नेभिगेशन
अन्तर्वार्ता

कांग्रेसको वास्तविक सुधार यही महाधिवेशनबाट सुरु हुन्छः गुरुराज घिमिरे, महामन्त्री, नेपाली कांग्रेस

नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन आज हुँदैछ ।  पछिल्लो समयको विशेष राजनीतिक परिस्थितिपछि विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन र पुस्तान्तरण गरेको कांग्रेसले नियमित महाधिवेशनमार्फत आफ्नो सांगठनिक, वैचारिक र राजनीतिक दिशालाई थप स्पष्ट पार्ने तयारी गरेको छ । महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसभित्र नेतृत्व चयन, आन्तरिक एकता, विधान संशोधन, नयाँ पुस्ताको प्रतिनिधित्व, प्रजातान्त्रिक समाजवादको विकल्पमा भइरहेको सामाजिक लोकतन्त्रको बहस तथा नयाँ राजनीतिक शक्तिसँगको प्रतिस्पर्धामा केन्द्रित रहेर  न्युज २४ दैनिकका जगन्नाथ दुलालले नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेसँग गरेको कुराकानीको सम्पादित अंशः
महाधिवेशनको तयारी कहाँ पुग्यो?
तयारीको दृष्टिले हामी अन्तिम चरणमा छौँ । युद्धस्तरमा तयारी भइरहेको छ । उदघाटन स्थलको व्यवस्थापनदेखि भौतिक तयारीसम्म साथीहरू जुटिरहनुभएको छ । यसपटक हामी अलि फरक ढङ्गले महाधिवेशन सम्पन्न गर्ने तयारीमा छौँ । यो महाधिवेशन विगतका महाधिवेशनभन्दा धेरै अर्थपूर्ण छ । मुलुकमा उत्पन्न विशेष परिस्थिति र त्यसपछि भएको विशेष महाधिवेशनले पुस्तान्तरणसहित नेतृत्व परिवर्तन ग¥यो । अहिले त्यही परिवर्तित नेतृत्वले समयसीमाभित्रै, अझ समयभन्दा अगाडि नै नियमित महाधिवेशन गर्दैछ ।
यसले एउटा कुरा स्पष्ट गर्छ । हामी विधानको पूर्ण पालना गर्छौँ र विधानले गरेको वैधानिक व्यवस्थालाई व्यवहारमा सार्थक बनाउँछौँ ।

नेतृत्वमा आएको १० महिना पनि नपुग्दै हामी १५औँ महाधिवेशन गर्दैछौँ । यसका आफ्नै गहन र ऐतिहासिक दायित्व छन् । विशेष परिस्थितिमा र पार्टीभित्रको आन्तरिक मतभेदका बीचमा यो महाधिवेशन हुँदैछ ।
नयाँ पुस्तालाई केन्द्रमा ल्याउने प्रयास कति प्रभावकारी छ?
कांग्रेसले लामो राजनीतिक यात्रा तय गरेको छ । २००७ सालको जनक्रान्तिको अगुवाइदेखि आजसम्म हामीले धेरै उतारचढाव भोगेका छौँ । कांग्रेस नेपाली राजनीतिको एउटा शिखर दल हो । यसका नेताहरूले देशका विभिन्न राजनीतिक परिवर्तनको अगुवाइ गरेका छन् ।
तर अहिले नयाँ दलहरूको उदय भएको छ । पुराना दलहरू पनि छन् । त्यसैले कांग्रेसले आफूलाई समयअनुसार बदल्नुपर्ने आवश्यकता छ ।
हाम्रो मूल चिन्ता देशलाई कसरी बलियो बनाउने, जनताको जीवनलाई कसरी सहज र सुखद बनाउने, नेपालीहरूको आत्मसम्मान कसरी बढाउने र नयाँ पुस्ताको भविष्य नेपालमै कसरी सुरक्षित गर्ने भन्ने हो ।
यसपटक नयाँ पुस्तालाई केन्द्रीय नेतृत्वमा ल्याउने महत्वपूर्ण व्यवस्था गरेका छौँ । ३५ वर्षमुनिका २१ जना नयाँ पुस्ताका साथीहरू केन्द्रीय समितिमा आउँदै हुनुहुन्छ । विभिन्न क्लस्टरमार्फत विदेशमा क्रियाशील साथीहरू, पेशागत विज्ञहरू, द्वन्द्वपीडित, सहिद परिवार तथा प्रजातन्त्र स्थापना र पुनस्थापनाका लागि लामो समय संघर्ष गरेका प्रजातन्त्र सेनानीहरूलाई पनि केन्द्रमा पुग्ने बाटो खोलिएको छ ।
यसलाई हामी ल्याटरल इन्ट्री पनि भन्छौँ ।
युवाहरूले बाहिर बसेर ‘कांग्रेस बिग्रियो, कांग्रेसभित्र समस्या छ’ भनेर मात्रै टिप्पणी गर्ने होइन, पार्टीभित्रै आएर सुधार गर्ने अवसर पाउनुपर्छ । आफ्नो क्षमता र व्यक्तित्व प्रदर्शन गरेर पार्टीलाई हाँक्ने अवसर हामीले दिएका छौँ ।

१० लाख क्रियाशील सदस्य बनाउने लक्ष्य कति सफल भयो ? 
केही क्रियाशील सदस्यको विषयमा महाधिवेशनसम्म छिनोफानो गर्न बाँकी छ । त्यसपछि हामी झन्डै १० लाख क्रियाशील सदस्य भएको पार्टी बन्नेछौँ । १० लाख अर्थात् एक मिलियन सक्रिय सदस्य भएको पार्टी बन्ने लक्ष्य हो । वैधानिक प्रबन्ध, समयमै महाधिवेशन र सदस्य संख्याका दृष्टिले हामी अग्रणी बन्न चाहन्छौँ ।
तर सदस्य संख्या मात्रै पर्याप्त हुँदैन । हामीले प्रस्तुत गर्ने नीति, कार्यक्रम र दस्तावेज पनि समग्र देश र जनतालाई केन्द्रमा राखेर आउनुपर्छ । राष्ट्रको हित र छिमेकीसँगको सम्बन्धलाई समेत ध्यानमा राखेर अघि बढ्नुपर्छ ।
यहाँहरुले महाधिवेशनअन्तर्गत सबै तहका अधिवेशन समपन्न गरिसक्नुभयो । सो क्रममा कार्यकर्ताको उत्साह कस्तो पाउनुभयो?
हाम्रा शुभेच्छुक र शुभचिन्तकहरूले हामीलाई एउटा कुरा स्पष्ट रूपमा भन्नुभएको छ,‘तपाईंहरूले कांग्रेसको बागडोर लिनुभएको छ, प्रभावकारी रूपमा अगाडि बढाउनुस् । अहिले तपाईंहरूप्रति केही विश्वास छ, पूर्ण विश्वास भने काम गरेर देखाएपछि हुन्छ ।’
हामीलाई उहाँहरूले आफूलाई प्रमाणित गर्न भन्नुभएको छ । काम गरेर देखाएनौँ भने फेरि अवसर नआउन सक्छ । समय फर्केर आउँदैन । अर्को कुरा उहाँहरूले सबैलाई मिलाएर लैजान आग्रह गर्नुभएको छ । हामीले अधिकतम प्रयास गर्नुपर्छ । सबैलाई साथ लिएर अघि बढ्ने प्रयास गर्नुपर्छ । तर प्रयास गर्दा पनि कोही सँगै आउन तयार भएन भने नपर्खिएर अगाडि बढ्नुपर्छ भन्ने सुझाव पनि आएको छ ।
तपाईंहरुले महाधिवेशन गर्दैगर्दा अर्कोतिर पूर्वसभापति शेरबहादुर देउवा पक्षको पनि वडा तहको अधिवेशन जारी छ । असन्तुष्ट पक्षलाई समेट्ने सम्भावना सकियो होइन ? 
हाम्रा अग्रज नेताहरूले संकट र अप्ठ्यारो अवस्थामा पार्टी जोगाउनुभएको छ । निरंकुशताको विरुद्धमा संघर्ष गर्नुभएको छ । प्रजातन्त्र स्थापना र पुनस्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाँहरूको योगदानप्रति हामी नतमस्तक छौँ ।
उहाँहरूबाट कमजोरी पनि भएका होलान् । तर अहिले हामी कमजोरीको स्मरण गर्न चाहँदैनौँ । राम्रा कामलाई स्मरण गर्दै उहाँहरूलाई ससम्मान पार्टीभित्र पुनः स्थापित गर्न चाहन्छौँ । तर त्यसका लागि उहाँहरूको इच्छा पनि आवश्यक हुन्छ ।
हामीले कसैलाई निषेध गरेका छैनौँ । गत पुस १० गतेसम्म नवीकरण भएका क्रियाशील सदस्यलाई पनि महाधिवेशन प्रक्रियामा सहभागी हुने अवसर दिएका छौँ । पूर्वसभापति शेरबहादुर देउवादेखि सबै केन्द्रीय तहका नेताहरूलाई पनि निर्बाध रूपमा सहभागी भएर अगाडि बढ्न आग्रह गरेका छौँ ।
सबै विवादको छिनोफानो गर्ने सबैभन्दा ठूलो वैधानिक थलो महाधिवेशन हो । त्यसैले सबैले आफ्ना विचार महाधिवेशनमा राख्नुपर्छ ।

कांग्रेस बदल्यौं भन्ने तपाईंहरुको दाबी छ । तर, अधिवेशनका क्रममा केही क्षेत्रमा उही पुरानै शैलकिो विवाद भयो । कसरी हेर्नुभएको छ ? 
कतिपय ठाउँमा हामीले सुझबुझ पु¥याउन सकेनौँ । हाम्रो परम्परागत बानी पनि छ—झगडा गरिहाल्ने, आफ्नै कुरालाई सर्वोपरि ठान्ने र आफूलाई केन्द्रमा राख्ने ।
संस्थालाई र विधानलाई केन्द्रमा राखेर सबैको अस्तित्व स्वीकार गर्दै अघि बढ्ने हो भने समस्या आउँदैन ।
प्रजातन्त्र भनेको सहअस्तित्व हो । केही मेरा कुरा र केही साथीका कुरा मिलाएर मात्रै प्रजातन्त्र चल्छ । प्रजातन्त्र भनेको सम्झौताको व्यवस्था हो । ‘मैले भनेकै सबै कुरा हुनुपर्छ’ भन्ने सोच प्रजातान्त्रिक होइन ।
कतिपय ठाउँमा प्रभुत्ववादी मानसिकता पनि देखिएको छ । ‘अरूले प्रभुत्व जमाए, अब मैले जमाउनुपर्छ’ भन्ने सोच देखिन्छ । यो मानवीय कमजोरी पनि हो र जिम्मेवार नेताहरूले त्यसो गर्नु हुँदैनथ्यो ।
तर समस्या समाधान हुने क्रममै छ । अधिवेशनमा साथीहरूको सहभागिताले हामीलाई ठूलो आत्मबल दिएको छ ।
विशेष महाधिवेशनपछि कांग्रेस कत्तिको चलायमान भयो?
नेतृत्व परिवर्तनपछि हामीले पार्टीका विभिन्न क्षेत्रका मानिससँग व्यापक अन्तरक्रिया गरेका छौँ । भदौ २४ गते ध्वस्त भएको केन्द्रीय कार्यालयको पुनर्निर्माणदेखि काम सुरु भयो ।
स्थानीय तहका जनप्रतिनिधि, युवा, महिला, व्यवसायी, उद्यमी, कलाकार, प्राज्ञ र विज्ञहरूसँग हामीले अन्तरक्रिया गरेका छौँ । कांग्रेसको दायराभन्दा बाहिर रहेका मानिसहरूसँग पनि देश र पार्टी कसरी चलाउने भन्ने विषयमा सुझाव मागेका छौँ ।
यसबाट एउटा कुरा बुझ्यौँ,‘कांग्रेस पार्टी त आफैँ चलिहाल्छ, लाखौँ सदस्य छन्, पदाधिकारी छन्, त्यसैले पार्टी स्वतः चल्छ’ भन्ने पुरानो सोचबाट बाहिर आउनुपर्छ । पार्टी चलेको पार्टीका सदस्यले मात्रै होइन, जनताले पनि देख्नुपर्छ । त्यसका लागि पार्टी सञ्चालनमा गुणात्मक परिवर्तन आवश्यक छ ।

‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ नाराको अर्थ के हो?
पार्टी भनेको चुनाव जित्नका लागि मात्रै बनाइएको साधन होइन । पार्टी सत्तामा पुग्ने भ¥याङ मात्रै होइन । पार्टी राष्ट्रका लागि हो, जनताका लागि हो भन्ने मानक स्थापित गर्न चाहन्छौँ ।
सबैभन्दा पहिले घर बलियो हुनुपर्छ । आन्तरिक व्यवस्थापन सुदृढ हुनुपर्छ ।
विशेष महाधिवेशनमा हामीले नेतृत्व मात्रै परिवर्तन गरेका थियौँ । समय पनि कम थियो । त्यसपछि हाम्रो अर्जुनदृष्टि महाधिवेशन समयमै सम्पन्न गर्नेमा थियो ।
कतिपयले डेढ वर्षसम्म महाधिवेशन नगर्दा पनि फरक पर्दैन भनेका थिए । तर हामीले मानेनौँ । डेढ वर्षपछि स्थानीय र प्रदेश तहको निर्वाचनतर्फ जानुपर्छ । त्यसैले अहिले नै महाधिवेशन गर्नुपर्छ भन्यौँ ।
केन्द्रीय नेताहरूलाई तल्लो तहसँग जोड्ने नीति किन?
केन्द्रीय नेता एकपटक केन्द्रमा आएपछि सधैँ केन्द्रमै रहिरहने र चुनावको समयमा मात्रै जनतासँग सम्बन्ध राख्ने परम्परा बदल्नुपर्छ । वडा तहमा घुलमिल हुनुपर्छ । वडा तहका साथीहरूसँग सम्बन्ध पुनर्जीवित गर्नुपर्छ । उनीहरूसँगै बस्नुपर्छ । वडा तहमा प्रतिस्पर्धा गरेर फेरि केन्द्रीय नेतृत्वमा आउने बाटो हुनुपर्छ ।
यो कुरा हामीले विगतका दुई महासमितिमा पनि पारित गरेका थियौँ । अहिले कार्यान्वयन गरेका छौँ । विधानले दिएको आफ्नै सुविधा हामीले आफैँ खोसेका छौँ । अर्को कुरा, पार्टी नेतृत्वबीच कटुता र द्वन्द्व हुनुहुँदैन । समस्या आयो भने सँगै बसेर समाधान गर्नुपर्छ । पछिल्लो १० महिनामा हामीबीच कटुता छैन । विभिन्न तहमा विवाद आए पनि बसेर समाधान गरेका छौँ ।
सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र हामी सबै आ–आफ्नो जिम्मेवारीमा छौँ । नेतृत्वमा समझदारी अपरिहार्य छ । कांग्रेसले यसपटक त्यो उदाहरण देखाउन चाहन्छ ।
विधानमा नयाँ पद थप्ने तयारी हो?
महामन्त्री प्रदीप पौडेलजीको संयोजकत्वमा विधान मस्यौदा समिति बनेको छ । साथीहरूबाट प्राप्त सुझावका आधारमा प्रारूप तयार भइरहेको छ । समय अभावका कारण देशभर गएर पर्याप्त छलफल गर्न सकेनौँ । अब महाधिवेशनको हलमा पनि सुझाव आउनेछन् । अहिले तयार हुने मस्यौदा पनि हलमा लगिनेछ । केही पद सिर्जना गर्ने वा थप्ने कुरा छलफलमा छ । तर त्यसले अन्तिम रूप पाइसकेको छैन ।
अन्तिम निर्णय महाधिवेशनको हलबाटै हुन्छ?
महाधिवेशनले पारित नगरी विधानमा पद थप्न मिल्दैन । विधानमा जे व्यवस्था छ, त्यसको पूर्ण पालना गर्नुपर्छ । विगतमा विधानमा एउटा व्यवस्था गर्ने तर व्यवहारमा अर्कै गर्ने प्रवृत्ति देखिएको छ । त्यसले समस्या ल्याएको छ । अब विधान बदल्नुपरे महाधिवेशनबाटै बदल्ने र त्यसपछि पूर्ण रूपमा पालना गर्ने हो ।

कांग्रेसले पार्टीको छैटौं महाधिवेशन (०१२ साल) देखि अंगालेको प्रजातान्त्रिक समाजवाद छाडेर सामाजिक लोकतन्त्रमा जान लागेको हो?
इतिहासको एउटा कालखण्डमा जननायक बीपी कोइरालाले वीरगन्जमा भएको छैटौँ महाधिवेशनबाट प्रजातान्त्रिक समाजवादलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा अँगाल्नुभयो । आजसम्म यही हाम्रो मूल सिद्धान्त हो ।
अहिले सामाजिक लोकतन्त्रको विषय बहसमा आएको हो । विश्वव्यापी रूपमा सामाजिक लोकतन्त्रको बहस चलेको छ । त्यसलाई बुझेर सामाजिक लोकतन्त्रको विषय बहसमा ल्याइएको हो । तर प्रजातान्त्रिक समाजवादलाई हामीले छाडेका छैनौँ ।
मेरो व्यक्तिगत विचारमा प्रजातान्त्रिक समाजवादसँग हाम्रो ऐतिहासिक र भावनात्मक सम्बन्ध छ । त्यसैले समयको कसीमा त्यसलाई परिमार्जन, परिस्कृत र समृद्ध बनाउन सकिन्छ । प्रजातान्त्रिक समाजवादभित्रै सामाजिक लोकतन्त्रलाई जोड्न सकिन्छ । सामाजिक लोकतन्त्रलाई प्रजातान्त्रिक समाजवादकै एउटा अंगका रूपमा अघि बढाउन सकिन्छ ।
त्यसो भए प्रजातान्त्रिक समाजवाद छोडेर सामाजिक लोकतन्त्र मात्रै बोक्ने हो? होइन । त्यो उपयुक्त हुन्छ जस्तो मलाई लाग्दैन । प्रजातान्त्रिक समाजवादको गहन अर्थ छ । तर अहिलेको सन्दर्भमा यसको पुनव्र्याख्या आवश्यक छ ।
प्रजातान्त्रिक समाजवाद भनेको समाजको प्रजातान्त्रीकरण र प्रजातन्त्रको सामाजीकरण पनि हो । लोकतन्त्र सामाजिक हुनुपर्छ ।
निरपेक्ष रूपमा समाजवाद मात्रै भन्यौँ भने त्यसले निरंकुशतातर्फ लैजान सक्छ । बीपीको व्याख्या पनि यही थियो—समाजवादभित्र प्रजातन्त्र हुनुपर्छ । त्यसैले यसको सान्दर्भिकता सकिएको छैन, तर समयसापेक्ष पुनव्र्याख्या गर्नुपर्छ ।

नयाँ राजनीतिक शक्तिसँगको प्रतिस्पर्धालाई कसरी लिनुभएको छ ? विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीसँगको प्रतिस्पर्धालाई कसरी हेर्नुहुन्छ?
लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक हो । नेपाली कांग्रेसको एकल प्रजातान्त्रिक धारमा अर्को दल पनि आएर उभिएको छ । अझ ठूलो आकारमा र सत्तामा पनि पुगेको छ । त्यसैले प्रतिस्पर्धा पेचिलो भएको छ ।
अर्कोतर्फ नेपालका कम्युनिस्ट पार्टीहरूलाई पनि प्रजातान्त्रीकरण गर्ने क्रममा कांग्रेसले योगदान पु¥याएको छ । उनीहरू बन्दुकको राजनीतिबाट ब्यालेटको राजनीतिमा आएका छन् ।
मैले अनौपचारिक छलफलमा कम्युनिस्ट साथीहरूलाई पनि भन्ने गरेको छु—यदि तपाईंहरू पुनः बलियो भएर आउन चाहनुहुन्छ भने आफूलाई अझ प्रजातान्त्रीकरण गर्नुपर्छ ।
पूर्वी युरोपमा साम्यवादको पतनपछि पुराना कम्युनिस्ट पार्टीहरूले आफूलाई रूपान्तरण गरे । त्यसरी नेपालका कम्युनिस्ट पार्टीहरूले पनि आफूलाई प्रजातान्त्रीकरण र रूपान्तरण गर्नुपर्छ भन्ने मेरो सुझाव हो ।

गगन थापा सर्वसम्मत सभापति बन्ने सम्भावना छ?
मलाई लाग्छ सभापतिलाई चुनौती छैन । कतिपय साथीहरूले किशोरसिंह राठौरजीको नाम पनि अघि सार्नुभएको छ । उहाँ पनि पुरानो साथी हुनुहुन्छ । उहाँले सभापतिमा उठ्ने इच्छा व्यक्त गर्नुभएको छ ।
तर मेरो आग्रह उहाँले चुनाव नलडेर गगनजीलाई सर्वसम्मत बनाउन प्रयत्न गर्दा राम्रो हुन्छ भन्ने हो । उहाँले अप्ठ्यारो समयमा हामीलाई साथ दिनुभएको छ । अर्को खेमाबाट आउनुभएको भए पनि विशेष महाधिवेशनमा सहभागी नभईकन पनि ‘म यहीँ बस्छु, अद्यावधिक गर्छु र चुनाव लड्छु’ भन्नुभएको छ । यो पनि राम्रो कुरा हो ।
तर मेरो आग्रह गगन थापालाई सर्वसम्मत बनाउन साथ दिनुहोस् भन्ने हो । चुनाव लड्नुभयो भने हामी रोक्न सक्दैनौँ । अरू पदहरूमा पनि हामी आपसमा सरसल्लाह गरेर हार्दिकतापूर्वक निष्कर्षमा पुग्नेछौँ ।
निर्वाचन भयो भने सम्बन्ध बिग्रिँदैन?
सम्बन्ध बिगार्ने सुविधा नै हामीसँग छैन । हामी इतिहासको एउटा महत्वपूर्ण मोडमा छौँ । देशका राजनीतिक दलहरूबीच पनि सम्बन्ध सुधार गर्नुपर्ने अवस्था छ । भोटेकोशीमा बाढी र पहिरो आउँदा सबै दलहरू त्यहाँ पुगेका थिए । सरकारलाई सहयोग गरेका थिए ।
त्यसैले पार्टीभित्रको आन्तरिक राजनीतिमा त अझै सबैसँग एकताबद्ध भएर, हार्दिक सम्बन्ध राखेर जानुपर्छ । भोलि जुन निष्कर्षमा पुगे पनि त्यसले सम्बन्ध बिगार्नु हुँदैन । तिक्तता बढ्नु हुँदैन ।
महामन्त्रीका रूपमा दोहोरिनुभयो भने तपाईंको आगामी भूमिका के हुन्छ?
यो १० महिनामा हामीले मुख्यतः महाधिवेशन गर्ने काममा ध्यान दिनुप¥यो । नेतृत्व परिवर्तन भयो । अब वास्तविक सुधारको प्रक्रिया १५औँ महाधिवेशनबाट सुरु हुन्छ । पार्टी सुधार्ने कुरा धेरै छन् । त्यसमा काम गर्न चाहन्छु । तल्लो तहका संरचना हेर्नुभयो भने हाम्रो तौरतरिका र कार्यशैली अझै परम्परागत छन् ।
हाम्रो मूल्यांकन प्रणाली बदल्नुपर्नेछ । न्याय पद्धति बदल्नुपर्नेछ । निर्णय प्रक्रिया सुधार्नुपर्नेछ । हाम्रो सोच, व्यवहार र कार्यशैलीमा परिवर्तन ल्याउनुपर्नेछ । त्यसैले १५औँ महाधिवेशन केवल नेतृत्व चयन गर्ने अधिवेशन होइन । यसपछि नेपाली कांग्रेसलाई नयाँ ढङ्गले सञ्चालन गर्ने वास्तविक सुधारको प्रक्रिया सुरु हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्