नेभिगेशन
विश्व
पेन्गुइनलाई बर्डफ्लुविरुद्ध खोप

अस्ट्रेलियामा वन्यजन्तु जोगाउने अभूतपूर्व अभियान

मेलबर्न (एजेन्सी) – अत्यन्त संक्रामक एच५एन१ बर्डफ्लु वन्यचरामा तीव्र रूपमा फैलिन थालेपछि अस्ट्रेलियाको भिक्टोरिया राज्यले पर्यटकीय आकर्षणका रूपमा रहेका पाँच हजार साना पेन्गुइनलाई बर्डफ्लुविरुद्ध खोप लगाउन थालेको छ । वन्य चरालाई ठूलो संख्यामा खोप लगाइएको यो अभियान विश्वकै पहिलो र हालसम्मकै सबैभन्दा ठूलोमध्ये एक मानिएको छ ।
भिक्टोरियाको फिलिप आइल्यान्ड नेचर पाक्र्समा आइतबार रातिसम्म एक हजार पेन्गुइनलाई खोपको पहिलो मात्रा दिइसकिएको छ । फिलिप आइल्यान्ड र मेलबर्नको सेन्ट किल्डा क्षेत्रमा गरी पाँच हजार साना पेन्गुइनलाई दुई मात्रा खोप दिने योजना छ । पहिलो मात्रा पाएका पेन्गुइनलाई तीनदेखि चार सातापछि पुनः समातेर दोस्रो मात्रा दिइनेछ ।
यो अभियान सुरु गर्नुको कारण भनेको बर्डफ्लु अब अस्ट्रेलियाका समुद्री चरामा मात्र सीमित नरहनु हो । जुन २०२६ मा पश्चिमी अस्ट्रेलियाको समुद्री चरामा पहिलोपटक एच५एन१ पुष्टि भएको थियो । त्यसपछि दक्षिण अस्ट्रेलिया, न्यू साउथ वेल्स, क्वीन्सल्यान्ड, भिक्टोरिया र तास्मानियाका वन्य चरामा पनि संक्रमण देखिएको छ । अगस्ट १४ सम्म अस्ट्रेलियामा वन्य चरासँग सम्बन्धित २१९ वटा एच५ बर्डफ्लुका घटना पुष्टि भएका थिए, जसमा दक्षिण अस्ट्रेलियामा १५० र भिक्टोरियामा ५३ घटना थिए ।
भिक्टोरियामा अगस्ट १५ मा फिलिप आइल्यान्डमै एउटा सानो पेन्गुइनमा एच५ बर्डफ्लु पुष्टि भएपछि चिन्ता झन् बढेको हो । त्यसअघि राज्यमा विभिन्न स्थानका समुद्री चरामा संक्रमण देखिइसकेको थियो । भिक्टोरियाका प्रमुख जैविक विविधता अधिकारी जेम्स टडका अनुसार फिलिप आइल्यान्डमा संक्रमण देखिनु विशेष चिन्ताको विषय हो, किनकि त्यहाँ ठूलो संख्यामा पेन्गुइन एउटै क्षेत्रमा जम्मा हुन्छन् र संक्रमण पुगेपछि तीव्र रूपमा फैलिन सक्छ ।
किन पेन्गुइनलाई नै खोप ?
फिलिप आइल्यान्डमा करिब ४० हजार साना पेन्गुइन छन् । यो संसारकै सबैभन्दा ठूलो सानो पेन्गुइनको बस्ती हो । साँझ समुद्रबाट किनार हुँदै आ–आफ्ना गुँडतर्फ फर्किने पेन्गुइन हेर्न हरेक वर्ष सात लाखभन्दा बढी पर्यटक त्यहाँ पुग्छन् । सन् २०२५ मा मात्रै ‘पेन्गुइन परेड’ हेर्न सात लाखभन्दा बढी मानिस पुगेका थिए ।
राज्य सरकारका अनुसार सन् २०२५ मा गरिएको जोखिमसम्बन्धी अध्ययनले फिलिप आइल्यान्डमा एच५एन१ को ठूलो प्रकोप भए आठ हजारदेखि १६ हजारसम्म पेन्गुइन मर्न सक्ने अनुमान गरेको थियो । अर्थात् करिब ४० प्रतिशतसम्मको जनसंख्या गुम्न सक्ने जोखिम छ । पेन्गुइनको समूहगत बसाइ, एउटै बाटो हुँदै गुँडमा फर्किने बानी र ठूलो संख्यामा एकै ठाउँमा जम्मा हुने व्यवहारले संक्रमण फैलिने जोखिम बढाउँछ ।
यही कारण खोपलाई संक्रमण रोक्ने एकमात्र उपाय नभई संक्रमण भए पनि त्यसको प्रभाव कम गर्ने उपायका रूपमा अघि सारिएको हो । भिक्टोरियाका वातावरणमन्त्री ज्याक्लिन साइम्सले ‘बर्डफ्लु यहाँ आइसकेको छ र यसलाई पूर्ण रूपमा रोक्न सकिँदैन’ भन्दै पेन्गुइनको बस्तीलाई सम्भव भएसम्म सुरक्षित अवस्थामा राख्नु अभियानको उद्देश्य भएको बताएकी छन् । उनका अनुसार खोपले पेन्गुइनको शरीरमा प्रतिरक्षात्मक क्षमता बढाउनेछ र संक्रमण भए पनि रोगबाट उबरिन सहयोग गर्न सक्नेछ ।
खोप लगाउन छैन सजिलो
वन्यजन्तुलाई खोप लगाउनु आफैंमा ठूलो चुनौती हो । एउटा पेन्गुइनलाई दुई मात्रा खोप आवश्यक पर्ने भएकाले एउटै चरालाई दुईपटक समात्नुपर्छ । तर साना पेन्गुइनमा यो सम्भव हुनुको प्रमुख कारण उनीहरूको नियमित व्यवहार हो । उनीहरू प्रायः हरेक रात एउटै समुद्री किनारमा फर्किन्छन्, निश्चित बाटो हुँदै गुँडतर्फ जान्छन् र एउटै गुँडमा बस्ने गर्छन् ।
त्यसैले कर्मचारीले साँझ समुद्रबाट फर्किएका पेन्गुइनलाई सुरक्षित घेरामा जम्मा गर्छन्, साना समूहमा छुट्याएर खोप लगाउँछन् र पहिचानका लागि सूक्ष्म चिप राख्छन् । फिलिप आइल्यान्ड नेचर पाक्र्सका प्रमुख कार्यकारी क्याथरिन बास्टर्फिल्डले यो काम निकै कठिन भए पनि पेन्गुइनको नियमित व्यवहारले अभियानलाई सम्भव बनाएको बताएकी छन् ।
एच५एन१ अत्यन्त संक्रामक र उच्च रोगजनक बर्डफ्लुको प्रकार हो । यसले मुख्यतः चरालाई असर गर्छ, तर संक्रमित चरासँग प्रत्यक्ष सम्पर्क वा दूषित वातावरणबाट अन्य जनावरमा पनि सर्न सक्छ । विश्वका विभिन्न भागमा यसले कुखुरा तथा अन्य पाल्तु चरासँगै समुद्री चराको ठूलो संख्यामा मरेका  छन् । पछिल्लो समय समुद्री स्तनधारीमा समेत संक्रमण देखिएको छ ।
अस्ट्रेलियामा अगस्ट २३ मा पहिलोपटक स्थानीय स्तनधारीमा एच५एन१ पुष्टि भयो । दक्षिण अस्ट्रेलियामा मृत भेटिएको लामो नाक भएको फर सिलमा संक्रमण पुष्टि भएको हो । यसले भाइरस वन्यजन्तुका विभिन्न समूहमा पुग्न सक्ने जोखिमप्रति थप चिन्ता बढाएको छ ।
यद्यपि मानिसमा जोखिम भने हाल कम रहेको अस्ट्रेलियाली स्वास्थ्य अधिकारीहरूले बताएका छन् । अस्ट्रेलियाली रोग नियन्त्रण केन्द्रका अनुसार एच५एन१ मानिसमा सजिलै सर्दैन र मानिसबाट मानिसमा संक्रमण हुने प्रमाणसमेत छैन । अस्ट्रेलियामा अहिले फैलिरहेको एच५एन१को यही प्रकारबाट मानिसमा संक्रमण पुष्टि भएको छैन ।
अस्ट्रेलियाले बर्डफ्लुविरुद्ध निगरानी, जैविक सुरक्षा, संक्रमित तथा मृत चराको रिपोर्टिङ, जोखिमयुक्त वन्यजन्तुको संरक्षण र खोप कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाएको छ । संघीय र राज्य सरकारबीचको समन्वयमा राष्ट्रिय आपत्कालीन पशु रोग प्रतिकार्य योजना कार्यान्वयन भइरहेको छ । जुलाईमा संघीय तथा राज्य सरकारहरूले प्रतिकार्यका लागि २४.८ मिलियन अस्ट्रेलियन डलरसम्मको संयुक्त खर्च स्वीकृत गरेका थिए ।
भिक्टोरियाले पनि जैविक सुरक्षामा १३ करोड अस्ट्रेलियन डलरभन्दा बढी लगानी गरिसकेको जनाएको छ । वन्य चरामा संक्रमणको निगरानी बढाइएको छ भने चिडियाखाना तथा अन्य संरक्षण केन्द्रमा रहेका जोखिमयुक्त प्रजातिलाई पनि खोप दिने तयारी गरिएको छ ।
पेन्गुइनको खोपले भाइरसको फैलावट पूर्ण रूपमा रोक्ने होइन । तर संक्रमित भएपछि ठूलो संख्यामा मारिने जोखिम घटाउने र संसारकै ठूलो सानो पेन्गुइन बस्तीलाई सुरक्षित राख्ने प्रयासका रूपमा यसलाई हेरिएको छ । वन्यजन्तु अधिकारीहरूका लागि अहिलेको चुनौती यही हो – भाइरसलाई रोक्न नसकिए पनि त्यसले निम्त्याउन सक्ने क्षति सकेसम्म कम गर्नु ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्