पार्टी राजनीतिको धमिलो नदीमा धेरै राम्रो छवि बनाएकाहरू पनि बगिसकेका छन् । धेरै किनारा लागिसकेका छन् र केही भने नदीको गति नै रोक्ने भ्रममा वृद्ध शरीर बोकेर अझै पनि मूलधारमै अडिन खोजिरहेका छन् । तिनै पात्रहरूको लहरमा सबैभन्दा अगाडि अहिले चर्चामा आउने नाम हो शेरबहादुर देउवा । पाँच–पाँच पटक मुलुकको प्रधानमन्त्रीको डाडुपन्यु सम्हाल्ने दुर्लभ सौभाग्यशाली, असी वसन्त पार गरिसकेका, शारीरिक रुपमा पनि अशक्त र जीवनको उत्तरार्धमा पुगिसकेका उनी नेपाली काँग्रेस पार्टी र काँग्रेसजनको एकमात्र सर्वमान्य र निर्विकल्प अभिभावक हुन् । तर उनले त्यो उचाइलाई आत्मसात गर्न नसक्नुले उनलाई इतिहासले अक्षम्य भूलको रूपमा उल्लेख गर्नेछ । शेरबहादुर देउवा नेपाली कांग्रेसभित्र निष्पक्ष, विशाल र सहिष्णु ‘अभिभावक’ हुन् कि आफ्नै काँधमा हुर्कँदै गरेका युवा पुस्तासँग कुर्सी खोसाखोस गर्ने ‘सङ्कीर्ण प्रतिस्पर्धी’ ? यो प्रश्न केवल एउटा पार्टीको आन्तरिक जोडघटाउ मात्र होइन, सिङ्गो राष्ट्रको भावी राजनीतिक दिशा, संस्कार र रूपान्तरणको यक्ष प्रश्न हो ।
पाँच–पाँच पटक मुलुकको प्रधानमन्त्री बनिसकेका र असी वसन्त पार गरिसकेका शारीरिकरूपमा अशक्त नेताका लागि यो समय आफ्ना विगतका गल्तीहरू सुधारेर नयाँ पुस्तालाई बाटो खाली गरिदिने अन्तिम र स्वर्णिम अवसर थियो । तर विडम्बना, व्यवहारमा उनी आफ्नै विचार र छहारीमा हुर्केका गगन थापा जस्ता ऊर्जावान् युवाहरूसँगै मैदानमा उत्रिएर कुर्सी खोसाखोस गर्ने प्रतिस्पर्धीका रूपमा प्रस्तुत भइरहेका छन्, जसले उनको जीवनभरको राजनीतिक साख नै लिलाममा चढेको छ । डडेलधुराको दुर्गम गाउँमा एक हल दरा गोरु किन्ने हैसियत नभएका र काठमाडौंमा डेरा गर्ने विद्यार्थीका साँघुरा कोठा अधियाँ गरेर विद्यार्थी राजनीति गरेका देउवाले सत्ताको सर्वोच्च शिखरमा पुगेपछि आफ्ना दुःखद विगत र जनताका आधारभूत आवश्यकता बिर्सनु नै आजको दुर्दशाको मुख्य कारण हो । उत्तर–पञ्चायतकालीन राजनीतिमा पजेरो संस्कृति, मदिरा मोह र सांसद खरिद–बिक्री जस्ता विकृति भिœयाएर उतिबेलै तत्कालीन शासकबाट ‘अक्षमको दर्जा पाएका देउवाले जीवनको उत्तरार्धमा पनि भाडाका मानिस जम्मा गरेर नेमप्लेट र कुर्सीकै पछाडि कुद्ने जुन गलत अभ्यास दोहो¥याइरहेका छन्, यसले नेपाली राजनीतिलाई नै दिशाहीन बनाएको छ ।
राजनीतिको सुरुवाती पाना पल्टाउने हो भने शेरबहादुर देउवा र रामचन्द्र पौडेलहरूको जीवनगाथा कुनै महाकाव्यका दुःखी पात्रहरूको जस्तै सादा, कष्टकर र सङ्घर्षपूर्ण थियो । डडेलधुरा र तनहुँका दुर्गम पाखापखेरामा एक हल दरा गोरु किन्ने हैसियत नभएका, किसान परिवारका ती युवाहरू यदि राजनीतिमा नआएका भए सायद गाउँकै असल, मिहिनेती र सोझा किसान हुन्थे । काठमाडौँको पञ्चायतकालीन अँध्यारोमा एउटा सानो कोठाको भाडा तिर्न नसकेर साथीभाइको भाडाको कोठामा उनकै ओछ्यान र भान्सा सित्तैमा अधियाँ गरेर तिनकै गाँस काटेको खाना खाएर राजनीतिक चेतना फैलाउने ती दिनहरू इतिहासको पानामा मात्र सीमित रहे । ती सहयोगीहरूलाई बिर्सने भुलबाट नै यिनीहरूको राजनीतिक आदर्श ओरालो लाग्छ । विडम्बना के भइदियो भने, सत्ताको स्वाद, शक्ति–उन्माद र पहुँचको विलासिताले तिनीहरूले पुराना दुःखद स्मृतिका पानाहरूलाई सधैँका लागि जलाइदिए । आज ती दुःखका दिनमा आश्रय दिनेहरूलाई नचिन्नु नै यिनीहरूको र नेपाली राजनीति साथै सिङ्गो देशको नै दुर्भाग्य बनेको छ । यदि तिनले ती अधियाँ खाएका कोठाहरू, भोका पेटहरू र गरिबीले पिल्सिएका जनताका अनुहार नबिर्सेका भए आज देश यसरी अलपत्र र दिशाहीन अवस्थामा किमार्थ पुग्ने थिएन ।
चार दशक राजनीतिको मूल भूमिकामा रहनेहरूले यो दिशाहीन अवस्थाको जिम्मेवारी पनि लिनुपर्ने कि नपर्ने ? यो विषय पनि सधैँ अनुत्तरित रहन हुन्न र सक्दैन पनि । आफ्ना जनतालाई गाँस, बास, कपडा, गुणस्तरीय शिक्षा र पहुँचयोग्य स्वास्थ्यको न्यूनतम ग्यारेन्टी गर्दा आफ्नो पनि कल्याण हुन्छ भन्ने सामान्य र पवित्र चेतनाबाट यी नेताहरू पूर्णतः च्यूत भए । नतिजा स्वरूप, राजनीति सिद्धान्त र सेवाको क्षेत्र नरहेर केवल शक्ति, धन र पहुँच हत्याउने व्यापारिक दोकान जस्तै बन्न पुग्यो ।
अझै नेपाली कांग्रेसको वैचारिक मेरुदण्ड विसं २०३३ मा जननायक बीपी कोइरालाले अघि सारेको ‘राष्ट्रिय मेलमिलाप’ को नीति हो । बीपीले देश, प्रजातन्त्र र राष्ट्रियताका लागि ज्यानको बाजी लगाएर लिएको त्यो सन्तुलित अडान आजका देउवा–पौडेलहरूका लागि केवल ‘सुगा रटाइ’ जस्तै औपचारिकतामा सीमित भयो । सदाचार, सर्वधर्म समभाव र राष्ट्रिय स्वाभिमानको धरातलमा अडिएको मुलुकमा युरोपेली युनियन वा बाह्य शक्तिहरूसँगको आर्थिक र राजनीतिक लोभका कारण जसरी आन्दोलनका विषयवस्तु नै नभएका धर्मनिरपेक्ष र गणतन्त्रका निर्णयहरू अँध्यारो समयमा पारित गरिए, त्यसले सदियौँदेखि सद्भावमा रहेको नेपाली समाजमा वैचारिक र धार्मिक विवादको विषवृक्ष रोप्यो ।
राजनीतिको सर्वमान्य नियम हो निश्चित उमेर, क्षमता र समयपछि पुराना पुस्ताले ‘अभिभावक’ बनेर नयाँ पुस्तालाई बाटो प्रशस्त गरिदिनुपर्छ । गगन थापा जस्ता उर्जावान्, वैचारिक र लोकप्रिय युवा नेताहरू जब पार्टी र देशको साख फर्काउन मैदानमा उत्रिन्छन्, तब असी वर्ष काटेका, शारीरिक रूपमा शिथिल भइसकेका र स्मरणशक्तिमा समेत ह्रास आइसकेका देउवाका लागि जिम्मेवारी हस्तान्तरण गरेर असल अभिभावक बन्ने यो एउटा स्वर्णिम अवसर थियो । उनी आफ्ना विगतका गल्तीहरू सुधारेर, गगन थापाहरूलाई काँधमा राखेर, पार्टीलाई एकताबद्ध बनाई निष्पक्ष अभिभावकको उच्च आसनमा बस्न सक्थे । तर, विडम्बना ! देउवाले अभिभावकीय उचाइ रोज्नुको सट्टा गगनहरूसँगै धूलो उडाउँदै मैदानमै जुध्ने सङ्कीर्ण प्रतिस्पर्धीको बाटो रोजे । यो उनको ऐतिहासिक भूल हो । विदेशबाट फर्केपछि पनि कसैको भाडाको घरमा, भाडाकै मानिसहरू जम्मा गरेर आफ्नै नेमप्लेट टाँस्ने यो कस्तो उरन्ठेउलो लोकप्रियता हो ? वृद्धावस्थामा शरीरले ठाउँ छाड्दै जाँदा पनि पार्टी सभापति र प्रधानमन्त्रीकै कुर्सी चाहिने यो कस्तो ‘सत्ता–रोग’ हो ? जब काँग्रेसको दशकांै नेतृत्व गर्ने शेरबहादुरले ‘ज्ञानेन्द्रले सकेनन्, बालेनले सक्छन्’ जस्ता धम्कीपूर्ण र प्रतिशोधका भाषाले अब आफूलाई बीपीको अनुयायी र मेलमिलापको हिमायती हुँ र अनुयायी हुँ भन्नु नै बीपीको घोर अपमान हो । विनाशकाले विपरीत बुद्धि भनेझैँ, देउवाले आफ्नै व्यवहारले आफ्नो दशकौँको राजनीतिक लगानी, त्याग र इतिहासलाई ध्वस्त पारिरहेका छन् ।
राजनीतिमा प्रतिरोध र प्रतिशोधको कुनै स्थायी स्थान हुँदैन, न त हुनु नै सान्दर्भिक हुन्छ । राजनीति त विचारको मन्थन, संस्कारको हस्तान्तरण र देश निर्माणको साझा सङ्कल्प हो । तर, नेपालको राजनीतिमा भने प्रतिरोध र प्रतिशोधलाई नै मुख्य हतियार बनाइयो ।
जलसमाधिको संघारमा पुग्दा पनि सभापतिकै कुर्सी चाहिने यो दुर्बुद्धि कहाँबाट आयो ? गगनको अभिभावक बनेर आफ्नो भविष्य र इतिहास उज्यालो बनाउने सौभाग्यलाई आफैँ प्रतिस्पर्धी बनेर दुर्भाग्यमा बदल्ने नेता सायद विश्व राजनीतिमै देउवा एक्लो होलान् ।
जीवनको उत्तरार्धमा पुगेका शेरबहादुर देउवा र उनका पिछलग्गुहरूले बुझ्नुपर्ने कठोर सत्य के हो भने, सत्ता र कुर्सी स्थायी हुँदैनन् । इतिहासले कुनै पनि नेतालाई उसले पाएको पदको संख्याले होइन, उसले छाडेको संस्कार, योगदान र विचारले मूल्याङ्कन गर्छ । पाँच–पाँच पटक प्रधानमन्त्री बनेर पनि देशलाई समृद्ध बनाउन नसक्नु र अन्तिम समयमा आएर आफ्नै पार्टीका युवाहरूसँग जुधेर पार्टीलाई छिन्नभिन्न बनाउनुले के प्रमाणित गर्छ भने उनी राजनीतिमा देश बनाउन होइन, केवल शक्ति र धन जोड्न आएका थिए । यदि अहिले पनि देउवाले सङ्कीर्ण प्रतिस्पर्धा छाडेर अभिभावकको भूमिका स्वीकार गरेनन् भने, राजनीतिबाट अस्ताउँदा उनीसँग न त कांग्रेस बाँकी रहनेछ, न त कुनै गर्व गर्न लायक इतिहास नै । इतिहासको ऐनामा उनी एक नायक होइन, आफ्नै हातले आफ्नो लगानी लिलाम गर्ने र पार्टीलाई छिन्नभिन्न बनाउने दुर्भाग्यपूर्ण पात्रका रूपमा मात्र दर्ता हुनेछन् । राजनीतिमा प्रतिशोधको विकल्प छैन भन्नु घोर अज्ञानता हो, राजनीतिको एकमात्र विकल्प संस्कारयुक्त त्याग, रूपान्तरण र पुस्तान्तरण नै हो ।
नेपाली राजनीतिको रङ्गमञ्चमा समयले सधैँ नयाँ अध्यायहरू लेख्छ, तर दुर्भाग्यवश पात्रहरू र तिनका प्रवृत्ति भने पुरानै वृत्तमा घुमिरहन्छन् । पञ्चायतकालीन अँध्यारा कोठाहरूमा विद्यार्थी राजनीति गर्दा साथीको भान्सामा विद्यार्थीहरूको भाडाको कोठामा बिताएका सादा दिनहरूबाट सुरु भएको यात्रा आज सत्ताको पाँच–पाँच पटकको सर्वोच्च शिखरसम्म पुगेर ठोक्किएको छ । तर विडम्बना के भइदियो भने, जुन सङ्घर्षले नेतालाई जननायक बनाउनुपर्ने थियो, सत्ताको दीर्घकालीन रसस्वादनले तिनै स्मृतिहरूलाई विस्मृतिको गहिराइमा धकेलिदियो । अभावबाट उठेर आएका नेताहरूले जब गरिब र दूरदराजका जनताका अनुहार बिर्सिन्छन्, तब राजनीति लोककल्याणको माध्यम नरहेर केवल व्यक्तिगत पहुँच, शक्ति सञ्चय र स्वार्थ व्यवस्थापनको व्यापार बन्न पुग्छ ।
नेपाली कांग्रेसको मूल दर्शन बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप, लोकतान्त्रिक समाजवाद र विचारको उच्च निष्ठामा अडिएको थियो र छ । तर उत्तर–पञ्चायतकालीन संसदीय अभ्यासमा जसरी पजेरो संस्कृति, सांसद खरिद–बिक्री र सत्ता जोगाउन जे पनि गर्ने विकृतिहरू भिœयाइए, तिनले लोकतन्त्रको आत्मालाई नै क्षतविक्षत बनाए । इतिहासले निर्मम समीक्षक बनेर हेर्दा ज्ञानेन्द्रले दिएको अक्षमताको ट्यागलाई सच्याएर इतिहासमा आफ्नो सम्मानजनक छवि छाड्ने सुवर्ण अवसर देउवासँग थियो । जीवनको उत्तरार्धमा, असी वसन्त पार गरिसकेपछि पनि सत्ता, पद र सभापतिको कुर्सीप्रतिको यो अस्वाभाविक मोहले उनलाई एक विशाल र सम्मानित ‘अभिभावक’ बन्न दिएन । आफ्नै काँधमा हुर्कँदै गरेको नयाँ पुस्तालाई सहर्ष बाटो खाली गरिदिनुको सट्टा तिनैसँग मैदानमा उत्रिएर प्रतिस्पर्धी बन्ने हठले उनको जीवनभरको राजनीतिक लगानीलाई आफैँले भत्काउने बाटोतिर धकेलिदिएको छ ।
लोकतन्त्रको वास्तविक विकल्प केवल संस्कारयुक्त त्याग, रूपान्तरण र सहज पुस्तान्तरण नै हो । जब नेताहरू जलासय जाने उमेरमा पनि नेमप्लेट र कुर्सीकै पछाडि भाडाका मानिसहरू जम्मा गरेर शक्ति प्रदर्शनमा अल्झिन्छन्, तब इतिहासले तिनलाई नायक होइन, आफ्नै हातले आफ्नो विरासत लिलाम गर्ने दुःखद पात्रका रूपमा मात्र दर्ता गर्छ । यदि बेलैमा चेत खुलेन र नयाँ पुस्तालाई अभिभावकीय संरक्षण दिएर बाटो छाडिएन भने, यो केवल एउटा नेताको राजनीतिक अवसानमात्र हुने छैन, बरु सिङ्गो ऐतिहासिक पार्टी र मुलुककै लागि एक अपूरणीय क्षति र दुर्भाग्य सिद्ध हुनेछ ।
लोकमान्य विचार र आमनागरिकको स्पष्ट सन्देश यही छ कि देउवा अब सभापतिको पद जोगाउने संकीर्ण घेराबाट माथि उठेर गगन थापाजस्ता नयाँ पुस्ताका आशालाग्दा नेता र सिङ्गो कांग्रेसजनको सर्वमान्य ‘अभिभावक’ बन्नुपर्छ । सत्ता र पदको मोह त्यागेर नयाँ नेतृत्वलाई मार्गप्रशस्त गर्दै विधि र पद्धतिको रक्षा गर्नु नै उनका लागि सम्मानजनक बहिर्गमन हुनेछ । आफ्ना कार्यकर्ता र देशको भविष्यका लागि भरोसाको ओत बन्नु नै आजको नेपाली कांग्रेस र लोकतन्त्रका लागि सच्चा सञ्जीवनी हो । कुर्सीसँगै आर्यघाट जाने सोच र क्रियाकलापले शेरबहादुर देउवाको काँग्रेस पार्टी र काँग्रेस जनको अभिभावकीय र सम्मानित भूमिकामा रहने अवसर गुम्छ भन्ने कुरा शेरबहादुर जस्तो परिपक्व र अनुभवी नेतालाई सम्झाउनु पर्ने अवस्था आफैंमा दुःखद र अकल्पनीय घटना भन्नुपर्छ ।
(लेखक ढकाल राजनीतिका जानकार हुन् ।)