नेभिगेशन
खेलकुद

कार दुर्घटनापछिको पहिलो मैदान यात्रा दुविधामा

ओलम्पिक लङ जम्प च्याम्पियन तारा डेविस–वुडहलले कार दुर्घटनामा परेपछि आफू ‘भाग्यमानी र धन्य’ भएर जीवित रहेको बताएकी छन् ।
२७ वर्षीया अमेरिकी खेलाडी गत साता प्रशिक्षणका लागि जाँदै गर्दा निकै डरलाग्दो कार दुर्घटनामा परेकी थिइन् । दुर्घटनामा उनलाई गम्भीर प्रकृतिको मस्तिष्कघात भएको छ ।
यसै महिनामा हंगेरीको बुडापेस्टमा हुने पहिलो विश्व एथलेटिक्स अल्टिमेट च्याम्पियनसिपमा सहभागी हुने सम्भावनालाई उनले अस्वीकार गरेकी छैनन् । तर, दुर्घटनापछि आफूले प्रशिक्षण गर्न नसकेको उनले बताएकी छन् ।
‘भाग्यवश, म कुनै ठूलो चोटपटकबिना दुर्घटनाबाट बाहिरिन सफल भएँ,’ डेविस–वुडहलले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अहिले म स्वस्थ हुन आफ्नो टोली र चिकित्सकहरूसँग काम गरिरहेकी छु । तर, अर्को साता हुने अल्टिमेट च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न म तयार हुन्छु कि हुँदिनँ भन्ने निश्चित छैन । थप जानकारी पछि दिनेछु ।’
डेविस–वुडहलका अनुसार उनको चोट जीवनलाई जोखिममा पार्ने खालको भने थिएन । दुर्घटनाका बेला दुवै कार करिब २० माइल प्रतिघण्टाको गतिमा गुडिरहेका थिए र दुवै कार पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए ।
‘समयका हिसाबले यो निकै दुर्भाग्यपूर्ण भएको छ । अहिले म आफ्नो प्रशिक्षणको उत्कृष्ट चरणमा थिएँ,’ उनले भनिन् ।
‘म अहिलेभन्दा छिटो कहिल्यै दौडिएकी थिइनँ । म अहिलेभन्दा बलियो पनि कहिल्यै भएकी थिइनँ । त्यसैले यो निर्णय मेरा लागि निकै कठिन छ । अहिले म आफू कुन अवस्थामा छु भन्ने पनि थाहा छैन ।’

हंगेरीमा हुने च्याम्पियनसिप सेप्टेम्बर ११ देखि सुरु हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार पाउन्ड पुरस्कार पाउनेछन् ।
तीन दिनसम्म चल्ने यस सिजनअन्त्यको प्रतियोगितामा ओलम्पिक, विश्व च्याम्पियनसिप र डायमन्ड लिगका विजेतासँगै वर्षभर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू सहभागी हुनेछन् ।
डेविस–वुडहलले सन् २०२४ मा पेरिसमा भएको ओलम्पिकमा लङ जम्पमा स्वर्ण पदक जितेकी थिइन् । त्यसको एक वर्षपछि उनले टोकियोमा भएको विश्व च्याम्पियनसिपमा पनि स्वर्ण जितेकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद