नेभिगेशन
उपत्यका

जहाँ पाक्छ खाना निःशुल्क

ललितपुर । ग्वार्कोबाट करिब पाँच किलोमिटर पर्तिर महालक्ष्मी नगरपालिका–८ लुभुको एउटा बस्तीमा पुग्दा अनौठो दृश्य देखिन्छ । वरिपरि नयाँ घर बनिरहेका छन्, बस्ती बाक्लिँदै छ । बीचमा एउटा खाली जग्गा छ, जहाँ असरल्ल ढुंगा छन् । ढुंगामाथि चियादानी र कुकर राखिएका छन् । एउटा भाँडामा पानी उम्लिरहेको छ, अर्कोमा चिया पाकिरहेको छ र कुकरले सिठी बजाइरहेको छ ।
बजारमा खाना पकाउने एलपी ग्यास अभाव भइरहेका बेला यहाँ भने स्थानीयले जमिनमुनिबाट निस्किरहेको ग्यासमा निःशुल्क खाना पकाउँदै आएका छन् । खुला ठाउँमा २४ घण्टै बलिरहने आगो स्थानीयका लागि वर्षौंदेखिको परिचित दृश्य हो ।
हुम्ला घर भई लुभु–८ मा भाडामा बस्दै आएकी अनिता जैसी बिहान र बेलुका यही आगोमा खाना पकाउँछिन् । उनी भन्छिन्, ‘यसरी खाना पकाएको धेरै भयो । खुला जमिनमा २४ घण्टा आगो बलिरहन्छ । यसैमा खाना पकाएर घरमा लगेर खान्छौँ ।’ घरनजिकै खेर गइरहेको ग्यासको सदुपयोग गरेको उनको भनाइ छ । ‘बिहान बेलुका दाल, गेडागुडी पकाउँछु । मैले मात्र होइन, वरिपरिका धेरै परिवारले यहीँ दालभात पकाउनुहुन्छ,’ उनले भनिन् ।
यो आगोमा पकाउने काम भान्सामा मात्र सीमित छैन । कतिपयका लागि यो सानो आयस्रोत पनि बनेको छ । जैसी भन्छिन्, ‘हामी साँझबिहान मात्रै पकाउँछौँ, एक जना दिदीले त दिनभरि मकै पोलेर राम्रो आम्दानी गर्नुहुन्छ ।’
चार जनाको परिवारलाई बिहान–बेलुका दाल, भात र तरकारी पकाउन यही ग्यास पर्याप्त हुने उनको अनुभव छ । संघीय राजधानीसँगै जोडिएको क्षेत्रमा यस्तो प्राकृतिक रूपमा बलिरहेको ग्यास हुँदाहुँदै सरकारले यसको उपयोगबारे ध्यान नदिएकोमा उनको गुनासो छ ।
बिहान र साँझ भाँडाकुँडा बोकेर यहाँ पुग्ने अरू स्थानीय पनि धेरै छन् । कसैका लागि यो बाल्यकालदेखि देख्दै आएको आगो हो भने कसैका लागि प्रकृतिको अनौठो उपहार ।
ललितपुर सानागाउँका ५६ वर्षीय बाबुकाजी महर्जनका अनुसार यहाँको ग्यास कम्तीमा ४५ वर्षदेखि निरन्तर बलिरहेको छ । ‘घाम न पानी, हुरी न आँधी, यो आगो निरन्तर बलिरहेको छ,’ उनी भन्छन्, ’पहिले यहाँ पूरै घारी थियो, अहिले घर बन्न थालिसके । यसरी ग्यास निरन्तर बलिरहँदा बस्तीका लागि जोखिम पनि हुन सक्छ ।’
यही आगोले एउटा गम्भीर प्रश्न पनि उठाएको छ – जमिनमुनिबाट निस्किरहेको यो ग्यास आखिर कस्तो हो ? यसको मात्रा कति छ ? यसलाई ऊर्जा स्रोतका रूपमा प्रयोग गर्न सकिन्छ कि सकिँदैन ?
वडाध्यक्ष विश्वराज श्रेष्ठका अनुसार यसबारे विभिन्न निकायबाट अध्ययन भइसकेका छन् । ‘आगो निस्किएको धेरै भयो, अध्ययन पनि धेरै भयो,’ उनले भने, ‘तर ग्यास निकालेर व्यावसायिक रूपमा उपयोग गर्न मिल्दैन भन्ने निष्कर्ष आएको थियो ।’
पहिलो कार्यकालमै यसको सम्भाव्यता र उपयोगबारे पहल गरेको स्मरण गर्दै उनले यहाँ पहिले इँटा कारखानाका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको बताए । २०७२ सालको भूकम्पपछि भने यही ठाउँमा चिया र खाना पकाउनेको भीड लाग्ने गरेको थियो ।
महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठका अनुसार खानी तथा भूगर्भ विभागले ग्यास भण्डारण गर्न नमिल्ने बताएपछि थप काम अघि बढ्न सकेन । तर लुभु क्षेत्रमा अन्य ठाउँमा गहिरो बोरिङ गर्दा पनि ग्यास निस्कने गरेको उनी बताउँछन् ।
खानी तथा भूगर्भ विभागअन्तर्गत पेट्रोलियम परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काका अनुसार लुभुमा देखिएको ग्यास दैलेखमा पाइनेजस्तो व्यावसायिक प्राकृतिक ग्यास नभई सम्भवतः बायोजेनिक ग्यास हो । उनले भने, ‘व्यावसायिक उत्पादनका लागि विस्तृत भूगर्भीय अध्ययन, ग्यासको रासायनिक परीक्षण र आर्थिक तथा प्राविधिक सम्भाव्यता अध्ययन आवश्यक हुन्छ ।’ उनका अनुसार २०७२ को भूकम्पपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यस्ता ग्यास निस्किएको थियो । बालुवा र पानीको तहमा बनेर जम्मा भएको ग्यास इनार, बोरिङ, नदी किनार वा खोँचमा निस्कन सक्ने उनी बताउँछन् । 
तर स्थानीयको माग फरक छ । कम्तीमा पनि वर्षौंदेखि बलिरहेको यो आगोबारे गम्भीर वैज्ञानिक अनुसन्धान होस् भन्ने उनीहरूको चाहना छ । महर्जन भन्छन्, ’मैले ४६ वर्षदेखि लगातार ग्यास बलिरहेको देखेको छु । अनुसन्धान गरेर यसको वास्तविकता र उपयोगबारे सरकारले गम्भीर रूपमा सोच्नुपर्छ ।’
व्यावसायिक ग्यास उत्पादन सम्भव नभए पनि यो क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाएर स्थानीय आकर्षण वा पर्यटकीय स्थलका रूपमा संरक्षण गर्न सकिने सम्भावना देखिन्छ । तर बस्ती विस्तारसँगै कहिल्यै ननिभ्ने यो आगो अवसर मात्र नभई सुरक्षा चुनौती पनि बन्न सक्ने स्थानीयको चिन्ता छ । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्