निराजन परियार, कैलाली, २६ साउन ।
कैलाली कारागारमा कैदीबिचको हिंसात्मक झडपमा ज्यान गुएका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको शव परिवारले बुझेका छन् ।
जिल्ला प्रशासन कार्यालयले घटनाको न्यायोचित छानबिन हुने र मृतककी १५ वर्षीया छोरीको निशुल्क शिक्षाका लागि पहल गर्ने प्रतिवद्धता जनाएपछि परिवारले सोमबार अपराह्न शव बुझेका हुन् ।
यसअघि, हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीको दायरामा ल्याउनु पर्ने मागसहित परिवारले शव उठाउन मानेका थिएनन् ।
लागुऔषध मुद्दामा सात महिनादेखि कैद भुक्तान गरिरहेका चौधरीको शुक्रबार राति कैदीबीच भएको हिंसात्मक झडपमा परेर ज्यान गएको थियो । मृतकका परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपियाँ राहत सहयोग दिने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा छलफलपछि परिवारले दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।
जाहेरीपछि शवको पोष्टमार्टम गरी परिवारलाई बुझाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
मृतकका भाइ विजय चौधरीले मृतककी छोरीलाई निःशुल्क पढाउने प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले प्रतिवद्धता जनाएपछि शव बुझेको बताउनुभयो ।
उनले आफूहरुलाई न्याय चाहिएको र टुहुरो बनेकी छोरीको शिक्षादीक्षाको निशुल्क व्यवस्था सरकारले गर्नु पर्ने अडान राखे । मृतककी छोरी आठ कक्षामा अध्ययनरत छिन् ।