नेभिगेशन
प्रवास

युद्धका बीच पनि इजरायल आकर्षण घटेन

तेल अभिभ । नेपाल र इजरायलबीच भएको सरकारी तहको श्रम सम्झौतापछि नेपाली युवाका लागि इजरायलमा केयरगिभरका रूपमा रोजगारीको बाटो खुलेयता हालसम्म ३ हजार ४ सयभन्दा बढी नेपाली इजरायलका वृद्धवृद्धा तथा सामाजिक सेवामूलक संस्थामा रोजगारीका लागि पुगेका छन् ।
सन् २०२० मा श्रम स्वीकृति लिएर १ हजार ३ सय नेपाली इजरायल गएका थिए । सन् २०२४ मा यो संख्या बढेर २ हजार २ सय १२ पुगेको थियो । सन् २०२६ का लागि ८ सय ३६ जना छनोट भइसकेका छन् भने इजरायलले थप २ हजार ३ सय जनाका लागि नयाँ भर्ना प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
नेपाल र इजरायलबीच भएको द्विपक्षीय समझदारीअन्तर्गत जेरुसेलममा नेपालको वैदेशिक रोजगार विभाग र इजरायलको जनसंख्या तथा आप्रवासन प्राधिकरणबीच केयरगिभिङसम्बन्धी श्रम प्रोटोकलमा हस्ताक्षर भएको थियो । त्यसपछि नेपाली कामदारलाई इजरायलका वृद्धाश्रम तथा जेष्ठ नागरिक हेरचाह केन्द्रमा रोजगारीको अवसर बढेको हो ।
तेल अभिभमा जेष्ठ नागरिक हेरचाहसम्बन्धी काम गर्दै आएकी काठमाडौंकी बुनु खड्काका लागि सुरुआती दिन केही कठिन रहे । नयाँ वातावरण र कामको प्रकृति बुझ्न समय लागे पनि हिब्रु भाषा सिकेपछि काम सहज भएको उनको अनुभव छ । उनी सुरुमै केयरगिभरमा काम गर्न गएकी तर सरसफाइमा काम गर्नुपरेकाे गुनासो गरेकी छन् । झण्डै एक वर्षजति काम गरेपछि गुनासोपछि मात्रै केयरगिभरकाे काम पाएकाे बताइन् ।

यसैबीच नेपालबाट केयरगिभरमा गएका श्रमिकहरु पाँच वर्षको भिसा कम भएकाे थप समय काम गर्न इच्छुक रहेको हुँदा दुवै पक्षकाे सरकारले भिसाकाे म्याद अवधि बढाउन माग गरेका छन् । 
नेपालमा रोजगारीको अवसर सीमित भएपछि परिवारको सल्लाहमा केयरगिभरका रूपमा इजरायल पुगेकी खड्का आकर्षक पारिश्रमिक र सुविधाका कारण यो रोजगारीप्रति नेपाली युवाको आकर्षण बढेको बताउँछिन् । पाँच वर्षको कार्यअवधि पूरा गरेकी उनले थप पाँच वर्ष काम गर्ने अवसर दिन इजरायल सरकारसँग आग्रह गरेकी छन् ।
भक्तपुरका सरोज श्रेष्ठ पनि कोभिड–१९ महामारीपछि व्यवसाय बन्द भएपछि इजरायल पुगेका हुन् । व्यावसायिक नर्सिङ तालिम लिएका श्रेष्ठले सञ्चारमाध्यमबाट इजरायलमा केयरगिभरको अवसरबारे जानकारी पाएपछि आवेदन दिएका थिए ।
अंग्रेजी भाषा जान्दा पनि सुरुमा काम गर्न कठिन भएको उनको अनुभव छ । तर हिब्रु भाषा सिकेपछि जेष्ठ नागरिकसँग संवाद गर्न र दैनिक जिम्मेवारी पूरा गर्न सहज भएको उनी बताउँछन् । डिमेन्सिया, पार्किन्सनलगायत स्वास्थ्य समस्या भएका जेष्ठ नागरिकको हेरचाहमा काम गरिरहेका श्रेष्ठ नेपाली कामदार मिहिनेती र जिम्मेवार भएकाले इजरायलमा उनीहरूप्रति सकारात्मक धारणा रहेको बताउँछन् ।
इजरायलमा काम गर्दा सुरक्षा जोखिम पनि नेपाली कामदारको प्रमुख चासो हो । क्षेप्यास्त्र आक्रमण वा अन्य सुरक्षा जोखिमको चेतावनी आएमा मोबाइलमा सूचना आउने र सुरक्षित स्थान वा बंकरमा जान समय मिल्ने भएकाले आफूहरू त्यसमा अभ्यस्त भइसकेको श्रेष्ठको भनाइ छ ।
इजरायल जाने नेपाली कामदारका लागि हिब्रु भाषा, धैर्य र कामप्रतिको लगनशीलता महŒवपूर्ण हुने उनीहरूको अनुभव छ । केयरगिभिङसँगै कृषि र निर्माण क्षेत्रमा समेत हिब्रु भाषा जान्ने कामदारलाई दैनिक काम र स्थानीयसँगको समन्वयमा सहज हुने उनीहरू बताउँछन् ।
सरकारी संयन्त्रमार्फत इजरायल पुगेका नेपाली कामदारको रोजगारी र आम्दानीको अवस्था समग्रमा सन्तोषजनक देखिए पनि सम्झौताको कार्यान्वयनमा नियमित निगरानी आवश्यक रहेको उनीहरूको सुझाव छ । नेपाली कामदारले काम गर्ने संस्था, रोजगारीको प्रकृति, पारिश्रमिक, सुविधा र सुरक्षाको अवस्थाबारे नेपाल सरकारले समय–समयमा अनुगमन र मूल्यांकन गर्न सके भविष्यका जोखिम न्यूनीकरण गर्न सकिने उनीहरू बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्