नेभिगेशन
राजनीति
कांग्रेस संस्थापन इतर अधिवेशनमै सक्रिय

देउवाले काठमाडौं जिल्ला अधिवेशन उद्घाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन र इतरपक्ष मंसिर महिनाभर अधिवेशनमा जुट्ने भएका छन् । मंसिरमा महाधिवेशनको तयारीमा रहेको पूर्वसभापति शेरबहादुर देउवा पक्षले सुदूरपश्चिम र कर्णालीका १० जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ भने संस्थापनपक्ष बाँकी जिल्ला र प्रदेश कार्यसमितिको निर्वाचन मंसिरभित्रै गर्ने तयारीमा छ । उसो त इतरपक्षले महाधिवेशन पनि मंसिर तेस्रो साता गर्र्दैछ । 
देउवा पक्षले काठमाडौं जिल्ला अधिवेशन कात्तिक २१ गते गर्ने भएको छ । पार्टीको नवनिर्वाचित नेतृत्वले अघि बढाएको नियमित अधिवेशन प्रक्रियाभन्दा अलग रहेर देउवा पक्षले समानान्तर रूपमा सबै तहको अधिवेशन गर्न लागेको हो । असोज १५ बाट इतरपक्षले तल्लो तहको अधिवेशन शुरु गरेको थियो । मंसिर २१ देखि २३ काठमाडौंमा यो पक्षले महाधिवेशन गर्ने घोषणा गरेको छ । 
नेता दिनेशविक्रम शाहका अनुसार काठमाडौंको जिल्ला अधिवेशन राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा हुनेछ । अधिवेशनको उद्घाटन निवर्तमान सभापति देउवाले गर्ने कार्यक्रम तय भएको छ ।
अधिवेशनलाई व्यवस्थित बनाउन जिल्ला संयोजक जयकृष्ण महर्जनले विभिन्न उपसमिति गठन गरेका छन् । महर्जनले प्रचार संयोजकमा शम्भुप्रसाद अधिकारी, मञ्च तथा अधिवेशन व्यवस्थापनमा टेवेन्द्ररत्न शाक्य र युवा परिचालनमा दिनेशविक्रम शाहलाई जिम्मेवारी दिएका छन् । देउवा पक्षले गगन थापा नेतृत्वमा भएको महाधिवेशन वहिष्कार गरेको थियो । 
संस्थापनको जिल्ला र प्रदेश चुनाव मंसिरमै
यसैबीच, कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिले पार्टीको नियमित प्रक्रियाअन्तर्गत बाँकी जिल्ला र प्रदेश अधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गर्ने तयारी गरेको छ । नवनिर्वाचित महामन्त्री उदयशमशेर राणाका अनुसार अधिवेशनको मिति केन्द्रीय कार्यसमितिको बैठकले तय गर्नेछ ।  बिहीबार केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यको शपथपछि बस्ने बैठकले यसबारे निर्णय गर्ने बताए । ‘बाँकी रहेका जिल्ला र प्रदेश अधिवेशन मंसिरमा गरिसक्छौं । मिति भने टुंगो लागेको छैन,’ राणाले भने ।
गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न कांग्रेसको १५औं महाधिवेशनमा समय अभावका कारण जिल्ला र प्रदेश अधिवेशन बाँकी राखिएको थियो । एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । ४२ जिल्लामा अधिवेशन हुन बाँकी छ । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले बाँकी अधिवेशन मंसिरभन्दा पछि नसर्ने दाबी गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्