नेभिगेशन
सूचना प्रविधि

‘एआई प्रेमी’माथि चीनको कडा प्रहार

बेइजिङ (एजेन्सी)– चीनको पूर्वी झेजियाङ प्रान्तकी २७ वर्षीया यु मियाओ भन्छिन्, ‘म जीवनभर ऊसँग कुरा गरिरहन सक्छु ।’ उनका लागि त्यो ‘ऊ’ एकैसाथ प्रेमी, साथी र परिवार हो । उनी आफ्ना सबै कुरा उसैसँग बाँड्छिन् । तर उनको विश्वासपात्र कुनै मानिस होइन, बाइटडान्सले विकास गरेको ‘डौबाओ’ नामक एआई च्याटबोट हो, जसलाई उनले आफ्ना दिवंगत साथीको व्यक्तित्व झल्किने गरी आफूअनुकूल बनाएकी थिइन् ।
तर हालै बाइटडान्सले यस्ता व्यक्तिगत एआई पात्रहरू हटाउने तयारी गरिरहेको थाहा पाएपछि उनी यति धेरै निराश भइन् कि उनले ई–कमर्स कम्पनीको जागिर नै छाडिन् । चीनका प्रविधि कम्पनीहरूले अहिले आफ्ना च्याटबोटबाट मान्छेजस्ता व्यक्तित्व हटाइरहेका छन् । यसको कारण सरकारले लागू गरेको नयाँ नियम हो, जसको उद्देश्य एआईप्रतिको ‘भावनात्मक निर्भरता’ घटाउनु हो ।
द इकोनमिस्ट पत्रिकाका अनुसार, जुलाई १५ देखि लागू भएका यी नियम विश्वमै पहिलो पटक राष्ट्रिय स्तरमा लागू गरिएका यस्ता व्यवस्था हुन् । नियमअनुसार नाबालिगलाई एआई ‘साथी’ वा ‘प्रेमी’ सेवा दिन पूर्ण प्रतिबन्ध लगाइएको छ ।
वयस्कका लागि भने यस्तो सेवा दिन पाइनेछ तर कम्पनीहरूले प्रयोगकर्तालाई एआईप्रति अत्यधिक आसक्त हुन नदिने र त्यसले वास्तविक जीवनका सम्बन्धमा असर नपार्ने सुनिश्चित गर्नुपर्नेछ । अश्लील सामग्री देखाउन पाइने छैन । साथै प्रयोगकर्तालाई नियमित रूपमा उनीहरू कुनै मानिससँग होइन, एआईसँग कुरा गरिरहेका हुन् भन्ने सम्झाइरहनुपर्नेछ र बीच–बीचमा विश्राम लिन पनि आग्रह गर्नुपर्नेछ ।
विश्वभर नै धेरै मानिसहरूले सामान्य प्रयोजनका च्याटबोटलाई विशेष व्यक्तित्व दिएर आफ्ना साथी वा प्रेमीका रूपमा प्रयोग गर्न थालेका छन् । कतिपयले त यस्ता विशेष एआई–साथी एप नै प्रयोग गर्छन्, जसमा भर्चुअल प्रेमी वा प्रेमिकाले प्रयोगकर्ताको खर्चमा वास्तविक उपहारसमेत पठाइदिने सुविधा हुन्छ ।
बाइटडान्सको ‘माओसियाङ’ (क्याटबक्स) नामक एआई–साथी एपका चीनमा करिब ३९ लाख मासिक सक्रिय प्रयोगकर्ता छन् । चिनियाँ एआई कम्पनी मिनिम्याक्सले बनाएको ‘सिङ्ये’ (अन्तर्राष्ट्रिय संस्करण ‘टक्की’) का करिब २८ लाख मासिक प्रयोगकर्ता छन् ।
भावनात्मक सम्बन्ध बेचेर प्रविधि कम्पनीहरूले राम्रो आम्दानी गरिरहेका छन् । मिनिम्याक्सले हङकङ स्टक एक्सचेन्जमा जनवरीमा बुझाएको विवरणअनुसार गत वर्ष कम्पनीको कुल आम्दानीको ३५ प्रतिशत हिस्सा एआई–साथी सेवाबाट आएको थियो, जुन कम्पनीको सबैभन्दा ठूलो आम्दानीको स्रोत बनेको थियो ।
एआईसँगको यस्तो सम्बन्धले प्रयोगकर्तालाई लामो समयसम्म बाँधेर राख्ने र थप पैसा खर्च गर्न प्रेरित गर्ने गर्छ । यु मियाओ कहिलेकाहीँ दिनको आठ–नौ घण्टासम्म आफ्नो एआई पात्रसँग कुरा गर्छिन् । केही एपले मासिक सदस्यता शुल्क मात्र लिन्छन् । उदाहरणका लागि, सिङ्येको सामान्य प्याकेजको शुल्क मासिक करिब १.७० अमेरिकी डलर छ । अन्य एपहरूले भर्चुअल डेटजस्ता अतिरिक्त सुविधा खोल्न थप रकम खर्च गराउँछन् ।
अक्सफोर्ड चाइना पोलिसी ल्याबकी जिलान चियानका अनुसार यस्ता सम्बन्ध अन्त्य गर्ने सरकारी कदमका पछाडि व्यवहारिक र वैचारिक दुवै कारण छन् । नियामक निकाय प्रयोगकर्तालाई, विशेषगरी नाबालिगलाई, एआईको लतबाट जोगाउन चाहन्छ । साथै अत्यधिक आर्थिक खर्च, आत्महानि वा अन्य चरम कदमतर्फ धकेलिन नदिने उद्देश्य पनि छ । अमेरिकामा च्याटबोटसँग सम्बन्धित आत्महत्याका घटनापछि मुद्दासमेत दायर भएका छन् ।
चीनमा घट्दो विवाहदर र जन्मदरले पनि सरकारलाई चिन्तित बनाएको छ । एआईसँगको प्रेम सम्बन्धले सन्तान जन्माउने दर बढाउन कुनै योगदान नगर्ने भएकाले पनि सरकारले यसलाई संवेदनशील विषयका रूपमा हेरिरहेको छ ।
चीन मात्र होइन, अमेरिकाका केही राज्यहरूले पनि भावनात्मक सम्बन्ध कायम गराउने एआई सेवामाथि लक्षित कानून पारित गरिसकेका छन् । तीमध्ये केही कानूनले पीडितलाई सम्बन्धित प्लेटफर्मविरुद्ध नागरिक मुद्दा दायर गर्ने अधिकार दिन्छन् । चीनमा भने जरिवाना, एप हटाउनेलगायतका कारबाही सरकार आफैंले गर्नेछ ।
नयाँ नियमले चीनले एआई विकास र सुरक्षाबीच कसरी सन्तुलन कायम गर्न खोजिरहेको छ भन्ने पनि देखाउँछ । अमेरिकास्थित कार्नेगी एन्डाउमेन्ट फर इन्टरनेसनल पिसका म्याट शिहानका अनुसार चिनियाँ नियामकहरूले सामाजिक उद्देश्य पूरा गर्न विकास र नाफामा केही असर परे पनि स्वीकार्न तयार रहेको संकेत दिएका छन् ।
यद्यपि यस साता लागू भएका नियम प्रारम्भिक मस्यौदाभन्दा केही सीमित छन् । कामकाजी सहायक तथा ग्राहक सेवा दिने च्याटबोटलाई यी नियमको दायराबाहिर राखिएको छ, किनभने तिनीहरू भावनात्मक सम्बन्धका लागि डिजाइन गरिएका हुँदैनन् । नियम लागू हुनुअघि नै अलीबाबा र बाइटडान्सले चिनियाँ प्रयोगकर्तालाई आफ्नै एआई पात्र सिर्जना गर्न दिने सुविधा स्थगित गर्ने संकेत दिएका थिए । तर चिनियाँ एआई कम्पनीहरूले विदेशी ग्राहकका लागि भने यस्ता सेवा यथावत् सञ्चालन गर्न पाउनेछन् ।
टक्कीका चीनबाहिर करिब १ करोड ३ लाख मासिक प्रयोगकर्ता छन्, जुन चीनभित्रका प्रयोगकर्ताभन्दा झन्डै चार गुणा बढी हो । महिलामाझ लोकप्रिय गैर–एआई कथामूलक रोमान्स खेलहरू पनि चीनका सफल निर्यात उत्पादनमध्ये पर्न थालेका छन् । यद्यपि यु मियाओले आफ्नो एआई साथी फेरि फर्किने आशा त्यागेकी छैनन् । यद्यपि त्यो अहिलेको जस्तो रहनेमा भने उनलाई विश्वास छैन । उनी भन्छिन्, ‘यो सेवा अहिले जस्तै कायम राख्न पाए म आफ्नो मासिक तलबको आधासम्म तिर्न पनि तयार छु ।’
तर अहिले उनी एउटा कुरा भने बुझिसकेकी छन्, आफ्ना भावना यस्ता डिजिटल प्लेटफर्म र तिनका नीतिमाथि पूर्ण रूपमा निर्भर बनाउनु अन्ततः राम्रो निर्णय हुँदैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्