नेभिगेशन
उपत्यका

लिच्छविकालीन नित्यनाथ मन्दिर पुनःनिर्माण

काठमाडौं । काठमाडौंको ग्वलः दे नवाली टोलमा रहेको लिच्छविकालीन नासः द्यः छेँ (नित्यनाथ मन्दिर) को पुनःनिर्माण सम्पन्न भएको छ । करिब २ करोड २७ लाख रुपैयाँ लागतमा पुनःनिर्माण गरिएको तीनतले मन्दिर काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले मन्दिरको उद्घाटन गरेकी छन् । 
पहिलो तलामा सन्ध्या पुस्तकालय सञ्चालन हुनेछ । दोस्रो तला सामाजिक कार्य, परम्परागत बाजागाजा प्रशिक्षण तथा भोजका लागि प्रयोग गरिनेछ भने तेस्रो तलामा नित्यनाथको मन्दिर रहनेछ । प्रत्येक तलाको क्षेत्रफल ८१३.०६ वर्गफिट छ ।
समारोहमा कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले मूर्त, अमूर्त, अभिलेख तथा प्राकृतिक सम्पदा संरक्षणलाई प्राथमिकता दिएको बताइन् । उनले सम्पदा पुनःनिर्माणसँगै त्यसको संरक्षणको जिम्मेवारी समुदायले लिनुपर्नेमा जोड दिइन् । वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले स्थानीयको प्रत्यक्ष सहभागिता र निगरानीमा मन्दिर पुनःनिर्माण भएकाले मौलिकता फर्किएको बताए । 
२०८१ माघ ८ मा जग पूजा गरी सुरु गरिएको पुनःनिर्माणका क्रममा २०८२ मंसिर ५ गते नित्यनाथको करिब तीन फिट अग्लो निराकार प्रस्तर मूर्ति पुनःस्थापना गरिएको थियो । 
स्थानीय संस्कृतिका जानकार राजेश संगतका अनुसार नेवार समुदायमा परम्परागत बाजा, गायन तथा नृत्य सिक्नुअघि नित्यनाथको पूजा गर्ने परम्परा छ । नित्यनाथको पूजाका लागि बिहीबारलाई विशेष र शुभ दिन मानिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्