नेभिगेशन
खेलकुद

एनपीएलः पोखरालाई ८ विकेटले हराउँदै लुम्बिनी विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १३औं खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको छ। 
कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा  ९ विकेट गुमाउँदै ९७ रन बनाएको थियो। 
पोखराले दिएको ९८ रनको सहज विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले ११.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। 
लुम्बिनी लायन्सका ओपनरद्वय सस्तैमा पेभेलियन फर्किए। आसिफ शेख ७ र डार्सी सर्ट १३ रनमा पेभेलियन फर्किए। आसिफ ७ रनमा रनआउट भएका हुन्। डार्सी भने विपिन खत्रीको बलमा आकाश चन्दको हातमा क्याच भएका हुन्। 
तेस्रो विकेटको लागि कप्तान रोहित कुमार पौडेल र निरोशन डिक्कवेल्लाले ७७ रनको साझेदारी बनाए। रोहित ४७ र निशोसन डिक्कवेल्ला २७ रनमा अविजित रहे। 
पोखरा एभेन्जर्सका लागि बलिङमा एक मात्र विकेट विपिन खत्रीको नाममा रह्यो। पोखराले ७ जना बलर प्रयोग गर्‍यो। 
त्यसअघि ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निकै फितलो ब्याटिङ प्रदर्शन गर्यो। ओपनिङमा आएका कप्तान कुशल भुर्तेलले केही समय क्रिजमा टिक्ने प्रयास गरेपनि उनी लामो समय टिक्न सकेनन्। युवा खेलाडी अर्जुन कुमालले आज पहिलो पटक प्लेइङ ११ मा स्थान बनाएका थिए। तर उनी आज रुबेन ट्रम्पलमेनको बलमा डक हुन पुगे। त्यसपछि वान डाउन आएका सादिरा समराविक्रमा ७ रनमा प्याक भए। 
पोराका लागि तल्लो क्रममा ब्याटिङमा आएका चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए। उनले १७ बलम २ छक्का प्रहार गरे। मेहेदी हसनले १४ रन बनाउँदा कप्तान कुशलको खातामा १४ रन बनाए। किरण ठगुन्नाले १२ रन बनाउँदा अन्य कुनै पनि ब्याटरको ब्याटबाट दोहोरो अंकमा रन बनेन।
 पोखरामा सस्तैमा समेट्न लुम्बिनी लायन्सका लागि तेस्रो सिजनमा पहिलो खेल खेलेका रुबेन ट्रम्पलमेनले सर्वाधिक ३ विकेट लिए। तिलक बर्माले २ विकेट लिँदा शेर मल्ल, अभिषेश गौतम र रोहित पौडेलले १-१ विकेट लिए। आजको खेलमा जित दर्ता गरेसँगै लुम्बिनी लायन्स अपराजित रहेको छ। 
आजको खेलमा पोखरालाई हराउँदा लुम्बिनी ५ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। पोखराको भने यो लगातार तेस्रो हार हो।  
 लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो। दोस्रो खेल भने लुम्बिनीले वर्षाको कारण अंक बाँड्दै १ अंक लिएको हो। 
पोखरा एभेन्जर्सले पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेट र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ९ रनले हारेको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्