जीवनमा नखाएको विष लाग्दा के हुन्छ ? कहिल्यै नगरेको अपचलनको दोष लाग्दा मानसिक अवस्था कस्तो हुन्छ ? उपन्यासले यी लगायतका अस्तित्ववादी प्रश्नको उत्तर दिएको छ ।
माधवप्रसाद नेपाल
‘चकमन्न ०’ देखि ‘दिन ६०’ सम्म ६० वटा उपशीर्षक दिएर तयार पारिएको ‘सन्त्रासका ६० दिन’ रोशन थापा ‘नीरव’को उपन्यास हो । सहकार्य (सहकारी संस्था) का प्रमुख व्यक्तिहरू मिलेर सर्वसाधारणको रकम अपचलन गरिएको र निर्दोष सञ्चालकमाथि भएको जालझेललाई उपन्यासको विषयवस्तु बनाइएको छ ।
सहकारीका प्रबन्ध सञ्चालक, अध्यक्ष, कार्यकारी अधिकृत एकै परिवारका छन् । राजनीतिक रूपमा तीनैजनाको उपल्लो तहसम्म पहुँच छ । सहकारीको रकम अपचलन गरे पनि उनीहरूमाथि कारबाही हुन सकेको छैन । त्यसैले उनीहरू कानुनभन्दा माथि छन् ।
सहकारीको रकम हिनामिना प्रकरणको विषयलाई उठान गरी लेखिएको प्रस्तुत उपन्यासमा मिटरब्याज पीडित, आर्थिक अपचलन, विधिको शासनको उपहास, निमुखालाई जहिल्यै पनि कानुनको भय, शक्तिशाली सधैँ कानुनभन्दा माथि रहेको सन्दर्भ आएका छन् ।
सरलकुमार (उपन्यासको प्रमुख पात्र) जस्ता निर्दोष, सोझा सञ्चालकमाथि हिनामिनाको आरोप लगाइएको छ । सामान्य जागिरे जीवन बिताइरहेको सरलकुमार साहित्यप्रेमी छ । साहित्यको समेत सेवा गर्दै आएको ‘सहकार्य’ को सम्पत्ति अपचलन गरेको आरोप लागेपछि ऊ भयभीत छ ।
सरलकुमारलाई नखाएको विष लागेको छ । त्यही सन्त्रासले ऊ कतै पनि जान सक्दैन । आफन्तको घरमा शरणमा परेको सरलकुमार ६० दिनसम्म त्यहीँ गुप्तवास बसेको छ । एकान्तमा बस्दा सरलकुमारका मनमा उठेका भावहरूलाई ६० वटा शृंखलामा तयार पारिएको कृति हो ‘सन्त्रासका ६० दिन ।’
प्रयोगशीलताको उच्चता
सहकारी संस्थामा भएको आर्थिक अनियमितता, मिटरब्याज प्रकरण, आर्थिक अपचलन, सहकारीका सदस्यहरूको बचत हिनामिना गरिएको विषय, क्रेप्टो करेन्सी, स्रोत नखुलेको सम्पत्ति, अपचलित रकम प्रकरणको यथार्थलाई उपन्यासले उजागर गरेको छ ।
निमुखा र निर्दोषहरूका पक्षमा बोलिदिने कोही छैन । कानुनमा खिया लागेको छ । सामान्य जीवन निर्वाह गरिरहेका नागरिकको जीवन आतंकले घेरिएको छ । छद्मी, रकमी, चटकहरूको रकमी नर्कमा कानुन चुर्लुम्म डुबेको भयानक दृश्य उपन्यासमा वर्णन गरिएको छ । उपन्सायसमा नेपालको विद्यमान कानुनी व्यवस्था र नागरिकलाई राज्यले गर्ने व्यवहार दर्शाइएको छ ।
बेथिति सहकारीमा मात्रै होइन सर्वत्र व्याप्त छ । निर्दोषहरू ठगिँदै आएका छन् । वास्तविक सहिद गुमनाम छन् । नक्कली सहिद भत्ता खाइरहेका छन् । ११ वर्षको केटालाई २१ वर्षको बनाएर कुखुरा चोरेको आरोपमा जेल हालिएको छ । गाडीले किचेर मान्छे मार्नेमाथि कुनै कारबाही भएको छैन ।

घटनालाई मोड्न रक्सी खाएको मान्छे आफैँ गाडीमा आएर ठोक्किएको भनी थामथुम पारिएको छ । प्रहरी प्रशासन शक्तिको आडमा सञ्चालित छ । कानुनले सफाइ दिएका एकजना पूर्वगुन्डानाइके इन्काउन्टरमा मारिएका छन् । पक्राउ परेका व्यक्ति बिरामीको बहानामा अस्पताल भर्ना भएका छन् । यतिसम्म कि ठगीको उजुरीकर्ता नै ठग छन् ।
न्याय पनि शक्तिशालीले मात्रै पाएका छन् । हरेक क्षेत्रमा राज्य आतंक छ । राजनीतिक रूपमा नागरिकले अधिकार पाए पनि कानुनी र सामाजिक रूपमा अनेक समस्यामा बाँच्नुपरको समकालीन नेपाली समाजको चित्र उपन्यासमा छ ।
आर्थिक रूपमा कमजोर, निमुखा हरेक क्षेत्रमा पिसिएका छन् । न्यायालय, प्रहरी प्रशासन, कर्मचारीतन्त्र सर्वसाधारणको पक्षमा छैन । लोकतन्त्रको उपभोग सम्पन्न र पहुँचवालाले मात्रै गरिरहेका छन् । मिटरब्याजी राज्यको संरक्षणमा छन् । सहकारी डुबाउनेहरू मुक्त भएका छन् ।
अपचलित, स्रोतविहीन ठूला रकमले गर्दा साना रकम भएकाहरू, दुःखजिलो गरेर, मकै पोलेर पेट पाल्नेहरू र श्रमिकका पसिनामूलक रकम जोखिममा परेको छ । यी घटनाक्रम नेपाली समाज, सहकारीहरूमा पछिल्लो समय विकृतिसँग मिल्दोजुल्दो छन् ।
उपन्यासका प्रमुख पात्र सरलकुमार अभिघातमा परेको छ । मित्रबाट धोका भएको छ । सपनाका कुरा छन् । स्वैरकल्पनाको व्यापक प्रयोग गरिएको छ । ‘नोस्टाल्जिया’का सन्दर्भलाई समयसापेक्ष रूपमा प्रस्तुत गरिएको छ । किशोरअवस्थामा आलु सिला खाजेर खाएको सन्दर्भ छ । कथानकमा पूर्वदीप्तिको प्रयोग धेरै ठाउँमा छन् । ‘शिशिर र वसन्तको कथा’ जस्ता लोककथाको विपठन गरिएको छ ।
यसरी उपन्यासमा समकालीन प्रवृत्तिलाई चित्रात्मक रूपमा प्रस्तुत गरिएको छ । कथानकमा संवाद शैली, पत्रको शैली, डायरीको शैलीको प्रयोग छ । कतै उपन्यासकार आफैँ कथा भन्न आइपुगेको छ ‘प्रिय पाठक’ भन्दै । उपन्यासमा संवाद छ, एकालाप छ, कविता छ । कुनै खण्ड निबन्धजस्ता छन् । स्वगत कथनको प्रयोग छ । साहित्यकारले मृत्यु वा स्वतन्त्रता के रोज्छ भन्ने विषयमा व्याख्यान छ । यो प्रसंग समालोचनाजस्तो लाग्छ । विषयवस्तुको निकै गहिराइसम्म पुगेका छन् लेखक ।
सरलकुमारले कुकुरसँग मित्रता गाँसेको छ । दुईवटा कुकुरले सरलकुमारसँग लुटुपुटु गरेका छन् । मानिस र जनावरको सम्बन्ध निकै कलात्मक रूपमा आएका छन् । मान्छे खराब भए पनि जनावरले बरु आफ्नो जिम्मेवारी वहन गरेको छ । द्रव्यक, कानुनमुखा, कानुनघर, कानुनदेवी, कालपात्रजस्ता अप्रचलित शब्दको प्रयोगले औपन्यासिक बान्कीलाई नवीनता प्रदान गरेको छ ।
देशमा विधिसम्मत ढंगमा कोही चलेका छैनन् तर सबैले विधिलाई आफूअनुकूल प्रयोग गरेका छन् । अहिले तपाईं हामीले गौर गरेर सोच्यौँ भने अवस्था ठ्याक्कै यस्तै छ । उपन्यासकारले समकालीन सन्दर्भ उनेर सिपालु ढंगमा कथा बुनेका छन् ।
अनलाइन समाचारका नाममा भ्रामक समाचारको खेती बढ्दो छ । कुसमाचार र भ्रामक समाचार प्रवाह हुँदा नागरिकलाई सही र गलत छुट्ट्याउन कठिन भएको छ । पत्रकारिताको यस्तो प्रवृत्तिको भण्डाफोर उपन्यासमा गरिएको छ ।
जीवनमा नखाएको विष लाग्दा के हुन्छ ? कहिल्यै नगरेको अपचलनको दोष लाग्दा मानसिक अवस्था कस्तो हुन्छ ? यिनै प्रश्नको उत्तर यो उपन्यासमा पाइन्छ । कथानकको अन्त्यमा मुख्य पात्र सरलकुमार यी सबै विकृतिका विरुद्ध विद्रोह गर्छु भनेर फुर्तिसाथ निस्किएको छ ।
उपन्यास पढ्दै जाँदा कतै संस्मरण जस्तो लाग्छ, कतै निबन्ध जस्तो लाग्छ । पात्रहरू न्यून छन् । एकालापमार्फत पात्रहरूको चित्र प्रस्तुत गरिएको छ । अस्तित्ववादी र निराशावादी चिन्तनबाट सरलकुमार ग्रसित छ । यसको गहिरो प्रभाव उपन्यासमा पाइन्छ ।
नारी पात्रको उपस्थिति शून्यजस्तै छ । सहकारीका नाइकेहरूले सामूहिक रूपमा एकजना महिलासँग अवैध सम्बन्ध राखेका छन् । त्यस्ता पात्रको पतन देखाइएको छैन । संघर्ष नै जीवन हो, संघर्षले मानिसलाई माथि पु¥याउँछ भन्ने सन्देश उपन्यासले दिन खोजे पनि परम्परागत नेपाली उपन्यासको क्रमसंगती भने यसमा छैन ।
समग्रमा, ‘सन्त्रासका ६० दिन’ रोशन थापा ‘नीरव’को प्रयोगशील उपन्यास हो, जसले सहकारी संस्थामा भएको आर्थिक अपचलन र त्यसले निमुखा नागरिकमा पारेको मनोवैज्ञानिक सन्त्रासलाई प्रस्तुत गर्छ । उपन्यासका प्रमुख पात्र सरलकुमार, एक निर्दोष साहित्यप्रेमी, सहकारीको रकम हिनामिनाको झूटो आरोपपछि भय र एकान्तमा ६० दिन गुप्तवास बस्छ ।
यही अवधिमा उसले समाज, राजनीति र न्यायप्रणालीप्रतिको निराशा पोख्छ । कृतिले सहकारी, मिटरब्याज, विधिको उपहास, भ्रामक पत्रकारिता, कानुनी अन्याय, शक्तिशालीहरूको दण्डहीनता जस्ता समसामयिक बेथितिलाई उजागर गर्छ ।
संवाद, डायरी, पत्र, एकालाप, कविता र निबन्धजस्ता शैली प्रयोग गरेर लेखकले कथा प्रयोगशील बनाएका छन्। कुकुरसँगको सम्बन्ध, स्वैरकल्पना, पूर्वदीप्ति र ‘नोस्टाल्जिया’का प्रसङ्गहरूले पात्रको मानसिक अवस्था चित्रण गर्छन्।
उपन्यासले भ्रष्ट व्यवस्था र सामाजिक असमानताविरुद्ध प्रतिरोधको चेतना जागृत गर्छ र अन्त्यमा सरलकुमार विद्रोहको प्रतीकका रूपमा उभिन्छ । यो कृति समकालीन नेपाली समाजको यथार्थ र अस्तित्ववादी सन्देश बोकेको छ ।