नेभिगेशन
अर्थतन्त्र

अबको क्रान्ति कृषिमा

नेपालमा परम्परादेखि नै कृषि जीविकोपार्जनमै सीमित थियो । विकासको आधुनिक संकथन बन्न थालेसँगै देशलाई ‘कृषिप्रधान’ को विशेषण दिइए पनि कृषिलाई कसरी भरपर्दो बनाउन सकिन्छ भन्ने विषयमा कामै हुन सकेको छैन । सरकारी निकायको समन्वय अभाव छ । कार्यान्वयन गराउने जिम्मेवार निकाय संवेदनशील देखिँदैनन् ।

कृषिको योजनाबद्ध विकास गर्ने क्रममा २०३० को दशकमा एउटा रणनीति तय गरियो ।जसअनुसार तराईमा नगदेबाली र खाद्यान्न बालीलाई प्राथमिकता दिइएको थियो । मध्यपहाडी क्षेत्रमा बागवानीअन्तर्गतको फलफूल, तरकारी तथा फूल उत्पादन गर्नुका साथै मिश्रित बाली र पशुपालनलाई जोड दिइएको थियो । त्यस्तै, हिमाली क्षेत्रमा पशुपालनलाई जोड दिइएको थियो । कृषिको विकासका लागि आज पनि हामीले त्यही उपाय अवलम्बन गर्नुपर्छ ।

आल्मुनियम बनाउन जति कच्चा पदार्थ उपयोग हुन्छ, त्यो भन्दा धेरै विद्युत्को उपयोग हुन्छ, आल्मुनियम बनाउन ६० प्रतिशत त बिजुली लाग्छ । हामीले आल्मुनियमको कच्चा पदार्थ मगाएर आल्मुनियम प्रशोधन गर्न सक्छौं । बिजुली निर्यात होइन, खपत, गर्नेतर्फ सोचौं । उपलब्ध स्रोत साधनमा विजुलीको उपयोग गरेर उच्च मूल्यको वस्तु बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिन सकिन्छ ।

यसो गर्दा देशमा रोजगारी पनि बढ्छ । निजी क्षेत्र नै देशको आर्थिक उन्नतीको संवाहक हो - यस्तो सहुलियत निजी क्षेत्रलाई दिन सकियो आर्थिक/प्राविधिक र निकासी बढाउन सकियो भने देश समुन्नत बनाउन सकिन्छ । नेपालको अर्थतन्त्र जमिन, जल र सौर्य ऊर्जामा आधारित छ । त्यसमा मुख्य क्षेत्र कृषि हो ।

मरुभुमीको देशले कृषि वस्तु निर्यात गर्छ; नेपाल जो हावापानी; मौसम, माटो सबै कुराले उपयुक्त छ त्यो देशले भने कृषि उपज नै आयात गर्नुपर्व अवस्थालाई चिरेर निर्यात मुखी बनाउन नसकिने होइन, सकिन्छ मात्र उत्साह चाहियो गर्ने निकायहरूमा । शिक्षा सीपमुखी हुनुपर्दछ, उत्पादन वृद्धि गर्ने, व्यावसाय गर्ने, सेवा (पर्यटनः स्वास्थ्य आदिमा) (शिक्षाः यातायात) क्षेत्रमा आवश्यक सीपमा जोड दिनुपर्छ ।

कृषिमा विकास गर्न अन्य क्षेत्रको पनि सहयोग चाहिन्छ । कृषि प्रशोधनको लागि चाहिने औद्योगिक पूर्वाधारको विकास गर्नुपर्दछ । कृषिमा चाहिने बीउ, बिजन, औषधि, मल, औजारका बनाउने उद्योगलाई पनि अघि बढाउन या पर्छ ।

यस्ता उद्योगलाई चाहिने जिङ्क, म्याग्नेसियम, फलामको खानी पनि सञ्चालन गर्नुपर्ने हुन्छ । विगतमा यी विषयमा कुरा भएका हुन् तर काम अघि बढेन । तसर्थ, यी विषयमा पनि सोचिनु पर्छ । अर्थात्, कृषिसँग सम्बन्धित उद्योगलाई पनि प्रवद्र्धन गर्दै जानुपर्छ ।

स्वस्थ्य शरीर, स्वस्थ्य मनस्थिति हुनु पर्छ । त्यसको लागि महिला गर्भवती भएको बेलादेखि नै पोषणयुक्त खुराक दिनुपर्छ । बच्चा दुई वर्ष हुँदासम्म मस्तिस्कको विकास हुने भएकाले महिलालाई पोषणयुक्त खानेकुरा दिने वातावरण बनाउनुपर्छ ।

प्रत्येक महिलाले पोषणयुक्त आहारबारे जानकारी पाउनु आवश्यक छ । वालविकासका बारे पनि महिलालाई जानकारी दिन आवश्यकक छ । यसको लागि गृह विज्ञान विश्वविद्यालय बनाई; यस विश्वविद्यालयले तयार पारेको विषय देशभरका विद्यालयहरूमा लागू गराउनु पर्छ । यसो गर्नुको उद्देश्य ह्युमन डेभलपमेन्टलाई प्राथमिकतामा राख्नु हो ।

कुनैबेला नेपाल खाद्यान्न निर्यात गर्ने मुलुक थियो भनिन्छ । हामी के स्पष्ट हुनुपर्छ भने नेपालमा कृषि उत्पादन अधिक भएर होइन कि जनसंख्या कम हुँदा भएको न्यून खपतका कारण ३० को दशकसम्म खाद्यान्न निर्यात हुन्थ्यो । अर्को कुरा सडक सञ्जाल नभएकाले पहाडी क्षेत्रमा खाद्यान्न पुर्‍याउन नसकिँदा तराईको उत्पादन भारत र तेस्रो मुलुकसम्म निर्यात गरिन्थ्यो ।

लामो प्रयासपछि २०४९ सालमा २० वर्षे कृषि नीति बन्यो । सो नीतिले कृषि विकासका लागि मुख्य चार विषयहरू, सिँचाइ, मल, प्रविधि, कृषि सडक र ऊर्जा प्राथमिकतामा राखेको थियो । नीतिले प्राथमिकताको पहिलो सूचीमा खाद्य सुरक्षालाई राखेको थियो ।

त्यसबाहेक गरिबी निवारण, कृषकको हक हितलगायतका विषय समेटिएका थिए । पशुपालन, उच्च मूल्यका कृषि वस्तु, कृषि व्यापार, वनबाट लाभ गर्ने लक्ष्य पनि थियो । त्यस्तै, कृषि व्यापारलाई पनि जोड दिइएको थियो । सो नीतिले केही विषयमा सकारात्मक प्रभाव पार्‍यो भने केहीमा सकारात्मक प्रतिफल दिन सकेन । सो नीति अनुसारको काममा हामी कति सफल भयौं कति असफल भयौं भन्ने समीक्षा हुन सकेन ।

Shiba-Bdr-1758675643.jpg
शिवबहादुर नेपाली प्रधान

फेरि बेला–बेलामा नयाँ नयाँ अवधारणा आउँछन् र विगतदेखि भएका प्रयासलाई वास्ता नगरी अघि बढ्ने गरिन्छ, जुन प्रत्युत्पादक पनि बन्ने गरेको छ । यसको एउटा उदाहरण हो ‘प्रधानमन्त्री कृषि कार्यक्रम’ । यस कार्यक्रमले पुराना सबै कुरा बिर्सेको छ । विगतका राम्रो अभ्यासलाई समेटिएको छैन । कार्यक्रम अन्योल गराउने खालको छ । प्रविधिमा जोड दिने भनिएको छ, तर झार उखेल्ने काममा साबेलको प्रयोग गरिएको छ । त्यसरी प्रविधिको प्रयोग भयो त ? यो त एउटा नमूनामात्र हो ।

जग्गा बाँझो नराख्ने एउटा उपाय – करार खेती । खेतीलाई निरन्तरता नदिने हो भने केही वर्षपछि त्यस्ता जमिनमा केही पनि उत्पादन हुन सक्दैन । त्यसैले हामीले तत्काल करार खेतीको ढाँचा अवलम्बन गर्नुपर्छ । जग्गा बाँझो नराख्न कृषि समूह, सहकारी वा एकल किसानलाई खेती गर्न दिनुपर्छ । यसो गर्न सकियो भने विदेश जाने श्रमलाई केही हदमा रोक्न सकिन्छ ।

वैदेशिक रोजगारीमा जाने ठूलो हिस्सा कृषि क्षेत्रमै संलग्न छ । त्यस्तै, विदेशबाट फर्किआएको अर्ध–दक्ष तथा अदक्ष श्रम पनि कृषिमै लागेका छन् । नेपालमा एकल व्यक्ति वा सानो समूहले गर्न सक्ने भनेकै खेतीपाती हो । अर्को कुरा परम्परादेखि जुन–जुन ठाउँमा जे लगाउने गरिएको छ, त्यही बाली लगाउने प्रयासलाई निरन्तरता दिनुपर्छ । 

जुनेलो, सिमल तरुल, सखरखण्ड, पिँडालुजस्ता रैथाने प्रजातिलाई निरन्तरता दिनुपर्छ । साथै मौसमी बेमौसमी तरकारी खेतीलाई पनि निरन्तरता दिनुपर्छ । बाख्रा, भेडा, खरायो, कुखुरा, बंगुर, गाई, भैंसीपालनका लागि पनि हाम्रो वातावरण सुहाउँदो छ ।


अहिले त हामी यति परनिर्भर भएका छौं कि बीउ, मलखाद, विषादी सबै बाहिरबाट ल्याउनुपरेको अवस्था छ । मुख्य कुरा खाद्य सुरक्षा हो । हामीले आफूलाई चाहिने खाद्यान्न नै उत्पादन गर्न सकिरहेका छैनौं । त्यति गर्ने हो भने नेपालको कृषि र समग्र अर्थतन्त्र कायापलट हुन सक्छ ।

धान, गहुँ, मकैलगायतका दैनिक उपभोगका खाद्यान्न आयात भइरहेको अवस्था छ । त्यसलाई शून्यमा झार्ने गरी रणनीति बनाएर कार्यान्वयन गर्नुपर्छ । तराई तथा पहाडी क्षेत्रमा माछा पालनको ठूलो सम्भावना छ । कृत्रिम पोखरी बनाएर माछा उत्पादन गर्न सकिन्छ । प्रविधिको समन्वय गरेर माछा उत्पादन बढाउन सकेको अवस्था छैन ।

सय वर्षअगाडिको समाजको चित्रण गर्दै सरदार भीमबहादुर पाँडेले आफ्नो पुस्तकमा त्यतिबेलाको समाज आत्मनिर्भर रहेको बताएका छन् । अहिले त हामी यति परनिर्भर भएका छौं कि बीउ, मलखाद, विषादी सबै बाहिरबाट ल्याउनुपरेको अवस्था छ ।

हाम्रो देश अहिले कसरी चलिरहेको छ भन्दा, देशका युवा शक्ति विदेश पठाउने तिनले पाएको पैसाले सबैको घर चलेको छ – यसैगरी देशको अर्थतन्त्र धानिएको छ । यी जञ्जाल तोड़नु पर्छ । हामीले केही गर्न नसक्दा मात्र यो उपाय अपनाउने हो । यी उपायले दीर्घकालीन रूपमा देश चाहिँ उभोँ लाग्न सक्दैन । 

हामीले त आफैं काम गर्नु पर्‍यो । उत्पादन बढाउनु पर्‍यो, रोजगारी बढाउनु पर्‍यो र उत्पादित वस्तु निर्यात गर्नु पर्‍यो । त्यसो गर्दा मात्र देश उँभो लाग्छ । हामीले उत्पादन गर्न सक्ने सबै पूर्वाधार छ । नभएको इच्छाशक्ति मात्रै हो । त्यसलाई अब चिर्नु पर्छ ।

- बागवानीविद् लेखक कृषि विभागका पूर्वमहानिर्देशक हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र