काठमाडौं । त्रिशूली तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित जलविद्युत् आयोजना, बस्ती तथा विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ । नेपाली सेना, अन्य सुरक्षा निकाय, आयोजनाका कर्मचारी, प्राविधिक तथा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले प्रभावित क्षेत्रमा दिनरात खोज तथा उद्धार कार्य तीव्र बनाएको हो ।
नेपाली सेनाका अनुसार विहिवार हवाई साधनमार्फत विभिन्न प्रभावित इलाकाबाट ६ जनाको उद्धार गरिएको छ । सुरुङभित्रको उद्धार कार्यसँगै घाइतेको खोजी, शव व्यवस्थापन, सडक खुलाउने तथा आपत्कालीन स्वास्थ्य सेवा प्रदान गर्ने कामसमेत एकसाथ अघि बढाइएको छ ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएको छ । सेनाले स्थानीय प्रशासन, अन्य सुरक्षा निकाय तथा सम्बन्धित आयोजनासँग समन्वय गरी उद्धार तथा राहतका काम गरिरहेको जनाएको छ ।
प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोजीलाई प्राथमिकतामा राखिएको छ । लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोली सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा साना होल बनाएर खोजी गरिरहेको जनाइएको छ ।
त्यस्तै, चिलिमे हाइड्रोमा पनि विदेशीसहितको संयुक्त टोली परिचालन गरी खोज तथा उद्धार कार्य भइरहेको उल्लेख गरिएको छ ।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा भने सुरुङको मुखमा जम्मा भएको लेदो, माटो तथा अन्य अवरोध हटाएर उद्धार टोलीलाई भित्र प्रवेश गराउने प्रयास भइरहेको जनाइएको छ । ९३ जनाको संयुक्त उद्धार टोलीले पाँच वटा एक्स्काभेटर प्रयोग गरी टनेलको आउटलेटमा भरिएको लेदो तथा माटो हटाउने काम गरिरहेको छ ।
उद्धार कार्यका क्रममा राति करिब २ बजे आउटलेटको होल ठूलो बनाउन क्राउनमा ब्लास्टिङ गरी सफा गर्ने कामसमेत गरिएको थियो । निरन्तरको प्रयासपछि सुरुङभित्र जमेको पानी निकास गर्नसमेत सम्भव भएको नेपाली सेनाले जनाएको छ ।
पछिल्लो अवस्थाअनुसार टनेलको मुखबाट करिब १५ फिटभित्रसम्म रहेको डेब्रिस हटाएर नेपाली सेनाको टोली त्यहाँसम्म प्रवेश गर्न सफल भएको छ । त्यसपछि थप अगाडिसम्म पुग्ने प्रयास निरन्तर जारी रहेको छ । सुरुङभित्र रहेको अवरोधका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि टोलीले दिनरात काम गरिरहेको छ ।
माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा खोज तथा उद्धारलाई व्यवस्थित बनाउन आयोजनाले छुट्टै व्यवस्थापन र समन्वयको काम पनि अघि बढाएको छ ।
खोज तथा उद्धार कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक सामान, उपकरण तथा खाद्यान्नको अभाव हुन नदिन आवश्यक बजेट व्यवस्थापन, सामान प्राप्ति, खर्च तथा त्यसको अभिलेख व्यवस्थापन गर्ने निर्णय सम्बन्धित एसएमटी बैठकबाट गरिएको छ ।
त्यसैगरी, खोज तथा उद्धार समितिसँग समन्वय गरी प्राधिकरणको सम्पर्कमा आएका तथा सम्पर्कमा नआएका सम्पूर्ण कर्मचारी र कामदारको विवरण अद्यावधिक गर्ने प्रक्रिया अघि बढाइएको छ ।
सम्पर्क हुन नसकेका कर्मचारी तथा कामदारका परिवारजनको पीर, मर्का तथा गुनासो सुन्ने र आवश्यक सहयोग तथा समन्वय गर्ने उद्देश्यले जनसाधन विभागका निर्देशकको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि गरिएको छ ।
सम्पर्कमा नआएका कर्मचारी तथा कामदारका केही आफन्तलाई बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् उत्पादन केन्द्रको पावर हाउस साइटसम्म जाने प्रबन्धसमेत गरिएको छ । यसबाट आफन्तहरूले घटनास्थलको अवस्थाबारे जानकारी लिन तथा आफ्ना परिवारका सदस्यको खोजी प्रक्रियाबारे सम्बन्धित निकायसँग समन्वय गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
त्रिशूली–३ ‘बी’ आयोजनामा पनि उद्धार कार्य चुनौतीपूर्ण अवस्थामा जारी रहेको जनाइएको छ । नेपाली सेनाका ८९ जना, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोली उद्धारमा खटिएको छ ।
टोलीले आयोजनाको कार्यालय तथा निवास रहेको क्षेत्र पहिचान गरी उक्त स्थानसम्म पुग्न एक्स्काभेटर र बोबक्याटको प्रयोग गरिरहेको छ । बाटोमा थुप्रिएको माटो तथा अन्य अवरोध हटाउँदै पहुँच मार्ग निर्माणको काम भइरहेको छ ।
बाढी तथा पहिरोका कारण आयोजनाका विभिन्न संरचना र पहुँच मार्ग प्रभावित भएकाले उद्धार टोलीलाई घटनास्थलसम्म पु¥याउनसमेत ठूलो चुनौती देखिएको छ । यद्यपि उपलब्ध भारी उपकरणको प्रयोग गरी अवरुद्ध क्षेत्र खुलाउने र उद्धार टोलीलाई थप अगाडि बढाउने प्रयास भइरहेको छ ।
जलविद्युत् आयोजनाका सुरुङमा मात्र नभई प्रभावित बस्ती, जङ्गल, डाँडा तथा खोला क्षेत्रमा समेत जमिनी खोज तथा उद्धार कार्य भइरहेको छ । स्थानीय बासिन्दालाई सुरक्षा प्रत्याभूति दिलाउँदै आवश्यक उद्धार कार्य सञ्चालन गरिएको छ ।
चिकित्सक अधिकृतसहितको टोलीले प्रभावित क्षेत्रमा पैदल गस्ती गर्दै घाइते तथा बिरामीको अवस्थाबारे जानकारी लिने र आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने काम गरिरहेको छ ।
त्रिशूलीपारिको कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोट जिल्लाका विभिन्न स्थानमा खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ । नेपाली सेना तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीले स्याफ्रुवेशी क्षेत्रमा पनि खोज तथा उद्धार कार्य जारी राखेको छ ।
यसैबीच, नुवाकोटको पिपलटार र देवघाटस्थित होल्डिङ सेन्टरमा चिकित्सक अधिकृतहरूले सम्भावित सङ्क्रमण फैलिन नदिन सचेतनामूलक कक्षा सञ्चालन गरेका छन् । प्रभावित तथा विस्थापित नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श तथा सावधानीका उपायबारे जानकारी दिइएको छ ।