नेभिगेशन
अर्थतन्त्र

व्यापारघाटाको बीचबाट सम्पन्न राष्ट्रको परिकल्पना

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस आर्थिक वर्षको दुई महिनामा मात्र वैदेशिक व्यापारमा मुलुकलाई २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ व्यापार घाटा भएको छ । तथ्यांकअनुसार यो घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.५९ प्रतिशत बढी हो । 

३ खर्ब ५ अर्ब १५ करोडको वस्तु आयात भएको छ भने ४७ अर्ब ३१ करोडको निर्यात भएको छ । यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ दशमलव २३ प्रतिशत बढी हो । आर्थिक वर्ष २०८१– ८२ को पहिलो दुई महिनामा २ खर्ब ३७ अर्ब ४५ करोड रुपैयाँ व्यापार घाटा थियो । गत वर्ष साउन र भदौमा २ खर्ब ६२ अर्ब ५४ करोडको वस्तु आयात भएको थियो ।

निर्यात पनि एक वर्ष अघिको तुलनामा अहिले बढेको छ । जुन एक वर्षअघिको तुलनामा ८८ दशमलव ५७ प्रतिशत बढी हो । गतवर्ष साउन र भदौमा २५ अर्ब ९ करोड बराबर मात्र निर्यात भएको थियो । आयातको तुलनामा निर्यातको प्रतिशत वृद्धि भए पनि रकम न्यून हुँदा व्यापार घाटा बढेको देखिन्छ । 

कुल वैदेशिक व्यापार २२ दशमलव ५४ प्रतिशत बढेर ३ खर्ब ५२ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । विश्व व्यापार र उपभोक्तावादी संस्कृतिको फैलावटले नेपालका दुरदराजका गाउँवस्ती पनि अछुत छैनन् । मानवीय स्वभाव नै नयाँबाट आकर्षित हुने हुन्छ । खाना, नाना र गाना सबै नयाँकै आकर्षण हुन्छ । खान, लाउन र गाउन मानिस नयाँतिरै आकर्षित हुने गर्छन् । यो स्वाभाविक कुरा हो ।

अझ पछिल्ला केही दशक यता नेपाली युवाहरू ठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने गरेका छन् । नयाँ ठाउँमा लगभग सबै नयाँ, जसले मन नतान्ने कुरै भएन । नयाँ कुराको आकर्षण मात्र होइन उत्पादनमा लाग्न सक्ने वा लाग्नुपर्ने युवा जनशक्ति विदेशिएपछि स्थानीय उत्पादनमा समस्या पनि थपिने नै भयो । 

स्थानीय उत्पादन नभएपछि आयात बढ्नु अनिवार्य हुन्छ । बाहिरी समाग्रीको सहज उपलब्धताले काम गर्ने बानी र स्थानीय समानप्रतिको वितृष्णाको स्वाभाविक चक्र बन्छ । यो चक्रसँगै व्यापार घाटा थपिने हो । नेपाल अहिले यही चक्रमा पर्दै गएको छ ।

नेपालको आन्तरिक उत्पादन न्यून भएका कारण व्यापार घाटा बर्सेनि बढ्दै गएको छ । अलिअलि निर्यात हुने सामान पनि तेस्रो मुलुकबाट आयात गरेर विदेश पठाउने गरिएको छ । यो उत्पादनमूलक भन्दा पनि व्यापारिक आयात निर्यात मात्र हो । यस्तो कारोबार उत्पादन गर्ने राष्ट्र र खपत गर्ने राष्ट्र बीच कुनै बेला आपसी सहमति भयो भने हाम्रो कारोबार एक निमेषमा बन्द हुन सक्छ ।

यसपटक सबैभन्दा धेरै कच्चा पदार्थका रूपमा सोयाबिन तेल १७ अर्ब ४० करोड रुपैयाँको आयात भएको छ । सबैभन्दा धेरै निर्यात पनि सोयाबिन तेल नै भएको छ । जुन २० अर्ब ४२ करोडको निर्यात भएको छ । दोस्रो धेरै निर्यात हुने वस्तुमा कार्पेट छ । 

जुन १ अर्ब ५८ करोडको निर्यात भएको छ । यस्तै, सूर्यमुखी तेल १ अर्ब ३८ करोड, पाम तेल १ अर्ब ३१ करोड, भुवाजन्य वस्तु १ अर्ब १९ करोड र जुटबाट बनेका कपडाहरू १ अर्ब २ करोडको निर्यात भएको छ । यी निर्यात भएका वस्तु कुनै पनि हाम्रा उत्पादन होइनन् ।

हुनत उत्पादन नगरेर व्यापारको कामबाट मात्र पनि कतिपय देशले उन्नति नगरेका होइनन् । तर त्यसको बलियो आधार र व्यापारिक कुशलता हुनुपर्छ । अहिले हाम्रो निर्यात छिमेकी देश भारत केन्द्रित छ । यसपटक पनि नेपाल र भारतबीच नै सबैभन्दा धेरै व्यापार भएको छ । भारतबाट कुल १ खर्ब ७३ अर्ब ५४ करोडको आयात भएको छ । 

यस्तै नेपालबाट भारतमा ३८ अर्ब ३५ करोडको निर्यात भएको छ । भारतसँग कुल १ खर्ब ३५ अर्ब १९ करोडको व्यापार घाटा भएको छ । भारतपछि सबैभन्दा धेरै व्यापार चीनसँग भएको छ । चीनबाट ६५ अर्ब १७ करोडको आयात भएको छ । नेपालबाट चीनमा १२ करोड ३४ लाखको मात्रै निर्यात भएको छ । चीनसँग व्यापार घाटा ६५ अर्ब ५ करोड रुपैयाँ छ ।

नेपालको निर्यातमा भारतसँग बेलाबखत हुने गरेका अवरोधले सधैं शंका र द्विविधा हुँदै आएको छ । अर्कातिर चीन विश्वका लागि उत्पादनको केन्द्र रहेर बसेको छ । यस्तो अवस्थामा चीनको उत्पादनको स्तर र मूल्यलाई आधार देखाएर कुनै पनि बेला हाम्रो उत्पादनमा नाक खुम्च्याउन सक्ने देखिन्छ । 

त्यसैले व्यापार घाटा कम गर्न दुवै छिमेकीको आवश्यकतालाई बुझेर हामीले गुणस्तरीय आन्तरिक उत्पादन बढाउनुको विकल्प छैन । हाम्रा दुवै छिमेकी जनसंख्या र अर्थतन्त्रका हिसाबले उन्नतिको शिखरतिरै छन् । हामीले उत्पादनमा स्तर र सम्बन्धमा विश्वास कायम गर्न सक्यौं भने दुवै छिमेकी हाम्रा उपभोक्ता हुने मात्र होइन नेपाल विश्वको सबैभन्दा सम्पन्न राष्ट्र पनि बन्न सक्छ । अनि हामी समृद्ध राष्ट्रका सभ्य नागरिक बन्न सक्छौं ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र