नेभिगेशन
अर्थतन्त्र

जलविद्युत् आयोजनाका सुरुङमा अझै बेपत्ता परिवारको आशा

काठमाडौं ।  रसुवाको भोटेकोशी र त्रिशूलीमा आएको प्रलयकारी हिम बाढीको १२ दिन बितिसक्दा पनि जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा बेपत्ता भएकाहरूको उद्धार प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन । बाढीपछि सयौं मानिस सम्पर्कविहीन भएको प्रारम्भिक विवरण आए पनि यति लामो समय बितिसक्दा उनीहरूको खोजी तथा उद्धारका लागि सरकारसँग स्पष्ट कार्ययोजना के छ भन्ने प्रश्न उठेको छ ।
बाढीले जलविद्युत् आयोजनालाई तहसनहस पारेको १२ दिन भइसकेको छ । कतिपय आयोजनाका विद्युतगृह, सुरुङ र अन्य संरचना माटो, लेदो तथा ढुंगाले पुरिएका छन् । उद्धार टोलीले केही स्थानमा प्रवेश गरे पनि धेरै संरचनामा अझै पूर्ण पहुँच स्थापित हुन सकेको छैन । 
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को विवरणअनुसार ११ जलविद्युत् आयोजनामा मात्रै ९१९ जना सम्पर्कविहीन थिए ।
तर समय बित्दै जाँदा उद्धारको गति भने अपेक्षाअनुसार बढ्न सकेको छैन । बाढीपछिको पहिलो केही दिनमै उद्धार गर्न नसकिएका व्यक्तिहरूका परिवार अहिले राज्यको अर्को निर्णयको प्रतीक्षामा छन् ।

‘उद्धार जारी छ’ भन्नेमै सीमित सरकार
सरकारले बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । भारत, चीन, दक्षिण कोरियालगायतका विदेशी विज्ञ तथा उद्धार टोलीको सहयोगसमेत लिइएको छ । तर यति ठूलो विपदमा सुरुङ उद्धारका लागि आवश्यक विशेषज्ञता, उपकरण र स्पष्ट कमान्ड संरचना पर्याप्त नभएको प्रश्न सुरुदेखि उठिरहेको छ।
सुरुङभित्र पुगेका उद्धार टोलीलाई ठूलो परिमाणमा माटो, ढुंगा र लेदोले अवरोध गरेको बताउँदै आएको छ । भारी उपकरण पु¥याउन पहुँचमार्ग र सुरुङ नै समस्या बनेका छन् । 
शुरुमा उद्धार टोली सुरुङ्गतिर नपठाएकोमा आलोचित बनेको सरकारले  अहिले पनि सुरुङभित्र फसेका मानिसलाई निकाल्ने वैज्ञानिक, प्राविधिक र समयबद्ध योजना नबनाएको आरोप पीडित परिवारहरुले लगाउन थालेका छन् । 
माथिल्लो त्रिशूली–१ ः सबैभन्दा ठूलो अन्योल
२१६ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली–१ आयोजनामा बाढी आउनुअघि १ हजार ४३३ जना कार्यरत थिए । ८७८ जनाको उद्धार भए पनि ठूलो संख्या सम्पर्कविहीन भएको विवरण छ । 
उद्धारमा नेपाली सेना, ड्रोन टोली, विदेशी उद्धार विज्ञ तथा अन्य प्राविधिक जनशक्ति परिचालित भए पनि संरचना र सुरुङभित्रको अवस्थाले खोजी कठिन बनाएको दावी गरिएको छ ।
तर यति ठूलो संख्यामा मानिस बेपत्ता भएको आयोजनाका लागि सरकारको छुट्टै ‘रेस्क्यु कमान्ड’ बनाउन सकेको छैन ।  कति मेसिन प्रयोग भइरहेका छन् र उद्धार सम्पन्न गर्ने लक्ष्य कहिलेसम्म भन्ने विषयमा सरकारले कुनै तथ्यांक र विवरण सार्वजनिक गरेको छैन । 
रसुवागढीमा ९३ जना अझै अज्ञात
१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जनाको अवस्था अझै अज्ञात रहेको छ । विद्युतगृहको चार तल्लासम्म माटो, हिलो र लेदो भरिएको बताइएको छ । कन्ट्रोल रुमसमेत प्रभावित भएको आयोजनाले जनाएको छ । 
उद्धार टोलीले आयोजनाभित्र खोजी गरे पनि कसैलाई जीवित अवस्थामा फेला पार्न सकेको थिएन । त्यसपछि आसपासका क्षेत्र र नदी–खोल्सामा समेत खोजी भइरहेको जनाइएको छ ।
लाङटाङ र त्रिशूली–३ ‘बी’मा पनि उस्तै अवस्था
२० मेगावाटको लाङटाङ खोला आयोजनाको सुरुङमा दुई जनाको शव फेला परिसकेको छ । शव क्षतविक्षत भएकाले पहिचानका लागि डीएनए परीक्षण गर्ने तयारी छ । तर आयोजनामा कार्यरत ३९ जना अझै सम्पर्कविहीन छन् ।
३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’मा पनि १७८ जना अझै सम्पर्कविहीन रहेको विवरण छ । निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनबाट मात्रै सम्पर्कविहीनको संख्या १२८ रहेको छ । खोजीका लागि सुरुङ सफा गरेर ठूला मेसिनरी तथा उपकरण लैजाने तयारी गरिएको जानकारी इप्पानले उपलव्ध गराएको छ । 
परिवारको प्रश्नः हाम्रो मान्छे कहाँ छन्?
बेपत्ता भएकाका परिवारका लागि १२ दिन लामो समय भइसकेको छ । यही बेला उद्धारको विषयमा प्रश्न गर्दा सरकार पक्षधरहरुले थप मानसिक पीडा हुने गरी गालीगलौज गर्ने भएकाले उनीहरु मौन बस्न बाध्य भएका छन् । 
सरकारले ‘खोजी जारी छ’ भनेको छ । यसैंगरी सुरक्षा निकाय परिचालन भएको, विदेशी विज्ञ बोलाइएको, ड्रोन उडाइएको र मेसिन लैजाने तयारीमा पीडित परिवार निर्धक्क बस्न सकेको छैन । 
उनीहरूलाई जीवित छन् कि छैनन् भन्ने जानकारी चाहिएको छ । मृत्यु भएको भए शव चाहिएको छ । कम्तीमा राज्यले सत्य के हो भनेर बताओस् भन्ने उनीहरूको माग रहेको छ । 
विपद् व्यवस्थापनमा कमजोर
यो घटनाले नेपालको विपद् व्यवस्थापन प्रणालीको कमजोरी पनि उजागर गरेको छ ।
नेपालमा जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको छ । सयौं मिटर लामो र कतिपय अवस्थामा किलोमिटर लामो सुरुङ निर्माण भइरहेका छन् । तर त्यही सुरुङमा दुर्घटना हुँदा मानिसलाई कसरी तत्काल उद्धार गर्ने भन्ने पूर्वतयारी भने कमजोर देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्