नेपालको अटोमोबाइल क्षेत्र पछिल्लो समय तीव्र परिवर्तनको चरणमा छ । केही दशकअघिसम्म आयातित सवारीसाधनको बिक्री र मर्मतसम्भारमा सीमित देखिने यो क्षेत्र अहिले विद्युतीय सवारी, स्थानीय एसेम्बलिङ, अटो कम्पोनेन्ट उत्पादन, चार्जिङ पूर्वाधार, वित्तीय सेवा र रोजगारी सिर्जनासम्म फैलिएको छ ।
नेपालमा अटोमोबाइल व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा यस वर्षको नाडा अटो शो स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुँदैछ । भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने १८औँ संस्करणमा दुई तथा चारपाङ्ग्रे सवारीसाधन, विद्युतीय सवारी, व्यावसायिक सवारी, अटो कम्पोनेन्ट, टायर, लुब्रिकेन्ट्स, ब्याट्री तथा वित्तीय संस्थाको सहभागिता रहनेछ । करिब दुई सय स्टल रहने प्रदर्शनीमा स्वदेशी उत्पादन र प्रविधिलाई समेत विशेष प्राथमिकता दिइएको छ ।
यसै सन्दर्भमा न्युज २४ दैनिकका पूर्णभक्त दुवालले नाडा अटो शो कमिटीका अध्यक्ष अनुपकुमार बरालसँग अटो शोको तयारी, नेपाली अटोमोबाइल बजार, विद्युतीय सवारीको बढ्दो प्रयोग, स्वदेशी उत्पादन, रोजगारी र सरकारसँगको अपेक्षाबारे गरेको कुराकानीः
नाडा अटो शोको इतिहास र यस वर्षको संस्करणलाई कसरी जोडेर हेर्नुभएको छ?
नाडा अटो शो अहिले नेपाली अटोमोबाइल क्षेत्रको एउटा महत्वपूर्ण पहिचान बनिसकेको छ । नाडा स्थापना भएको ५० वर्ष पुगेको अवसरमा यसपटकको अटो शो आयोजना हुँदैछ । त्यसैले यो प्रदर्शनी हामी सबैका लागि विशेष छ । यो १८औँ संस्करण हो र स्वर्ण जयन्तीका कारण यसको महत्व अझ बढेको छ ।
नाडाको पाँच दशकको यात्रामा नेपालको अटोमोबाइल क्षेत्रले पनि ठूलो परिवर्तन देखेको छ । सुरुका दिनमा सीमित ब्रान्ड र सीमित प्रकारका सवारीसाधन रहेको बजार अहिले विश्वका विभिन्न ब्रान्ड र नयाँ प्रविधिसम्म आइपुगेको छ । अहिले विद्युतीय सवारीको उपस्थिति बढिरहेको छ । त्यससँगै नेपालमा केही सवारीसाधन तथा अटो कम्पोनेन्टको उत्पादन र एसेम्बलिङ पनि सुरु भएको छ ।
त्यसैले यो वर्षको अटो शो हामीले विगतभन्दा फरक ढंगले प्रस्तुत गर्न खोजेका छौँ । हाम्रो मुख्य सन्देश ‘उद्योगदेखि रोजगारसम्म’ हो ।
‘उद्योगदेखि रोजगारसम्म’ भन्ने नाराको खास अर्थ के हो?
नेपालमा अटोमोबाइलको बजार त विस्तार भइरहेको छ, तर हामीले यसलाई केवल आयात र बिक्रीको बजारका रूपमा मात्र हेर्नु हुँदैन । नेपालमा उद्योग स्थापना गर्ने सम्भावना पनि छ भन्ने सन्देश दिन खोजेका हौँ ।
कुनै ठूलो उद्योग स्थापना हुनुअघि साना–साना कम्पोनेन्ट उत्पादन गर्ने क्षमता विकास गर्नुपर्छ । अटोमोबाइलमा धेरै प्रकारका पार्टपुर्जा आवश्यक हुन्छन् । नेपालमै केही ब्याट्री उत्पादन भइरहेका छन्, दुईपाङ्ग्रे, चारपाङ्ग्रे सवारीसाधन एसेम्बल भइरहेका छन्, हेल्मेट उत्पादन हुन थालेका छन् । विभिन्न अटो कम्पोनेन्ट उत्पादन गर्ने व्यवसाय पनि विकास भइरहेका छन् ।
अटो शोमा यस्ता उत्पादनलाई पनि ठाउँ दिएका छौँ । यसबाट नेपालमा उद्योगको सम्भावना छ भन्ने देखाउन खोजेका हौँ ।
नेपालमा अटोमोबाइल उद्योग स्थापना गर्ने आधार वास्तवमै तयार हुँदै गएको हो?
आधार तयार हुँदैछ । तर यो एकैपटक हुने काम होइन । उद्योग विकासका लागि नीति, लगानी, बजार, दक्ष जनशक्ति, पूर्वाधार र प्रविधि सबै आवश्यक हुन्छन् ।
हामीसँग बजार छ । उपभोक्ताको माग बढिरहेको छ । सवारीसाधनसँगै त्यसका पार्टपुर्जा, ब्याट्री, टायर, लुब्रिकेन्ट्स, मर्मतसम्भार र अन्य सेवाको बजार पनि विस्तार भइरहेको छ ।
यस वर्षको अटो शोमा ७० भन्दा बढी प्रकारका अटोमोबाइल कम्पोनेन्टसमेत प्रदर्शन हुँदैछन् । तीमध्ये १५ देखि २० वटा उत्पादन पूर्ण रूपमा नेपालमै बनेका छन् । यो सानो उपलब्धि होइन । नेपालमा उत्पादन गर्न सकिने सम्भावना रहेछ भन्ने प्रमाण हो ।
तर नेपालमा उद्योग स्थापना गर्न नीतिगत अस्थिरता ठूलो समस्या भएको व्यवसायीहरूले बताउँदै आएका छन् । तपाईंहरूको अपेक्षा के हो?
दीर्घकालीन नीति अत्यन्त आवश्यक छ । उद्योगमा लगानी गर्ने व्यक्तिले पाँच–दस वर्षपछि के हुन्छ भनेर सोच्नुपर्छ । यदि नीति पटक–पटक परिवर्तन भयो भने लगानीकर्ताले जोखिम लिन चाहँदैन ।
त्यसैले सरकारले अटोमोबाइल क्षेत्रका लागि दीर्घकालीन र स्थिर नीति ल्याउनुपर्छ । उद्योग स्थापना गर्ने वातावरण बनाउनुपर्छ । सरकारले स्पष्ट नीति दिएमा निजी क्षेत्रले लगानी गर्न सक्छ ।
हामीले सरकारसँग बारम्बार यही कुरा राख्दै आएका छौँ ।अटोमोबाइललाई केवल राजस्व उठाउने क्षेत्रका रूपमा मात्र नहेरी उद्योग विकास र रोजगारी सिर्जनाको क्षेत्रका रूपमा हेर्नुपर्छ ।
अटो शोमा ‘मेड इन नेपाल’लाई विशेष स्थान दिनुको कारण यही हो?
हो । ‘मेड इन नेपाल’ र ‘मेड फर नेपाल’ पेभिलियन यसपटकको महत्वपूर्ण पक्ष हो । हामीले नेपालमा उत्पादन भएका सामग्रीलाई छुट्टै रूपमा देखाउन खोजेका छौँ ।
नेपालमै ब्याट्री उत्पादन हुन थालेको छ । दुईपाङ्ग्रे सवारीसाधन एसेम्बल भइरहेका छन् । हेल्मेट उत्पादन भइरहेको छ । अटोमोबाइल क्षेत्रमा आवश्यक पर्ने अन्य सामग्री पनि उत्पादन भइरहेका छन् ।
हामीले यस्ता उत्पादनलाई प्रोत्साहन गर्न सकेमा विस्तारै उद्योगको आधार तयार हुन्छ । आज एउटा कम्पोनेन्ट उत्पादन हुन्छ, भोलि अर्को उत्पादन थपिन्छ । त्यसपछि एसेम्बलिङ र उत्पादनको ठूलो सम्भावना खुल्न सक्छ ।
रोजगारीका दृष्टिले अटोमोबाइल क्षेत्रको योगदान कति छ?
अटोमोबाइल क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ठूलो रोजगारी सिर्जना गरेको छ । अहिले करिब एक लाख प्रत्यक्ष र १० लाखभन्दा बढी अप्रत्यक्ष रोजगारी यो क्षेत्रले दिएको हाम्रो अनुमान छ ।
अटोमोबाइल व्यवसाय भनेको गाडी बेच्ने मात्र होइन । यससँग बैंक तथा वित्तीय संस्था, बीमा, वर्कसप, स्पेयर पाट्र्स, टायर, लुब्रिकेन्ट्स, चालक, प्राविधिक, चार्जिङ स्टेशन, यातायात व्यवसायीलगायत धेरै क्षेत्र जोडिएका छन् ।
अहिले युवामा नेपालमा रोजगारी छैन, विदेश जानुपर्छ भन्ने धारणा बलियो छ । हामीले अटोमोबाइल क्षेत्रमार्फत नेपालमै उद्योग सञ्चालन गर्न सकिन्छ र रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेका छौँ ।
यसपटकको अटो शोमा कस्ता–कस्ता ब्रान्ड र उत्पादन छन्?
यसपटकको सहभागिता निकै व्यापक छ । चारपाङ्ग्रे सवारीसाधनका दुई दर्जन हाराहारी ब्रान्ड छन् । दुईपाङ्ग्रे सवारीसाधनमा १४ भन्दा बढी ब्रान्ड सहभागी छन् । हलुका व्यावसायिक सवारीसाधन, व्यावसायिक सवारी, टायर, ब्याट्री, लुब्रिकेन्ट्स, अटो पाट्र्स र ग्यारेज उपकरणका धेरै स्टल छन् ।
बैंक तथा वित्तीय संस्थालाई पनि सहभागी गराएका छौँ । किनकि सवारीसाधनको बजार वित्तीय क्षेत्रसँग प्रत्यक्ष जोडिएको हुन्छ । ग्राहकले गाडी हेरेर मात्र पुग्दैन, त्यसको वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने जानकारी पनि आवश्यक हुन्छ ।
विद्युतीय सवारीको उपस्थिति यसपटक पनि बलियो देखिन्छ । यसलाई कसरी हेर्नुभएको छ?
विद्युतीय सवारी नेपालको अटोमोबाइल बजारको महत्वपूर्ण हिस्सा बनिसकेको छ । केही वर्षअघिको तुलनामा अहिले विद्युतीय सवारीप्रतिको उपभोक्ताको विश्वास बढेको छ । प्रविधिमा पनि ठूलो सुधार भएको छ ।
चार्जिङ पूर्वाधार पनि पहिलेभन्दा धेरै विस्तार भएको छ । राजमार्गमा निश्चित दूरीमा चार्जिङ स्टेशन उपलब्ध हुन थालेका छन् । तर अझै धेरै काम गर्न बाँकी छ ।
विशेषगरी राजमार्गबाट टाढाका क्षेत्रमा चार्जिङ पूर्वाधार र विद्युत् आपूर्तिको अवस्था सुधार गर्नुपर्छ । विद्युत् पुगेको ठाउँमा चार्जिङ स्टेशन स्थापना गर्न सजिलो हुन्छ, तर कतिपय ग्रामीण क्षेत्रमा अझै पर्याप्त विद्युत् पूर्वाधार छैन ।
त्यसैले विद्युतीय सवारीको विकासलाई सडक र विद्युत् पूर्वाधार विकाससँग पनि जोड्नुपर्छ ।
व्यावसायिक सवारीसाधनका लागि भने सडक पूर्वाधारको समस्या अझ ठूलो देखिन्छ नि?
हो । सडक पूर्वाधार कमजोर हुँदा व्यावसायिक सवारीसाधन सञ्चालन गर्ने व्यवसायीको लागत बढ्छ । उदाहरणका लागि रसुवागढी नाकाबाट काठमाडौंसम्म नयाँ गाडी ल्याउँदा नै ठूलो खर्च लाग्छ । त्यसमाथि सडकको अवस्था राम्रो नभए गाडीमा थप मर्मतसम्भारको आवश्यकता पर्छ ।
विद्युतीय सवारी त झन् संवेदनशील हुन्छन् । त्यसैले सवारीसाधनको बजार विकाससँगै सडक पूर्वाधार पनि सुधार गर्नुपर्छ ।
अटोमोबाइल क्षेत्रको विकास भनेको गाडी बेच्ने कुरा मात्र होइन । राम्रो सडक, चार्जिङ पूर्वाधार, पार्किङ, मर्मत केन्द्र र दक्ष जनशक्ति पनि यसको हिस्सा हुन् ।
चालु आर्थिक वर्षको बजेट र मौद्रिक नीतिले अटोमोबाइल व्यवसायमा कस्तो प्रभाव पारेको छ?
अहिलेको बजेट र मौद्रिक नीतिले केही आशा जगाएको छ । विशेषगरी व्यावसायिक सवारीसाधनमा ८० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउने व्यवस्था सकारात्मक छ ।
तर हामीले सवारीसाधनको मूल्यसँग तुलना गरेर कर्जाको सीमा अझ बढाउनुपर्छ भन्ने माग राखिरहेका छौँ । सवारीसाधन खरिद गर्ने ग्राहकका लागि वित्तीय पहुँच महत्वपूर्ण हुन्छ । वित्तीय व्यवस्था सहज भयो भने बजार पनि चलायमान हुन्छ ।
भृकुटीमण्डपमा यति ठूलो प्रदर्शनी आयोजना गर्नु कत्तिको चुनौतीपूर्ण छ?
निकै चुनौतीपूर्ण छ । भृकुटीमण्डपको ठाउँ सीमित छ । प्रदर्शक र अवलोकनकर्ता दुवैको संख्या बढिरहेको छ । अहिले हामीले उपलब्ध ठाउँमै अधिकतम व्यवस्थापन गर्ने प्रयास गरेका छौँ ।
तर भविष्यका लागि अटो शोको स्वरूपबारे सोच्नुपर्ने बेला आएको छ । प्रदर्शक र दर्शक दुवैलाई सहज हुने आधुनिक प्रदर्शनीस्थल आवश्यक छ ।
अहिलेको अटो शोमा दुई सयभन्दा बढी स्टल छन् । यति ठूलो प्रदर्शनी आयोजना गर्दा पार्किङ, आवागमन, सुरक्षा र दर्शक व्यवस्थापन सबै चुनौतीपूर्ण हुन्छ ।
दर्शकका लागि यसपटकको मुख्य आकर्षण के हो?
नयाँ सवारीसाधन र नयाँ प्रविधि त मुख्य आकर्षण हुँदै हुन् । त्यसबाहेक स्वदेशी उत्पादनको छुट्टै पेभिलियन राखिएको छ ।
रोबोटिक्स प्रविधि पनि प्रदर्शनमा छ । नयाँ पुस्ताका विद्युतीय सवारीका अवधारणा र प्रविधि पनि हेर्न पाइन्छ । विभिन्न ब्रान्डले नयाँ मोडल सार्वजनिक गर्नेछन् ।
त्यसैले यो केवल गाडी हेर्ने शो होइन । अटोमोबाइल क्षेत्र कहाँ पुगेको छ र भविष्यमा कहाँ जाँदैछ भन्ने बुझ्ने अवसर पनि हो ।
अटो शोमा ग्राहकले प्रत्यक्ष रूपमा के लाभ लिन सक्छन्?
एउटै ठाउँमा धेरै ब्रान्ड र मोडल हेर्न पाउनु नै ठूलो सुविधा हो । ग्राहकले मूल्य, प्रविधि, डिजाइन, सुरक्षा र सुविधाको तुलना गर्न सक्छन् ।
दशैंको पूर्वसन्ध्यामा आयोजना भएकाले विभिन्न ब्रान्डले विशेष अफर पनि ल्याएका छन् । बैंक तथा वित्तीय संस्थाको उपस्थितिले कर्जा तथा वित्तीय योजनाबारे जानकारी लिन सहज हुन्छ ।
ग्राहकले हतारमा निर्णय गर्नुभन्दा विभिन्न विकल्प तुलना गरेर आफ्नो आवश्यकता र क्षमताअनुसार सवारी छनोट गर्न सक्छन् ।
अन्त्यमा, नाडा अटो शो २०२६ मार्फत तपाईंहरू कस्तो सन्देश दिन चाहनुहुन्छ?
हाम्रो मुख्य सन्देश स्पष्ट छ—नेपालमा अटोमोबाइल उद्योगको ठूलो सम्भावना छ ।
अहिले हामीसँग बजार छ, उपभोक्ता छन्, व्यवसायी छन् र केही उत्पादन पनि सुरु भइसकेका छन् । अब आवश्यक कुरा नीतिगत स्थिरता, लगानीको वातावरण र पूर्वाधार विकास हो ।
अटोमोबाइल क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न सकियो भने यसले रोजगारी सिर्जना गर्न सक्छ । युवालाई विदेश जानुपर्ने बाध्यता कम गर्न योगदान गर्न सक्छ । त्यसैले यसपटकको नाडा अटो शोमा हामीले सवारीसाधन मात्र देखाउन खोजेका छैनौँ । नेपालमा उद्योग स्थापना गर्न सकिन्छ, उत्पादन गर्न सकिन्छ र रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सम्भावना देखाउन खोजेका छौँ ।
पाँच दशकको नाडा यात्राको यो स्वर्ण जयन्ती संस्करण हो । अबको यात्रा उद्योग र रोजगारी सिर्जनातर्फ केन्द्रित हुनुपर्छ । यही सन्देशसहित हामी सबैलाई नाडा अटो शोमा स्वागत गर्न चाहन्छौँ ।