काठमाडौं, ११ असोज - ‘दाइ कस्तो छ च्यांग्रा बेपार ?’ ‘ठिकै छ भन्नु पर्यो । अलिअलि घटाएको छु ।’ ‘कति च्यांग्रा बिके ?’ ‘३ सयवटा ल्याएको थिएँ । अब ५० वटा बाँकी छ ।’
यी संवाद सुन्दा कुनै च्यांग्रा व्यापारीसँग गरिएको कुराकानी जस्तो लाग्छ । तर आफ्नो च्यांग्रा व्यापारको जानकारी दिने व्यक्ति हुन्, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सुरेन्द्र गुरुङ । वडा सदस्यलाई वडाध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेर गुरुङ एक साता लगाएर च्याङग्रासहित पैदलै पोखरा झरेका हुन् ।
शनिबार पोखराको सिमपानीमा च्याङ्ग्रा बेचिरहेका उनले आइतबारसम्ममा सबै च्याङग्रा बेचिसकेर उकालो लाग्ने योजना सुनाए । देशमा अहिले जेनजी प्रदर्शनका एक अभियन्ता पुख्र्यौली घर गोरखा भएका गैरसरकारी संस्था ‘हामी नेपाली’ का ३६ वर्षीय अभियन्ता सुदन गुरुङको चर्चा छ । गोर्खाली गुरुङकहाँ मन्त्रीका आकांक्षीहरू धाइरहेका छन् ।
मुस्ताङका जनप्रतिनिधि ३५ वर्षीय गुरुङ भने काठमाडौं र पोखराका च्याङग्रा पारखीहरूको खोजीमा छन् । एक साताअघि वडाको कार्यबाहकको जिम्मेवारी दिएर ३ सयभन्दा बढी च्याङग्रा लिएर उनी जोमसोम–बेनीहुँदै पोखरा आइपुगेका उनले अधिकांश च्याङग्रा काठमाडौं पठाएको सुनाए । बाँकी च्याङ्ग्रा पोखरामै सक्ने उनको योजना छ । पोहोरभन्दा यो वर्ष च्याङ्ग्रा बिक्री राम्रो भएको उनले सुनाए ।
जिउँदो च्याङग्रा हजार रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । च्याङग्राको तौल सरदर ३५ किलोदेखि माथि हुन्छ । गुरुङले जम्मा तीन सय मात्र च्याङ्ग्रा झारेका थिए । उनका साथीहरूले त अझ धेरै च्याङ्ग्रा झारेका थिए । जनेजी आन्दोलनको तोडफोड र सरकार परिवर्तनले व्यापार प्रभावित होला कि भन्ने डर रहे पनि बिक्रीलाई असर नगरेका उनको अनुभव रह्यो । ‘पोखराको मान्छेले धेरैजसो कालो च्याङग्रा खोज्छन् तर मसँग धेरै कालो च्याङ्ग्रा छैन,’ गुरुङले सुनाए, ‘तैपनि भोलिसम्म सकिएला ।’
उनको परिवारले च्याङ्ग्रापालन बाहेक स्याउ र आलुको खेती पनि गरेको छ । स्याउ र आलुको पनि राम्रै भाउ आउने गरेको छ । वडाध्यक्ष भए पनि आफूहरूको पुस्तौनी पारिवारिक पेशा नै कृषि र पशुपालन भएको उनले बताए । ‘भ्रष्टाचार गरेर कमाउन भएन मेहनत गरेर कमाउनु पर्यो,’ वडाध्यक्ष गुरुङले भने, ‘सरकारी भत्ता त चिया खाँदा र खुवाउँदैमा जान्छ ।’
दसैंताका उनी यसैगरी आफ्नो कार्यभार अरु सदस्यलाई सुम्पेर एक महिना च्याङ्ग्रा बेच्न पोखरा झर्ने गरेका छन् । च्याङ्ग्रा हुर्काउन तीन वर्ष जति लाग्ने गरेको उनले सुनाए । ‘तर हामीसँग किनेर लानेले महंगोमा च्याङग्रा बेच्दा मुस्ताङका च्याङ्ग्रा महँगो हुन्छ भन्ने गलत सन्देश मान्छेमा छ,’ उनले भने, ‘त्यही भएर पनि हामी पाल्नेले नै ग्राहक खोज्नुपर्ने भएको हो ।’
जनप्रतिनिधिको धेरै समय जनताको सेवामा खर्च हुने हुँदा आफ्नो कमाइ भएन भने जीविका धान्न गाह्रो हुने उनी बताउँछन् । त्यही भएर पनि जनप्रतिनिधिहरूको आफ्नो व्यावसाय हुनुपर्ने उनको बुझाइ छ । आफूले समुदायलाई पनि पशुपालनमा अभिप्रेरित गरेको उनले सुनाए । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले २२ औं गाउँसभाबाट चालु आर्थिक वर्ष २०८२-८३ मा कृषि र पशुपालनका क्षेत्रमा अनुदानसहितका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
पालिकाले कृषि र पशुपालन व्यवसाय प्रवद्धनसँगै आत्मनिर्भर बनाउन औजार बीउ विजन, औषधी र प्राविधिक सहयोग गर्दै आएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका च्याङ्ग्रा पालनको पकेट क्षेत्र हो । यी क्षेत्रमा मुस्ताङ जिल्लाकै ८० प्रतिशत च्याङ्ग्रा फार्म छन् ।