नेभिगेशन
अर्थतन्त्र
२४ खर्बको कीर्तिमानी वैदेशिक व्यापार

१७ खर्ब ८१ अर्बको व्यापार घाटा

काठमाडौं । नेपालको वैदेशिक व्यापारको इतिहासमा नयाँ रेकर्ड कायम भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२-८३ को वार्षिक तथ्यांकअनुसार नेपालको कुल वैदेशिक व्यापारको आकार पहिलो पटक २४ खर्ब रुपैयाँको विन्दुलाई पार गरेको छ । 
२४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख ४५ हजार रुपैयाँको वैदेशिक व्यापार हुँदा व्यापार घाटा पनि उच्च रुपमा वढेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८२÷८३ मा व्यापार घाटा १७ खर्ब ८१ अर्ब रुपैयाँ भएको छ । अघिल्लो आर्थिक वर्षमा २० खर्ब ८१ अर्बको वैदेशिक व्यापार हुँदा १५ खर्ब २७ अर्बको व्यापार घाटा भएको थियो । 
तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२÷८३ मा नेपालको कुल वैदेशिक व्यापारको आकार अघिल्लो वर्षको तुलनामा १५.८८ प्रतिशतले बढेको छ । एक वर्षको अवधिमा व्यापारको आकारमा साढे तीन खर्ब रुपैयाँभन्दा बढीको वृद्धि देखिएको छ । भन्सार विभागका निर्देशक किशोर बर्तौलाका अनुसार यो नेपालको व्यापारिक इतिहासमै हालसम्मकै उच्च हो ।
विभागको तथ्यांकअनुसार नेपालको कुल आयात १६.२० प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख ७० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
गत आर्थिक वर्षको अन्तिम चार महिना अर्थात् चैतदेखि असारसम्म लगातार प्रत्येक महिना २ खर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको तथ्यांक रहेको छ ।  असार महिनामा मात्रै २ खर्ब २ अर्ब २८ करोडको वस्तु भित्रिएको थियो । गत वर्षको साउनमा १ खर्ब ४३ अर्बबाट सुरु भएको आयात उकालो लाग्दै माघसम्म पुग्दा १ खर्ब ८४ अर्बसम्म पुगेको थियो ।
आयातमा छलाङ मार्दा निर्याततर्फ भने केही सुधारका संकेत मात्र देखिएका छन् । आर्थिक वर्ष २०८२÷८३ मा नेपालको निर्यात १३.८१ प्रतिशतले बढेर ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष निर्यात २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँमा सीमित थियो ।
निर्यातमा करिब ३८ अर्ब रुपैयाँको वृद्धि भए तापनि आयातको वृद्धिदरको तुलनामा निर्यातको वृद्धिदर कमजोर रहेको छ ।
वैदेशिक व्यापार बढ्दा नेपालको अर्थतन्त्रका लागि सबैभन्दा गम्भीर चुनौतीको रुपमा १७ खर्ब ८१ अर्ब ८ करोड ८५ लाख ९६ हजार रुपैयाँको व्यापार घाटा देखिएको छ ।  अघिल्लो वर्षको तुलनामा व्यापार घाटा १६ दशमलव ६३ प्रतिशतले बढेको छ । 
एकै वर्षमा व्यापार घाटामा साढे दुई खर्ब रुपैयाँभन्दा बढीको वृद्धि हुनुले देशबाट विदेशी मुद्रा बाहिरिने क्रम तीव्र भएको स्पष्ट भएको छ । यसले दीर्घकालीन रूपमा विदेशी विनिमय सञ्चितिमा नराम्रो असर पार्न सक्छ । यद्यपि रेमिट्यान्स आप्रवाहले भने वैदेशिक मुद्रा हालसम्म सञ्चित गरिरहेको छ । 
आयात र निर्यातको अनुपात पनि अघिल्लो वर्षको ६.५१ प्रतिशतबाट बढेर ६.६५ प्रतिशत पुगेको छ । यसको अर्थ, नेपालले १ रुपैयाँको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको वस्तु आयात गरिरहेको छ  । कुल व्यापारमा निर्यातको हिस्सा घटेर १३.०७ प्रतिशतमा सीमित भएको छ भने आयातको हिस्सा बढेर ८६.९३ प्रतिशत पुगेको छ ।
नेपालले विश्वका १६० भन्दा बढी देशसँग व्यापार गरे पनि १३४ वटा देशसँग व्यापार घाटा व्यहोरि रहेको छ । भन्सार विभागका अनुसार जम्मा २८ वटा देशसँग मात्र व्यापार नाफा रहेको छ । 
नेपालको सबैभन्दा ठुलो व्यापार साझेदार भारतसँगको व्यापार घाटा सबैभन्दा उच्च छ । भारतबाट मात्रै १२ खर्ब १० अर्ब रुपैयाँको आयात भएको छ भने निर्यात जम्मा २ खर्ब ५८ अर्ब रुपैयाँमा सीमित छ । भारतसँग मात्रै नेपालको व्यापार घाटा ९ खर्ब ५१ अर्ब रुपैयाँ छ, जुन कुल व्यापार घाटाको आधाभन्दा बढी हो । 
त्यस्तै दोस्रो ठुलो घाटा चीनसँग छ । चीनबाट ४ खर्ब २५ अर्बको आयात हुँदा निर्यात अत्यन्तै दयनीय अर्थात् जम्मा १ अर्ब ८९ करोड रुपैयाँको मात्र छ । चीनसँग नेपालले ४ खर्ब २३ अर्बको व्यापार घाटा व्यहोरेको छ । 
भौगोलिक रूपमा टाढा भए पनि १ खर्ब १६ अर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा अर्जेन्टिनासँग छ । अर्जेन्टिनासँग व्यापार घाटा हुनुको प्रमुख कारण कच्चा भटमासको तेलको आयात हो । अर्जेन्टिनामा नेपालको निर्यात जम्मा १८ हजार रुपैयाँ मात्र रहेको छ  । 
यसैंगरी संयुक्त अरब इमिरेट्ससँग ५० अर्ब ३२ करोड, इन्डोनेसियासँग २१ अर्ब ९२ करोड, र थाइल्याण्डसँग १८ अर्ब ३२ करोड बराबरको व्यापार घाटा रहेको छ ।
नेपालले थोरै संख्याका देशहरूसँग मात्र व्यापार नाफा कमाउन सफल भएको छ । सबैभन्दा धेरै व्यापार नाफा डेनमार्कसँग ८० करोड ४५ लाख रुपैयाँ रहेको छ  । त्यसैगरी नर्वेसँग ८ करोड ८० लाख, रोमानियासँग ४ करोड २२ लाख र आइसल्याण्डसँग २ करोड ६० लाख रुपैयाँ नाफा भएको छ । ग्रेनाडा, फिजी, बहामास, बर्बाडोस, सिरियन अरब रिपब्लिक जस्ता देशहरूबाट १ रुपैयाँको पनि आयात नगरी केही निर्यात गरेर नेपाल नाफामा रहेको छ ।

आयाततर्फ पेट्रोलियम पदार्थको दबदबा कायम 
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थमा मात्रै ३ खर्ब ८६ अर्ब रुपैयाँ भन्दा बढी बाहिरिएको छ, जसमा डिजेलको मात्र हिस्सा १ खर्ब ७२ अर्ब छ ।
यसैगरी १ खर्ब ७९ अर्ब रुपैयाँको कच्चा तेल र बोसो आयात भएको छ । यसलाई प्रशोधन गरेर पुनः निर्यात गर्ने गरिन्छ । 
तथ्यांकअनुसार १ खर्ब ५६ अर्बको मेसिनरी र १ खर्ब ४१ अर्ब ९५ करोडको फलाम÷स्टिल भित्रिएको छ ।
कृषिप्रधान देश भए पनि ६४ अर्ब ६७ करोडको खाद्यान्न भित्रिएको पाइएको छ । ५९ अर्ब ६६ करोडको अन्न र ५० अर्बको रासायनिक मल आयात भएको हो । निर्याततर्फ प्रशोधित तेलको मुख्य भूमिका छ ।
१ खर्ब ४८ अर्ब ९७ करोडको  तेल निर्यात भएको छ, जसमा सोयाबिन तेलको मात्रै हिस्सा १ खर्ब २८ अर्ब छ  । यो कच्चा पदार्थ तेस्रो मुलुकबाट ल्याई प्रशोधन गरेर भारत पठाइन्छ ।
अलैंची निर्यातमा राम्रो सुधार देखिएको छ । अघिल्लो वर्ष ७ अर्ब ६८ करोडको निर्यात भएकोमा गत वर्ष १२ अर्ब ६४ करोडको अलैंची निर्यात भएको छ । चिया, कफी र मसलाहरू दोस्रो स्थानमा रही १८ अर्ब ७५ करोडको निर्यात भएको छ ।  परम्परागत गलैंचा ११ अर्ब ७९ करोड र तयारी पोसाक ८ अर्ब ७३ करोड रुपैयाँ को निर्यात भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्