नेभिगेशन
अर्थतन्त्र

आपूर्ति सहज बनाउन नेपाल आयल निगमले वैकल्पिक व्यवस्था

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि प्रभावित क्षेत्रमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले वैकल्पिक व्यवस्था मिलाएको छ । 
पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक भासिएपछि पेट्रोलियम ट्यांकर तथा ग्यास बुलेट आउन नसक्ने अवस्था बनेको भन्दै निगमले काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थ बाइरोड अर्थात् त्रिभुवन राजपथ हुँदै ल्याइरहेको जनाएको छ । 
एलपी ग्यासका लागि भने हाल तराईका उद्योगमा ग्यास सिलिन्डर भरी सोही वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था गरिएको छ ।  निगमले विहिवार मात्रै विभिन्न ब्रान्डका करिब २४ हजार ५०० ग्यास सिलिन्डर उपत्यकामा ल्याउने व्यवस्था गरेको जनाएको छ ।  शुक्रवार पनि यो क्रमलाई नियमित गर्दै थप परिमाणमा ग्यास ल्याइने निगमले जनाएको छ । 
खोज तथा उद्धार कार्यमा संलग्न हेलिकप्टरका लागि आवश्यक हवाई इन्धनको व्यवस्था पनि निगमले गरेको छ । 
नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट इन्धन भर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।  विहिवारसम्म १ लाख २ हजार लिटर हवाई इन्धन इन्धन भर्ने कार्यका लागि पठाइसकिएको निगमले स्पष्ट पारेको छ ।  नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट इन्धन भर्ने कार्य नियमित रूपमा भइरहेको निगमले जनाएको छ । 
उद्धार कार्यलाई सहज बनाउन निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयबाट बाढी प्रभावित क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल पम्पलाई हालसम्म १ लाख ५ हजार लिटर पेट्रोल र २ लाख २ हजार लिटर डिजेल उपलब्ध गराइएको छ । मागअनुसार सार्वजनिक बिदाका दिनमा समेत पेट्रोल तथा डिजेलको बिक्री वितरणको व्यवस्था मिलाइएको निगमले जनाएको छ । 
बाढीबाट उद्धार गरी प्रभावित क्षेत्रमा रहेका तथा विभिन्न सेल्टरमा आश्रय लिइरहेका नागरिकका लागि आवश्यक एलपी ग्यास उपलब्ध गराउन पनि निगमले समन्वय गरेको छ । 
नेपाल एलपी ग्यास उद्योग संघमार्फत उपलब्ध गराइने १ हजार २५० सिलिन्डरमध्ये ५०० वटा एलपी ग्यास सिलिन्डर रसुवा र नुवाकोटमा पठाउने व्यवस्था गरिएको निगमले जनाएको छ ।  
निगमले विपद्का कारण आपूर्ति प्रणालीमा देखिएको अवरोधका बाबजुद वैकल्पिक मार्ग र अन्य समन्वयमार्फत पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति निरन्तर राख्ने प्रयास भइरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्