नेभिगेशन
प्रदेश

कर्णालीमा चुत्रो प्रजातिको जडिबुटी मासिने जोखिम

अल्पकालीन फाइदाका लागि जरा उखेलेर विनाश, अवैध निकासी तीव्र

दैलेख । कर्णाली प्रदेशका पहाडी भेगमा पाइने चुत्रो प्रजातिको जडिबुटी मासिने जोखिम बढेको छ । सदियौँदेखि स्थानीय जीवनशैली, कृषि प्रणाली र प्राकृतिक पारिस्थितिसँग गहिरो सम्बन्ध राख्दै आएको बहुउपयोगी जडिबुटी चुत्रो अहिले जरा नै उखेलेर निकासी गर्ने होडबाजीको सिकार बनेको हो ।
जरा उखेल्दा बिरुवा पूर्ण रूपमा नष्ट हुने भए पनि आयआर्जनका लागि स्थानीयले यसलाई बेवास्ता गरिरहेका छन् । दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यानलगायत जिल्लामा जरा उत्खननले तीव्रता पाएको छ ।
जाजरकोटको छेडाघाटका जंगबहादुर बुढाले आर्थिक उपार्जन र केटाकेटीलाई कापीकलम जोहो गर्न चुत्रो जरा खन्नु बाध्यता भएको बताए । छेडाघाटकै सुशीला बिकले पनि बाध्यताले जरा खन्नुपरेको बताइन् ।
तर, छोटो समयको आर्थिक लाभका लागि दीर्घकालीन रूपमा वातावरणीय सन्तुलन र जैविक विविधतामाथि नै समस्या उत्पन्न गर्ने काम भइरहेको कतिपय स्थानीय बताउँछन् । दुल्लुकी ईशारा थापाले बाख्रालाई घाँस हुने, फल खान उपयुक्त हुने र जडिबुटी पनि हुने वनस्पति जरैदेखि उखेल्नु गलत भएको बताइन् ।
चुत्रोको जरा उत्खनन व्यापक रूपमा जारी रहेमा माटोको संरचना कमजोर हुने वातावरणविद्हरू बताउँछन् । पहाडी भूभागमा जरा प्रणालीले माटो बाँधेर राख्ने काम गर्छ । जरा नष्ट हुँदा वर्षायाममा पहिरो र माटो कटानको जोखिम बढ्न सक्छ । यससँगै चराचुरुंगी र साना वन्यजन्तुको बासस्थान नष्ट हुने खतरा पनि उत्तिकै छ ।
सरकारले निकासीका लागि अनुमति दिएका ४३ जडिबुटीमा चुत्रो पर्दैैन । कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले २०८१ चैत २० देखि चुत्रो निकासीमा रोक लगाएको थियो तर सचिवस्तरीय निर्णयबाट २०८२ माघ १३ गते फुकुवा गरिएको छ । 
वन ऐन २०७६ ले वनजन्य वस्तु निकासी गर्न सम्बन्धित स्थानीय तहको अनुमति अनिवार्य गरेको छ । तर, व्यवहारमा अनुमति प्रक्रिया पारदर्शी नभएको, कतिपय अवस्थामा जानकारी नै नदिई गतिविधि भइरहेको स्थानीय तहक स्वयं गुनासो गर्छन् । स्थानीय तह, वन कार्यालय र जिल्ला प्रशासन कार्यालयबीचको समन्वय अभावले पनि यो अवस्था निम्तिएको हो ।
स्थानीयले भने राजनीतिक अस्थिरता र चुनावी माहोलको अवसर छोपेर अवैध गतिविधि झनै बढेको बताएका छन् । नियमन कमजोर हुँदा केही व्यवसायी र विचौलियाले परिस्थिति अनुकूल बनाएको उनीहरुको आरोप छ ।

के हो चुत्रो ? 
चुत्रो नेपालको पहाडी भूभागमा करिब १ हजार ८०० देखि ३ हजार मिटर उचाइसम्म पाइने काँडेदार सदावहार झाडी बिरुवा हो । करिब डेढ मिटरदेखि पाँच मिटर उचाइसम्म बढ्ने यस वनस्पतिका कालो साना फल, काँडायुक्त हाँगा र औषधीय गुणयुक्त जरा र बोक्रा रहेका हुन्छन् । परम्परागत आयुर्वेदिक उपचार पद्धतिमा यसको प्रयोग मधुमेह, उच्च रक्तचाप, दम रोग, पेटसम्बन्धी समस्या, छाला रोग तथा विभिन्न संक्रमणमा गरिँदै आएको छ ।
तर, चुत्रोको महत्व केवल औषधीय गुणमा सीमित छैन । यो मौरीपालनका लागि अत्यन्त महत्वपूर्ण वनस्पति मानिन्छ । यसको फूल फुल्ने मौसममा मौरीले प्रशस्त पराग संकलन गर्छन्, जसले मह उत्पादनमा प्रत्यक्ष योगदान पु¥याउँछ । ग्रामीण क्षेत्रमा प्राकृतिक बारको रूपमा समेत यसको प्रयोग गरिन्छ । यसले माटो कटान रोक्न, वन्यजन्तु तथा चराचुरुंगीलाई बासस्थान उपलब्ध गराउन पनि महत्वपूर्ण भूमिका खेल्छ  ।
गाँउठाउँमा अाँखा पाक्दा चुत्रोको ओषधी बनाएर सञ्चो गराएको, मुखको गिजा पाक्दा चुत्रोको बोक्राले ठिक भएको र अन्य जडिबुटीसँग मिलाएर दमको रोगसम्म निर्मूल गरेको स्थानीय बताउँछन् । बाख्राका लागि मुख्य आहारा हो चुत्रो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्