नेभिगेशन
राजनीति
रास्वपाको निष्कर्ष

‘विपत्तिको सामना राज्यले मात्रै गर्न सक्दैन, सर्वदलीय संयन्त्र बनाऔं’

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोशी बाढीपछिको खोजी, उद्धार तथा राहत कार्यहरूको समीक्षा गर्दै राष्ट्रिय विपत्तिको सामना राज्यले मात्रै गर्न नसक्ने भन्दै सर्वदलीय संयन्त्र बनाउन माग गरेको छ । पार्टीको बिहीबार सम्पन्न सचिवालय बैठकले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सर्वदलीय संयन्त्र गठनको पहल गर्ने प्रस्ताव समेत अघि सारेको हो । 
त्यसो त रास्वपाको एकल सरकार छ, वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री छन् । सरकारले उद्धार र राहतको काममा प्रदेश र स्थानीय तह, राजनीतिक दल, नागरिक समाजसँग समन्वय गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेका बेला पार्टीले सर्वदलीय संयन्त्रको प्रस्ताव गरेको हो । 
‘राष्ट्रिय विपत्तिको सामना राज्यको एकल प्रयासले मात्र सम्भव नहुने यथार्थलाई आत्मसात् गर्दै, यस कठिन घडीमा सरकारले सञ्चालन गरिरहेका उद्धार तथा राहतका प्रयासहरूमा रास्वपाका सम्पूर्ण संरचनाहरूबाट हुँदै आएको समन्वयात्मक सहयोगलाई निरन्तरता दिने निर्णय भएको छ,’ बैठकपछि रास्वपाले भनेको छ ,‘ साथै, सरकारका सकारात्मक र परिणाममुखी कदमहरूमा रास्वपासहित अन्य दलहरू समेत सम्मिलित सर्वदलीय संयन्त्रमार्फत संस्थागत सहयोग जुटाउने दिशामा पार्टीले निरन्तर पहल गर्ने निर्णय गरेको छ ।’ बैठकमा भोटेकोशी नदीमा आएको बाढीले पु¥याएको ठूलो क्षति र त्यसपछिको अवस्थाबारे समीक्षा भएको थियो । उद्धार र राहत कार्य थप प्रभावकारी बनाउनुपर्नेमा पनि बैठकले जोड दिएको छ । 
बाढीबाट प्रभावित नागरिकहरूको सुरक्षित उद्धार, घाइतेहरूको निःशुल्क उपचार र विस्थापित परिवारहरूलाई उपलब्ध गराइने राहत सामग्रीको वितरणलाई न्यायोचित, पारदर्शी र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । रास्वपाले विपद्को समयमा दलीय आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर एकताबद्ध भई जुट्न समेत आह्वान गरेको छ ।
बिहीबार सचिवालय बैठकमा उपसभापति एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खोजी, उद्धार, राहत तथा सरकारी कार्यप्रगतिको जानकारी गराएका थिए । विपद् व्यवस्थापन तथा राहतका लागि सरकारको कोषमा हालसम्म ८ अर्ब रुपैयाँ संकलन भएको जानकारी प्राप्त भएको रास्वपा प्रवक्ता जगदीश खरेलले बताए । सीमित स्रोतसाधनका बाबजुद सरकारले उद्धार र राहतमा देखाएको अगुवाइ र तदारुकताप्रति सचिवालय बैठकले धन्यवाद दिएको उनले बताए । खोजी र उद्धारलाई निरन्तरता दिँदै अब प्रभावितहरूको पुनःस्थापना तर्फ पनि सँगसँगै तयारी अघि बढाउनुपर्नेमा बैठकले जोड दिएको छ । बैठकमा पार्टी सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल र राजनीतिक दलहरूले देखाएको ऐक्यबद्धताबारे ब्रिफिङ गरेका थिए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि दीर्घकालीन रूपमा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्ने पार्टीको निष्कर्ष रहेको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्