीका लागि आइसब्रेकर अर्थात् पहिलो कुरा सुरु गर्ने वाक्य बनाउन यसले सहयोग गर्न सक्ने उनको धारणा छ ।
‘म एक–दुई वर्षदेखि कहिलेकाहीँ हिन्ज चलाइरहेको छु । कहिलेकाहीँ कुनै केटीसँग कसरी पहिलो कुरा सुरु गर्ने भन्ने सोच्न गाह्रो हुन्छ,’ उनले भने ।
तर यदि सुरुवाती सन्देशभन्दा अगाडि पनि लगातार एआईले लेखेको कुरा प्रयोग गरियो भने त्यो आफ्नो लागि सानो चेतावनी संकेत हुने उनले बताए ।
जसरी च्याटबटले कुराकानी सुरु गर्न सहयोग गर्छ, त्यसरी नै सम्बन्ध अन्त्य गर्न पनि सहयोग गर्न सक्छ ।
सान डिएगोकी २७ वर्षीया व्यवसायी डानी कोहेनले केही डेटपछि कसैले एआईले तयार पारेको बिदाइ सन्देश पठाए पनि आफू त्यसलाई सम्बन्धविहीन भएर हराउनु भन्दा राम्रो मान्ने बताइन् । ‘आदर्श संसारमा सबैलाई आफूले के भन्न चाहन्छु र कसरी दयालु तरिकाले भन्नुपर्छ भन्ने थाहा हुन्थ्यो र उनीहरूले त्यसै गर्थे । तर हामी त्यस्तो संसारमा बाँचिरहेका छैनौँ,’ उनले भनिन्, ‘मानिसहरूलाई कुराकानी गर्न, आफ्ना भावना दयालु र प्रभावकारी तरिकाले व्यक्त गर्न मद्दत गर्ने कुनै पनि कुरा राम्रो हो ।’
तर धेरै मानिस अझै पनि प्रेम जीवन नै एआईलाई जिम्मा लगाउने विषयमा असहमत छन् । एपीसँग कुरा गरेका धेरैले एआई प्रयोग गर्नेहरू समेत, जीवनका अत्यन्त व्यक्तिगत पक्षमा प्रविधिको प्रयोगबारे केही सीमाहरू हुनुपर्ने बताएका छन् ।
२२ वर्षीया लस एन्जलसकी विद्यार्थी क्लारा सुलिभानले आफूलाई कसैले एआईले लेखेको सन्देश पठाएको थाहा पाएमा त्यस्तो व्यक्तिलाई जवाफ नै नदिने बताइन् ।
‘मानिसहरू यसमा कति धेरै निर्भर भइरहेका छन् भन्ने कुरा निकै डर लाग्दो छ,’ उनले भनिन्, ‘यसले मानिसहरूको आफ्नै सिर्जनात्मक सोच्ने क्षमता नै हटाइरहेको जस्तो लाग्छ ।’
धेरै मानिसको धारणा यस्तै छ। सन् २०२५ मा प्यु रिसर्च सेन्टरले गरेको सर्वेक्षणअनुसार अमेरिकाका ५३ प्रतिशत वयस्कले एआईले मानिसहरूको सिर्जनात्मक क्षमता कमजोर बनाउने बताएका थिए । आधा सहभागीले एआईले अर्थपूर्ण सम्बन्ध बनाउन पनि असर पार्न सक्ने बताएका थिए ।
तर ठूलो आम्दानी हुने डेटिङ उद्योगमा एआई मिसिनु सम्भवतः रोक्न नसकिने अवस्था थियो । धेरै डेटिङ एपहरूले केही वर्षदेखि नै एआई समावेश गर्दै आएका छन् ।
टिन्डरले प्रयोगकर्ताको रुचिअनुसार प्रोफाइल सुझाव दिने एआई सुविधा ल्याएको छ। हिन्जले प्रोफाइल बनाउन र कुराकानी सहज बनाउन एआईबाट सुरुका प्रश्न तथा सुझाव दिने सुविधा प्रयोग गरिरहेको छ । बम्बलका संस्थापकले पनि एपले चर्चित ‘स्वाइप’ प्रणाली हटाएर एआईमा आधारित म्याचमेकिङतर्फ जाने योजना रहेको बताएका छन् ।
यस निर्णयमा केही आलोचना भएपछि बम्बलका प्रमुख कार्यकारी तथा संस्थापक ह्विट्नी वुल्फ हर्डले प्रविधिले प्रेम र सम्बन्धलाई कम मानवीय होइन, अझ बढी मानवीय बनाउन सहयोग गर्नुपर्ने बताएकी थिइन् ।
तर केही चाहिँ एआईको भूमिकामा सम्झौता देख्छन् । २३ वर्षीय मोहम्मद निजामीले आफ्नो जीवनका अन्य क्षेत्रमा एआई प्रयोग गरे पनि डेटिङमा भने प्रयोग नगर्ने बताए । ‘हामी सबै कुनै न कुनै स्तरको वास्तविक सम्बन्ध खोजिरहेका हुन्छौँ। विशेषगरी जीवनसाथीसँग त्यस्तो चाहना हुन्छ,’ उनले भने, ‘यदि तपाईं र तपाईंको सम्भावित साथीबीच कुनै फिल्टर वा अवरोध छ भने, सम्बन्ध सुरु गर्ने राम्रो तरिका होइन ।’
निजामीका अनुसार च्याटबटले दिने सुझाव सधैं सही नहुन सक्छ । धेरै च्याटबटहरू प्रयोगकर्तालाई खुसी पार्ने खालका उत्तर दिन खोज्ने भएकाले ती मानसिक रूपमा सहज लागे पनि राम्रो सल्लाह नहुन सक्छन् ।
एआईले आधुनिक डेटिङ जीवनमा अझ ठूलो भूमिका खेल्ने सम्भावना छ, मानिसहरूमा जति नै शंका भए पनि । ‘यो संसारको अवस्थाबारे केही दुःखलाग्दो टिप्पणी जस्तो लाग्छ । डेटिङ त त्यस्तो कुरा हो जुन बदल्न नसकिने हुनुपर्ने होइन र ?,’ न्युयोर्कका ३० वर्षीय सामग्री निर्माता ज्याक क्लेले भने, ‘जीवन यात्राको यति महŒवपूर्ण पक्ष यस्तो एआईलाई जिम्मा लगाइँदैछ, जसले त्यससँग जोडिएका भावनाहरू बुझ्न सक्दैन भन्ने सोच्दा अलि दुःख लाग्छ ।’
अहिले साथीहरूले सम्भावित जोडीले पठाएको सन्देशको अर्थ बुझ्न उनलाई सोध्ने क्रम घटेको छ, किनकि उनीहरू अब च्याटबटको सहारा लिन थालेको पाइएको उनले बताए ।
उनले एआईले यो बोझ हल्का बनाएकोमा खुशी पनि व्यक्त गरे, तर यसलाई उनी एउटा विरोधाभासपूर्ण अवस्था मान्छन् । ‘यसले समस्या सजिलो बनाइरहेको छ, तर साथसाथै जीवनका केही सामान्य र पवित्र प्रक्रियाहरूलाई मानिसहरूले आफैं अनुभव गर्नुपर्ने ठाउँमा एआई प्रयोग भइरहेको छ,’ उनले भने ।