नेभिगेशन
विश्व

नबेचिएको तेल खेर जाँदै

दुबई, (एजेन्सी)  । अमेरिका–इरान युद्धको केन्द्रमा अहिले करोडौँ ब्यारेल तेलसँग जोडिएको एउटा ठूलो रहस्य उभिएको छ ः इरानसँग अब निर्यात गर्न नसकेको तेल भण्डारण गर्न कति समयसम्म ठाउँ बाँकी छ ?
यस प्रश्नको उत्तरले युद्धको परिणामसमेत निर्धारण गर्न सक्छ ।
पाँच सातादेखि जारी अमेरिकी नौसैनिक नाकाबन्दीका कारण इरानको धेरैजसो तेल फारसी खाडीभित्रै थुनिएको छ । यसले तेहरानलाई अड्किएका ब्यारेलहरू तीव्र रूपमा भरिँदै गएका भण्डारण ट्याङ्क तथा नजिकै रहेका जहाजहरूमा राख्न बाध्य बनाएको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार जब इरानसँग तेल राख्ने ठाउँ सकिन्छ, त्यसपछि उसले आफ्ना तेल क्षेत्र बन्द गर्नुपर्ने महँगो र जोखिमपूर्ण निर्णय लिनुपर्नेछ । त्यसले इरानलाई आफ्नो आणविक कार्यक्रम र व्यापक द्वन्द्वसम्बन्धी वार्तामा झुक्न बाध्य पार्न सक्छ ।
तर अमेरिकी सरकार, तेल व्यापारी तथा निजी विश्लेषकहरू इरानसँग अझै कति समय बाँकी छ भन्ने विषयमा विभाजित छन् । तेल उद्योगको भाषामा यस अवस्थालाई ‘ट्याङ्क टप्स’ अर्थात् भण्डारण पूर्ण रूपमा भरिने अवस्था भनिन्छ ।
कतिपय अनुमानअनुसार इरानका स्थलभित्रका भण्डारण क्षमता ५७ प्रतिशत भरिएका छन् भने केहीले ९० प्रतिशतसम्म भरिएको बताएका छन् । यसको अर्थ इरान केही दिनमै संकटमा पर्न सक्छ वा अझ केही सातासम्म टिक्न सक्छ ।
इरानले तेल कुवाको उत्पादन बिस्तारै घटाउनु र खाली जहाजलाई तैरिने भण्डारणका रूपमा प्रयोग गर्नुले पनि समय लम्ब्याउन मद्दत गरिरहेको छ ।
युद्धविरामको अवधिमा दुवै पक्षबीच आर्थिक क्षयको युद्ध जारी छ । होर्मुज जलडमरूमध्य बन्द हुँदा इरानलाई आफ्नो अर्थतन्त्र चलाइराख्न आवश्यक तेल निर्यात आम्दानीबाट वञ्चित गरिरहेको छ । अर्कोतर्फ यसले विश्वव्यापी ऊर्जा आपूर्तिमा दबाब सिर्जना गर्दै पश्चिमी देशहरूको सहनशीलताको पनि परीक्षा लिइरहेको छ ।
ऊर्जा आपूर्ति घट्दा विश्व बजारमा मुद्रास्फीति बढेको छ । अमेरिकामा दीर्घकालीन ऋणको लागत गत साता एक पुस्तामै सबैभन्दा उच्च स्तरमा पुगेको थियो ।
इरान सरकार राजस्वका लागि अत्यधिक रूपमा तेल बिक्रीमा निर्भर छ । पश्चिमी प्रतिबन्धका बाबजुद तेल तथा तेलजन्य पदार्थको बिक्री कुल निर्यात आम्दानीको करिब ४० प्रतिशत हिस्सा हो ।
नाकाबन्दीअघि इरानले दैनिक औसत १८ लाख ब्यारेल तेल समुद्री मार्गबाट निर्यात गथ्र्यो, जसको अधिकांश हिस्सा चीन जान्थ्यो । अहिले त्यो लगभग शून्यमा झरेको छ ।
इरानी राष्ट्रपति मसूद पेजेस्कियनले सोमबार नागरिकहरूलाई मूल्यवृद्धि र आर्थिक कठिनाइका लागि तयार रहन आग्रह गरेका छन् । युद्धका कारण ऊर्जा संरचनामा क्षति पुगेको र तेल निर्यात झन् कठिन बन्दै गएको उनले बताएका छन् ।
तेल भण्डारणको सीमाले अझै इरानलाई तत्काल राजनीतिक रूपमा आत्मसमर्पण गर्न बाध्य पारेको छैन । तर यसले अत्यन्त कठिन परिस्थितिमा इरान कति समय टिक्न सक्छ भन्ने परीक्षा गरिरहेको छ ।
इरानसम्बन्धी विश्लेषण गर्ने यूरेशिया ग्रुपका वरिष्ठ विश्लेषक ग्रेगोरी ब्रिउले भने, ‘यो शासन विगतमा आर्थिक दबाबका बाबजुद पनि वार्तामा कठोर रहँदै आएको छ ।’
तर उनले थपे, ‘उनीहरू यो ‘न युद्ध न शान्ति’को अवस्थाबाट बाहिर निस्कन र अमेरिकासँगको टकराव समाधान गर्न चाहन्छन् ।’
म्याक्वेयरीका विश्व ऊर्जा रणनीतिकार विकास द्विवेदीका अनुसार युद्धअघि इरानको तेल बिक्रीबाट आएको आम्दानीले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब १० प्रतिशत योगदान दिएको थियो ।
उनले भने, ‘तेल आम्दानी पूर्ण रूपमा गुमे पनि त्यो इरानको जीडीपीका लागि पूर्ण विनाशकारी हुँदैन, तर सरकारी राजस्व र सैन्य खर्चका लागि भने अत्यन्त ठूलो धक्का हो ।’
अप्रिलको अन्त्यतिर डोनाल्ड ट्रम्पले इरानसँग तेल पाइपलाइन बन्द भएर विस्फोट हुने जोखिम आउनुअघि केवल तीन दिनको समय बाँकी रहेको बताएका थिए ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले हालै इरानको तेल भण्डारण भरिइसकेको बताएका थिए ।
तर विश्लेषकहरूका अनुसार इरानसँग अझै केही ‘सास फेर्ने ठाउँ’ बाँकी छ, यद्यपि त्यो कति छ भन्नेमा सहमति छैन ।
एसएन्डपी ग्लोबलका अनुसार स्थलभित्रका कच्चा तेल भण्डारण ५७ प्रतिशत भरिएका छन्, जुन वर्षको यस समयमा सामान्य ऐतिहासिक स्तरभन्दा कम हो ।
जेपी मोर्गन चेजले यो संख्या ६४ प्रतिशत रहेको अनुमान गरेको छ, जसअनुसार इरानसँग अझै करिब तीन साताको निर्यात बराबर तेल राख्ने क्षमता बाँकी छ ।
अर्कोतर्फ डाटा कम्पनी केप्लरले ट्याङ्कहरू ९० प्रतिशत भरिइसकेको अनुमान गरेको छ ।
यी फरक अनुमानहरूले इरानको तेल प्रणाली कति अपारदर्शी छ भन्ने देखाउँछन् । विश्लेषकहरूले उपग्रह तस्वीर प्रयोग गरेर ट्याङ्कका छानाको उचाइ तथा छायाँको आधारमा तेलको मात्रा अनुमान गर्छन् । तर स्थिर छाना भएका ट्याङ्क, निजी भण्डारण स्थल तथा क्षतिग्रस्त संरचनाको वास्तविक अवस्था थाहा पाउन गाह्रो हुन्छ ।
कतिपय अनुमानमा घरेलु रिफाइनरीमा रहेको भण्डारण समावेश गरिएको छैन । त्यसैले पूर्वानुमान फरक भए पनि निष्कर्ष लगभग एउटै छ ः इरानसँग अझै भण्डारण सकिएको छैन, तर उसले नयाँ भण्डारण सिर्जना गर्नुपर्ने दबाब बढ्दै गएको छ ।
अमेरिकी नाकाबन्दी तोड्न नसकेपछि तेहरानले तेल बोकेका ट्याङ्कर जहाजलाई नै अस्थायी तैरिने भण्डारणमा बदलिरहेको छ ।
एसएन्डपी ग्लोबलका अनुसार सन् २०२५ यता कम्तीमा एकपटक इरानी तेल बोकेका १४ वटा खाली जहाज अहिले नाकाबन्दीभित्रै रोकिएका छन् ।
शिपिङ विश्लेषण कम्पनी ट्यांकर ट्रयाकरका अनुसार पछिल्ला दिनमा तीनवटा खाली ट्याङ्कर नाकाबन्दी पार गर्दै खाडीभित्र प्रवेश गरेका छन् । ती जहाजले संयुक्त रूपमा १९ लाख ब्यारेल तेल अटाउन सक्छन् ।
यसबीच इरानले तेल कुवाको उत्पादन पनि क्रमशः घटाइरहेको छ । एकैचोटि उत्पादन बन्द गर्नुभन्दा चरणबद्ध रूपमा कटौती गर्दा तेल क्षेत्र पूर्ण रूपमा बन्द गर्नुपर्ने महँगो अवस्थाबाट बच्न सकिने उसको रणनीति देखिन्छ ।
इरानले रिफाइनरी उत्पादन पनि बढाइरहेको छ । साथै रेल, ट्रक तथा क्यास्पियन सागरमार्फत दैनिक करिब दुई लाख ब्यारेल तेल निर्यात गर्न अझै सक्षम रहेको यूरेशिया ग्रुपका ब्रूले अनुमान गरेका छन् ।
तेहरानले अमेरिकी दबाब सामना गर्न आफ्नो ऊर्जा क्षेत्रलाई ‘सुस्त’ बनाएको यो पहिलो पटक होइन ।
सन् २०१९ मा ट्रम्प प्रशासनले इरानमाथि प्रतिबन्ध लगाएपछि तीन वर्षभन्दा बढी समय इरानी तेल निर्यात तीव्र रूपमा घटेको थियो । उत्पादन पनि दैनिक २० लाख ब्यारेलभन्दा तल झरेको थियो । तर सन् २०२२ पछि उत्पादन पुनः तीव्र रूपमा बढ्यो र यस वर्षको सुरुतिर बहुवर्षीय उच्च स्तरमा पुगेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्