अहिले विश्वको जनसंख्या ८ अर्ब २३ करोड १९ लाख ७० हजार ६ सय २८ छ । संसारको जन्मदर प्रतिवर्ष ०.८४ रहेको छ । झट्ट हेर्दा संसार मानिसले भरिएको हो कि भन्ने लाग्न सक्छ । शायद यही कारणले ‘द पपुलेशन बम’ नामक पुस्तक १९६८ मा प्रकाशित हुँदा जीवविज्ञानी पल एरलिचको जनसंख्याकै कारण भोकमरी आउने बताएका थिए ।
उनले भनेका थिए, ‘मानिसहरू यति छिटो बच्चा जन्माइरहेका छन् कि त्यसले ठूलो भोकमरी ल्याउनेछ र ‘करोडौं’ मानिस भोकमरीले मर्नेछन्’ भन्ने भविष्यवाणी गरेका थिए । त्यसैले उनले जन्मदर नियन्त्रण गर्नुपर्ने र त्यसका लागि औषधीको प्रयोग हुनुपर्ने माग गरेका थिए । उनको भनाइ थियो, स्वेच्छाले जन्मदर नियन्त्रण गर्ने उपाय असफल हुन्छन् । त्यसैले सबैलाई जबरजस्ती नियन्त्रण गर्नुपर्छ भन्ने उनको धारणा थियो ।
अहिले पनि धेरै मानिसहरू जनसंख्या विष्फोटको बारेमा चिन्तित छन् तर उदेकलाग्दो कुरा चाहिँ धनी देशहरूमा जनसंख्या दर घट्दो अवस्थामा छ । केही मानिसहरू यो घट्दो जन्मदरप्रति यति चिन्तित छन् कि यसले सभ्यताकै अन्त्य हुने डर देखाइरहेका छन् । तीमध्ये इलनमस्क पनि एक हुन् ।
मानिसको संख्या बढ्दै गइरहेको भए पनि महिलाले जीवनभरमा पाउने औसत बच्चा (प्रजनन दर) लगातार घटिरहेको छ । यो धनी देशहरूमा मात्र होइन, विश्वका दुई तिहाई जनसंख्या बस्ने अति कम विकसित देशहरूमा पनि देखिएको छ । उदाहरणका लागि कोलम्बियाजस्तो दक्षिण अमेरिकी देशमा जन्मदर २.१ भन्दा कम छ ।
संयुक्त राष्ट्रसंघको अनुमान अनुसार विश्व जनसंख्या २०८४ मा १०.३ अर्ब पुग्नेछ तर यो अनुमानमा प्रयोग गरिएका आधारहरू अनिश्चित छन् । केही विश्लेषकहरू भने कम प्रजनन दर भएका देशहरूको जनसंख्या पुनः बढ्ने र उच्चदर भएका देशहरूमा क्रमशः घट्दै जाने कुरामा विश्वस्त छन् ।
तर यो आकलन गलत भयो भने, जनसंख्या शिखर सोचेभन्दा चाँडो आइपुग्ने केहीको दाबी छ । हालका प्रवृत्तिहरू अझै १५ वर्ष निरन्तर रहिरह्यो भने विश्वको जनसंख्या २०६५ मा ९.६ अर्ब पुगेर २१०० सम्म ८.९ अर्बमा झर्ने बताइएको छ ।
जब जनसंख्याको शिखर आइपुग्छ, त्यो बेला प्रजनन दर घट्दा जनसंख्या पहिले बिस्तारै घट्नेछ । त्यसपछि छिट्टै अघिल्लो घातांकीय (एक्सपोनेन्सियल) वृद्धिको उल्टो हुन पुग्छ । यही कुरा धेरैका लागि डरमर्दो अवस्था लागिरहेको छ ।
यो डरका दुई प्रकार छन् । पहिलो, आर्थिक डर छ । कम जनसंख्या हुनु भनेको कम उपभोक्ता हुनु हो । कम उपभोक्ता हुनेबित्तिकै नवप्रवर्तन ढिलो हुन थाल्छ । यदि एक हजार जना मानिस मात्र बस्ने शहर छ भने त्यहाँ विशेष खाना वा विभिन्न नयाँ र विलासी कुरा पाउन गाह्रो हुन्छ । जनसंख्या छिटो घट्दा अर्थतन्त्र अस्थिर हुन पुग्न भने ऋण तिर्न गाह्रो हुन्छ । शहरहरू चाँडै खाली हुन थाल्छन् ।
दोस्रो चाहिँ सांस्कृतिक डर हो । धेरै समाजमा प्रजनन दरलाई राष्ट्रिय अस्तित्वसँग पनि जोडेर हेर्ने गरिन्छ । यदि बच्चा नजन्मिन छाडे भने संस्कृति वा जात हराउने डर हुन्छ । यही कारणले धनी देशहरूले आप्रवासी ल्याएर भए पनि जनसंख्या बढाउन खोजिरहेका छन् । डोनाल्ड ट्रम्पले पनि अमेरिकाभित्रै जन्मदर बढाउने नयाँ नयाँ नीतिहरू ल्याउने वाचा गरेका छन् ।
तर आशावादी कारणहरू पनि छन् । कृत्रिम बुद्धिमत्ताले प्रगति गर्दैछ । यसो हुनाले जनसंख्या घटे पनि उत्पादनशीलता बढाउन सकिन्छ । नयाँ नयाँ प्रविधिले समस्या समाधान गर्न सक्छन् । अर्को आशावादी कुरा चाहिँ, मानिस लामो समयसम्म सक्रिय हुन थालेका छन् ।
उदाहरणका लागि, सन् २०२२ मा ७० वर्षीय व्यक्तिको मानसिक क्षमता सन् २००० ताका ५३ वर्षीय बराबर थियो । मानिसहरू लामो समय काम गर्न सक्छन् भने, श्रमशक्ति कम भए पनि यसको असर उति धेरै नपर्ने देखिएको छ ।
मानव पूँजी नष्ट नहोस् भनेर समाजले अझ दक्ष हुन बनाउनेतर्फ भूमिका खेल्न सक्छ । उदाहरणका लागि बालबालिका पढाउने, महिलालाई काममा ल्याउने र युवाजनशक्तिलाई रोजगार दिने । जापानमा झन्डै दुई दशकदेखि जनसंख्या घटेको भए पनि जीवनस्तर अझै उन्नत छ ।
राष्ट्रवादीहरूले विश्वको जनसंख्या संरचना बदलिँदै गरेको तर्क गरिरहेका छन् । चीनको जनसंख्या २१०० भन्दा अघि आधा हुने, भारतमा जनसंख्या स्थिर रहला तर युरोप र अमेरिका आप्रवासनमा भर पर्ने देखिन्छ । अफ्रिकामा अझ बढ्नेछ, तर त्यहाँ पनि जन्मदर घट्दैछ । जनसंख्या बढोस् भन्ने चाहना राख्ने देश तथा नेताले सन्तान जन्माउन प्रोत्साहन गर्छन् ।
त्यसका लागि ठूलो धनराशि खर्च गर्छन् । तर प्रायः असफल हुन्छन् । उदाहरणका लागि, हंगेरीले ६ प्रतिशत जीडीपी खर्च गरे पनि अझै जन्मदर घटिरहेको देखिएको छ । यस्तो प्रोत्साहनले चाँडै सन्तान जन्माउने कुरामा जनताको चासो बढाए पनि समग्र संख्या बढाउँदैन भन्ने देखिएको छ ।
जनसंख्या घट्दा समाजले आर्थिक र सामाजिक समायोजन गर्नुपर्ने हुन्छ । वृद्ध मानिस धेरै हुनेछन् र उनीहरूलाई सेवा तथा समर्थन गर्ने युवाहरू कम हुनेछन् । तर प्रविधि र जीवनशैलीले ल्याउने परिवर्तनले सहयोग गर्न सक्छ भन्ने पनि देखिदैछ ।
पृथ्वीले घट्दो जनसंख्या अनुसार अनुकूलन पनि गर्न सक्छ । जनसंख्या संकटका बारेमा डरलाग्दा भविष्यवाणीहरू सधैंँ सही हुँदैन । भविष्यमा प्रविधि र परिवार संरचनाले फेरि पनि रुप बदल्न पनि सक्छ । अहिलेका लागि भने डराइहाल्नु पर्ने अवस्था नरहेको विश्वको जनसंख्यामा चासो दिने वैज्ञानिकहरूले बताएको द इकोनमिस्ट पत्रिकाले हालैको अंकमा लेखेको छ ।