नेभिगेशन
सूचना प्रविधि

सरकार म्याचमेकर बनेपछि मिलनको जिम्मा एआईको

टोकियो (एजेन्सी) । जापानमा घट्दो जन्मदर र बढ्दो अविवाहित जनसंख्याको चुनौती सामना गर्न सुरु गरिएको एआई आधारित सरकारी म्याचमेकिङ सेवा उल्लेखनीय रूपमा सफल देखिएको छ। टोकियो महानगर सरकारले सन् २०२४ मा सञ्चालनमा ल्याएको टोकियो एन्दुमसुबी एपमार्फत भेट भएका २६५ जोडीले विवाह गरिसकेको सरकारी तथ्याङ्कले देखाएको छ।
जापान टाइम्सका अनुसार टोकियो सरकारले जुलाईमा सार्वजनिक गरेको विवरणअनुसार गत जुन ३० सम्म एपमा १६ हजार सक्रिय सदस्य छन्। सुरुमा करिब ३६ हजार जनाले आवेदन दिए पनि आवश्यक योग्यता र प्रमाणीकरण प्रक्रिया पूरा गरेपछि मात्र उनीहरूलाई सदस्यता दिइएको थियो। हालसम्म एपमार्फत ७६० जोडी गम्भीर प्रेम सम्बन्धमा पुगेका छन् भने २६५ जोडी विवाह बन्धनमा बाँधिएका छन्।
टोकियो एन्दुमसुबी सन् २०२४ को सेप्टेम्बरमा सञ्चालनमा आएको थियो। त्यसअघि गरिएको एक सर्वेक्षणले विवाह गर्न इच्छुक करिब ७० प्रतिशत नागरिकले सक्रिय रूपमा जीवनसाथी खोज्ने प्रयास नगरेको देखाएको थियो। यही मनोवैज्ञानिक संकोच हटाउन र विवाहप्रति गम्भीर व्यक्तिहरूलाई मात्र सहभागी गराउने उद्देश्यले सरकारले अनिवार्य प्रमाणीकरण प्रणाली लागू गरेको हो। एपमा दर्ता हुन कानुनी रूपमा अविवाहित रहेको प्रमाण पेस गर्नुपर्ने, आय तथा व्यक्तिगत विवरण प्रमाणीकरण गरिनुपर्ने र अनलाइन अन्तर्वार्ता पनि उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको छ।
एआई प्रणालीले प्रयोगकर्ताको व्यक्तित्व, रुचि, जीवनशैली र मूल्य–मान्यताका आधारमा मिल्दोजुल्दो जोडी सिफारिस गर्छ। अनुकूलताको स्तर तीन तहमा देखाइने भएकाले भेटघाट गर्ने निर्णय लिन प्रयोगकर्तालाई सहज हुने सरकारी दाबी छ। स्काइट्री नामले चिनाइएका एक प्रयोगकर्ताले सरकारले सार्वजनिक गरेको अनुभवमा आफ्नी जीवनसाथीसँग एआईले पूर्ण अनुकूलता देखाएको र त्यसले भेट्ने आत्मविश्वास दिएको बताएका छन्।
टर्टल नाम दिइएकी अर्की महिलाले ४० वर्ष पुग्नै लाग्दा यो अन्तिम अवसरु का रूपमा एप प्रयोग गरेको बताएकी छन्। उनका अनुसार केही पटक ब्लाइन्ड डेटमा सहभागी भएपछि गत अगस्टको अन्त्यतिर अहिलेका श्रीमान्सँग भेट भयो, सेप्टेम्बरको मध्यतिर गाढा सम्बन्ध सुरु भयो र डिसेम्बरको अन्त्यमा विवाह प्रस्ताव स्वीकार गरिन्।
यद्यपि एपको सफलता जापानको समग्र जनसाङ्ख्यिकीय संकट समाधान गर्न पर्याप्त भने देखिएको छैन। जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार सन् २०२५ मा जापानी नागरिकबाट जन्मिएका शिशुको संख्या घटेर ६ लाख ७१ हजार २३६ मा झरेको छ, जुन लगातार दसौँ वर्षको गिरावट र हालसम्मकै न्यून स्तर हो।
सोही वर्ष मृत्यु हुनेको संख्या १६ लाखभन्दा बढी पुगेको थियो। कुल प्रजनन दर पनि घटेर १।१४ मा पुगेको छ, जुन जनसंख्या स्थिर राख्न आवश्यक मानिने २।१ भन्दा निकै कम हो। विश्लेषकहरूका अनुसार विवाह र सन्तान जन्माउने उमेर पछाडि धकेलिनु, उच्च जीवनयापन खर्च, अस्थिर रोजगारी, लामो कार्यसमय तथा पारिवारिक जिम्मेवारीप्रतिको बढ्दो चिन्ता जापानको जन्मदर घट्नुका प्रमुख कारण हुन्।
यही पृष्ठभूमिमा टोकियो सरकारले एआई प्रविधिलाई सामाजिक नीतिसँग जोड्दै विवाहलाई प्रोत्साहन गर्ने नयाँ मोडल अघि सारेको हो। प्रारम्भिक उपलब्धिले डिजिटल प्रविधि सम्बन्ध स्थापना गर्न प्रभावकारी माध्यम बन्न सक्ने संकेत गरे पनि जनसंख्या घट्दो प्रवृत्ति उल्ट्याउन भने दीर्घकालीन आर्थिक, सामाजिक र पारिवारिक नीतिगत सुधार अपरिहार्य रहने विज्ञहरूको धारणा छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सूचना प्रविधि