नेभिगेशन
दृष्टिकोण

गुँला पर्वको महत्व र महिमा

 हरेक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म एक महिना काठमाडौं उपत्यकाका नेवारहरूले गुँला पर्व मान्ने गर्छन् । यो समयमा स्वयम्भू महाचैत्यमा ठूलो भीड लागिरहेको हुन्छ । यो समयमा स्वयम्भू र वरिपरिको स्थान परिक्रमा गरेमा पारिवारिक सुख, शान्ति र समृद्धि पाइन्छ भन्ने धार्मिक विश्वास छ । उपत्यकाका सबै नेवार बौद्धहरूले आ–आफ्ना स्थान टोल छिमेकमा रहेका चैत्यको परिक्रमा गरेर गुँला पर्व मनाउने गर्छन् । यो पर्व एक महिनासम्म मनाइन्छ । 
    बौद्ध धर्मावलम्वीहरूले गुँलाको समयमा दिनहँु बिहान सबेरै बाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथै बौद्ध विहार, बहाः, बही परिक्रमा गरेर गुँला पर्व मान्ने गर्दछन् । भक्तजनहरूले स्वयम्भू महाचैत्यको दर्शन गरिसके पछि शोभा भगवती, विजयेश्वरी, सेतो मच्छिन्द्रनाथको पनि दर्शन गर्छन् अनि विभिन्न बौद्ध विहार बहालकोे परिक्रमापश्चात् आ–आफ्ना घरमा फर्किन्छन् । बाटाभरि गुँला बाजा बजाउँदै युवा, युवती र भक्तजनहरूले विभिन्न बहाल र बही परिक्रमा गरेर यो गुँला पर्व मनाइरहँदा एक किसिमले वातावरण नै रमणीय भइरहेको हुन्छ । गुँलाभरि स्वयम्भू महाचैत्यमा भीड भइरहने त्यसमा पनि ज्ञानमाला भजन खलःको भजनले त झनै रमाइलो पारिरहेको हुन्छ । 
    यो गुँला पर्र्वमा एक महिना व्रत वसेर दिनको एक छाक मात्र खाएर दिनहुँ स्वयम्भू महाचैत्यमा पूजा गर्ने श्रद्धलु भक्तजनहरूको भीड लागेको हुन्छ । त्यस्तै कसैले माछा, मासु कसैले भने जाँड, रक्सीजस्ता खानेकुरा छाड्ने भक्तजनहरू पनि हुन्छन् । 
    गुँलाभर स्वयम्भू महाचैत्यसँगै रहेको हारती अजिमालाई नेवारहरूले विशेष रूपमा छायेकेगु (विशेष पूजा) गर्छन् । यस सम्बन्धमा एउटा आख्यानअनुसार प्राचीनकालमा हारती अजिमाले आफ्ना १०८ जना बच्चाहरू पाल्न मानिसका बच्चाहरू चोरेर खाने गर्दोरहेछ । हराएका बच्चाका आमा बाबुहरूले रोई कराई गर्दै हिडेको देख्न नसकी बुद्ध भगवान्ले हारती अजिमाका सबै बच्चाहरू गुँलाभर एक महिनासम्म लुकाइ दिनुभयो । पछि भगवान् बुद्धसँग अजिमाले आफ्ना बच्चाहरू फिर्ता माग्छन् । अनि भगवान् बुद्धले तिमीलाई आफ्नो सन्तानको जति माया लाग्छ, अरूलाई पनि त्यत्तिकै माया हुन्छ, त्यसैले आइन्दा तिमीले कसैको पनि बच्चा चोरेर नखाने बरु उल्टै माया गरी रक्षा गर्नुपर्ने भन्दै वाचा–बन्धन गराएपछि मात्र भगवान् बुद्धले हारती अजिमालाई अत्यन्तै मनपर्ने ६ जना बच्चा मात्र फिर्ता दिई अन्य बच्चाहरूलाई हाल अजिमाको मन्दिर अगाडि रहेको मण्डलमा छोपी दिनुभयो । त्यही समयदेखि अजिमालाई विशेष पूजा गर्दा १०८ जना बच्चाहरूलाई पनि खुवाउने हिसावले बाहिर रहेको त्यही मण्डलमा पूजा गरिँदै आएको छ । हारती अजिमालाई पूजा गर्दा मनोकामना पूरा हुने र बालबालिकाको रक्षा हुने जनविश्वास छ । 
    स्वयम्भू पुराणका अनुसार प्राचीनकालमा उपत्यका एउटा ठूलो पोखरीका रूपमा रहेका बेला विपस्वी नामका बुद्ध आई कमलको फूल रोपेर गएका रहेछन् । त्यही कमलको फूल फूलेपछि त्यही फूलमाथि धर्मधातु ज्योतिका रूपमा स्वयम्भू उत्पत्ति भएको हो भनिन्छ । त्यही स्वयम्भू ज्योति उत्पत्ति भएको दर्शन गर्न महाचीनबाट आफ्ना दुईवटी श्रीमती वरदा र मोक्षदा साथै लिई आएका महामञ्जुश्रीले सबैभन्दा पहिला स्वयम्भूको ज्यातिको दर्शन गर्ने क्रममा दुवै हात जोडी नमस्कार गर्दै ‘ॐ मणि पद्मे हुँ’ भनी मन्त्र पढेका हुन् भनिन्छ । त्यसपछि महामञ्जुश्रीले चोभारको दाँयाबाँया रहेको पहाडमा एकातिर वरदा र अर्कातर्फ मोक्षदालाई राखी आफ्नो खड्गले चोभारको पहाड न्हासिकापमा प्रहार गरेर पोखरीमा जम्मा भइरहेको सबै पानी बाहिर पठाई मञ्जुश्रीपतन नामक बस्ती बसाएका हुन् । पछि वरदालाई राखेको पहाड फुल्चोकी र मोक्षदालाई राखेको पहाड चम्पादेवीका नामले प्रख्यात भएको हो भनिन्छ । 
    धर्मधातु रूपी स्वयम्भूको ज्यातिलाई छोपेर महायान धर्म गुरु शान्ति कराचार्यले स्वयम्भू महाचैत्य निर्माण गरेका हुन् । त्यही समयदेखि चैत्यको पूजा गर्ने परम्पराका साथै चैत्य परिक्रमा गर्दै गुँला पर्व मान्ने गरिएको हो भनिन्छ । 
    विशेष गरी नेवार समुदायका बौद्ध धर्मावलम्वीहरूले शृंगभेरी अर्थात् सिंगको बाजा फुक्न लगाएर स्वयम्भू महाचैत्य प्रदक्षिणा गराइन्छ । दिवंगत भइसकेकाहरूको आत्माको शान्ति होस्, सुखावती भुवनमा बास होस् भन्ने कामना गर्दै आफ्ना जहान परिवारले राँगाको सिंगको बाजा बजाउन लगाएर स्वयम्भूलाई परिक्रमा गराइन्छ । गुँला पर्वभर बौद्ध स्तोत्र, धारणी, नाम संगीती र सद्धर्म ग्रन्थ पाठ गरिन्छ । 
    गुँलाको समयमै नागपञ्चमी, पाटन, काठमाडौं र भक्तपुरमा पञ्चदान, जनै पूर्णिमा, कुम्भेश्वर महादेवको मेला, गोसाईंकुण्डको मेला, गाई जात्रा, पाटनको मतयाः जात्रा, देवपतनमा खड्ग जात्रा र रोपाईं जात्रा, श्रीकृष्णाष्टमी, बाबुको मुख हेर्ने आदि विभिन्न चाडवाड मेला, पर्व पर्ने भएकाले पनि गुँला पर्वलाई महŒवले भरिएको पर्वका रूपमा लिने गरिन्छ । 
    गुँलाको समयमै साउन महिनाको सोमबार महादेवको मेला हुने भएकाले पनि यो समयलाई अत्यन्तै महŒवपूर्ण रूपमा लिंदै आएको देखिन्छ । 
    यही समयमा सिद्धार्थ गौतमले बोधिसत्व ज्ञानका साथै बुद्धत्व प्राप्त गरेका हुन् । यसरी विभिन्न विशेषताले भरिएको गुँला पर्वको महŒव र विशेषताले गर्दा पनि नेवारी धर्म, संस्कृति र परम्पराको धरोहर अत्यन्तै उच्च रहेको छ भन्न सकिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्