नेभिगेशन
दृष्टिकोण

कांग्रेसभित्रको मतभेद किन र केका लागि ?

नेपालको प्रजातान्त्रिक शासन व्यवस्थाको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसको विशेष महाधिवेशन गत पुसको अन्तिमतिर सम्पन्न भएर विभिन्न पदाधिकारीहरू निर्वाचित भई केन्द्रीय कार्यसमिति समेत बन्यो । सोही विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी र कार्यसमितिले निर्वाचन आयोग र सर्वोच्च अदालतबाट वैेधानिकता पनि पायो । अन्तरिम सरकारबाट घोषित प्रतिनिधिसभाको २०८२ फागुन २१ गते सम्पन्न चुनावमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाबाट हस्ताक्षरित टिकटबाटै कांग्रेस संस्थापनइतर पक्षका नेताहरू शेखर कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायत चुनाव लडेका थिए । तर उनीहरूले चुनाव जितेको भए के गगन थापाको आधिकारिकताको विरोध गर्थे ? जितेको भए पक्कै पनि विरोध गर्ने नै थिएनन् । तर चुनाव हारेपछि विरोधमा उत्रिएका हुन् । यद्यपि उनीहरूले विरोध गर्नुको पछाडि नेतृत्वको महŒवाकांक्षाले पे्ररित गरेको देखिन्छ । पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको क्रियाकलापबाट अवकाश लिने घोषणा गरेपछि पार्टीभित्रका सबैजसो वरिष्ठ नेताहरूमा आफू पार्टी सभापति हुने तृष्णा जाग्यो र आश लगाएर बसिरहे । डा. शेखर कोइराला १४औं महाधिवेशनमा सभापतिका लागि चुनाव लडेका पनि थिए । पूर्णबहादुर खड्का त झन् प्रत्यासी हुने नै भए किनकि उनले कार्यबाहक सभापति पाइराखेका थिए । उता शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंंहलगायतमा पनि नेतृत्वको आकांक्षा तीव्र रुपमा देखिएको थियो । 
यसैबीच पार्टीका ५४ प्रतिशतभन्दा पनि बढी नेताकार्यकर्ताहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशन बोलाउन निवेदन दर्ता गराएका थिए । पार्टीको विधानअनुसार कम्तीमा ४० प्रतिशतमात्र केन्द्रीय महाधिवेशन प्रतिनिधिले विशेष कारण खुलाएर केन्द्रीय कार्यसमितिसमक्ष निवेदन दिएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । विधानको यो बाध्यात्मक व्यवस्थाअनुसार सभापतिले आलटाल गरिरहेमा पार्टीको केन्द्रीय कार्यालय सञ्चालन गर्ने महामन्त्रीको दायित्व महाधिवेशन बोलाउने हुन्छ । सोही व्यवस्था अनुसार तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले २०८२ साल पुस २७ गतेदेखि २९ गतेसम्मलाई विशेष महाधिवेशन आह्वान गरेर सबैलाई सम्मिलित हुन अपील गरेका थिए । तर शेरबहादुर देउवा पक्षधर विशेष महाधिवेशनमा सामेल भएन । 
देउवा पक्ष विशेष अधिवेशनमा नआए पनि निर्वाचन आयोग र सर्वोच्च अदालतले आधिकारिकता प्रदान गरेको थियो । निर्वाचन आयोग र सर्वोच्चको आधिकारिकता दिएपछि विशेष अधिवेशनबाट निर्वाचित सभापति गगन थापा हस्ताक्षरित टिकट लिएर देउवा पक्षका नेताहरु चुनाव लडेकै हुन् । यस्तो अवसरवादी नीतिबाट ग्रसित नेता– कार्यकर्ताहरूले महाराजगञ्जको चुनदेवीमा राष्ट्रिय भेला गरेका छन् । पुसमा सम्पन्न विशेष महाधिवेशनको आधिकारिकता सम्बन्धमा सर्वोच्चले पुनरावलोकनका लागि निवेदन स्वीकार गरी दर्ता अनुमति दिएको छ । निर्णय आफ्नो पक्षमा आउने आशमा सभापति गगनकुमार थापाले आह्वान गरेको असोज १६—१९ गतेको महाधिवेशनलाई रोकेर सर्वोच्चको फैसला कुर्नुपर्ने अडान राखी इतर पक्षले आवाज बुलन्द गर्दै डा. शशांक कोइरालाको  संयोजकत्वमा २९ साउनदेखि ३१ साउनसम्म सम्मेलन डाकेका थिए ।
पूर्वसभापति शेरबहादुर देउवा २४ भदौ २०८२ को दिन आन्दोलनकारीहरूको आक्रमणममा परी घाइते हुँदा सिंगापुर गई इलाज गराएर हङकङ गएर बसिरहेका थिए । इतर पक्षका उनका प्रिय नेताकार्यकर्ताहरूले स्वदेश फर्केर हामीहरूको डुब्न लागेको नाउलाई जोगाइदिनुप¥यो भनेर बिन्तीभाउ गरेपछि देउवा नेपाल फर्किएका छन् । उनीमाथि सम्पत्ति शुद्धीकरणको अभियोग लागे पनि न्यायालयले उनलाई नपक्रनु भन्ने निषेधाज्ञा जारी गरेकाले स्वदेश फर्किएका हुन् ।  यस्तो विषम परिस्थितिमा कांग्रेसभित्र देखिएका दुवै पक्षलाई समेटेर पार्टीलाई एकढिक्का बनाउने प्रयास गरी आफूलाई सधंैका लागि मर्यादित बनाउनुपर्नेमा उनी असन्तुष्ट टिमको कप्तान बन्न पुगे । 
कांग्रेस इतर पक्षको भेलाले हिन्दु–धर्मावलम्बी बाहुल्य भएका मतदाताहरूको भावनालाई समेट्ने गरी सनातन हिन्दु धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने नीति पारित गरेको छ । यसले कांग्रेसभित्र मात्र नभएर राजनीतिक वृत्तमा नै हलचल ल्याएको छ । तर संविधानले नेपाललाई  धर्मनिरपेक्ष घोषित गरिसकेको छ । कांग्रेसभित्र हिन्दु राष्ट्रको माग राजनीतिक बहसको विषय बन्दै आएको छ । २०८० फागुनमा गोदाबरीमा सम्पन्न महासमिति बैठकमा हिन्दु धर्मको लाइन लिनुपर्ने माग राख्दै हस्ताक्षर अभियान नै चलाइएको थियो । त्यतिबेला पार्टीले औपचारिक स्वामित्व नलिँदा यो अभियान त्यसै सेलाएको थियो ।
तर पनि नेपाली कांग्रेसमा खुमबहादुर खड्काजस्ता नेताहरूले त्यो अभियानलाई निरन्तरता दिँदै पूर्वपश्चिम दौडहा अभियान नै चलाएका थिए । यही परम्परावादी हिन्दुवादी मतदातासँग आफ्नो सम्बन्ध बलियो बनाउन र राजनीतिक स्पेसमा आफ्नो पक्षको उपस्थिति बलियो बनाउने रणनीतिका साथ इतर पक्षले हिन्दुधर्मको लाइन अघि सारेको अनुमान राजनीतिक वृत्तमा लगाइँदै छ ।
इतर पक्षको भेलाले अर्को निर्णय १४आँै महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको १५औँ महाधिवेशन गर्ने र त्यो २०८४ सालको जेठमा गर्ने निर्णय पारित गरेको छ । यता सभापति गगनकुमार थापाले  आह्वान गरिसकिएकै मिति असोज १६—१९ मै १५औं महाभिवेशन सम्पन्न गर्ने भनिरहेका छन् । उनले एकताका लागि असन्तुष्ट पक्षसँग धेरैे पटक वार्ता समेत गरेका समाचारहरु प्रकाशित भएको देखिन्छ । कांग्रेस इतर पक्षको भित्री मनसाय विशेष महाधिवेशनलाई आधिकारिक नमान्ने देखिन्छ । यसबाट नेपाली कांग्रेस एकजुट हुने सम्भावना क्षीण बन्दै गएको छ । अदालतले पनि पुनरावलोकनमा विशेष महाधिवेशनलाई वैध मानेन भने थापा पक्ष नै चोइटिएर अलग हुने सम्भावना पनि त्यत्तिकै छ । थापाकै पक्षमा फैसला आएमा असन्तुष्ट पक्ष चोइटिएर नेपाली कांग्रेसकै अर्को पार्टी निर्माण हुने सम्भावना पनि त्यत्तिकै प्रवल छ । यसबाट नेपाली कांग्रेस पार्टी दुई टुक्रा हुने सम्भावना बढेर गएको छ । 
यी दुवै स्थितिमा नेपाली कांग्रेस पार्टी जस्तो एउटा परिवर्तनकारी र गौरवशाली इतिहास बोकेको पार्टी अहिले आएर यस्तो हविगतमा पुग्नु बडो दुखदायी कुरा हो । हुन त २०५९ सालमा शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग खटपट भएर पार्टी फुटाई नेपाली कांग्रेस प्रजातान्त्रिक बनाएको इतिहास साक्षी छ । देउवाले फुटबाहेक जुटको नीति जानेकै छैनन् कि  जस्तो छ । हुन त यी नेपाली कांग्रेसमा राम्रो छवि बनाएका पात्र होइनन् । पछिल्लोपटक पार्टीको दृष्टिकोण र सिद्धान्तसमेत लत्याएर बामपन्थीहरूसँग गठबन्धन गरी राज्यसत्ता सुम्पी आफू राम्रो नराम्रो कामको साक्षी बनेका पूर्वसभापति शेरबहादुर देउवा हुन् । 
 पार्टीको विधानअनुसार एक व्यक्ति दुईपटकभन्दा बढी सभापति हुन नपाइने भएपछि पनि देउवा ठूला–ठूला भाषण दिएर हिन्दुत्वको नारा दिँदै पार्टी फुटाउनपट्टि नै लागेका छन् । सायद फुटमा नै मानसिक शान्ति पाउँछन् कि ? उनले षड्यन्त्र गर्न छाडेर दुवै पक्षलाई मिलाएर एकजुट बनाई आफ्नो व्यक्तित्वलाई उचाइमा पु¥याउनुपर्ने थियो । नेतृत्वले त सबै पार्टी कार्यकर्तालाई समदृष्टिले व्यवहार गर्नुपर्छ र गुट उपगुट बन्नै दिनुहुन्न । सबैलाई मिलाएर राख्न सक्नुपर्छ । आदर्शवादी र चरित्रवान् रही पार्टी सञ्चालन गर्नुपर्छ । तर दुर्भाग्य नेपालमा अहिले यस्ता नेताहरू भेट्टाउनै मुस्किल छ । सबै आआफ्नै स्वार्थपूर्तिमा लिप्त रहेको देखिन्छ । नयाँ उदय भएका पार्टीले व्यापक जनसमर्थन प्राप्त गरेर आएका छन् । युवा जोशजाँगर छ, समयले चाँडै काम गर्ने तौरतरिका पनि सिकाइहाल्नेछ । त्यसैले आश गर्नै पर्छ निराश हुनुहुँदैन ।
(लेखक सिंह राजनीतिका जानकार हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्