नेपाली समाज तुलनात्मक रूपमा शान्तिप्रेमी समाज हो । हिंसा यसको चरित्र होइन । तर पनि यदाकदा अनपेक्षित घटनाक्रमले दुःखद् परिणतिहरू ल्याउने गरेका छन् । जेनजी विद्रोहपछि देश अहिले संवेदनशील क्षणबाट गुज्रिरहेको छ । एकातिर जेनजी पुस्ताका युवाहरूको शाहदतको पीडा छ भने अर्कोतिर देशमा भएको आगजनी र क्षतिको चोट छ । विरलै आइपर्ने यस्ता क्षणहरूबाट अघि बढ्ने एउटै उपाय भनेको धैर्य र संयमता हो ।
अहिले देश सरकारविहीन अवस्थामा छ । यद्यपि संविधानतः कामचलाउ सरकार अर्थात प्रधानमन्त्री छन् तर भूमिगत । कर्मचारीतन्त्र सेना प्रहरी राष्ट्रपतिबाट परिचालित भएको अनुमान गर्न सकिन्छ । संवैधानिक प्रावधान हेर्ने हो भने राष्ट्रपति शासन पनि घोषणा गरिएको छैन । सरकार तत्काल बन्ने अबस्था पनि छैन । देशमा नयाँ सरकार निर्माणको लागि प्रयास हुँदै गर्दा आशाका ठाउँ हुँदाहुँदै पनि जेनजी बीचको वार्ता टुंगोमा नपुग्दा भने अन्यौलको वातावरण मडारिएको छ । अहिले जेनजीका आधिकारिक प्रतिनिधिहरू वर्तामा बस्न आउन नसकेको अवस्थामा उनीहरूलाई मार्गदर्शन र परामर्शको खाँचो परेको पनि देखिन गएको छ ।
एउटा संगठित संयन्त्रभन्दा पनि असंगठित सन्तुष्ट युवापुस्ताले आफ्नो असन्तुष्टिमार्फत देशलाई नयाँ राजनीतिक मोडमा ल्याइपुर्याएका छन् । बेथितिविरुद्धको उनीहरूको प्रतिरोधले आखिरमा सारा नेपालीको भ्रष्टाचार, नातावाद, कृपावाद र विचौलियाविरुद्धको आवाज बोलेका हुन् । अब त्यो मागलाई नयाँ बन्ने सरकारले मार्गप्रशस्त गर्नुपर्नेछ । तर सरकार बन्ने क्रममा भएको अलमलले कतै हामीलाई राष्ट्रहित विपरीतको अवस्थामा धकेल्ने हो कि भन्ने शंका पनि जायज छ । तर जेनजीका प्रतिनिधिहरूले आफूहरू संविधानतः अघि बढ्ने प्रतिबद्धता जनाएको हुँदा अब प्रदत्त अधिकारहरूको उपयोग गर्दै अघि बढ्नुपर्ने देखिन्छ ।
अहिले संविधानतः सरकार नभएको अवस्था हो, संसद् भने अस्तित्वमै रहेको अवस्था हो । संसद् नभएको अवस्थामा पनि नवनिर्वाचित संसद्ले विस्थापित नगर्दासम्म सभामुखले जनप्रतिनिधिको संस्थाको अस्तित्वलाई प्रतिनिधित्व गर्ने विधान छ । विधानतः संसद्बाटै नयाँ सरकार बन्नुपर्ने वैधानिक बाटो देखिन्छ । तर संविधान लगभग लिगबाट बाहिरिइसकेको प्रतीत हुन्छ । इतिहासमा कहिलेकाहिँ राजनीतिक आवश्यकताको सिद्धान्तबाट पनि अघि बढ्नुपर्ने हुन्छ । त्यसो हुनको लागि पनि सर्वपक्षीय प्रतिनिधित्वबाट सबै राष्ट्रिय सहमति खोज्नुको विकल्प छैन ।
यदि हामी अनिर्णयको बन्दी बनेर रहिरह्यौं भने हामीलाई भूराजनीतिक अवस्थाले पनि दबाबमा पार्न सक्छ । किनभने नेपालमा लम्बिने राजनीतिक अस्थिरताले दुई ठूला छिमेकलाई पनि आकर्षित गर्न सक्छन् । उनीहरूले आफ्नो बचाउको लागि चाल्ने कदमले पनि हामीलाई दीर्घकालीन असर गर्न सक्छ भन्नेमा हामी सचेत हुनुपर्ने देखिन्छ । र, यसै पनि हाम्रो राजनीतिक प्रवाहले कहिले कता कहिले कताबाट प्रभावित भइरहेको हुँदा अबको दिनमा राष्ट्रहितलाई केन्द्रमा राखेर अघि बढ्नुको विकल्प छैन ।
अहिले यो विद्रोहले राखेको माग भ्रष्टाचार र बेथितीमुक्त नेपाली समाजको निर्माण हो । दलहरूको अकर्मण्यता र दलवादको अतिवादले थिलथिलो भएको समाजमा सदाचारयुक्त देशको निर्माणका लागि उठेको यो आवाजलाई मर्नु दिनु हुँदैन । मार्गप्रशस्त गर्न ढिलाइ हुँदै गर्दा केही दलहरूले आफ्ना अजेण्डालाई लाद्ने प्रयास भइरहेको देखिएको छ । त्यसमा सचेत हुँदै आन्दोलन र समयको मागमा सम्झौता हुनुहुँदैन ।
प्रतिनिधित्वमार्फत प्रजातान्त्रिक अभ्यासलाई अघि बढाउने लोकतान्त्रिक समाजमा दलको आफ्नो स्थान बनाउने सक्ने अवस्था जहिले पनि हुन्छ । अहिले पनि नेपालको संसद् र संसद् बाहिरका दलले संविधान प्रदत्त अधिकार उपभोग गर्दै संगठित हुने अवसर पाएका छन् । जेनजी विद्रोहले परम्परागत दलका भ्रष्ट आचरणलाई प्रहार गरेका हुन् । अब परम्परागत दलको कार्यशैलीमा व्यापक परिवर्तन देखिनुपर्छ ।
त्यसको पहिलो कदमका रूपमा युवा नेतृत्वमा नेतृत्व हस्तान्तरण गर्नु पर्नेछ । त्यो युवा नेतृत्वले जनेजीको भावना र संवेदनाअनुरुप राजनीतिक आचरणलाई सम्बोधन गर्नुपर्ने हुन्छ । तसर्थ, अहिलेको खाँचो यो वा त्यो प्रधानमन्त्री भनेर नाम तोक्ने भन्दा पनि सर्वपक्षीय सहमतिका लागि गोलमेच सम्मेलन आजको खाँचो हो । आज हामीले साध्य र साधन छुट्याएर अघि बढ्न सके मात्रै हामी बलियो बन्न सक्छौ ।