नेभिगेशन
दृष्टिकोण

व्यायामले मस्तिष्कलाई कसरी फाइदा पु-याउँछ ?

व्यायाम गर्दा मस्तिष्कमा रहेका अन्य कोषिकाहरू खुम्चिने वा संकुचित हुने र त्यसैका कारण नयाँ स्नायु कोषिका बन्ने प्रक्रिया सक्रिय हुन सक्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन् । यो अध्ययन मुसामा गरिएको हो । यसले व्यायामले मस्तिष्कलाई कसरी स्वस्थ राख्छ र उमेरसँगै हुने स्मरणशक्ति तथा सोच्ने क्षमताको ह्रासबाट कसरी जोगाउन सक्छ भन्ने कुरा बुझ्न सहयोग गर्न सक्छ ।
नियमित शारीरिक गतिविधि मानसिक स्वास्थ्य राम्रो राख्ने र उमेरसँगै मस्तिष्कको क्षमता घट्न नदिने प्रमुख जीवनशैलीका उपायमध्ये एक हो ।
मानिससहित विभिन्न जनावरमा गरिएको अध्ययनले व्यायामले न्युरोजेनेसिस अर्थात् नयाँ स्नायु कोषिका बन्ने प्रक्रियासँग सम्बन्ध रहेको देखाएको छ । विशेषगरी मस्तिष्कको हिप्पोक्याम्पस भन्ने भागमा यस्तो प्रक्रिया हुन्छ । हिप्पोक्याम्पस सिकाइ र स्मरणशक्तिका लागि महŒवपूर्ण हुन्छ ।
व्यायाम गरेपछि रगतमा विभिन्न संकेत दिने रासायनिक पदार्थ तथा हार्मोनको मात्रा बढ्ने कुरा वैज्ञानिकहरूले पत्ता लगाएका छन् । तर यी पदार्थले मस्तिष्कलाई वास्तवमा कसरी फाइदा पु¥याउँछन् भन्ने कुरा स्पष्ट थिएन ।
अमेरिकाको युनिभर्सिटी अफ इलिनोइस अर्बाना–शेम्पेनका जस्टिन रोड्स र उनका सहकर्मीहरूले यसमा एस्ट्रोसाइट नामका कोषिकाको भूमिका हुन सक्ने अनुमान गरे ।
एस्ट्रोसाइट मस्तिष्क तथा केन्द्रीय स्नायु प्रणालीमा पाइने ताराजस्ता आकारका कोषिका हुन् । रगतमा भएका विभिन्न रासायनिक संकेत पहिचान गर्ने यी कोषिकाले नयाँ स्नायु कोषिका बन्न पनि सहयोग गर्छन् । यसका लागि तिनीहरूले स्नायु कोषिकाको वृद्धि र मर्मतमा सहयोग गर्ने विभिन्न पदार्थ निकाल्छन् ।
मुसामा गरिएको प्रयोग
वैज्ञानिकहरूले २० वटा मुसालाई दुई–तीन दिनसम्म दुई प्रकारका पिँजडामा राखे । केही पिँजडामा दौडने चक्का थियो भने केहीमा थिएन ।
त्यसपछि उनीहरूले मुसाको हिप्पोक्याम्पसमा एस्ट्रोसाइट खुम्चिँदा वा संकुचित हुँदा देखिने दुईवटा आणविक संकेतको अध्ययन गरे ।
दौडिरहेका मुसामा एउटा संकेत दौड्न थालेको १ देखि २ मिनेटमै बढेको देखियो । अर्को संकेत भने अघिल्लो २७ देखि ३८ मिनेटमा भएको व्यायामसँग सम्बन्धित थियो ।
रोड्सका अनुसार यी दुवै संकेतले मुसा व्यायाम गरिरहेका बेला एस्ट्रोसाइट पनि संकुचित हुने देखाउँछन् ।
त्यसपछि वैज्ञानिकहरूले मुसाको मांसपेशीका कोषिका प्रयोगशालामा राखे । ती कोषिका आफैं संकुचित हुँदा बाहिर निकाल्ने विभिन्न पदार्थ संकलन गरियो । त्यसपछि ती पदार्थलाई मुसाका एस्ट्रोसाइटमा राखेर हेर्दा मांसपेशीका कोषिका संकुचित हुँदा एस्ट्रोसाइट पनि संकुचित हुने पाइयो । सामान्य अवस्थामा एस्ट्रोसाइट थोरै मात्र संकुचित भए । तर मांसपेशीका कोषिकाबाट निस्किएका पदार्थ थप्दा तिनको संकुचनको शक्ति बढ्यो । अन्तिम प्रयोगमा वैज्ञानिकहरूले संकुचित भएका एस्ट्रोसाइटबाट निस्किएका पदार्थ संकलन गरेर मुसाको हिप्पोक्याम्पसका स्नायु कोषिकामा प्रयोग गरे ।
सबैभन्दा बढी संकुचन भएका एस्ट्रोसाइटबाट निस्किएको तरल पदार्थ प्रयोग गर्दा अपरिपक्व नयाँ स्नायु कोषिकाको संख्या सबैभन्दा धेरै देखियो । यो नयाँ स्नायु कोषिका बन्ने प्रक्रियाको संकेत हो ।
यसबाट एस्ट्रोसाइट जति धेरै संकुचित हुन्छन्, मस्तिष्कमा नयाँ स्नायु कोषिका बन्ने प्रक्रिया पनि त्यति नै बढी हुन सक्छ भन्ने देखिएको छ ।
मांसपेशीका कोषिकाबाट निस्किएका पदार्थको पहिले नै सम्पर्कमा आएका एस्ट्रोसाइटले नयाँ स्नायु कोषिका बन्ने प्रक्रियालाई अझ बढी बढाएको पाइयो ।
रोड्सका अनुसार व्यायामका क्रममा एस्ट्रोसाइट संकुचित हुन्छन् र यो संकुचन मस्तिष्कमा हुने एउटा नयाँ प्रकारको प्रभावजस्तो देखिएको छ, जसले मस्तिष्कको काममा योगदान पु¥याउँछ भन्ने कुरा यसअघि थाहा थिएन ।
एस्ट्रोसाइट किन संकुचित हुन्छन् ?
एस्ट्रोसाइटको संकुचनले नयाँ स्नायु कोषिका बन्ने प्रक्रियालाई किन बढाउँछ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।
रोड्सका अनुसार यसको एउटा सम्भावित कारण एस्ट्रोसाइटको बाहिरी झिल्लीलाई केही पदार्थका लागि पार गर्न सजिलो बनाउनु हुन सक्छ ।
अर्को सम्भावना भनेको संकुचनले एस्ट्रोसाइटभित्र रहेका साना थैलीजस्ता संरचनाबाट विभिन्न रासायनिक पदार्थ बाहिर निकाल्न सजिलो बनाउनु हो । ती पदार्थमा स्नायु कोषिकाको वृद्धि गराउने विकास कारक (ग्रोथ फ्याक्टर) पनि हुन सक्छन् ।
युनिभर्सिटी कलेज लन्डनकी फ्लामिनिया रोन्काले यो खोजलाई निकै रोचक र नयाँ भएको बताएकी छन् । मानिस र मुसामा रहेका प्रमुख कोषिका तथा तिनमा हुने जैविक प्रक्रिया धेरै हदसम्म समान भएकाले मानिसमा पनि यस्तै कुनै प्रक्रिया हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ ।
यस प्रक्रियालाई अझ राम्रोसँग बुझ्न सके भविष्यमा उमेरसँगै घट्दै जाने स्मरणशक्ति र मस्तिष्कको क्षमतासँग सम्बन्धित समस्याका लागि नयाँ उपचार विकास गर्न सकिने वैज्ञानिकहरूको अपेक्षा छ ।
रोड्स अहिले जीवित मुसामा यो प्रक्रिया प्रत्यक्ष हेर्न सक्ने प्रविधि विकास गरिरहेका छन् ।
तर उनको मुख्य सन्देश सरल छ— मस्तिष्कलाई स्वस्थ राख्न तपाईंले गर्न सक्ने सबैभन्दा राम्रो काममध्ये व्यायाम एक हो ।

शरीरमा पु-याउने ‘प्याच’ ?
व्यायामले नयाँ स्नायु कोषिका बन्न मात्र सहयोग गर्दैन । यसका अरू धेरै स्वास्थ्य लाभ पनि छन् ।
अब मुसामा गरिएको एउटा नयाँ अध्ययनले शरीरमा व्यायाम नगरी पनि व्यायामबाट हुने केही फाइदा प्राप्त गर्न सकिने सम्भावना देखाएको छ ।
वैज्ञानिकहरूले मुसाको छालामुनि लगातार संकुचित भइरहने मांसपेशीका कोषिका राखेर एउटा विशेष ‘प्याच’ बनाए । यसले शारीरिक गतिविधि नगर्दा पनि व्यायामका केही प्रभाव शरीरमा पु¥याएको देखियो ।
तर वैज्ञानिकहरूले स्पष्ट पारेका छन्— यसले वास्तविक व्यायामलाई विस्थापित गर्नु हुँदैन । बरु शारीरिक रूपमा व्यायाम गर्न नसक्ने मानिसका लागि भविष्यमा यो उपयोगी हुन सक्ने सम्भावना छ ।
चीनको बेइजिङ इन्स्टिच्युट फर स्टेम सेल एन्ड रिजेनेरेटिभ मेडिसिनका ङ स्याङ–चाङ र उनका सहकर्मीहरूले जीवित मुसाबाट मांसपेशीका स्टेम सेल लिए । ती कोषिकालाई प्रयोगशालामा हुर्काएर संकुचन गर्न सक्ने मांसपेशीका कोषिका अर्थात् मायोसाइट बनाइयो । त्यसपछि करिब ६० लाख यस्ता कोषिका उही मुसाको ढाडको छालामुनि राखियो ।
त्यहाँ ती कोषिकाले एउटा छुट्टै समूह वा ‘प्याच’ बनाए । त्यस प्याचले आफ्नै साना रक्तनलीहरूको सञ्जाल पनि विकास ग¥यो । त्यसपछि ती कोषिका निरन्तर धड्किने वा संकुचित भइरहने गर्न थाले ।
विभिन्न प्रयोगबाट यी प्याचले मुसाको शरीरमा विभिन्न सकारात्मक प्रभाव पारेको देखियो । उदाहरणका लागि, नक्कली उपचार मात्र दिइएका मुसाको तुलनामा प्याच राखिएका मुसामा प्रतिरक्षा प्रणालीको काम राम्रो भएको पाइयो ।
त्यस्तै, करिब १८ महिनाका मुसा (यिनलाई मानिसको करिब ५० को उत्तरार्धदेखि ६० वर्षको उमेरसँग वैज्ञानिकहरुले तुलना गर्ने गर्छन् ।) मा पनि यो प्याचले केही सकारात्मक प्रभाव पारेको देखियो ।
त्यस्ता मुसामा मांसपेशीको मात्रा बढाएको, हड्डीको घनत्व राम्रो भएको, शारीरिक शक्ति बढेको, लामो समयसम्म शारीरिक गतिविधि गर्न सक्ने क्षमता अर्थात् सहनशीलता बढेको पाइयो । यस्तै प्रभाव मोटोपना उत्पन्न हुने गरी खाना खुवाइएका मुसामा पनि देखिएको थियो ।
तर यो प्रारम्भिक अध्ययन मुसामा मात्र गरिएको हो । त्यसैले मानिसमा यस्तै प्रभाव पर्छ भनेर अहिले नै निष्कर्ष निकाल्न नमिल्ने कतिपय वैज्ञानिकहरूको राय छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्