नेभिगेशन
दृष्टिकोण

थरीथरीका माफीनामाको हत्ते

कुनै दुर्घटना भयो, त्यसमा तपाईं जोडिनुभयो । त्यसमा तपाईंलाई दुःख लागेको छ तर त्यसलाई व्यक्त गर्न सकिरहनु भएको छैन भने तपाईंको अभिव्यक्तिलाई मान्छेले कसरी लेलान् ? विशेषज्ञ भन्छन्, तपाईं जब ज्यादै दुःखी हुनुहुन्छ भने बोल्ने शब्द नै पाउनु हुन्न । कम शब्दले तपाईं माफी माग्नुहुन्छ । हुनसक्छ, माफी माग्न शब्द पर्याप्त नभएकाले आँशूको सहारा लिनुहोला ।

अधिकांश अवस्थामा पछुतो मान्ने वा माफी माग्नेले गलत प्रक्रिया अपनाउनाले उल्टो प्रभाव पार्ने मात्र नभई उल्टै आलोचनाको पात्र बन्न पुग्छन् । अहिले पूर्व मिस नेपाल शृंखला खतिवडाको प्रष्टोक्ति होस् या मिस नेपालकी प्रतियोगी नीति शाहले आफू नजोडिएको घटनामा दिएको बयान होस्, तिनको भावनालाई सम्मान गर्नुको साटो, उल्टो मिम र ट्रोल गरिएको छ ।

खतिवडाले आफ्नो भिडियोमा बारम्बार आफूले कुनै गल्ती नगरेको, आफ्ना कुरा सर्वसाधारणमाझ पुर्‍याउन नसकेको कारणले यति विधि आक्रमण बेहोरेको बताएकी थिइन् । उनले अञ्जानमा भएका गल्तीप्रति माफीसमेत मागेकी छन् । एउटा नयाँ अध्ययनअनुसार, जब माफी माग्ने वा कुनै कुरा प्रष्ट पार्ने कुरा आउँछ, शब्दको लम्बाइ र भावले निकै महत्व राख्छ ।

आफ्ना कुरा छोटा र अलि जटिल शब्द प्रयोग गर्दा त्यो भावनात्मक बन्न गई बढी वास्तविक र गम्भीर मानिन्छ । अनुसन्धानकर्ताहरूका अनुसार दोषी व्यक्तिले आफूले अप्ठेरा शब्दमार्फत अतिरिक्त प्रयास गरेको अनुभूत गराउँछन् । त्यो बेला उनीहरुको इमान्दार प्रयास देखिने अध्येता बताउँछन् । विज्ञहरुले माफीनामा वा प्रष्टोक्तिका पाँच प्रकार हुने गरेको निष्कर्ष निकालेका छन् ।

अतिशय माफीनामा

केही समय पहिले हलिउड अभिनेता एस्टन कुचर र मिला कुनिसले आफ्ना पूर्व–सहकलाकार साथी डेनी मास्टरसनका लागि कडा सजाय नदिन आग्रह गरेका थिए । उनीहरूलले बलात्कार अभियोगमा सजाय पाएका डेनीको दण्डलाई कम गर्न पत्र लेखेका थिए ।

यो पत्रको यदि धेरै निन्दा भयो कि त्यसपछि उनीहरूले भिडियोमा माफीनामा जारी गरे । जारी गरिएको भिडियो माफीमानालाई अध्ययन गर्दा विश्लेषकहरूले त्यो माफीनामाको नकारात्मक असर परेको निष्कर्ष निकालेका छन् ।

भिडियोमा अभिनेता एस्टन कुचर र मिला कुनिसले पालैपालो माफीनामाको वाक्य पढेका थिए । उनीहरूको पढ्ने शैली धेरै जनालाई यति भद्दा लाग्यो कि उल्टो यसको नकारात्मक असर परेको थियो । माफीनामा बोल्दै गर्दा कुचर भन्छन्, ‘तपाईंलाई पीडा छ, हामीले त्यो बुझेका छौं ...’, त्यसपछि कुनिसले थप्छिन्, ‘हामी पीडिताको दर्दलाई महसूस गर्छौं... ।’

यस्तो भिडियोलाई धेरैले बनावटी भन्दै पुनः ट्रोल गरेका थिए । उनीहरू साँच्चिकै दुःखी भए पनि यो माफीनामा बेस्वाद, बेअर्थ र असरहीन बन्न पुग्यो । धेरैले यसलाई उनीहरूले साँच्चिकै मनबाटै माफी नचाहेको रूपमा लिए ।

भावुक माफीनामा

कुनै ‘पाप’ वा गलत क्रियाकलाप गरे ऋषिमुनिहरूले वर्षौं तपस्या गरेर ‘पापमोचन’ वा पश्चाताप गर्ने गरेको कथा हामी सुन्छौं । कहिलेकाहीँ पश्चाताप वा माफीनामा यति लामो नहुन पनि सक्छ । बेलायती पूर्वमन्त्री लियम बर्नले गार्डियन पत्रिकामा एउटा लेख लेर पश्चाताप गरेका थिए ।

एउटै लेख पश्चातापका लागि पर्याप्त भयो । उनले सन् २०१० मा मन्त्री पद छाड्दा उनले लेखेका थिए, ‘मलाई माफ गरिदेऊ, तिम्रो मन्त्रालयका लागि एक पैसा पनि बाँकी छैन ।’ 

सो टिप्पणीलाई धेरैले ‘मूर्खतापूर्ण’, ‘असभ्य’ र ‘अपमानजनक’ भनेपछि उनले पत्रिकामा लेख लेखी माफी मागेका थिए । उनले लेखेका थिए, ‘त्यो दिनदेखि हरेक दिन म लज्जाबोध गर्दै बाँचिरहेँ । एउटा वाक्यले पार्ने दूरगामी असर यति हुन्छ भन्ने सोचेको थिइनँ ।’ लेख पढेपछि धेरै पाठकले उनलाई ढाडस दिँदै भनेका थिए, ‘ब्रदर, आफैंलाई नदुखाऊ, यसले खासै फरक पारेन ।’

अविश्वासिलो माफीनामा

केही मानिसहरू जीवनभर ‘सरी, सरी, सरी’ भन्दै हिँड्छन्, तर त्यो सरीमा कुनै ओज हुँदैन । ‘दिनदिनै र वचनैपिच्छे मागिने माफी असत्य हो र यसले उनीहरूको व्यवहार कहिल्यै बदल्दैन,’ ब्रिटिश साइकोलजिकल सोसाइटीकी सदस्य डा. तारा क्विन–सिरिलोको भनाइ छ । उनी उदाहरणका रूपमा बेलायती भूतपूर्व प्रधानमन्त्री बोरिस जोन्सनलाई लिन्छिन् । 

कोभिड लकडाउनका बेला गरेका गल्तीबारे उनले पटक–पटक माफी मागे तर उनको माफीलाई सर्वसाधारणले कहिल्यै पत्याएनन्, उनले साँच्चिकै माफी मागेको भनेर विश्वास दिलाउन सकेनन्। अझ पछि आफ्नो आत्मकथामा गएर उनले ती माफीलाई ‘दुर्भाग्यपूर्ण गल्ती’ भन्दै फिर्ता लिएका थिए ।

डा. सिरिलोका अनुसार, ‘आफ्नो व्यवहारबारे सोच्न सक्ने, आत्म–परीक्षण गर्न सक्ने र फेरि परिवर्तन गर्न सक्ने क्षमता— यी तीन कुरा नै वास्तविक माफीको संकेत हुन्।’ जसले आफ्नो व्यवहार कस्तो छ भनेर सोच्दैन र परिवर्तन गर्दैन भने त्यस्तो माफीलाई पनि सर्वसाधारणले कहिल्यै विश्वास गर्दैनन् ।

‘सरी नट सरी’ माफीनामा

‘सरी’ भन्ने शब्द प्रयोग गरेर मात्र पनि वास्तविक माफी पाइँदैन । उदाहरणका लागि, हलिउडका प्रख्यात फिल्म निर्माता हार्भे वाइन्स्टिनले यौन हिंसाको आरोप सार्वजनिक भएपछि भयंकर माफी मागे । उनले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘मैले विगतमा सहकर्मीहरूसँग गरेको व्यवहारले उनीहरूलाई पीडा पुर्‍याएको छ, म त्यस व्यवहारप्रति गहिरो माफी माग्छु।’

तर माफी मागेलगत्तै उनका वकिलले भने उनीविरुद्ध लेखिएका अखबारका रिपोर्टिङ झुट्टा र मानहानीपूर्ण भन्दै मुद्दा हाल्ने तयारी भइरहेको बताए । माफी पनि माग्ने तर पछि त्यसविरुद्ध मुद्दा हाल्ने तयारी पनि गर्ने प्रवृत्ति पनि समाजमा उत्तिकै देखिन्छ । पछि वाइन्स्टिनले क्यालिफोर्निया र न्यूयोर्कमा बलात्कार तथा यौन हिंसामा दोषी ठहर भई जेल सजाय पाए।

घर्किसकेको माफीनामा

महान् साहित्यकार दाँतेलाई राजनीतिक विचारका कारण सन् १३०२ मा फ्लोरेन्स शहरबाट निर्वासित गरियो। उनले बाँकी १९ वर्ष निर्वासनमा बिताए। तर ७०६ वर्षपछि सन् २००८ मा फ्लोरेन्स शहरको प्रशासनले त्यो निर्णय गलत थियो भनेर माफी माग्यो ।

माफी माग्न शहरले एउटा भव्य समारोहको आयोजन गर्‍यो तर उनका वंशज काउन्ट पिएरल्भिसे सेरेगो एलिघिएरीले माफी समारोहमा सहभागी हुन अस्वीकार गरे। उनले भने, ‘यो त वास्तविक सामूहिक माफीनामा भन्दा पनि बढी नाटक मञ्चन मात्र हो ।’

त्यस्तै, क्याथोलिक चर्चले सन् १९९६ मा मात्र ग्यालिलियोको सिद्धान्त (पृथ्वी सूर्य वरिपरि घुम्छ) सही भएको मान्यो । चर्चले ग्यालिलियोमाथि गरेको अन्यायप्रति कुनै माफी मागेन । उसले ‘दुर्भाग्यपूर्ण गलत बुझाइ’ ठान्यो ।

त्यो बेला ग्यालिलियोलाई यातनाको डर देखाएर विचार बदल्न बाध्य पारिएको थियो तर यत्तिका वर्षपछि पनि उनले कहिल्यै चर्चका तर्फबाट ‘सरीको सर्टिफिकेट’ पाएनन् ।

शृंखला वा नीति मात्र होइनन्, बारम्बार हाम्रा धेरैजसो सेलिब्रिटीहरुले पनि माफीनामा दर्शकका नाममा चढाउने गर्छन् । अधिकांश अवस्थामा ती माफीनामालाई जनताले अस्वीकार नै गर्ने गरेको देखिन्छ । यसको मूल कारण चाहिँ जनतासँग उनीहरुको बढ्दो दूरी नै देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्