नेभिगेशन
अर्थतन्त्र
सन्दर्भ विश्वपर्यटन दिवस

दिगो रुपान्तरणमुखी पर्यटनमा नयाँ अवसर : आरोग्य पर्यटन

- डा. चेतनाथ कणेल

काठमाडौँ, १० असोज : संयुक्त राष्ट्रसङ्घीय पर्यटन संस्था (युएन टुरिजम)ले सन् २०२५ को विश्वपर्यटन दिवसका लागि तोकेको नारा हो ‘दिगो रूपान्तरणका लागि पर्यटन’ । त्यसैअनुरूप विश्वले यतिबेला पर्यटनलाई साँच्चै दिगो रूपान्तरणको औजार कसरी बनाउने भन्ने कुरामा विशेष रूपले सोचिराखेको छ । पर्यटनलाई स्थानीय समुदायको जनजीविका उत्थानको दिगो र दरिलो ‘साधन’ बनाउने मामलामा विश्व नै चुकेको अवस्था छ । पर्यटनको लाभ सीमित क्षेत्र र सीमित वर्गमा केन्द्रित हुँदा पर्यटन विकासबाट समृद्धि, न्यायोचित लाभ वितरण एवं यसका बहुआयामिक लाभबाट हुनुपर्ने सकारात्मक र टिकाउमूलक विकासमा जेजति अपेक्षा गरिएको थियो, त्यो कहीँ पनि पूरा हुन सकेको छैन । 

पर्यटनको लाभ वितरणको मामला कम विकसित तथा विकासोन्मुख मुलुकमा अझ टड्कारो बनेको छ । पर्यटनबाट हुने आयको अधिकांश हिस्सा बाहिरिने (‘लिकेज’ हुने) रोगले सबैजसो मुलुकलाई सताएको छ । पर्यटकहरूको भीड बढ्दैमा स्थानीय लाभ बढ्छ भन्ने छैन, पर्यटकको सङ्ख्या आकासिँदैमा त्यस गन्तव्यका बासिन्दाको जनजीविकाको सवालमा ठोस परिवर्तन आउँछ भन्ने पनि हुँदैन । मूल कुरा स्थानीय खपत कति हुन्छ र पर्यटनबाट हुने समग्र आयको कति अंश स्थानीयस्तरमा नै बस्छ भन्ने हो । नेपालका सन्दर्भमा यो सवाल झनै चिन्तनीय र मननीय छ । विदेशी जहाज चढेर नेपाल आउने, अनि नेपालमा बस्दा पनि विदेशी खाना र पेय खपत गर्ने, विदेशी ब्रान्डकै वा फ्रेन्चाइजमा खुलेका होटलमा बास बस्ने, अनि कहिलेकाहीँ त विदेशबाटै आउने टोलीको सदस्यले नै गाइड गर्ने गरेको देखिन्छ । यस्तो अवस्थामा नेपालभित्रै बस्ने विदेशी मुद्रा कति होला त ? हामी सहजै अनुमान गर्न सक्छौँ । नेपालको यो नियतिले पर्यटन विकासको औचित्य सावित हुँदैन । अनेक समस्याबीच अल्झेको हाम्रो पर्यटन धिमा गतिमा चल्ने र लाभ पनि स्थानीयस्तरमा ज्यादै कम हुने अवस्था विद्यमान रहेको छ । यस अवस्थालाई पार लगाउनका लागि नेपालको पर्यटनमा वैकल्पिक उपाय अपनाउनु ज्यादै आवश्यक भएको छ ।

पदयात्रा पर्यटन, पर्वतारोहण पर्यटन, जङ्गल सफारी पर्यटन, आध्यात्मिक तथा धार्मिक पर्यटन, व्यापार तथा बिदा पर्यटन नेपालका चलनचल्तीका पर्यटन हुन्, जसले नेपालको पर्यटनलाई सन् १९५० को दशकदेखि हालसम्म डोर्‍याएर ल्याएका छन् । नेपालको पर्यटन सामान्य डोरिएको मात्रै छ, अपेक्षित र तीव्र विकास त नेपालको पर्यटनमा कहिल्यै हुन सकेन । विश्वका कतिपय मुलुक र छिमेककै पर्यटन हेर्‍यो भने पनि नेपालको पर्यटन विकासको गति देखेर आफैँलाई रुन मन लाग्छ । सन् २०१० मा म भियतनामका लागि पर्यटन विकास विशेषज्ञ (परामर्शदाता) भई जाँदा त्यहाँ वार्षिक पर्यटक आगमन जम्मा ६० लाखको हाराहारीमा थियो, तर त्यही सङ्ख्या अहिले करिब दुई करोडको हाराहारीमा पुग्दैछ । तर नेपालको वार्षिक पर्यटक आगमन विगत १५ वर्षयता उही १०–११ लाखको हाराहारीमा फन्का मारिरहेको छ । हामी १२ लाखबाट माथि अहिलेसम्म उक्लिन सकेका छैनौँ । यो विडम्बनाभित्र अनेक कारण छन् । ती सबै कारण खोतल्नु यस आलेखको उद्देश्य होइन । तर पनि एक विशेष सन्दर्भ यहाँ के प्रकाश पार्न खोजिएको छ भने, नेपालको पर्यटनमा पर्यटन उपज (प्रोडक्ट) तथा क्रियाकलाप (एक्टिभिटिज) को विविधता विकास गर्ने क्रममा हामी ज्यादै पछि परेका छौँ । प्रकृति, संस्कृति र साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य भनेर जति भट्याए पनि बाह्य पर्यटकले हामीलाई अझ पत्याइरहेका छैनन् । खास पर्यटकको ढोका, कोठा र आँगनमा हामी पुग्न सकेका छैनौँ । 

हो पूर्वाधारको कमी छ, प्रचारको कमी छ, सचेतनाको कमी छ, विश्वस्तरको क्षमता पर्यटनकर्मीमा बढाउन सकेका छैनौँ, आदिजस्ता अनेक बाधा र अड्चन नेपाली पर्यटनमा छँदैछन्, तर पनि हाम्रो अपेक्षा विश्वका अन्य देशले जस्तो आक्रामक खालको कहिल्यै छैन र प्रक्षेपण पनि खरायोरूपी गरेकै छैनौँ । हामीले त आजभन्दा १० वर्षअघि बनाएको नेपालको राष्ट्रिय पर्यटन विकास रणनीति पनि सामान्य खालको बढोत्तरी अपेक्षा गर्दै सन् २०२५ सम्ममा २५ लाख पर्यटक भित्र्याउने लक्ष्य तय गरेका थियौँ । तर २०१५ को महावितण्डाकारी भूकम्पपछिको पुनर्निर्माणमा भएको ढिलाइ, संविधान निर्माणपछिको भारतीय अर्घेल्याइँ र सम्बन्धित विद्रोह तथा आन्दोलनहरू, सन् २०२० र २०२१ मा देखिएको कोरोना महामारीले पारेको विश्वव्यापी सङ्कट आदिजस्ता अनपेक्षित अवस्था र कारणहरूले नेपाली पर्यटनमा जहिले पनि उडायो सपना सबै हुरीले भन्ने नेपाली गीत चरितार्थ बन्दै आएको दुःखद् अवस्था छ । अझ यसमा नुनचुक थपिएको अवस्था भयो रुस तथा युक्रेन युद्ध र त्यसबाट उत्पन्न संसारव्यापी आर्थिक सङ्कट । 

नेपालको पर्यटन तथा अर्थतन्त्र विकास सन्दर्भमा यो सन् २०२५ फेरि अर्को सङ्कट बनेर आयो जेन्जी आन्दोलनका नाममा घुसपैठवालाहरूले गरेको महाविनाश । होटल क्षेत्रलाई ठूलो नोक्सानी भयो । बाह्य संसारमा अशान्ति र अनिश्चितताको सन्देश दिन दुगुना रात चौगुना भनेजस्तै फैलियो । काठमाडौँ, पोखरा, लुम्बिनीजस्ता प्रमुख गन्तव्यका होटलहरू सुनसान बन्न पुगेका छन् । सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनाका लागि बुकिङ भएका उडान तथा होटल कोठाहरू धमाधम रद्द गरिएबाट यतिबेला नेपालका पर्यटन व्यवसायी हतोत्साही भएका छन् । नब्बे प्रतिशतभन्दा बढी बुकिङ रद्ध हुनु कम्ती दुःखद् कुरा होइन । व्यवसायी पलायनको रोगले अर्को ‘कोरोना’मय चिन्ता र निराशा ल्याउने हो कि भन्ने संशय पनि उत्तिकै छ । 

आशा जारी राखौँ

जे होस्, नेपाली पर्यटन फेरि जगाउनुपर्छ, उठाउनु पर्छ । अपार सम्भावना छ, यसमा हामी कसैको दुईमत रहँदैन । तर पर्यटन विकासमा आएका अनेक अवरोध, तगारा र बाडुलीहरूले पर्यटनका माध्यमबाट नेपालमा समृद्धि ल्याउने, समुदायको दिगो विकासमा टेवा पुर्‍याउने हाम्रा दिगो आकाङ्क्षाहरू साँच्चीकै दिगो रूपमा रूपान्तरण गर्ने कसरी भन्ने कुरामा हामी अझ सशक्त ढङ्गले लाग्नुपरको छ । सोचाइसँगै व्यवहारमा पनि नयाँ ढङ्गले सोच्नुपरेको छ । जेन्जी आन्दोलनपछिको नयाँ नेपालमा जेन्जी पुस्तालाई पनि अधिकतम् सहभागी गराउँदै र जिम्मेवारी बहन तथा कर्तव्यबोध गराउँदै नेपाली पर्यटनले फरक ढङ्गले सोच्नुपरेको छ । नेपालको नयाँ पर्यटनमा ग्रामीण पर्यटनको उत्थान, होमस्टे पर्यटनको प्रवद्र्धन, समावेशी सांस्कृतिक पर्यटनलाई बढावा, कर्णाली, मधेस तथा सुदूरपश्चिम प्रदेशको पर्यटनलाई आक्रामक ढङ्गको प्रचारप्रसार तथा विशेष सहुलियतका प्याकेजहरूको प्रावधानजस्ता कुरा अपरिहार्य छन् । साथै, पर्यटन उपज भनुँ वा क्रियाकलापमा एउटा सशक्त पर्यटन हुनसक्छ ‘आरोग्य पर्यटन’ अर्थात् ‘वेलनेस टुरिजम’ ।

आरोग्य पर्यटनको प्रचार र विस्तार

विश्वले नै यतिबेला नयाँ नयाँ खालको पर्यटन अनुभव गर्न खोज्दैछ । नेपालको खास विशेषता भएका पक्ष हामीले उजागर गर्न ढिला भएको एउटा यथार्थ छ । आरोग्य पर्यटनको अपार सम्भावना भएर पनि हामीले यसको सही उपयोग र प्रभावी प्रकारको प्रचारप्रसार गर्दै विश्वभरका पर्यटकलाई तान्ने अवसर गुमाइरहेका छौँ । यो पङ्क्तिकारले हालै बाह्र दिने विपश्यना (आरोग्य पर्यटनको एक हिस्सा) मा भाग लिने अवसर पायो । भदौ १६ देखि २७ सम्म बूढानीलकण्ठ–शिवपुरी क्षेत्रमा अवस्थित नेपाल विपश्यना ध्यान–केन्द्रमा सम्पन्न ध्यान शिविरमा करिब पौने दुई सय नेपाली तथा करिब दुई दर्जन विदेशी (खासगरी युरोपियन तथा अमेरिकी) थिए । नेपालमा जेनजी आन्दोलन चलिरहेको रहेछ । तर हामीलाई केही थाहा भएन । हामी ध्यानमा मस्त थियौँ । शान्तिको वातावरणमा दिनहुँ भवतु सर्वमङ्गलम्को पवित्र मन्त्रोच्चारणका साथ आरम्भ र अन्त्य गरिने विपश्यना आफँैमा शान्ति पर्यटन, आरोग्य पर्यटन, स्वास्थ्य पर्यटनको अनुपम उदाहरण हो ।

धेरैजनासँग भेट्ने र कुरा गर्ने अवसर त्यहाँ हुँदैन । अतःअन्तिम दिन एक विदेशी साधकसँग कुरा गरिहालुँ भन्ने लाग्यो । बेलायतको क्याम्ब्रिज सहरबाट आएका रहेछन् करिब २५ वर्षे पिटर विल्सन । उनले इन्टरनेटबाट नेपालमा विपश्यनाका उत्कृष्ट ध्यान केन्द्रहरू रहेको थाहा पाएछन् । विश्वविद्यालयको स्नातकोत्तर पढाइ सकिनेबित्तिकै नेपाल घुम्न जाने र त्यही बेला ध्यान शिविरमा पनि सहभागी बन्ने सपना पूरा भएको रहेछ । ध्यान शिविरको कार्यक्रम सकिनेबित्तिकै रसुवाको लाङटाङ तथा वपिरिका क्षेत्र घुम्न जाने उनको योजना रहेछ । भदौ २९ र ३० गतेतिर जेन्जी आन्दोलनपछिको नेपालको वातावरण सहज बन्दै गएकाले उनी रसुवातिर घुम्न पनि गए । 

यो उदाहरण ल्याउनुको अर्थ के भने नेपालमा आरोग्य पर्यटनका रूपमा विस्तार हुँदै गएका ऋग्वेदीय विपश्यना ध्यान, पतञ्जली योग तथा ध्यान, आर्ट अफ लिभिङका आरोग्यमुखी ध्यान तथा अन्य क्रियाकलापहरू, ओशो केन्द्रहरूमा हुने ध्यान शिविरहरू, विभिन्न हिन्दू मन्दिरमा आयोजना हुने पूजापाठ, भजनकीर्तन, प्रवचन, शास्त्रार्थ आदि र धार्मिक तथा आध्यात्मिक वातावरणले सुसज्जित विभिन्न बौद्धगुम्बा तथा आरोग्य आश्रमहरूले यस दिशामा अपार योगदान पुर्‍याउने सम्भावना देखिएको छ । पिटरजस्ता हजारौं युवा, वयस्क तथा ज्येष्ठ नागरिकहरू नेपालको शान्त, शीतल तथा सौहार्द वातावरणमा हराई हप्तौँ हराउन चाहन्छन् । जीवनको अनुपम र अद्वितीय आनन्द लिन चाहन्छन् । नेपालकै विभिन्न सहर र गाउँका व्यक्तिहरू अर्को स्थानमा गएर ध्यान तथा योगमा भाग लिने प्रवृत्ति पनि बढ्दो छ । आरोग्य पर्यटन विस्तारका लागि यी भर्भराउँदा नयाँ सम्भावना हुन् । प्रत्येक हिमालका फेदी, डाँडाकाँडा, नदी किनार तथा असङ्ख्य गुफाले नेपालमा योग तथा ध्यान पर्यटनको सम्भावना बोकेर बसेका छन्, हाम्रा बर्कत र नयाँ अभियान तथा पहल प्रतीक्षा गरेर बसेका छन् । अब खाँचो छ यी अमूल्य अवसरको महसुस गर्नु, दीर्घकालीन अर्थात् दिगो विकासको योजना बनाउनु, स्थानीय व्यक्तिहरूलाई समेत बढीभन्दा बढी सहभागी गराई ती ठाउँ र क्रियाकलापको प्रवर्द्धन तथा व्यवस्थापन गर्नु, र आइसकेका व्यक्तिहरूको अत्यधिक प्रयोग गरी ‘मुखार सन्देश’ (वर्डस् अफ माउथ) फैलाउने उपाय अवलम्बनका साथ डिजिटल प्रचारका माध्यमबाट विश्वभरि पुग्नु । 

नेपालका सबैजसो पर्यटन योजना तथा नीतिहरूमा पनि स्वास्थ्य पर्यटन, आरोग्य पर्यटन, शान्ति पर्यटन (पिस टुरिजम) लाई चर्चा गर्ने र जोड दिने दिइएको छ । तर नीतिगत जोडमात्रभन्दा पनि कार्य र थितिगत जोड अबको आवश्यकता हो । स्वास्थ्य पर्यटन भनेको अस्पतालमा उपचार गराउन आउनेबाट हुने पर्यटन हो भन्ने सोचाइसमेत परिवर्तन गरी मनभित्रको शान्ति खोजी मानसिक, शारीरिक तथा आद्यात्मिक तवरले स्वस्थ रहने पद्धति अर्थात् आरोग्यमुखी पर्यटन विकास गर्नमा बुद्धभूमि, शिवभूमि, पाणिनिभूमि, बाल्मिकी भूमि, जनकभूमि, रामभूमि, सीताभूमि रहेको पवित्र देश नेपालले यो सन्देश विश्वभर छर्न सक्छ, पर्यटनबाट अपार लाभ लिन पनि सक्छ र पर्यटनका माध्यमबाट यहाँका जनताको दिगो रूपान्तरण हुने सोचलाई व्यवहारमा उतार्न पनि सक्छ भन्ने कुरामा सबैले विश्वास गरौँ । त्यसैअनुरूप अगाडि बढ्ने प्रण पनि आजैबाट गरौँ । 

- लेखक काठमाडौँ विश्वविद्यालयबाट शिक्षा, सिकाइ र पर्यटन विषयमा विद्यावारिधि प्राप्त शोधकर्ता तथा ग्रामीण पर्यटन विशेषज्ञ हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र