नेभिगेशन
दृष्टिकोण

भैरव–भद्रकाली रथयात्रासँग जोडिएको विस्केट जात्रा

जात्रै जात्राले भरिएको देश नेपाल त्यसमा पनि अन्यत्र भन्दा भक्तपुरमा झन बढी जात्रा हुने गर्दछ । विशेष गरेर विस्केट जात्रा अन्य जात्रा भन्दा व्यापक रुपमा भक्तपुरमा मनाउने गरिन्छ । भक्तपुरका अन्य जात्राहरु मध्ये लामो अर्थात आठ रात नौ दिन सम्म मनाइने भएकोले नै यो विस्केट जात्राको विशेषता हो भने त्यसै अनुरुप यो जात्रा प्रसिद्ध रहंदै आएको हो ।
नेवारहरुले चन्द्रमानको गति अनुसार नेपाल सम्बत् मान्ने गरेता पनि भक्तपुरको विस्केट जात्रा भने सूर्यमानको अनुसारको विक्रम सम्बत् अनुसार नै हरेक बर्ष चैत्र मसान्तमा लिङ्गो ठड्याउने र बैशाख संक्रन्तिका दिन लिङ्गो ढाल्ने गरिन्छ । लिङ्गो ढाल्ने र ठड्याउने जात्रा हेरेर दुःख हट्ने र शत्रु नाश हुन्छ भन्ने जन विश्वास रही आएको छ । विस्केट जात्रालाई विश्व यात्रा पनि भनिन्छ । मल्ल राजाको पालामा यो जात्रालाई ‘विश्व जात्रा’ नै भन्ने गरिन्थ्यो । पछि ‘बिसक्यात’ भन्न थालियो । त्यही बिसक्यात शब्द अपभ्रंस भएर पछि बिस्काः अर्थात विस्केट हुन गएको हो भनिन्छ ।
विश्व ध्वजा भनि झण्डा फहराउने र भोलीपल्ट त्यस झण्डा ढाल्ने पनि गरिन्छ । यो जात्रालाई विश्व ध्वजा उत्सव र उथान पनि भनिन्छ । यो जात्रालाई विश्वकेतु जात्रा पनि भनिन्छ । विश्व ध्वज भनि विश्वमा पनि भनिन्छ । ‘हलिं’ भनेको विश्व र ‘पताः’ भनेको झण्डा भएकोले यसलाई विश्व ध्वज भनिएको हो । त्यस्तै आकाशमा झण्डा फहराउने भएकोले पनि विश्व ध्वज भनिएको हो ।
यो जात्रा आज भन्दा पन्ध्रसय बर्ष अघि चलाइएको हो भन्ने संस्कृतिविद्हरुको भनाई छ । सातौं शताब्दीका राजा अंशुवर्माको समयमा विश्व जात्राको नामले यो जात्रा प्रसिद्ध थियो भनिन्छ । 
एउटा किंवदन्ती अनुसार भक्तपुर देशकी राजकुमारीसंग विवाह गर्नेलाई राजगद्धी दिने प्रस्ताव राखिएको रहेछ । तर जति पनि युवकहरुले राजकुमारीसंग विवाह गरे उनीहरु विवाह गरेको पहिलो रातमैं मर्दा रहेछ । यसरी धेरै जना युवकहरुले ज्यान गुमाई सकेकाले कसैले पनि राजकुमारीसंग विवाह गर्छु भनि अघि सर्न आँट गर्न सकेनन् । यस्तैमा अर्कै देशका राजकुमार शिकार खेल्दै आउँदै गर्दा भक्तपुरमा पुगेछन । त्यहाँ त्यस राजकुमारले राजाको आदेश झ्याली पिटीरहेको सुनेर राजकुमारीसंग विवाह गर्छु भनि अघि सरे र राजकुमारीसंग विवाह पनि गरे । तर आश्चर्य उक्त राजकुमार भने मरेनन् । हिजो विवाह गरेका दुलाहाको मृत्यु भयो होला भनि लाश उठाउन आएका मानिसहरु समेत आश्चर्यमा परे, दुलहा त जिउँदै रहेछन । वास्तवमा रहस्य के रहेछ भने  आधारातमा राजकुमारीको नाकबाट एक जोडी नाग र नागीनी निस्कंदो रहेछ र राजकुमारीको लोग्ने हुनेलाई मार्ने रहेछ । तर यस राजकुमार भने के रहस्य रहेछ भनि पत्ता लगाउन ननिदाइकन बसेछ । जसै आधारातमा राजकुमारीको नाकबाट नाग र नागिनी निस्के तुरुन्तै ती नाग र नागीनीलाई मारेकाले राजकुमार मरेनन् । त्यही मरेका नाग, नागीनीलाई देश परिक्रमा गराई खुशीयाली मनाइएको थियो । त्यसै दिनको सम्झनामा हरेक बर्ष विस्केट जात्रा चलाइएको हो भनिन्छ । 
संस्कृतिविद्हरुको भनाई अनुसार लिच्छविकालमा नागलाई ‘बि’ भनिन्थ्यो अनि नागले टोक्दा ‘कयात’ भनिन्छ । त्यसैले ‘बिकयात’ शब्द अप्रभंस भएर बिस्काः हुन गएको हो भनिन्छ । 
नेवारहरुको जात्राप्रति मोह र मनोरञ्जनको मात्र सम्बन्ध नभई धार्मिक आस्था पनि रही आएको छ  । प्राकृतिक वातावरण रमणीय पार्ने र आफ्नो जीवन शैलीलाई सुव्यवस्थित बनाइ सामाजिक, धार्मिक र ऐतिहासिक क्षेत्रमा पनि आफ्नो योगदान अनुरुप विभिन्न चाडपर्व मान्दै आइरहेका छन । यस्तो जात्रामा विकृति ल्याउने काम गरेमा आफ्नै संस्कृतिको अपमान हुनेछ । 
विस्केट जात्राका निम्ति तौमढी टोलमा तान्त्रिक विधि अनुसार प्यागोडा शैलीका दईवटा रथ बनाइन्छ । रथको बिचमा ‘वेतासिँ’ नामक काठ राखिन्छ । रथलाई कलात्मक तोरण, आँखी झ्याल, पहेंलो गजूर राखेर सिंगाारिन्छ । रथ तान्न तान्त्रिक विधिले बनाई राखेको डोरीलाई झीगु नारी र झीगु पिंगल भनिन्छ । हजारौं भक्तजनहरुको बिचमा रथ तान्ने चलन छ । 
तल्लो टोल र माथिल्लो टोलमा भिन्दा भिन्दै बसिरहेका पुजारी, भक्तजन, बुढाबुढी, युवा युवती सबैले आफ्नो टोल तर्फ रथ तानेर लाने प्रयास गर्छन । यो कार्य एक दिन दुई दिन मात्र होइन नौ दिन सम्मै चलिरहन्छ । टढा टाढा गइरहेका अझ विदेशमै गइरहेका छोरा छोरी र आफन्तहरु समेत यो जात्रा मनाउन आफनो घरमा फर्कि आउने गर्छन् ।
भक्तपुरका सबै वासिन्दाले मौलिक लुगा लगाई भैरव, भद्रकालीका साथै त्यहाँ भएका सबै बाजा बजाउँदै रातभर देश परिक्रमा गर्छन । ठाउँ ठाउँका डबलीहरुमा देवी नाच नचाइन्छ । कतिपय नाच दिउँसो देखाउन हुँदैन भनि सीमित मानिसहरु मात्र राखेर आधारातमा देवी नाच देखाउने गरिन्छ । भक्तपुरको यो जात्रा अवधिभर अर्थात नौदिन सम्म भक्तपुरका सबै वासिन्दाले लसुन, प्याज, छ्यापी खानु हुँदैन । जात्रा अविधिभर कडा नियम लागू भएको हुन्छ । घरका झ्याल झ्यालमा पनि जथाभावी कपडा सुकाउनु हुँदैन । कमिज र खास्टो सुकाए पनि पाइन्ट, कटु, पेटिकोट, फरिया जस्ता लुगाहरु सुकाउनु निषेध गरिन्छ । जात्रा अवधिभर जाँड, रक्सी, मासु खाएता पनि लसुन, प्याज र छ्यापी खान नहुने अनौठो परम्परा रही आएको छ ।
विस्केट जात्राको पहिलो दिन भैरव र भद्रकालीको रथ तौमढीबाट माथिल्लो टोलकाले आफ्नो तर्फ तान्न सकेमा क्वाछेँ, साकोथा, दुरुत्वंद्यः, सुकू ध्वाखा, गोलमढी, इनाचो, दत्तात्रय सम्म तानेर लान्छन । फेरी तौमढीमैं फकाई ल्याउँछन । त्यस्तै रथलाई तल्लो टोलकाहरुले तान्न सकेमा बालुचा, नासना, वंशगोपाल, तेखापुखू सम्म पु¥याई पुन तौमढीमैं फिर्ता ल्याउँछन । यसरी तानेर ल्याएका दुवै रथ तौमढीको दक्षिण तर्फ रहेको गाःहिति टोलमा विसाई पहिलो दिनको जात्रा सकाइन्छ । दोश्रो दिन भद्रकालीको रथ गाःहितिमा भैरव देवतालाई बलि दिएर गुथि संस्थानले सरकारी पूजा गर्छ । त्यो बलि पूजाको बोकाको मासु प्रसादको रुपमा लाकुलाछेँकाहरुलाई बाँडी दिन्छ । त्यसलाई स्याक्व त्याक्व भनिन्छ । विस्केट जात्राको लागि करिव ११ लाख रुपैयाँ गुथि संस्थानले खर्च गर्छ भने स्थानीय गुथिहरुले भोज खुवाएर आफ्नो परम्परा धान्दै आइरहेका छन् । 
यो जात्रामा युवा पुस्ताको चिन्ता र चासो हुनु सकारात्मक मान्नुपर्छ । आफ्नो संस्कृति र सम्पदालाई जोगाइ राख्ने काममा आजका युवा पुस्ता लागी पर्नु अत्यन्तै स¥हानीय मान्नु पर्छ । तर देवताका रथ तान्ने कार्यमा माथिल्लो टोल र तल्लो टोलका बीचमा ढुंगा हानाहान गरेर झै झगडा गरिने कार्य भने जात्राको क्रममा प्रदर्शित विकृति मान्नु पर्छ जुन कुरा अवश्य नै राम्रो होइन । विस्केट जात्रा जस्तो ठूलो भव्य जात्रा शान्ति पूर्वक मनाउने तर्फ भक्तपुरका जनताले सधैं ध्यान दिनु पर्दछ । हुन त विस्केट जात्रा शान्त र सभ्य रुपले मनाउन पहिला देखि नै प्र्रयास पनि भइरहेको देखिन्छ । 

(लेखक संस्कृतिविद् हुन् ।) 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण