नेभिगेशन
दृष्टिकोण

जेनजीले नबुझेका र बुझ्नैपर्ने कुरा

मुलुकले कथम् कदाचित् आफ्नो स्वतन्त्र सार्वभौमिक हैसियतमा सम्झौता गर्नुपर्ने अवस्था आइपुग्यो भने त्यसको सम्पूर्ण दोष इतिहासले जेनजीहरूलाई थोपर्नेछ । त्यसबेला जेनजीहरू राष्ट्रको जिम्मेवार तहमा पुगिसकेका हुनेछन् । यो तीतो यथार्थलाई बेहोर्न त्यसबेला जोकोहीलाई गाह्रो हुन्छ । त्यसैले अहिलेको ऐतिहासिक घडीलाई राम्ररी बुझेर पाइला चाल्नुपर्दछ ।

डा. दुर्गाप्रसाद पौड्याल
जेनजी भाइबहिनीहरूले भाद्र २३ र २४ गते गरेको विद्रोहलाई राज्यको अग्रगामी रूपान्तरणका लागि एउटा ऐतिहासिक अवसरको रुपमा मैले बुझेको छु । त्यसैले म तपाईंहरूलाई नै सम्बोधन गरेर यो लेख तयार पार्न लागेको छु । तपाईंहरूको विद्रोहपछि बनेको चुनावी सरकारमा जेनजी युवाहरूको प्रतिनिधित्व भएन भन्ने चर्चा भैरहेका बखत सरकार, दलहरू र जेनजी युवाबीच बैठक भैरहेको समाचार सार्वजनिक भएको छ । सम्भवतः त्यो बैठकले तपाईंहरू मध्ये कति जनालाई मन्त्रीमण्डलमा सामेल गर्ने भन्ने तय गर्ला । विद्यमान राजनीतिक संस्कारमा तपाईंहरूले उठाएका मुद्दाहरूमा घोत्लिनुभन्दा भागबण्डा मिलाउनु सबैभन्दा सरल विकल्प हुनसक्छ ।

तर तपाईंहरूले के कुरा भुल्नु हुदैन भने तपार्इंहरू भर्खरका कलिला युवा हुनुहुन्छ । तपार्इंहरूले लामो समय यही माटोमा बिताउनुपर्छ र भोलि यो देशको बागडोर समेत सम्हाल्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले तपाईंहरूले ठण्डा दिमागले सोच्नुपर्छ कि यो आन्दोलन केवल चुनावी सरकारका लागी थियो त ? एक दुई वटा दृष्टान्तहरू हेरौं । पहिलो, भदौ २४ गते भएको विध्वंसमा मुलुकको जीडीपीको करिब एक तिहाई सम्मको क्षति भएको भन्ने प्रारम्भिक अनुमान सत्य हो भने त्यस दिनको क्षति करिब १४ खर्ब रुपैयाँ बराबरको हुन सक्छ । त्यसै पनि दरिद्रतम राष्ट्रहरू मध्येको नेपालले एकैपटक भएको त्यत्रो क्षतिलाई कसरी सामना गर्न सक्छ भनेर सोच्नु पर्दैन ?

दोस्रो कुरा, २४ गते भएको त्यत्रो विध्वंसमा सुरक्षा संयन्त्र मुकदर्शक बन्यो । राज्यका महत्त्वपूर्ण अंगहरूले जेनजीको शान्तिपूर्ण प्रदर्शनभित्र घुसपैठ भएर ठूलो हताहत भएको पत्तो पाएन । प्रहरीका बन्दुक र गोलि लुटियो, जेलबाट कैदीहरू भागे, देशैभरि छानीछानी आगजनी गरियो । न्युयोर्क टाइम्सले समेत यसलाई योजनाबद्ध रूपमा विध्वंस गराएको निष्कर्ष निकालेको छ । यो अवस्थाको ठोस विश्लेषण गरेर आफ्नो धारणा सार्वजनिक नगरी वर्तमान सरकारले भयरहित वातावरणमा चुनाव गर्ने सामथ्र्य राख्ला ? त्यस्तो सरकारमा तपार्इंहरू सामेल हुनु कुन अर्थमा सान्दर्भिक होला ?

तेस्रो कुरा, जेनजीले मुख्य रूपमा उठाएको बेथिति, विसंगति, अस्थिरता र भ्रष्टाचारको मुद्दाहरू केवल तत्कालीन नेताहरूको गैर जिम्मेवारपूर्ण क्रियाकलापले गर्दा मात्र भएको होला कि संवैधानिक संरचनात्मक त्रुटिले गर्दा भएको होला ?  त्यसको विमर्श र निरूपण नगरी चुनावबाट नेतृत्व फेर्दा मुलुकलाई लयमा फर्काउन सकिएला ? अथवा अहिलेको अवस्था अरु विकराल बन्न सक्लारु यो विषयमा विचार गरेर मात्र चुनावमा जानुपर्ने होइन ?

मैले बुझेको राज्य भनेको एउटा संगठित संरचना हो । यसका मुख्य अवयवहरूले काम गर्न सकेनन् भने राज्यले सकारात्मक प्रतिफल दिन सक्दैन । त्यसैले यो अभूतपूर्व अवसरलाई ती महत्त्वपूर्ण अवयवहरूको पुनरावलोकन गरि कसरि रूपान्तरण गर्न सक्नुहुनेछ भन्ने कुराले भोलिको नेपालको नक्सालाई निर्धारण गर्छ ।

ती अवयवहरूमध्ये पहिलो महत्त्वपूर्ण अवयव हो देशको संविधान । मेरो बुझाइमा अहिलेको संकट आउनुको मुख्य कारक तत्त्व त्यही संविधान हो । किनभने यो संविधान नीतिमुखी नभएर नेतामुखी छ । अर्थात् राज्यका हरेक अंग प्रत्यंगहरू नेताको वरिपरि घुम्छन् । भागबण्डाका आधारमा देशका महत्त्वपूर्ण ओहोदाहरूमा नियुक्ति हुन्छ ।

 शक्तिशाली नेताहरूले बजेटको बाँडफाड गर्छन् । स्थानीय तहमा मेयरनै सर्वेसर्वा हुन्छ । विषयगत संरचना र विज्ञता छैन । त्यस्तै प्रदेश तथा स्थानीय तहको विभाजन क्षेत्रगत अन्तर्निर्भरताको आधारमा नभएर राजनीतिक लाभहानिका आधारमा गरिएका छन् । संविधानले गरेको चुनावी व्यवस्थाले बहुमतको सरकार बन्न सक्तैन।  यो संविधानको पूर्ण कार्यान्वयन हुन मुलुकको राजश्वले भ्याउदैन । यस्तो राज्य संरचनाले ‘विकास’ दिन सक्दैन । त्यसलाई बदल्ने हो भने त्यो अवसर यही हो ।

दोस्रो महत्त्वपूर्ण अवयव हो राजनीतिक दलहरू । लोकतान्त्रिक व्यवस्थाको सञ्चालन राजनीतिक दलहरूले नै गर्ने हो । बहुलवादी राजनीतिक व्यवस्थामा आआफ्नो विचार बोकेर जनतामा जाने र जनताले चाहेको दल निर्वाचित भएर राज्य सञ्चालन गर्ने भन्ने सिद्धान्त हो । तर हाम्रा राजनीतिक दलहरू विचारविहिन भए । जुनसुकै दलले जुनसुकै दलसँग सहकार्य गरेर चुनावमा जाने, धेरै खर्च गरेर चुनाव जित्ने, गठबन्धन गरेर सरकार चलाउने र खर्च भएको रकमलाई असुल गर्ने प्रथा सामान्य बन्यो । 

त्यस्तै, राजनीतिक दलहरूमा पारदर्शिता र जवाफदेहिता ठ्याम्मै देखिएन । आम्दानीको स्रोत के हो ? कति आम्दानी हुन्छ ? त्यो केमा खर्च हुन्छ ? भन्ने कुरा सार्वजनिक सरोकारको विषय हुनुपर्ने हो । तर कांग्रेस अध्यक्ष देउवाको घरमा लाखौंको लाख थन्किएर डडेको कुरा टेलिभिजनको पर्दामा देखिँदा पनि उनका कार्यकर्ताहरू त्यो समाचारको खण्डन गर्न तिर लागे । अध्यक्ष देउवा विदेशतिर गए भने कार्यकर्ताहरू सुशासनका गफ गरेर महाधिवेसनको तयारीमा लागे । मानौं केही पनि भएकै छैन । अनि कसरी प्रजातान्त्रिक विचार बोकेको राजनीतिक दलप्रति जनविश्वास हुन्छ ?

त्यस्तै राजनीतिक दल र नेताको महत्त्वपूर्ण गहना हो जनताप्रतिको जवाफदेहिता । किनभने ऊ सार्वजनिक सरोकारको दल र पात्र हो । तर हाम्रोमा जसले जे भने पनि हुने जस्तो देखियो । उदाहरणका लागि २०४६ सालपछि ‘राज्यले उद्योग चलाउने होइन’ भनेर कांग्रेस सरकारले देशका ठूला उद्योगहरूको निजीकरण ग¥यो । तर, नीजिकरण भएका उद्योगहरू कुनै पनि सञ्चालन भएनन् । त्यसमा कांग्रेस पार्टीले जवाफदेहिता लिनुपर्दैन ?

त्यस्तै, जनताको बहुदलीय जनवाद–‘जबज’ ल्याएर मुलुकको कायापलट गर्ने बोली एमालेको रहिआएको छ । त्यो जबज भनेको के हो ? ऊ सरकारमा छँदा त्यसका कुन–कुन नीतिहरू उसले बनायो भनेर भन्नुपर्दैन ? बरु केपी ओलीका क्षुद्र बोली, सन्दर्भहीन उखान टुक्का र ज्ञानको वर्षाले यो अवस्थामा मुलुक आइपुगेको हो । त्यस्तै, जनताको मुक्तिका लागि माओवादीले जनयुद्ध ग¥यो, १७ हजार मरे । कति घाइते भए कति घरबारविहीन भए भन्ने कुनै लेखाजोखा छैन । अब अहिले आएर न त त्यसका पीडितहरूले न्याय पाएका छन् न त जनताको मुक्ति नै भएको छ । यो विषयमा त्यो दलले बोल्नुपर्दैन ? प्रचण्डको ‘उथलपुथल’ गर्ने शैली पनि अहिलेको राजनीतिक अस्थिरताको एउटा कारक तत्त्व मानिन्छ । त्यसैले राजनीतिक दलहरूलाई पारदर्शी र जवाफदेही बन्नैपर्ने व्यवस्था नबनाइकन चुनावमा जानुहुँदैन ।

तेस्रो महत्त्वपूर्ण अवयव हो मुलुकको आर्थिक उन्नति, गाउँमा बस्ने अवस्था नभएको र मुलुकमा उद्योगधन्दाहरू बन्द भएको अवस्थामा प्रायः सबै युवाहरू विदेशिन बाध्य भएका हुन् । उनीहरूले दुःख कष्ट गरेर पठाएको रेमिट्यान्सले यहाँको सरकार पालिएको छ । सरकार भने त्यसैलाई आम्दानी मान्न थालेको छ । तर यसरी देश बन्दैन । तपाईंहरूको माग पनि ‘तिम्रा छोरा गाडीमा, हाम्रा छोरा खाडीमा’ भन्ने नै थियो । विदेशमा भएका नेपालीहरूलाई फर्काएर देशभित्रै रोजगारी सिर्जना गर्नुपर्छ र गर्न सकिन्छ । त्यसका लागि आन्दोलन, ध्वंस र आगजनी होइन शान्ति र स्थिरता स्थापना गर्नुपर्छ ।

अन्त्यमा, तपाईंहरू अहिले अल्लारे बैंसमा हुनुहुन्छ । पहाडलाई फोड्न सक्ने हिम्मत र हौसला छ । तर एउटा कुरा तपाईंहरूले बुझ्नैपर्छ । त्यो के भने अहिलेको जेनजी आन्दोलनमा तिब्बती स्वतन्त्रताका लागि काम गरेको अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले लगानी गरेको कुरा बाहिर आएको छ । आन्दोलनको दौरानमा टीओबी अर्थात् तिब्बतको रगतको विम्ब भएको टिसर्ट लगाएका युवाहरू देखिनु र ‘हाम्रो मातृभूमि छोड’ भन्नेजस्ता नाराले त्यो कुरालाई पुष्टि गर्छ । तर ‘एकचीन नीति’ लिएको नेपाली भूमिमा त्यो सन्देश दिने खालको आन्दोलनको कस्तो प्रतिक्रिया चीनले गर्ला त्यो हेर्न बाँकी नै छ । त्यस्तै, विहारको चुनावको दौरानमा ‘नेपालमा लुटिएका हतियार र भागेका कैदीहरूलाई राज्यले नियन्त्रण गर्न नसकेर भारतको सुरक्षा चासो बढेको’ कुरा सार्वजनिक भएको छ ।

विश्वका शक्ति राष्ट्रहरूको दाँजोमा पुगेका दुवै छिमेकीहरूमा परेको यो असहजताका कारणले मुलुकले कथम् कदाचित आफ्नो स्वतन्त्र सार्वभौमिक हैसियतमा सम्झौता गर्नुपर्ने अवस्था आइपुग्यो भने त्यसको सम्पूर्ण दोष इतिहासले तपाईंहरूलाई थोपर्नेछ । त्यसबेला तपाईंहरू पनि राष्ट्रको जिम्मेवार तहमा पुगिसक्नुभएको हुनेछ । यो तीतो यथार्थलाई बेहोर्न त्यसबेला तपाईंहरूलाई गाह्रो हुन सक्छ । त्यसैले अहिलेको ऐतिहासिक घडीलाई राम्ररी बुझेर पाइला चाल्नुहोला । 

यसर्थ के देखिन्छ भने जेनजी युवाहरूको भदौ २३–२४ को विद्रोह राज्य रूपान्तरणको ऐतिहासिक अवसर हो, तर उनीहरूले ठण्डा दिमागले के सोच्नुपर्ने देखिन्छ भने आन्दोलनको उद्देश्य केवल चुनावी सरकार गठनका लागि होइन, दीर्घकालीन राज्य सुधारका लागि हुनुपर्ने हो ।

हामी सबैलाई थाहा छ, हालको राजनीति नेतामुखी छ, नीतिमुखी होइन । भागबण्डा, शक्तिकेन्द्रीकरण र अव्यवस्थित प्रदेशीय विभाजनले राज्यलाई कमजोर बनाएको छ । यसलाई पुनरावलोकन गर्ने अवसर अहिले आएको छ ।

राजनीतिक दलहरू विचारविहीन, अपारदर्शी र गैरजवाफदेही भएको कुरा पनि कसैबाट लुकेको छैन । नेताहरूको भ्रष्टाचार, निजीकरणको असफलता, विचारहीन गठबन्धन र जनतालाई धोका दिने प्रवृत्तिले जनविश्वास नष्ट भएकै हो । त्यसैले चुनावमा जानुअघि दलहरूलाई पारदर्शी र जवाफदेही बनाउनु पर्ने व्यवस्था अनिवार्य गर्न आवश्यक छ ।

अर्कातिर आर्थिक पाटोबाट हेर्दा युवाहरूको वैदेशिक पलायन र रेमिट्यान्समा निर्भरता देशको कमजोरी हो । रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र विकास गर्न शान्ति र स्थिरता आवश्यक छ । तर, हालको अस्थिरता बढ्दै गएर त्यसले नेपालको सार्वभौमिकता गुम्ने अवस्था आयो भने त्यसको जिम्मेवारी इतिहासले जेनजी युवाहरूमाथि नै थोपर्नेछ त्यसैले जेनजीहरूले जिम्मेवार र विवेकपूर्ण ढंगले अघि बढ्न आवश्यक छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
हामी महान् हुने हो भने ...

हामी महान् हुने हो भने ...