नेभिगेशन
उपत्यका

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

दुई पूर्वमन्त्रीसहित ६ जनाको ४ दिन म्याद थप

 काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रयि अनुसन्धान ब्यूरोले अर्यालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो । वैदेशिक रोजगारमा मलेसिया जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गर्न लागेको हो । यस प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जनालाई सीआइबीले बुधबार नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उनीहरूविरुद्ध जाहेरी दिएपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो ।
आफू पक्राउ पर्ने सूचना पाएका अर्याल लुकिसकेका छन् । १६ महिना मुख्यसचिव रहेका उनले ५८ वर्षको उमेरहदका कारण गत वर्ष मंसिर ९ मा सरकारी सेवाबाट अवकाश पाएका थिए । मलेसिया सरकारसँग भएको सम्झौता विपरीत हुने गरी रकम संकलन गरी ठगेको आरोपमा प्रहरीले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीहरू शेरबहादुर कुँवर र रामेश्वर राय यादव छन् । ६० वर्षीय कुँवर अछाम, चौरपाटी गाउँपालिका–४ का हुन् भने ६१ वर्षीय यादव सर्लाहीको चक्रघट्टा गाउँपालिका, बेल्हीका बासिन्दा हुन् ।
सोही मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरूङ पनि पक्राउ परेका छन् ।
सीआईबीले ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा उनीहरूमाथि म्याद थप भएर अनुसन्धान अघि बढाएको छ । तर, पूर्वमुख्य सचिव अर्याल सम्पर्कविहीन रहेको प्रहरीस्रोतले बताएको छ ।
यसैबीच दुई पूर्वमन्त्रीसहित ६ जनालाई ४ दिन हिरासतमा राख्न अदालतले म्याद दिएको छ । बुधबार पक्राउ गरिएका पूर्व श्रममन्त्रीद्वय कुँवर र यादवसहित श्रम मन्त्रालयका तत्कालीन सचिव केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय ढुंगाना र पोखरेल तथा तत्कालीन कानुन अधिकृत गुरुङलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्