नेभिगेशन
राजनीति

मुलुकमा राज्य आतंक र गुण्डाराज, आन्दोलनको विकल्प छैनः केपी ओली

काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राज्य आतंक र गुण्डाराज चलेको आरोप लगाउँदै आन्दोलनको तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत तीन केन्द्रीय सदस्यलाई शपथ गराउँदै ओलीले सरकार बेलगाम फासीवादतर्फ अघि बढिरहेको आरोप लगाए । देशमा नागरिकले स्वतन्त्रताको उपयोग गर्न नसक्ने र भयको वातावरण सिर्जना भएको दाबी गर्दै उनले मुलुकलाई थप संकटबाट जोगाउन आन्दोलनको विकल्प नरहेको बताए ।
‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ,’ ओलीले भने, ‘देश कम्तीमा स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ । यस अवस्थालाई थप बिग्रन नदिन आन्दोलनको तयारी गर्नुको कुनै विकल्प छैन ।’ ओलीले मुलुकलाई अहिलेको संकटपूर्ण अवस्थाबाट पार लगाउने ऐतिहासिक जिम्मेवारी एमालेको काँधमा आएको दाबी पनि गरे ।  ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न पार्टीलाई एकताबद्ध र अनुशासित बनाएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले सही नीति र विचारका आधारमा अघि बढे जनतामा पार्टीप्रति आकर्षण बढ्ने बताए ।
गत फागुन २१ गते भएको निर्वाचनलाई ओलीले चुनाव नभई प्रतिगमनको योजनाबद्ध दोस्रो शृंखलाको संज्ञा दिए । एमाले सत्य, न्याय, देश र जनताको पक्षमा एमाले उभिएको दाबी गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनमा पार्टी विजयी हुने विश्वास व्यक्त गरे । ‘देश क्रिटिकल अवस्थामा छ । यस अवस्थाबाट हामीले देशलाई पार लगाउनुपर्नेछ । यसका लागि हामी आन्दोलनका लागि तयार हुनुपर्छ,’ आन्दोलनका लागि जोड दिँदै ओलीले भने, ‘आन्दोलन सुन्नै नहुने, टक्टक्याउने खालको मनस्थिति पनि नबनाऔं । आन्दोलनले शक्ति आर्जन गर्ने हो । आन्दोलनले नै शक्ति आर्जन गर्दछ । यति असहज र अप्ठ्यारो स्थिति छ, आन्दोलनबाहेक अर्को कुराबाट हामी जान खोज्यौं भने, आन्दोलन गर्ने आँट गरेनौँ भने हामी सफल हुन सक्दैनौं । आन्दोलनले टिकाउने हो । आन्दोलनले अघि बढाउने हो र आन्दोलनले जिताउने हो ।’ कार्यक्रममा मनोनीत केन्द्रीय सदस्यहरू इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्