नेभिगेशन
दृष्टिकोण
पाठक-मञ्च

नारायणगढ–मुग्लिन सडक यात्रा असुरक्षित

सम्पादकज्यू
यस प्रतिष्ठित राष्ट्रिय दैनिक पत्रिकाको लोकप्रिय ‘पाठक मञ्च’ स्तम्भमार्फत म देशकै प्रमुख राजमार्ग मानिने नारायणगढ–मुग्लिन सडक खण्डमा दिनानुदिन बढ्दै गएको सवारी दुर्घटना र पहिरोको उच्च जोखिमतर्फ सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।
यो सडक खण्डमा गरिने यात्रा भयानक दुर्घटनाको यात्रा बन्दै गएको छ । जसले गर्दा यस बाटो भएर यात्रा गर्ने लाखौं यात्रुहरू सधैं त्रासमा बाँच्न विवश छन् । दैनिक जसो यही सडक खण्डमा सवारी साधनहरू त्रिशूली नदीमा खस्ने, एकापसमा ठोक्किने र माथिबाट खस्ने पहिरोमा पुरिने दुःखद समाचारहरू सुन्न परिरहेको छ । यो केवल प्राविधिक तथ्यांकको विषय मात्र होइन, यसले कैयौं नेपालीको अकालमै ज्यान लिएको छ र नेपालको अर्थतन्त्रमा समेत ठूलो असर पु¥याएको छ ।
यो निश्चित क्षेत्रमा दुर्घटना र जोखिम बढ्नुमा सडकको कमजोर भौगोलिक बनावट मात्र नभई फितलो व्यवस्थापन र मानवीय लापरबाहीसमेत उत्तिकै जिम्मेवार देखिन्छ । वर्षायाममा मात्र नभई हिउँदमा समेत सुख्खा पहिरो खस्ने समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न आधुनिक इन्जिनियरिङ प्रविधिको प्रयोग गरिएको छैन । यसका साथै चौडा पारिएको सडक पाएपछि चालकहरूले तीव्र गतिमा सवारी चलाउने र तीव्र मोडहरूमा समेत जथाभावी ओभरटेक गर्ने प्रवृत्तिले दुर्घटनालाई सोझै आमन्त्रण गरिरहेको छ । 
सडकको क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारी साधनहरूको नियमन नहुनु र रात्रिकालीन समयमा सडकमा ट्राफिक प्रहरीको निगरानी कमजोर हुनुले अवस्था झन् गम्भीर बनाएको छ ।
त्यसैले अब पुरानै शैलीले सडक मञ्चन र मौसमी तयारीले मात्र यो राष्ट्रिय समस्याको समाधान सम्भव देखिँदैन । सरकार र सडक विभागले यस खण्डका जोखिमपूर्ण पहिरो प्रभावित क्षेत्रहरूमा तत्काल आधुनिक सुरक्षा पर्खालहरूको स्थायी निर्माण गर्नुपर्छ । यसका साथै तीव्र गति नियन्त्रणका लागि सीसीटीभी क्यामेरा जस्ता प्रविधिको अधिकतम प्रयोग गरी नियम उल्लंघन गर्ने चालकलाई कठोर कानुनी कारबाही गरिनुपर्छ । देशकै यो व्यस्त र संवेदनशील सडकलाई सुरक्षित र भरपर्दो बनाउन सरोकारवाला निकायले तत्काल ठोस कदम चालोस् भनी जोडदार माग गर्दछु ।
- हरि थापा
भरतपुर, चितवन

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
विपद् बीमाको दाबी भुक्तानीमा सकस

विपद् बीमाको दाबी भुक्तानीमा सकस

युवा निर्यात गरेर देश बन्दैन

युवा निर्यात गरेर देश बन्दैन