नेभिगेशन
अर्थतन्त्र

भोटेकोशी प्रलयको बीमा दाबी २० अर्ब, भुक्तानी ८२ करोड मात्रै

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट क्षति बेहोरेका बीमितले डेढ महिना पुगिसक्दा पनि बीमा दाबीको ४ प्रतिशत रकमसमेत पाउन सकेका छैनन् । बाढीबाट भएको क्षतिबापत १८ निर्जीवन तथा लघु बीमा कम्पनीमा २० अर्ब ९० करोड ४९ लाख रुपैयाँभन्दा बढीको दाबी परेकोमा असोज ३० सम्म जम्मा ८२ करोड १३ लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार  भदौ १० मा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिका लागि २ हजार ४९१ वटा बीमा दाबी दर्ता भएका छन् । तीमध्ये अग्रिम र अन्तिम भुक्तानीसमेत गरी ८२ करोड १३ लाख ९० हजार रुपैयाँ भुक्तानी भएको हो । यो कुल प्रारम्भिक दाबी रकमको ३.९३ प्रतिशत मात्रै हो ।
बाढीबाट घरजग्गा, व्यावसायिक सम्पत्ति, जलविद्युत् आयोजना, निर्माणाधीन संरचना, सवारीसाधन तथा ढुवानीका सामानमा ठूलो क्षति पुगेको छ । तर, क्षतिको तुलनामा बीमा भुक्तानी न्यून हुँदा बीमा गरेका प्रभावित व्यक्ति तथा व्यवसायले पुनःस्थापना र व्यवसाय सञ्चालनका लागि आवश्यक रकम प्राप्त गर्न सकेका छैनन् ।
प्राधिकरणको तथ्यांकले दाबी रकम र भुक्तानीबीच ठूलो अन्तर देखाएको छ । प्रारम्भिक दाबी रकम २० अर्ब ९० करोड रुपैयाँभन्दा बढी भए पनि भुक्तानी १ अर्ब रुपैयाँसमेत पुगेको छैन । दाबीको अन्तिम मूल्यांकन, क्षतिको सर्वेक्षण र आवश्यक कागजातको प्रक्रियाले भुक्तानीमा प्रभाव पारेको हुन सक्ने देखिए पनि प्राधिकरणको विवरणले ढिलाइका कारण स्पष्ट पारेको छैन ।
सम्पत्ति बीमामा सबैभन्दा ठूलो क्षति
बाढीबाट भएको क्षतिको रकमका आधारमा सम्पत्ति बीमाअन्तर्गत सबैभन्दा बढी दाबी परेको छ । यस शीर्षकमा ५७६ वटा दाबीमार्फत ९ अर्ब ५६ करोड ३५ लाख रुपैयाँभन्दा बढीको प्रारम्भिक दाबी गरिएको छ । तर, असोज ३० गतेसम्म १६ करोड २८ लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ ।
इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाअन्तर्गत १७४ वटा दाबी परेका छन् । यसमा ४ अर्ब ४० करोड १७ लाख रुपैयाँभन्दा बढीको दाबी परेकामा १७ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको छ । बाढीबाट जलविद्युत् आयोजना, पुल तथा निर्माणाधीन संरचनामा पुगेको क्षतिसँग सम्बन्धित दाबी यस समूहमा समेटिएका छन् ।
मोटर बीमामा दाबी संख्या सबैभन्दा धेरै छ । यस शीर्षकमा १ हजार ६७ वटा दाबी दर्ता भएका छन् । सवारीसाधनमा भएको क्षतिबापत २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँभन्दा बढीको प्रारम्भिक दाबी परेकामा २३ करोड ६६ लाख रुपैयाँभन्दा बढी भुक्तानी भएको छ ।
त्यस्तै, परिवहन बीमाअन्तर्गत १०५ वटा दाबीमार्फत २ अर्ब ३३ करोड ५५ लाख रुपैयाँभन्दा बढीको दाबी परेको छ । यसमा २३ करोड ८९ लाख रुपैयाँभन्दा बढी भुक्तानी भएको छ । अन्य बीमाअन्तर्गत ५१६ वटा दाबीमा १ अर्ब ५० करोड ९६ लाख रुपैयाँभन्दा बढीको दाबी परेकोमा ८९ लाख ४१ हजार रुपैयाँ मात्रै भुक्तानी भएको छ ।
स्वास्थ्य बीमाअन्तर्गत ५३ वटा दाबी दर्ता भएका छन् । यस शीर्षकमा २४ करोड ६३ लाख रुपैयाँभन्दा बढीको दाबी परे पनि असोज ३० गतेसम्म कुनै रकम भुक्तानी भएको छैन ।
सात कम्पनीबाट भुक्तानी शून्य
बाढीबाट भएको क्षतिका लागि दाबी परेका १८ कम्पनीमध्ये सात कम्पनीले असोज ३० सम्म कुनै पनि रकम भुक्तानी गरेका छैनन् ।
नेपाल इन्स्योरेन्स कम्पनीमा १३६ वटा दाबीमार्फत ५८ करोड ८६ लाख रुपैयाँभन्दा बढीको प्रारम्भिक दाबी परेको छ । प्रभु इन्स्योरेन्समा १२५ वटा दाबीमार्फत ४० करोड २२ लाख रुपैयाँभन्दा बढीको दाबी छ । तर, यी दुवै कम्पनीबाट भुक्तानी भएको छैन ।
स्टार माइक्रो इन्स्योरेन्समा २८ वटा दाबीमार्फत ६ करोड २८ लाख रुपैयाँभन्दा बढी, राष्ट्रिय बीमा कम्पनीमा १४ वटा दाबीमार्फत २ करोड ७२ लाख रुपैयाँभन्दा बढी, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा ११ वटा दाबीमार्फत १ करोड ७ लाख रुपैयाँभन्दा बढी, नेशनल इन्स्योरेन्समा दुई वटा दाबीमार्फत ५३ लाख रुपैयाँभन्दा बढी र नेपाल माइक्रो इन्स्योरेन्समा सात वटा दाबीमार्फत ४० लाख रुपैयाँभन्दा बढीको प्रारम्भिक दाबी परेको छ । यी कम्पनीले पनि उक्त अवधिसम्म भुक्तानी गरेका छैनन् ।

सगरमाथा लुम्बिनीबाट सबैभन्दा बढी भुक्तानी
कम्पनीगत विवरणअनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा बढी २६ करोड ६३ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ । कम्पनीमा २३१ वटा दाबीमार्फत १ अर्ब ७५ करोड ९१ लाख रुपैयाँभन्दा बढीको प्रारम्भिक दाबी परेको थियो ।
हिमालयन एभरेष्ट इन्स्योरेन्समा सबैभन्दा बढी रकमको दाबी परेको छ । यस कम्पनीमा २०९ वटा दाबीमार्फत ६ अर्ब ६१ करोड ५५ लाख रुपैयाँभन्दा बढीको प्रारम्भिक दाबी परेकोमा २३ करोड २३ लाख रुपैयाँभन्दा बढी भुक्तानी भएको छ ।
दाबी संख्याका आधारमा शिखर इन्स्योरेन्स अगाडि छ । कम्पनीमा ४५९ वटा दाबीमार्फत २ अर्ब ६३ करोड ९१ लाख रुपैयाँभन्दा बढीको दाबी परेको छ । यसमध्ये २१ करोड ४७ लाख रुपैयाँभन्दा बढी भुक्तानी भएको छ ।
सानिमा जिआईसी इन्स्योरेन्समा १९२ वटा दाबीमार्फत ३ अर्ब ४३ करोड ६ लाख रुपैयाँभन्दा बढीको दाबी परेकोमा ७६ लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २६६ वटा दाबीमार्फत १ अर्ब २५ करोड ३८ लाख रुपैयाँभन्दा बढीको दाबी परेकोमा ८० लाख रुपैयाँभन्दा बढी भुक्तानी भएको छ ।
अन्य कम्पनीमध्ये दि ओरियन्टल इन्स्योरेन्सले ४ करोड ३६ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ करोड ६३ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले २ करोड ५४ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय