नेभिगेशन
मनोरञ्जन

अब दार्जिलिङमा बंगाली फिल्म अनिवार्य 

पश्चिम बंगालमा वर्षदिनभरि नै दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म अनिवार्य रुपमा बंगाली भाषाका फिल्महरूलाई प्राथमिकता दिन राज्य सरकारले परिपत्र गरेको छ ।

पश्चिम बंगाल सरकारको सूचना तथा सांस्कृतिक विभागले बुधबार सूचना जारी गर्दै राज्यभरि नै बंगाली फिल्मलाई प्राथमिकता दिन अनिवार्य रूपमा दिनमा एक शो राख्न परिपत्र जारी गरेको हो । परिपत्रपछि भने दार्जिलिङ जिल्ला र वरपरका क्षेत्रका फिल्म प्रदर्शकहरू भने अन्योलमा परेका छन् । 

कालिम्पोङस्थित साहित्यकार मनोज बोगटीले व्यंग्य गर्दै नेपालीभाषी बहुल क्षेत्रमा बंगाली भाषाका फिल्महरू अनिवार्य प्रदर्शन गर्दा दर्शक कति आउलान् भनी सामाजिक सञ्जालमा लेखेका छन् । 

दार्जिलिङ वरपरका क्षेत्रहरूमा नेपालीभाषी फिल्महरू प्रदर्शन गर्न गाह्रो छ । स्थानीय निर्माताले कम बजेटमा बनाएका फिल्महरूको प्रचार–प्रसार सशक्त नहुँदा ठूला हलमा ठाउँँ नपाउने बोगटीले बताए । नेपालबाट बनेका फिल्महरू पहिले केही प्रदर्शन भए पनि पछिल्लो समय त्यहाँ प्रदर्शन गर्न गाह्रो छ । नेपाली फिल्मलाई भारतमा सेन्सर पास गराउनै गाह्रो भएकाले सिनेमा हलमा प्रदर्शन सहज छैन ।

रोचक त, दार्जिलिङ र खासगरी जीटीए क्षेत्रमा बंगालीभाषीहरू निकै कम छन् । कम संख्या भएकाले यहाँ बंगाली फिल्महरू निकै कम लाग्छन् । बढीजसो हिन्दी फिल्मले यहाँ शो पाउँछन् ।

‘संवेदी प्रश्न’ निबन्धका सर्जक बोगटी भन्छन्, ‘जीटीए एउटा स्वतन्त्र स्थानीय निकाय हो । यदि राज्य सरकारले आफ्नै तरिकाले परिपत्र गर्न पाउँछ भने स्थानीय निकायले पनि आफ्नो अधिकार क्षेत्रभित्र आफ्नै नियम बनाउन पाउँँछ । त्यसो हो भने यहाँ प्राइम टाइम भनिएको दिउँसो ३ बजेदेखि राति ९ बजेको समयमा नेपाली फिल्म अनिवार्य प्रदर्शन गर भनेर जीटीएले किन परिपत्र गर्न सक्तैन ।’

दार्जिलिङ जिल्ला र वरिपरिका क्षेत्रमा चारवटा सिनेमा हल रहेको बोगटी बताउँछन् । कालिङ्पोङमा एउटा सिनेमा हल छ । त्यस्तै, सिलगुडीमा पनि केही सिनेमा हलहरू छन् । सूत्रका अनुसार, पश्चिम बंगालभरि ३८१ वटा स्क्रिन छन् । वर्षभरि त्यहाँ सयभन्दा बढी संख्यामा फिल्म निर्माण तथा प्रदर्शन हुने गर्छन् । सन् २०२३ मा १४५ वटा फिल्म बने पनि तिनले गर्ने व्यापार ६८ करोड हाराहारी मात्र रहेको बताइन्छ ।

पश्चिम बंगालमा हिन्दी फिल्मको बोलवाला छ । हिन्दी फिल्मले बंगाली फिल्मलाई थिचेका कारण मुख्यमन्त्री ममता बेनर्जीले ‘अस्मिता आन्दोलन’अन्तर्गत आफ्ना भाषाको फिल्मलाई महत्त्व दिन ‘प्राइम टाइम’ अभियान चलाएकी हुन् । 

यस्तो नियमले दार्जिलिङ र जीटीए क्षेत्र वरपर खासै फरक नपर्ने, बरु सिनेमा हललाई असर पर्नसक्ने साहित्यकार बोगटीले बताए । ‘हिम्मत हुँदो हो त, जीटीएका अधिकारीहरूले यस्तै एउटा सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्रका सिनेमा हलहरूलाई सिक्किम–दार्जिलिङ वा नेपालमै बनेका फिल्महरूलाई ठाउँ दिनु भनी सूचना निकाल्नुपर्ने हो,’ उनले भने, ‘अब त्यस्तो हिम्मत त कसैसँग छ जस्तो लाग्दैन ।’

यो परिपत्र जारी भएपछि अब अनिवार्य रूपमा जीटीए क्षेत्रमा बंगाली फिल्म प्रदर्शन हुने र मन परे पनि नपरे पनि हेरिदिनुपर्ने अवस्था आउने बोगटी बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन