नेभिगेशन
मनोरञ्जन

हिउँजस्तै हिमाली संस्कृति पनि विलीन हुँदैछ : चलचित्र निर्देशक एरिक भ्याली

फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यात छन् । सन् १९५२ मा फ्रान्समा जन्मिएका उनले सन् १९८० को दशकदेखि दक्षिण एसियामा विशेषगरी नेपालमा निरन्तर काम गर्दै आएका छन् । 

चलचित्र निर्देशक भ्यालीले हिमाली क्षेत्रका बासिन्दाहरूको जीवन, संस्कृतिको सौन्दर्य र चुनौतीलाई गहिरोरूपमा प्रस्तुत गर्दै सन् १९९९ मा ‘हिमालय क्याराभान’ नामक चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्र अन्तर्राष्ट्रियरूपमा अत्यधिक प्रशंसित भएको थियो, जसले विश्व प्रसिद्ध अस्कार अवार्डका लागि मनोनयनमा परेको थियो । उनले त्यसअघि निर्माण गरेका डकुमेन्ट्रीहरू, हनि हन्टर्स, नेपाल बियोन्ड द क्लाउड्स, हिमायन गोल्ड रसलगायत सिर्जनाहरूले नेपालको हिमाली जीवन र वातावरणको गहिरो अध्ययन गरेका छन् । उनका फोटोहरू नेशनल जियोग्राफी, जियो म्यागेजिन र अन्य प्रमुख अन्तर्राष्ट्रिय प्रकाशनहरूमा प्रकाशित भएका छन् ।

नेपालसँग उनको सम्बन्ध भावनात्मक रहेको देखिन्छ । उनले नेपालका हिमाली जनजीवन, प्राकृतिक सुन्दरता, र स्थानीय परम्पराप्रति गहिरो प्रेम व्यक्त गर्दै नेपाललाई ‘दोस्रो घर’का रूपमा लिएका छन् । केही वर्षयता खासगरी तराई÷मधेशमा मनाइने छठ पर्वका बारेमा विशेष अभिरुचि राख्न थालेका  एरिक यसलाई नेपालको अर्को विशिष्ट पर्वका रूपमा अथ्र्याउँछन् । यहाँका सांस्कृतिक मूल्य र सरल जीवनशैलीबाट सधैं प्रेरित भएको बताउने निर्देशक भ्यालीले पछिल्लो समय वातावरणीय संरक्षण, ग्रामीण पर्यटन र सामुदायिक विकासका क्षेत्रमा पनि सक्रियता देखाउँदै आएका छन् । यसै सन्दर्भमा उनी नेपाल आएको समय पारेर भीष्मराज ओझा र सिर्जना राईले गरेको कुराकानी :

तपाईं लामो समयदेखि नेपाली संस्कृति, समाज र जीवनशैलीसँग साक्षात्कार हुनुहुन्छ ।  नेपालसँग तपाईको सम्बन्ध कहाँबाट कसरी सुरु भयो ? यति लामो समय तपाईलाई नेपालको के विषय ले जोडिरहेको छ होला ?

नेपाल मेरो ‘लभ एट फस्ट साइट’ हो । एक शब्दमा भन्दा, प्रेम । पहिलोपटक म सन् १९७३ मा नेपाल आएको थिएँ ।  बनारसी बाटो हुँदै आएको याद छ । हाइकिङ गरेर, ठूलो टाटा ट्रकको छतमा बसेर आएको थिएँ । पहिलोपटक नेपाल भित्रिँदै गर्दाको अनुभव म सायदै बिर्सिन सक्छु । 

यहाँका आर्कषक पाखोबारी, चिटिक्क आकारका रातो र सेतै लिपिएका घरहरू र ती घरहरू पछाडि देखिने अद्भुत हिमालहरूको दृश्यले मेरो मुटुको ढुकढुकी बढेको थियो । झण्डै ५० वर्षअघि यहाँको भूगोल र जीवनशैलीको दृश्यले मेरो ‘लभ एट फस्ट साइट’ बन्यो नेपाल । 
 
म फ्रान्सेली नागरिक हूँ । मेरो देश पनि राम्रो छ । धेरै वर्ष फ्रान्सको पट्यारलाग्दो बसाईपछि नेपालसँगको अनुभव मेरा लागि अद्भुत बन्न पुग्यो । नेपालको यात्राका क्रममा अप्ठ्यारा र अनौठा लाग्ने बाटाहरू नै रोचक अनुभूतिको सुरुआत बन्यो । नेपाल आइसकेपछि यहाँको संस्कृति मेरा लागि नयाँ संस्कृतिको खानीजस्तो भयो । यो देशसँगको प्रेमानुभूति सधैं रहिरहनेछ । म अहिले ७३ वर्षको उमेरमा छु । विगतलाई फर्केर हेर्दा यहाँको सबै कुराले मलाई प्रेममा पारिरहेको छ । 

तपाईंको फिल्म ‘क्याराभान’ छायांकन गरिएको डोल्पो, त्यहाँका समुदाय र संस्कृतिसँगको पहिलो भेटलाई कसरी स्मरण गर्नुहुन्छ ? 

डोल्पो मेरो लागि अर्को सुन्दर प्रेम कथा हो । सन् १९८१ तिर म पहिलोपटक डोल्पा पुगेको थिएँ । जतिबेला नेपाल सरकारले मलाई प्रवेश दिएको थिएन । किनकि विदेशीका लागि डोल्पा निषेधितजस्तो थियो । म डोल्पा पुग्नेबित्तिकै मैले जिन्दगीको अविस्मरणीय सांस्कृतिक झट्का (कल्चरल सक) महसुस गरें किनभने त्यो समयको डोल्पो बाहिरी दुनियासँग अभ्यस्त थिएन, ‘अनट्च्ड’ थियो भनौं । मलाई त्यो विषय चाखलाग्दो बन्यो । मलाई नेपाल मन पर्नुको कारण डोल्पाको विशेष संस्कृति पनि हो । मेरो साथी थिन्ले (क्याराभानः हिमालय चलचित्रका मुख्य पात्र) को घरमा धेरै समय बसें, उनीसँग डोल्पा घुम्ने र बुझने काम भयो । उनैको प्रस्तावमा मैले फिल्म बनाएको हुँ ।
    
मैले उनलाई चलचित्रहरू देखाएको थिएँ, उनले मलाई ‘डोल्पो संस्कृतिको पुस्तक मात्र, चलचित्र किन नबनाउने ?’ भन्ने सुझाव दिए । त्यसपछि मलाई रोचक लागेको डोल्पोसँगै थिन्लेको जीवनशैली, कथा, संस्कृति र संघर्षबारे गहन अध्ययन गरेर ‘क्याराभानः हिमालय’ निर्माण सुरु ग¥यौं । डोल्पावासीहरूको जीवनशैली प्रकृतिसँग निकट र निर्भर थियो । ढुंगाबाट बनाइएका घरमा बस्ने उनीहरू आफैंले बुनेका कपडा प्रयोग गर्दथे । सुन्दर डोल्पाका बासिन्दाहरूको जीवनशैली कठिनाइपूर्ण थियो तर उनीहरू निकै बहादुर र परिश्रमी थिए । साँच्चैभन्दा नेपाल कला, संस्कृति, भाषा, संस्कार र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । 

नेपालको हरेक नयाँ ठाउँमा पुग्दा अध्ययनका लागि अझ धेरै बाँकीजस्तो छ । धेरै खोज अनुसन्धान गर्न सकिने ठाउँ हो, नेपाल । डोल्पोको अध्ययन गर्न चाखलाग्दो ठाउँ थियो । जहाँ मैले फिल्म बनाउने क्रममा सहकर्मी मात्र नभई साथीको रुपमा सम्बन्ध विकास गरें । म अझै पनि उनीहरूसँग सम्पर्कमा छु ।     

एउटा प्रसंग सुनाइहालौं । उत्तर डोल्पामा यात्राका क्रममा मेरो जुत्ता च्यातियो । नयाँ जुत्ता बनाउन स्थानीयसँग आग्रह गरें । याकको छालाबाट बन्ने जुत्ताको साइज र शुल्कलाई लिएर उनीसँगको संवाद मलाई अझै पनि रमाइलो लाग्छ । उनले भने, ‘यति ठूलो जुत्ता अहिलेसम्म बनाएको छैन तर बनाउन सक्छु ।’ मैले शुल्क सोधेपछि उनले भने, ‘चालिस पाथी पिठो दिनुहोस् ।’ मैले उनलाई आफूसँग पिठो नभएकाले पैसा दिने प्रस्ताव गरें । उनले भनेका थिए, ‘तिम्रो पैसाले केही गर्न सक्दिन, मलाई पिठो देऊ ।’ अन्ततः मैले पिठो किनेर उनलाई दिएपछि मात्र जुत्ता बन्यो । हो, त्यो समय भिन्न थियो । र, म त्यो पुरानो डोल्पासँग अत्यधिक प्रेममा थिएँ । त्यो समयको डोल्पा चुनौतीपूर्ण पनि थियो । बिरामी भए सहज उपचार पाउन सकिने अवस्था थिएन । जीवनशैली सहज थिएन । म फेरि पनि भन्छु, उनीहरू बहादुर मात्र थिएनन्, बलियो आत्मसम्मानसहित बाँच्दथे । 

यो पचास वर्षअघि र पछिको डोल्पोमा के भिन्नता देख्नुभएको छ ?

पचास वर्षपछिको डोल्पोमा धेरै कुरा बिलाएर गएको छ । सडक पुगेपछि डोल्पो फेरिएको छ । मैले ५० वर्षअघि चिनेको डोल्पो र अहिलेको डोल्पोमा धेरै भिन्नता छ । चेप्टो छानो छाएका घरहरू देखिने डोल्पो सुक्खाजस्तो थियो । विश्वव्यापी मौसम परिवर्तनले होला, अहिले वर्षा हुने रहेछ । लोपोन्मुख, मौलिक र चाखलाग्दो भौतिक संरचना र वास्तुकला अब प्रयोगमा छैनन् । जलवायु परिवर्तनको असरजस्तो देखिन्छ । पछिल्लो समय नेपाली युवायुवतीहरूले विदेशिने क्रम बढेसँगै त्यसको प्रभाव डोल्पोमा पनि देखें । गाउँहरू रित्तिएका छन् । गाउँमा वृद्धहरू मात्र छन् । जलवायु परिवर्तनको प्रभाव त छ, त्यो भन्दा धेरै रोजगारीको खोजीमा युवाहरू विदेश पलायन मुख्य समस्याका रूपमा देखेको छु । ऊर्जाशील जनशक्ति नै बाहिर गएपछि नेपालको विकास कसरी हुन्छ होला ? यसतर्फ गम्भीर भएर यहाँको सरकारले सोच्नु आवश्यक छ ।

विदेशी निर्देशकका रुपमा तपाईलाई आफनोे फिल्ममा नेपाली संस्कृतिलाई जिम्मेवारीपूर्वक प्रस्तुत गर्न कति सहज थियो ?

म पेसाले सिकर्मी हो, फिल्म मेरो रुचि थियो । विदेशी निर्देशकका रुपमा मैले यहाँ अलिक बढी दुःख गरें । म आफनो कामसँग मात्र हैन, यहाँको संस्कृति र समुदायसँग पनि उतिकै इमान्दार छु । यो देश र संस्कृतिसँगको प्रेमले फिल्म बनाउन सहयोग पुग्यो । फिल्म बनाउनुपर्छ भने हामीले विषयवस्तुको बारे थाहा पाउनुपर्छ । फिल्म खिच्नुअघि नै गहन अध्ययन आवश्यक छ । राम्रो स्क्रिप्ट लेख्नुपर्छ । हिमालय, क्याराभानको स्क्रिप्ट लेख्नका लागि मात्र पनि तीन वर्ष अध्ययन गरेका थियौं । गहन अध्ययनले आफनो कथा, पात्रप्रतिको बुझाइ बढ्छ र आफैं बाटो खुल्छ । 

साथी थिन्लेले भनेको अझै पनि स्मरण छ, ‘हाम्रो संस्कृति पनि हिउँजस्तो बिलाउँदैछ,’ मैले जवाफमा भनेको थिएँ, ‘फ्रान्समा पनि मेरो संस्कृति बिलाउँदैछ ।’ अहिले त अझ विश्वव्यापीकरणले सबै कुरा परिवर्तन हुँदैछ । हरेक संस्कृतिमा यस्ता विशेषता हुन्छन्, जसलाई संरक्षण गर्नैपर्छ, अभिलेखीकरणको आवश्यकता छ । किताब लेखेर होस् वा फिल्म निर्माण गरेर, त्यसलाई बचाइरहनुपर्छ । डोल्पोको कथा लेख्दै गर्दा त्यो फिल्म विश्वकै अन्तिम क्याराभान बन्न पुग्यो । वास्तवमै त्यो ठूलो दायित्व थियो । बहुत चुनौती र जटिलता थियो । 

नेपाली निर्देशकद्वारा निर्देशित नेपाली फिल्महरू विश्व समुदायमा पु¥याउनका लागि तपाईकोे सुझाव के छ ? नवनिर्देशकहरूले ध्यान दिनुपर्ने विषयहरू के हुन् ?

हिमालय क्याराभानको स्क्रिप्ट लेख्दै गर्दा म नेपाली संस्कृतिलाई झल्काउनुपर्नेमा पूर्ण सचेत थिएँ । तर त्यसलाई विश्वव्यापी बनाउन, अन्तर्राष्ट्रिय दर्शकसम्म कसरी पु¥याउने भन्नेमा पनि उतिकै सचेत थिएँ । मैले ‘युनिर्भसल’ कथा नै निकाल्नुपर्ने थियो । संस्कृति मात्र देखाउने हो भने त्यसलाई बुझ्ने दर्शकमा सीमितता हुन्छ । क्याराभानको कथा नै एउटा वृद्ध र युवाबीच (जेनेरेसन कन्फ्लिक्ट)  पुस्तागत द्वन्द्व र संघर्षमा आधारित हो । त्यसैले फिल्ममा नेतृत्वका लागि दुई पुस्ताबीचको सङ्घर्ष देखाइएको छ, जुन संसारका सबै दर्शकले बुझ्ने र आकर्षित गर्ने कुरा हो । क्याराभान निर्माण सानो मेहनतले सम्भव भएको हैन । समुदायबाटै  पात्र छनोट काम पनि महत्वपूर्ण थियो । ज्याक पेरिन उत्कृष्ट प्रोड्युसर हुन् । यसको स्क्रिप्ट तयार गर्न झण्डै तीन वर्ष लागेको थियो । 

हो, लोकल कथालाई अन्तर्राष्ट्रिय दर्शकसम्म पु¥याउनका लागि कथा ‘युनिर्भसल’ बन्नैपर्छ साथमा बलियो टिमको आवश्यकता पदर्छ । क्याराभान यति सफल बन्ला भन्ने कसैले कल्पना गरेका थिएनन् होला । म स्वयंलाई अस्करमा पुग्ला भन्ने थाहा थिएन । मैले मिहिनेत गरें, मिहिनेतले त्यहाँसम्म पु¥यायो । पर्याप्त लगानी र समय दिएर बनाएको फिल्म सफल हुन्छ भन्ने हामी भन्न किटान गर्न सक्दैनौं । ‘हनि हन्टर्स’ पनि न्यासनल जियोग्राफीमा सबैभन्दा बढी रुचाइएकामध्ये एक कथा थियो किनभने त्यो मात्र नेपाली कथा मात्र नभई युनिभर्सल कथा थियो । 

तपाईंका फिल्मले नेपाल र नेपाली संस्कृतिप्रति विश्वमा हेर्न दृष्टिकोणमा कस्तो प्रभाव पा¥यो होला जस्तो लाग्दछ ? पर्यटन विकासमा टेवा पु¥याउन केही सुझाव छ ?

मलाई मेरा फिल्महरूले पक्कै पनि नेपालप्रति विश्वको ध्यान खिच्न सफल भयो भन्ने मेरो बुझाइ छ । र, मलाई लाग्दछ कि नेपालका पर्यटन, सांस्कृतिक चासो र संरक्षणको प्रयास पनि बढ्न थालेको छ । नेपाललाई पर्यटकीय गन्तव्य बनाउन धेरैभन्दा धेरै प्रचारप्रसार आवश्यक छ । मैले आफैंले पनि नेपाली संस्कृति विश्व समुदायसम्म पु¥याउन, प्रचारप्रसारको काम गरें । प्रचारप्रसारका लागि अन्तरराष्ट्रिय स्तरमा सम्बन्ध भएकाहरूसँग काम गर्नुपर्छ, जुन निकै महँगो हुन्छ । नेपाली फिल्म बनाउँदै गर्दा त्यसको प्रवर्धनका लागि नेपाल सरकारबाट हुनसक्ने सहयोग पनि प्राप्त भएन । क्याराभानः हिमालय चलचित्र अस्कर अवार्डमा पुग्यो । हनी हन्टर्स नेसनल जियोग्राफीको कभर भयो । यो देशप्रतिको प्रेम, सद्भाव र सत्कर्मका बाबजुत उल्टो मैले नेपाल सरकारबाट प्रवेषाज्ञा प्राप्तिमा पटकपटक समस्या खेप्दै आएको छु । प्रवेषाज्ञा पाउन बहुतै समस्या झेल्दै आएको छु । तर पनि नेपालीहरूको माया लाग्छ । नेपालको माया लाग्छ । मेरो कामले नेपाल र नेपालीका पक्षमा सधैं सकारात्मक प्रभाव पर्ने विश्वास छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन