नेभिगेशन
नेपाल

‘जलवायु सङ्कट समाधानमा अन्तरदेशीय सहकार्य आवश्यक’

काठमाडौँ, २६ साउन । जलवायु परिवर्तनविज्ञहरूले हिम जलाधार क्षेत्रमा बढ्दो जोखिम र सम्भावित क्षतिका घटना न्यूनीकरण गर्न अन्तरदेशीय सहकार्य आवश्यक रहेकामा जोड दिनुभएको छ । 

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा विज्ञहरूले जलवायु सङ्कटले निम्त्याउने जोखिम र हानी घटाउन सीमापार पूर्वसूचना सम्प्रेषण प्रणाली अपरिहार्य रहेको धारणा राख्नुभयो । उहाँहरूले अन्तरदेशीय सूचना सम्प्रेषण र अन्तरनिकाय समन्वय नहुँदा जलवायुजन्य प्रकोपले जनधनको क्षति बढाइरहेको बताउनुभयो । 

कार्यक्रममा अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का जलवायु र वातावरण विभाग प्रमुख डा. चाङ छ्याङकोङले जलवायुजन्य घटना सम्बोधन गर्न अध्ययन अनुसन्धान जरूरी रहेको बताउनुभयो । विकसित देशहरूले अल्पविकसित देशलाई प्रविधि र ज्ञान हस्तान्तरण गरेमा पर्वतीय देशहरूले लाभ प्राप्त गर्ने उहाँको भनाइ थियो ।

जलवायुविज्ञ डा धर्म उप्रेतीले बहुप्रकोपका घटना बढिरहँदा नेपाल एक्लैले समस्या समाधान गर्न नसक्ने भन्दै अन्तरदेशीय सहकार्य अपरिहार्य रहेको बताउनुभयो । भारत र चीनमा भइरहेका जलवायुजन्य घटना नेपालका लागि सिकाइ हुनसक्ने बताउँदै उहाँले हिमाली क्षेत्रमा तापक्रम वृद्धिले क्षतिका घटना बढेर जाने खतरा रहेकोे उल्लेख गर्नुभयो ।

हिमबाढी अध्येता श्रीकमल द्विवेदीले जलवायु जोखिमका घटना न्यूनीकरण गर्न नेपालले आफ्नो क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिँदै हिमताल फुटेर मात्रै हिमबाढी नहुने भएकाले यसतर्फको अध्ययन बढाउनुपर्ने खाँचो औँल्याउनुभयो । जलवायुजन्य बहुप्रकोपका घटना हुन नदिन र क्षति न्यूनीकरण गर्न विशेष निकाय स्थापना गर्नुपर्ने बताउँदै उहाँले हिमबाढीको क्षति आँकलन हुन नसक्दा विकासका आयोजनामा असर हुन थालेको चर्चा गर्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वातावरण निरीक्षक रिना चौधरीले जोखिम न्यूनीकरण र घटनापछिको अवस्थामा सहजीकरण गर्न प्राधिकरण क्रियाशील रहेको बताउनुभयो । समन्वयकारी निकाय भएकाले प्राधिकरणले सोहीअनुसार काम गरिरहेको जानकारी गराउनुभयो । 

समूहका पूर्वअध्यक्ष कसमस विश्वकर्मा र वातावरणविद् डा विनोद भट्टले प्रकोप न्यूनीकरणका घटनामा पत्रकार र सञ्चार माध्यमलाई समयसापेक्ष तालिम, कार्यशाला र अनुशिक्षण आवश्यक रहेको सुझाव दिनुभयो । - रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्