चीनमा दुई हजारभन्दा बढी मानिसले अल्जाइमर्स रोगको उपचारका लागि एउटा प्रयोगात्मक शल्यक्रिया गराएको अनुमान गरिएको छ । दाबी गरिएअनुसार, यस शल्यक्रियाले अल्जाइमर्स भएका र ओछ्यानमै थलिएका एक व्यक्तिलाई फेरि हिँड्न सक्ने बनाएको थियो । यो प्रक्रियामा अल्जाइमर्ससँग सम्बन्धित प्रोटिनहरू हटाउन लसिका (लिम्फेटिक) प्रणालीलाई नजिकका शिरासँग जोडिन्छ । यस्तो काम अहिले चीनमा प्रतिबन्धित छ ।
‘जब मैले पहिलोपटक यस उपचारका बारेमा सुनें, म स्तब्ध भएँ,’ स्विट्जरल्यान्डस्थित बर्न विश्वविद्यालयका स्टिभन प्रुलक्स भन्छन्, ‘यस्तो उपचारले समस्या समाधान हुनसक्छ भन्ने कुनै ठोस प्रमाण नै छैन ।’
तर यसै महिनाको सुरुमा लन्डनमा आयोजित अल्जाइमर्स एसोसिएसन इन्टरनेसनल कन्फरेन्समा प्रस्तुत गरिएको अमेरिका र सिंगापुरका साना सुरक्षा परीक्षणहरूको प्रारम्भिक नतिजाले यो विधि कम्तीमा छ महिनासम्म सुरक्षित देखिएको र संज्ञानात्मक क्षमतामा केही सुधारका संकेत देखिएको बताइएको थियो ।
हाल जारी रहेको एउटा ‘¥यान्डमाइज्ड’ परीक्षणले यस शल्यक्रियाको तुलना नक्कली (शाम) शल्यक्रियासँग गरिरहेको छ । यसले यसको सम्भावित प्रभावकारिताबारे अझ स्पष्ट तस्वीर दिने अपेक्षा गरिएको छ । तर केहीले भने यस्तो परीक्षणको नैतिकता र यसको उपयोगितामाथि प्रश्न उठाएका छन् ।
यस शल्यक्रियालाई ‘डीप सर्भाइकल लिम्फोभेनस एनास्टोमोसिस’ (डीसीएलभीए) भनिन्छ । यसको उद्देश्य लसिका प्रणालीमार्फत मस्तिष्कका फोहोर पदार्थको निकासलाई बढावा दिनु हो । लसिका प्रणाली भनेको शरीरका तन्तुहरूबाट फोहोर पदार्थ संकलन गरी त्यसलाई विघटन गर्न वा शरीरबाट बाहिर निकाल्न मद्दत गर्ने नली र ग्रन्थिहरूको सञ्जाल हो । यसको अवधारणा के हो भने, यस सञ्जाललाई शल्यक्रियामार्फत नजिकका शिरासँग जोड्दा यो प्रक्रिया अझ तीव्र हुन्छ र बेटा–एमाइलोइड तथा टाउजस्ता अल्जाइमर्ससँग सम्बन्धित प्रोटिनहरू अझ प्रभावकारी रूपमा हटाउन सकिन्छ ।
यो विधि चीनको हाङझाउ चिउशी अस्पतालका सीए छिङपिङले दीर्घकालीन रूपमा सुन्निएका हातखुट्टाको नियमित उपचारलाई आधार बनाएर विकास गरेका हुन् । सन् २०२४ मा, छिङपिङले प्रकाशनअघि न्यू साइन्टिस्टले टिप्पणीका लागि गरेको अनुरोधको जवाफ दिएका थिएनन् । उनका सहकर्मीहरूले भने प्लास्टिक एन्ड रिकन्स्ट्रक्टिभ सर्जरी जर्नलमा अल्जाइमर्स भएका ५० जनामा डीसीएलभीए गरिएको प्रतिवेदन प्रकाशित गरेका थिए । उनीहरूले अल्जाइमर्सका कारण ओछ्यानमै थलिएका एक व्यक्ति शल्यक्रियापछि आठ महिनामा तीव्र गतिमा हिँडिरहेको भिडियो पनि सार्वजनिक गरेका थिए ।
तर केही विज्ञहरूले यस घटनाको प्रतिवेदनको विश्वसनीयतामाथि शंका व्यक्त गरेका छन् ।
‘एउटा मात्रै बिरामीको भिडियोलाई म विश्वसनीय प्रमाण मान्दिनँ,’ प्रुलक्स भन्छन् । अनुसन्धानकर्ताहरूले ती व्यक्तिको मस्तिष्कको इमेजिङ स्क्यानमा आएको परिवर्तनजस्ता अन्य सुधारहरूको मूल्यांकन गरेका थिएनन् । तैपनि, उक्त भिडियो चीनमा अत्यन्तै भाइरल भयो । सन् २०२५ को मे महिनासम्म चीनभरका करिब ३०० निजी तथा सरकारी अस्पतालमा हजारौं मानिसले यो शल्यक्रिया गराएको अनुमान गरिएको थियो ।
प्रतिवेदनहरूका अनुसार तीमध्ये धेरै शल्यक्रिया प्लास्टिक सर्जनहरूले गरेका थिए । यसको शुल्क दशौं हजारदेखि लाखौं चिनियाँ युआनसम्म लिइएको थियो ।
प्रमाणको अभाव
तर सन् २०२५ को जुन महिनामा चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सुरक्षा र प्रभावकारिताका पर्याप्त प्रमाण नभएको उल्लेख गर्दै अनुसन्धानबाहेक अन्य प्रयोजनका लागि यो शल्यक्रियामा प्रतिबन्ध लगायो । आयोगले पनि प्रकाशनअघि न्यू साइन्टिस्ट पत्रिकाले गरेको टिप्पणीको अनुरोधको जवाफ दिएन ।
‘अल्जाइमर्स रोगका लागि डीसीएलभीए उपलब्ध गराउन रोक लगाउने चीनको निर्णय उचित थियो,’ यसअघि हार्वर्ड विश्वविद्यालयमा अल्जाइमर्स रोगसम्बन्धी अनुसन्धान गरेका शिजु गु भन्छन् । हालसम्म करिब एक दर्जन केस प्रतिवेदन तथा परीक्षणहरूले मध्यम वा गम्भीर अवस्थाका अल्जाइमर्स भएका मानिसहरूमा डीसीएलभीए गरिएको उल्लेख गरेका छन् ।
हालैको अल्जाइमर्स सम्मेलनमा प्रस्तुत अमेरिका र सिंगापुरका परीक्षणहरूले कम्तीमा छोटो अवधिसम्म यो शल्यक्रिया सुरक्षित रहेको देखाएका छन् ।
सिंगापुरको परीक्षणले आफ्ना चार सहभागीमध्ये दुई जनामा संज्ञानात्मक क्षमतामा सामान्य सुधार देखिएको प्रमाण पनि फेला पारेको छ । यी सुधारहरूलाई सामान्य वा महत्वहीन भन्न मिल्दैन, सियाटलस्थित वासिङ्टन विश्वविद्यालयका जेफ इलिफ भन्छन् । तर यीमध्ये कुनै पनि परीक्षण ‘¥यान्डमाइज्ड’ वा ‘ब्लाइन्ड’ विधिमा गरिएको थिएन ।
‘हाल उपलब्ध प्रमाणका आधारमा म डीसीएलभीएको प्रभावकारितालाई अनिश्चित भन्नेछु, किनभने चीनमा भएका विद्यमान क्लिनिकल अध्ययनहरू प्रायः नियन्त्रण समूहविहीन, छोटो अवधिका र कार्यविधिगत रूपमा सीमित छन् । त्यसैले वास्तविक शल्यक्रियाको प्रभावलाई प्लेसिबो प्रभाव, शल्यक्रियापछिको हेरचाह वा बिरामीको अवस्थाको स्वाभाविक उतारचढावबाट छुट्याउन कठिन छ,’ गु भन्छन् ।
‘न त कुनै सुधार यति महŒवपूर्ण थियो कि बिरामी वा उनका परिवारले सजिलै महसुस गर्न सकून् भन्ने कुरा पनि स्पष्ट छैन,’ नर्वेको ओस्लो विश्वविद्यालयका पेर क्रिस्टियन आइडे भन्छन् ।
हाल डीसीएलभीएको तुलना नक्कली (शाम) शल्यक्रियासँग गर्ने एउटा ‘¥यान्डम’ नियन्त्रित परीक्षण सञ्चालन भइरहेको छ । चीनको शेनयाङ मिलिटरी क्षेत्रीय जनरल अस्पतालका हुई–शेङ चेनको नेतृत्वमा भइरहेको यस परीक्षणमा हल्कादेखि मध्यम अवस्थाका अल्जाइमर्स भएका ५० जनालाई सहभागी बनाउने लक्ष्य राखिएको छ । यसको नतिजा अर्को वर्ष सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
नैतिक चिन्ता
अघिल्ला परीक्षणहरूमा नियन्त्रण समूह नराखिएको भन्दै आलोचना गरिए पनि, केहीले नक्कली (शाम) शल्यक्रियाको नैतिकतामाथि प्रश्न उठाएका छन् ।
‘कुनै पनि प्रकारको शल्यक्रिया र त्यससँग सम्बन्धित बेहोस बनाउने औषधिको जोखिम वृद्ध तथा सम्भावित रूपमा कमजोर अवस्थाका मानिसहरूमा हुने भएकाले, अध्ययनको समग्र महŒव भए पनि ‘नक्कली’ हस्तक्षेप गर्नु उचित ठहर्याउन निकै कठिन हुन्छ,’ इलिफ भन्छन् ।
आइडे, जसले यी नैतिक चिन्ताहरू साझा गर्छन्, परीक्षणको कार्यविधिमा शल्यक्रियापछि चार दिनमै संज्ञानात्मक सुधार खोजिने उल्लेख गरिएको कुरा पनि औंल्याउँछन् । ‘यति छोटो समयमा कुनै सुधार हुने अपेक्षा गरिँदैन,’ उनी भन्छन् । तथापि, यस शल्यक्रियाको एउटा प्रमुख फाइदा हुन सक्छ ः यो एकपटक मात्र गरिने हस्तक्षेप हो ।
त्यसैले डीसीएलभीएमाथि थप अनुसन्धान गर्नु उचित हुने सिङ्गापुर परीक्षणमा संलग्न चांगी जनरल अस्पतालका भिन्सेन्ट टे भन्छन् ।
अल्जाइमर्स रोगको उपचार सामान्यतः लक्षण कम गर्न केन्द्रित हुन्छ, तर मस्तिष्कबाट बेटा–एमाइलोइडका गुच्छाहरू हटाउने लेकानेमाबजस्ता एन्टिबडी उपचारहरू अमेरिका र बेलायतमा स्वीकृत भइसकेका छन् । तर ती उपचारहरूको प्रभावकारितामाथि उठेका प्रश्न तथा उच्च लागतका कारण ती बेलायतको सार्वजनिक स्वास्थ्य सेवामार्फत उपलब्ध छैनन् । यसको उपचार महँगो हुनुको एउटा कारण औषधि नसाबाट दिइनु पनि हो ।
‘यस शल्यक्रियाको सकारात्मक पक्ष भनेको यो एकपटक मात्र गरिने उपचार हो,’ क्यालिफोर्नियास्थित स्टानफोर्ड विश्वविद्यालयका राग एयरन भन्छन् । त्यसो भए, के यो प्रक्रिया एक दिन चीनमा र सम्भवतः विश्वभर नै, नियमित उपचार बन्न सक्छ ?
‘म यस क्षेत्रमा प्रकाशित भइरहेका नतिजाहरूलाई निकै ध्यानपूर्वक हेरिरहेको छु, र यो प्रश्नमा काम गरिरहेका सबै अनुसन्धानकर्ताहरूको अवस्था पनि त्यस्तै छ,’ इलिफ भन्छन् । न्युसाइन्टिष्ट