नेभिगेशन
मनोरञ्जन

अमिताभ बच्चन पुगे ८३

भारतीय चलचित्रमा महानायक भनी सम्बोधन गरिने अमिताभ बच्चन अहिले पनि उत्तिकै चमकका साथ पर्दामा देखिन्छन् । उनले पाँच दशकअघि जंजीर (१९७३) फिल्मबाट फिल्म रुचाउने युवाहरूको मन हल्लाएका थिए । करिब २०० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका बच्चनको सिनेमा यात्रा उनको व्यक्तिगत सफलता मात्र नभई भारतीय समाजको सांस्कृतिक रूपान्तरणको प्रतिबिम्ब पनि हो ।

सन् १९६९ मा ‘सात हिन्दुस्तानी’बाट अभिनय यात्रा सुरु गरेका अमिताभ बच्चनले त्यसै वर्ष राष्ट्रिय चलचित्र पुरस्कारमा ‘श्रेष्ठ नव–अभिनेता’को सम्मान पाए । शुरुवाती वर्षहरूमा उनले ‘आनन्द’ (१९७१) मा सह–अभिनेता र ‘बम्बे टु गोवा’ (१९७२) मा हल्का भूमिकामार्फत आफ्नो प्रतिभा देखाएका थिए । त्यतिञ्जेल ठूलो पर्दाको ‘स्टार’बन्ने बाटो उनका लागि अझै टाढा थियो ।

‘एंग्री यङ म्यान’को उदय

सन् १९७३ मा आएको ‘जंजीर’ले बच्चनको करियर मात्र होइन, भारतीय चलचित्रको दिशा नै बदलिदियो । इन्स्पेक्टर विजय खन्नाको क्रोध र विद्रोहयुक्त भूमिकाले उनलाई ‘एंग्री यङ म्यान’को प्रतीक बनायो ।

त्यसपछि ‘दीवार’ (१९७५) र ‘शोले’ (१९७५) जस्ता चलचित्रले उनलाई भारतीय जनभावनाको प्रतिनिधि बनायो । ‘मेरे पास माँ है’ जस्तो संवादले उनी आम–जनताको मनमा बस्न सफल भए ।यस अवधिमा ‘चुपके चुपके’, ‘अमर अकबर एन्थनी’, ‘त्रिशूल’, ‘डन’, ‘मुकद्दर का सिकन्दर’ र ‘लावारिस’जस्ता हिट चलचित्रहरूले बक्स अफिसमा रेकर्ड तोडे । ‘शक्ति’ (१९८२) मा दिलीप कुमारसँगको अभिनय द्वन्द्व आज पनि स्मरणीय मानिन्छ ।

दुर्घटना, राजनीति र पुनरागमन

सन् १९८३ मा ‘कुली’को सुटिङका क्रममा भएको दुर्घटनाले बच्चनको जीवन नै जोखिममा पार्‍यो । त्यसपछिको समय उनका लागि कठिन रह्यो । उनी छोटो समय राजनीतिमा प्रवेश गरे तर पुनः चलचित्रमा फर्किए ।

‘मर्द’ (१९८५), ‘शहंशाह’ (१९८८) र ‘अग्निपथ’ (१९९०) ले उनीप्रति दर्शकको आकर्षण फर्कायो तर आफ्नै कम्पनी एबीसीएल स्थापनापछि गहिरिएको आर्थिक संकटले उनको करियर फेरि संकटमा पार्‍यो ।

नयाँ पुस्तासँगको पुनर्संवाद

लगभग सात वर्ष लामो संकटपूर्ण अवधिपछि सन् २००० मा उनले आफूलाई पुनः परिभाषित गरे । उनी काम माग्दै प्रतिष्ठित फिल्म निर्माताकहाँ पुगे । उनले सहायक भूमिकामा पनि ठाउँ खोजे । यही बेला टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोड़पति’ (केबीसी) मार्फत नयाँ पुस्ता र टेलिभिजनका दर्शकसँग प्रत्यक्ष सम्बन्ध बनाए ।

यही बेला ‘मोहब्बतें’ (२०००) मा गुरुकुलका कड्क प्रिन्सिपल, ‘कभी खुशी कभी गम’ (२००१) मा सत्तावादी पिता, ‘ब्ल्याक’ (२००५) मा अपाङ्ग विद्यार्थीका मार्गदर्शक शिक्षक र ‘सरकार’ (२००५) मा अपराध–राजनीतिका गहिरा पात्र बनेर अभिनयको नयाँ पारी शुरु गरे ।
‘पा’ (२००९) मा प्रोजेरिया पीडित बालकको भूमिका निभाउँदै उनले तेस्रो राष्ट्रिय पुरस्कार जिते ।

समकालीन सन्दर्भ र सामाजिक सन्देश

पछिल्ला वर्षहरूमा बच्चनले सामाजिक सान्दर्भिक विषयहरूमा आधारित चलचित्रहरूमा ध्यान केन्द्रित गरेका छन् । ‘पीकू’ (२०१५) मा विचित्र तर हृदयस्पर्शी वृद्ध पिता, ‘पिंक’ (२०१६) मा महिला अधिकारका पक्षधर वकिल, ‘बदला’ (२०१९) र ‘गुलाबो सिताबो’ (२०२०) मा जटिल र विचारोत्तेजक पात्र तथा ‘झुंड’ (२०२२) मा समाजसेवी विजय बरसेका रूपमा उनी पुनः समाजिक प्रेरणाका प्रतीक बने ।

सिनेमाका सम्पदा

अमिताभ बच्चनको कथा सुपरस्टारडमको मात्र होइन, एक युगको सांस्कृतिक इतिहास बन्न पुगेको छ । बलिउड–बाहिरबाट आएका एक युवाले पर्दामा ‘एंग्री यङ म्यान’का रूपमा व्यवस्थाविरुद्ध आवाज उठाए र चरित्र अभिनेता बनेर मानवीय संवेदनाको गहिराइ प्रस्तुत गरे । उनको प्रभावशाली कद, गहिरो स्वर र पात्रप्रति समर्पणले उनलाई अन्य अभिनेताभन्दा पृथक् बनायो ।

तीन पुस्ताका दर्शकहरूले उनलाई अलग–अलग रूपमा स्वीकार गरेका छन् । पहिलो पुस्ताले उनलाई विद्रोही नायकका रुपमा स्वीकार गरे । अर्को पुस्ताले उनलाई भावनात्मक पिता माने र यतिबेला टेलिभिजन र अर्थपूर्ण फिल्मका मार्फत समाजका प्रतिविम्ब बन्न पुगे ।

महानायकको सम्मान

हिजो ११ अक्टोबरका दिन जन्मदिनमा शुभकामना दिनेहरू मुम्बईस्थित उनको घरमा भेला हुनेहरूको भीड निकै ठूलो थियो । उमेरले ८३ वर्ष टेकेका उनी निरन्तर अभिनयमा सक्रिय छन् । उनलाई यतिबेला शताब्दीकै महानायक घोषित गर्नेहरू पनि निकै छन् । र, धेरैले उनलाई भारतीय सिनेमाको जीवित इतिहास मानिरहेका छन् ।

उनको कला, अनुशासन र निरन्तर पुनर्जागरणको क्षमता नै उनको अमरताको कारक हो । भारतीय सिनेमा जहाँ पुगेको छ, त्यसको यात्रा अमिताभ बच्चनबिना कल्पना गर्न सकिँदैन भन्ने विश्लेषकहरूको कमी छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन