नेभिगेशन
दृष्टिकोण

संस्कारयुक्त राजनीतिका खातिर सभ्य व्यवहार

शालीन, संस्कारयुक्त र मीठो बोली हराएको नेपालको राजनीति चिन्ताको विषय बनेको छ । राजनीति भनेको सुशासन, कानूनको पालना र शान्तिपूर्ण जीवनयापन सुनिश्चित गर्ने माध्यम हो । तर आज राजनीतिमा संलग्न केही व्यक्तिहरूका विवेकहीन शब्द र भाषणले नेपाली समाज र नेपाली भाषालाई नै दूषित बनाइरहेका छन् । नेपालको राजनीति अनुशासन, जिम्मेवारी र कर्तव्यबोधबाट विचलित हुँदै अराजकता र अवसरवादतर्फ पतन हुँदै गएको देखिन्छ । जे बोले पनि हुन्छ भन्ने गलत संस्कार नेता र समर्थक दुवैले त्याग्नुपर्छ ।

सामाजिक सञ्जालको दुरुपयोग गरी आफू र आफ्नो राजनीतिक पार्टीलाई महान् देखाउने र अरूलाई होच्याउने हतियारका रूपमा प्रयोग गर्नु गलत हो । सामाजिक सञ्जालको दुरुपयोग कानूनी अपराध पनि हो । अपराध नियन्त्रण र न्यूनीकरणका लागि हामी नागरिक स्वयं संवेदनशील र जवाफदेही बन्नुपर्छ । गालीगलौज, मानहानी र नचाहिने अभिव्यक्ति नगरी शान्ति–सुरक्षा कायम राख्न प्रहरीलाई सहयोग गरौं । प्रहरी जनताको साथी, अभिभावक र समाज रूपान्तरणको माध्यम हो । नेपाल प्रहरी बेलायत, चीन वा स्विट्जरल्याण्डको जस्तो पूर्ण सेवामुखी र जनमुखी हुन नसकेको यथार्थ छ । त्यसैले नेपाल प्रहरीमा पनि सुधार र रूपान्तरण आवश्यक छ । जेनजी आन्दोलनले प्रहरी सत्तामुखी होइन, सेवामुखी र जनमुखी हुनुपर्छ भन्ने सन्देश दिएको छ । तर, कानून हातमा लिनेलाई कानूनी दायरामा ल्याएर कारबाही गर्नु प्रहरीको जिम्मेवारी हो ।

एकताबिना देशमा विकास, सुधार र रूपान्तरण सम्भव छैन । शान्तिपूर्ण चुनावी वातावरण निर्माण गरौं । देशलाई चम्काउने संकल्प गरौं । एकअर्कालाई घृणा गर्ने, खुइल्याउने र गालीगलौज गर्ने प्रवृत्तिले असमझदारी बढाउँछ र घृणाको राजनीति मौलाउने जोखिम बढ्छ । यसले देशमा शान्तिसुरक्षा कायम गर्न र कानून कार्यान्वयन गर्न कठिन बनाउँछ । पपुलिज्मका नाममा भ्रमको व्यापार नगरौं । राजनीतिलाई अराजक र उत्तेजनामूलक बनाएर समाजलाई विभाजित नगरौं ।

समाजमा पुराना पार्टी र अभिभावक पुस्ताको जति महŒवपूर्ण स्थान छ, नयाँ दल र नयाँ पुस्ताको पनि समान भूमिका छ । पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको ज्ञान–सीपको संयोजनले मात्र देश अगाडि बढ्छ । सामाजिक सञ्जालमा नेताहरूका बारेमा लेखिएका टिप्पणीहरू हेर्दा लाज लाग्ने अवस्था छ । यस्तो फोहोरी संस्कारले नेतृत्वको स्तर झनै खस्काउँछ । सभ्य भाषा बोल्न नसक्ने नेताबाट विकास र समृद्धिको अपेक्षा कसरी गर्न सकिन्छ ? नेता सभ्य, शालीन र सुसंस्कृत भए उनका समर्थक पनि अनुशासित हुनेछन् । गालीगलौजले नकारात्मक चिन्तन बढाउँछ । विकासतर्फ लाग्नुपर्ने ऊर्जा झगडा र आन्दोलनतर्फ मोडिन्छ । सकारात्मक सोच विकास गर्न सिर्जनशील र अनुसन्धानमूलक काम आवश्यक छ ।

राजनीतिले गाली गर, घुस खा, कमिसन खा भन्दैन । यो मानवीय कमजोरी र स्वार्थी प्रवृत्तिको परिणाम हो । यदि सुशासन हुन्थ्यो, भ्रष्टाचार न्यून हुन्थ्यो, विकासका योजना समयमा पूरा हुन्थे, शिक्षा–स्वास्थ्य–रोजगारीमा पहुँच विस्तार हुन्थ्यो र भाषा सभ्य हुन्थ्यो भने जेनजी आन्दोलनजस्ता घटना घट्ने थिएन ।

विश्वका धनी व्यक्तिहरूले पनि समाजसेवामा ठूलो योगदान दिएका उदाहरण छन् । त्यसैगरी नेपालका नेता र उच्च कर्मचारीहरूले पनि कम्तीमा केही हिस्सा सामाजिक कार्यमा लगाउन सक्नुपर्छ । नेपालको राजनीति र प्रशासनमा जिम्मेवारी, इमानदारी, विवेक र नैतिकताको खडेरी परेको छ । राज्यका कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका तथा संवैधानिक निकायका पदाधिकारीहरू नै गैरजिम्मेवार हुँदा देश तहसनहस भएको अनुभूति हुन्छ । राजनीति नीतिविहीन बदला साध्ने औजार बन्नुहुँदैन ।

पुराना र नयाँ दुवै दलमा गाली गर्ने प्रवृत्ति देखिन्छ । भाषणमा मात्र राम्रा कुरा गर्ने तर व्यवहारमा काम नगर्ने नेतृत्व गलत हो । सामाजिक श्रमदान, स्वच्छता, उत्पादनमुखी काममा प्रतिस्पर्धा हुनुपर्छ, गालीमा होइन । देशमा अनेकतामा एकता, सहकार्य, समन्वय र सद्भाव आवश्यक छ ।

जेनजी आन्दोलनको एक कारण आपसी अस्वीकार र अहंकार पनि हो । परस्पर सम्मान भएको भए हिंसात्मक घटनाहरू हुने थिएन । पञ्चशीलको सिद्धान्त कूटनीति मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि अपनाउनुपर्छ । कानून र प्रकृतिको दृष्टिमा सबै समान छन् । ठूलो–सानोको दम्भ त्याग्नुपर्छ ।

नयाँ दलहरू पनि पुराना दलबाटै आएका व्यक्तिहरूको समिश्रण हुन् । संस्कार, बोलीचाली र बानीबेहोरा नबदलिए परिवर्तन सम्भव छैन । हामी सबैले आफ्नो भाषा, व्यवहार, जिम्मेवारी र कर्तव्यबोधमा सुधार ल्याउनुपर्छ । बहुदलीय व्यवस्थामा धेरै दल हुनु स्वाभाविक हो, तर प्रतिस्पर्धा सामाजिक काम र उत्पादनमा होस्, गालीमा होइन ।

त्यसैले सुसंस्कृत, सभ्य र शालीन राजनीतिक भाषाशैलीको विकास गरौं । एकअर्कालाई सम्मान र आदर गरौं । राजनीति अंकगणितभन्दा माथि उठेर असल एजेण्डा र त्यसको कार्यान्वयनमा केन्द्रित हुनुपर्छ । समाजपरिवर्तन, विकास र समृद्धिका लागि चेतना, शिक्षा, उत्पादन र सुशासनमा ध्यान दिनु नेताहरूको कर्तव्य हो । अरूको कद घटाएर आफू अग्लो हुने प्रयासले समाज अगाडि बढ्दैन । राजनीति ज्ञान, चेतना, सभ्यता र संस्कारको पुष्प हो— यसलाई दूषित नबनाऔं । अराजकता होइन, शान्ति–सुरक्षा र अमनचयन कायम राख्न गालीगलौज त्यागी सुरक्षाकर्मीलाई सहयोग गरौं ।

लेखक अधिवक्ता हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
घोषणापत्रमा जनजातिका मुद्दा

घोषणापत्रमा जनजातिका मुद्दा

धर्म र अधर्म

धर्म र अधर्म

सम्प्रभू नागरिकको कर्तव्य

सम्प्रभू नागरिकको कर्तव्य