नेभिगेशन
राजनीति

‘सुरुङमा उद्धार गर्न कुनै असाधारण प्रविधि चाहिँदैन’

काठमाडौं । बाढीको एक सातासम्म पनि जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धार गर्न सरकारले नसकेपछि प्रधानमन्त्री वालेन्द्र शाहले उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, सहरी विकास तथा भौतिक मन्त्री कुलमान घिसिङसँग सुझाव लिएका छन् । सिंहदरबारमा बिहीबार भएको भेटमा बाढीपछिको खोजी, उद्धार तथा राहत कार्यबारे मौखिक र लिखित सुझाव लिएका हुन् । 
भेटमा मुख्यगरी सुरुङभित्र थुनिएका व्यक्तिहरूको उद्धार, पूर्वाधार पुनःस्थापना र राहत व्यवस्थापनमा केन्द्रित रहेर छलफल भएको भेटपछि घिसिङले बताए । सुरुङभित्रका मानिसहरूलाई उद्धार गर्न कुनै विशेष वा असाधारण प्रविधि नचाहिने तर तत्काल एक्स्काभेटर र ड्रिलिङ मेसिन जस्ता उपकरण घटनास्थलमा पु¥याएर डेब्रिज हटाउन उनले सुझाव दिएका छन् । ‘स्पेसल प्रविधि भन्ने त केही हुँदैन । तर, गर्ने हो भने साधारण कामबाट गरिने हो । इक्विपमेन्टहरू लैजानुपर्ने, रेस्क्यु गर्ने टिम हुनुप¥यो,’ उनले भेटपछि भने, ‘मुख्य समस्या भनेको इक्विपमेन्ट पु¥याउन गाह्रो हो ।’ बुधबार प्रतिनिधिसभामा रसुवा बाढीबारे उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले रसुवा विपत्तिमा गएजस्तो बाढीमा सुरुङभित्र उद्धार गर्न विश्वमा कसैले पनि नसक्ने बताएका थिए । 
सरकार उद्धारमा चुकेको भन्दै आलोचना शाहले खेपिरहेका बेला नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा लामो समय काम गरेका घिसिङसँग जलविद्युत् आयोजना र उद्धारसम्बन्धी विषयमा उनको सुझाव लिएका हुन् । भेटमा घिसिङले बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका लागि राहत तथा पुनःस्थापनासहितको प्याकेज घोषणा गर्नुपर्ने सुझावसमेत दिएका थिए । 
घिसिङले उद्धार र राहत सामग्री सहजै पु¥याउन सडक सञ्जाल पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने, विशेषगरी स्याफ्रुबेंसीसम्म सडक जोड्न ठाउँ–ठाउँमा तत्काल बेलिब्रिज निर्माण गर्नुपर्ने सुझाव दिएका छन् । विपद्को सुरुवाती चरणमा हेलिकप्टर नै मुख्य माध्यम भएकाले उपलब्ध नेपाली हेलिकप्टरको प्रभावकारी प्रयोग गर्नुपर्ने र आवश्यक परे विदेशबाट समेत ल्याउनुपर्नेबारे छलफल भएको उनले बताए । प्रधानमन्त्री शाह यस विषयमा सकारात्मक रहेको र जुनसुकै अवस्थामा साधनस्रोत परिचालन गर्न दृढ रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । ‘सरकार अघि बढोस्, विज्ञता र अनुभवका हिसाबले हामी सहयोग गर्न तयार छौं भनेका छौं,’ उनले भने, ‘आवश्यक पर्दा हामी साथ दिन्छौँ भनेका छौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्