काठमाडौँ । रसुवाको भोटेकोसी बाढी तथा त्यससँग सम्बन्धित विपद्मा परी मृत्यु हुनेको संख्या १ हजार २८७ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार मध्याह्नसम्म विभिन्न स्थानबाट १ हजार २८७ जनाको शव फेला परेको हो ।
प्राधिकरणका अनुसार फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ३ सय ५९ जनाको छ । यस्तै, नवलपरासी पूर्वमा २ सय १९, नवलपरासी पश्चिममा २ सय १२, नुवाकोटमा १ सय ८४, रसुवामा १ सय ४०, गोरखामा ७२, धादिङमा ६३ र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये हालसम्म ९६ जनाको मात्र सनाखत भएको छ ।
विपद्का क्रममा हालसम्म ५ हजार ३ सय ९७ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पताल तथा नेपाली सेना र सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मीमार्फत उपचार भइरहेको प्राधिकरणले जनाएको छ ।
सुरक्षा निकायले उद्धार कार्यलाई तीव्रता दिँदै हालसम्म १३ हजार ९३ जनालाई सुरक्षित स्थानमा पुर्याएको छ । शुक्रबार मात्रै त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
हालसम्म नेपाली सेनाले ८ सय ३० पटक र निजी क्षेत्रले १ सय २९ पटक हेलिकप्टर उडान गरी उद्धार तथा राहत कार्यमा सहयोग गरेका छन् । उद्धार गरिएकामध्ये ३ सय ३ जना विदेशी नागरिक रहेका छन् ।
विपद् व्यवस्थापन तथा उद्धारका लागि देशभर २१ हजार ४ सय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय ३१ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना छन् ।
५ हजार ८३ जना अझै सम्पर्कविहीन
प्राधिकरणका अनुसार हालसम्म ५ हजार ८३ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीनमध्ये ५ सय ८३ जना विदेशी नागरिक रहेका छन् ।
सम्पर्कविहीन हुनेमा रसुवाका २ हजार १ सय ३० र नुवाकोटका २ हजार ३ सय ४० जना रहेका छन् । सम्पर्कविहीनको संख्यामा पहिचान हुन बाँकी शवहरू समेत समावेश भएको हुनसक्ने प्राधिकरणले जनाएको छ ।
राहत ढुवानीलाई प्राथमिकता
प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीलाई प्राथमिकता दिइएको छ । काठमाडौँबाट ६९ ट्रक र ३८ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ ।
सशस्त्र प्रहरीले १ सय ६३ हवाई उडानमार्फत नुवाकोट र रसुवामा राहत सामग्री पुर्याएको जनाएको छ ।
सरकारले रसुवा र नुवाकोटलाई १/१ करोड, धादिङलाई ५० लाख तथा प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ ।
यसैबीच, बाढीका कारण अवरुद्ध भएका सञ्चार सेवा पनि क्रमशः सञ्चालनमा आउन थालेका छन् । नेपाल टेलिकमका १ सय २० मध्ये १ सय १६ र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका छन् ।
सम्पर्कविहीन विदेशी नागरिक तथा उद्धार गरिएका व्यक्तिहरूको विस्तृत विवरण प्राधिकरणको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत सार्वजनिक गरिएको जनाएको छ ।