सन् १९०४ को प्रथम परीक्षणमा कसरी मात्र ४० सेकेन्ड र दोस्रोमा ५९ सेकेन्ड आकाशमा उडेर राइट दाजुभाइ पालैपालो धरतीमा ओर्लेका थिए त्यस दिन । आफ्नो प्रयोग र परीक्षणको अवलोकन गरिदिन भनेर त्यतिखेर थुप्रै थुप्रै मानिसलाई आमन्त्रण गरेका भए पनि साह्रै थोरै मान्छे मात्र उनीहरूको यो परीक्षण हेर्न उपस्थित भइदिएका थिए किन होला ? मान्छे उड्ने कुरा सायद नपत्याएर होला । विश्वास नभएर त होला ? मान्छेका काम अनि स्वभाव त्यसै छक्क लाग्छ ।
दक्षराज शर्मा
त्यस दिन वि.स. २०७० माघ २० गतेले भुंइमा पूरा उज्यालो खसाइसकेको थिएन । मेरो मनमा भने एक किसिमको तुलबुल माने उत्सुकता, उत्कण्ठा वा जिज्ञासा अटेस–मटेस भइरहेथ्यो । कारण आज कान्छा छोरा–बुहारी डोलेन्द्र र विष्णुको आमन्त्रणमा अस्ट्रेलियाको सिड्नीतर्फ उड्नुपर्ने छ । श्रीमती रेणु र म त सिड्नीका निम्ति विशेष पात्र भइहाल्यौं । जेठा छोरा गेहेन्द्र पनि हामीलाई पु¥याउने र भाइ भेट्ने उद्देश्यमा सरिक हुने भएका छन् । प्लेनको टिकट राति ११ बजेको रहेछ, यसर्थ साँझ ७ बजेतिर यात्रा निम्ति ठीक पारेका लगेजहरू सबै गाडीमा राखी माहिला छोराबुहारी गेहराज र सिर्जना अनि नाति आयुषसमेत भएर धुम्बाराही आवासबाट त्रिभुवन विमानस्थल पु¥याए ।
उता कोटेश्वरबाट गेहेन्द्र पनि बुहारी शकुन्तला र नाति, नातिनी अभिज्ञ एवं आभासहित आइपुगे । रेणुका भाइ सुरेश पनि आफ्ना दिदी–भिनाजुलाई विदा गर्न अघि नै उपस्थित थिए । उनी नागरिक उड्डयन प्राधिकरणका सिनियर ईन्जिनियर भएकाले अध्यागमनमा सबै काम सजिलै सम्पन्न गरिए । विदेश भ्रमणका निम्ति आवश्यक अनेकौं झन्झटिला प्रक्रिया महिनौं अगाडिदेखि तयार पारिएकै थिए । गन्तव्यतिर लम्किने हामी तीनजनालाई भित्र छिराएर अरु सबै फर्के । हामी उडान कक्षमा बसेर समय पर्खिन थाल्यौं । अन्तर्राष्ट्रिय उडानको प्रतीक्षात्मक कक्ष सुविधायुक्त नै रहेछ ।
रातको ठीक ११ः५० तिर हामी मलेसियन एयरको प्लेनभित्र छि¥यौं– रेणु, गेहेन्द्र र म । यथासमय प्लेन उड्यो पनि । रातको समय, झ्यालबाट यसो बाहिरतिर च्याउने कुरा पनि भएन । कता पूर्व कता पश्चिम ? एकैचोटि जहाज अवतरण हुन लाग्दा भनें झ्यालबाट सहरको झिलिमिली बत्ती निकै आकर्षक देखियो । हामी अब मलेसियाको क्वालालम्पुर उत्रिन लाग्दै रहेछौं । जहाजले आफ्नो गति कम गरेर धावन मार्गतिर उत्रिंदै गर्दा असाध्यैसित मेरो कान दुख्यो । कपास कोचेर पनि काम दिएन । यस्तो समस्या गेहेन्द्रका आमाछोराले पनि महसुस गरेछन् । प्लेनबाट ओर्लिसकेपछि भनें यो समस्या स्वतः समाप्त भयो ।
त्यो विशाल एयरपोर्टभित्र अब कताबाट कता छिर्नुपर्ने हो ? छोरा नभए त अलमल्ल परिने जस्तो लाग्यो तर अप्ठ्यारो बेहोर्नु परेन । प्लेनबाट ओर्लिनेबित्तिकै आफ्नो हातेघडी हेर्दा बिहानको ४ बजेछ– मलेसियाली समय त साढे छ भइसकेको रहेछ । सिङ्गो रात आँखा झपक्कसम्म नभएकाले शरीर केही क्लान्त जस्तो छ । योभन्दा पहिले यदाकदा केही छोटो दूरीका घरेलु उडानमा त सजिलो वा असजिलो यात्रा गरेकै हो । अन्तर्राष्ट्रिय उडानको ठूलो जहाज त बडो आरामदायी हुन्छ भन्ने सुनेको मात्रै थिए । तर यहाँ यो जहाजको वस्तुस्थिति त्यस्तो थिएन । अत्यन्तै साँघुरा बस्ने सिट, किन हो हल्लाएर, झङ्झङ्याएर उस्तै । तीन सयभन्दा बढी नै मानिस बोकेर उड्ने जहाजभित्रको यो कठिनाइ भोगेर चार घन्टे आकाश मार्ग बल्ल छिचोलिएको छ । अब अझ आठ घन्टाभन्दा बढीको आकाशमार्ग बाँकी नै छ । केही तनाव जस्तो बोकेर रेणु र म गेहेन्द्रका पछिपछि लुरुलुरु लम्किदै गर्दा त्यता कतै माथि भित्तोतिर पिलिक पिलक गर्दै देखें—४ फेबुअरी २०१४ । ए ! अब मेरो नेपाली क्यालेण्डर बदलिएछ भन्ने लाग्यो ।
गेहेन्द्रले यताउति बुझेर त्यो विशाल एयरपोर्टभित्रकै व्यवस्थित परिवहनको माध्यम आन्तरिक ट्रेनको डब्बाभित्र हुलेर अघिल्लो गन्तव्य पहिल्याए । पत्तै नपाई भनेजस्तै क्वालालम्पुरको हाम्रो २ घन्टे ट्रान्जिटको समय बितिसकेछ । मलेसियाली समय ८ः३० हुँदा नहुँदै अघिको भनौं कि हिजोको भन्दा अझ विशेष ठूलो जहाजभित्र हामीले प्रवेश पायौं । प्लेनले धावनमार्ग छोड्नेबित्तिकै त अन्तरिक्षबाट धरतीको सुरम्य फाँट देखिंदै ग¥यो – कता–कता नीलो समुद्रको परिदृश्य पनि । तर त्यो सबै बिस्तारैसित हराउँदै गयो । प्लेनले पूर्ण उचाइ लिइसकेपछि त गाउँबस्ती, सहर, पहाड–पर्वत, वनजङ्गल, खाडी, खोंच, नदीनाला, त्यो फराकिलो नीलो सागर केही पनि रहेन ।
अनुमानका भरको त्यो नक्सामूलक चिन्तनमात्र शेष रह्यो । अनन्त आकाशमार्गको एकोहोरो निरन्तरता छ । घरीघरी भने किन हो जहाज केही ढलपल गरेजस्तो पनि गर्छ तर हिजोको भन्दा यो कता हो कता सुविधायुक्त छ । हाम्रा प्रातःकालीन दैनिक विधान जहाजभित्रै सम्पन्न भैसकेका छन् । शाकाहारी नातामा उपलब्ध केही कट्याङकुटुङ् र पेय पनि निकै अघि भइसकेको हो ।
यतिखेर त उता पल्लोपट्टि सिटमा बसेका आमाछोरा दुवैले निदाएर हो कि त्यसै आँखा चिम्लेको देख्छु । जहाजभित्रका यात्रुहरू कतिपय किताबमा घोत्लिएका, कतिपय मोबाइल कि आइफोन घोचिरहेका र कति भने प्लेनको प्यासेजमा ओहोरदोहोर गर्दै रहेका पनि देखिन्छन् । यस्तो देखेपछि आफूले पनि कुनै किताब बोक्नुपथ्र्यो नि भन्ने लाग्छ । आफ्नो चाहिं गए रात पनि आँखा झप्किएका थिएनन् । आफ्नो बानी नै त्यस्तो कुनै पनि यानवाहनभित्र आजसम्म कहिल्यै आँखा लाग्ने गरेको छैन ।
अहिलेको यो आकाशमार्ग आठ कि साढे आठ घन्टाको हो । सुरुसुरुमा त केही रमाइलो जस्तो अनुभूति नभएको पनि होइन तर फेरि एकनासको उच्चाट लाग्दो यो आकाशमार्गको निरन्तरता, खै के भन्नु ? जहाज कता पुग्दैछ भन्ने कुरा बसीबसी हेर्न भ्याइने अघिल्लो सिटको पृष्ठ भागमा संश्लिष्ट संयन्त्रबाट थाहा हुने रहेछ । यो कुरा भर्खरै गेहेन्द्रबाट जानकारी पाएर मैले त्यतातिर दृष्टि केन्द्रित गरें । यसले मेरो पट्यारलाग्दो असजिलो कम गराउन मद्दत ग¥यो । त्यहाँ त धरतीको नक्सा जल वा स्थल अनि त्यसमाथि उड्दै गरेका जहाजमार्गको रेखा, जहाजको चित्र देखाइएको हुँदो रहेछ । ट्वाल्ल परेर हेरिरहें ।
अस्ट्रेलियाको मध्य भू–भागबाट एउटा सरल रेखामा जहाजको चित्र निरन्तर अघि सर्दैछ । झ्यालबाट यसो बाहिर तलतिर च्याउँदा भने ट्याम्मसित कपास ओछ्याएजस्तो बाक्लो बादलको सतह देखिन्छ । अनुमान गरें– पक्का पनि त्यो बादल धरतीभन्दा धेरै माथिको हो । अनि त्योभन्दा पनि निकै माथिको यो जहाजमार्ग, यो निराधार शून्यमा उड्दै गएर कसरी आफ्नो अवतरण ठम्याउनु ? के–कस्ता संयन्त्रहरू यसमा जडान भएका छन् र तिनको निर्देशन कसरी पालना भएको छ । यत्रो भारी–भड्कमको वस्तु निराधार अनन्त शून्य आकाशमा ?
एकाएक मेरो दिमाग बहकियो । के–के सम्झिंदा–सम्झिंदै म त मस्तराम भएर कैले न मैले भनेजस्तो सपनामा पनि नपुगेको संयुक्त राज्य अमेरिका पुगेंछु । कोलोराडोको त्यो उत्तरी भाग किटीहक भन्ने ठाउँ जहाँको जमिन बालुमय मरुस्थल जस्तो छ । जहाँ प्रायः सधैं तीव्रतर हावा बगिरहेको हुन्छ । अहिले म यस्तो अनकन्टार ठाउँमा राइट ब्रदर्सको जीवनी सम्झिंदै पुगें ।
दिवंगत भइसकेका यिनै दाजुभाइले अहिले मलाई तानेर यहाँ ल्याइपु¥याएका हुन् । सन् १८६७ को एउटा घमाइलो दिन इन्डियानामा जन्मेका दाजु विल्भर सन् १९१२ तिरै छोटो आयु ४५ वर्षमैं बिते पनि सन् १८७१ ओहायोमा जन्मेका भाइ ओर्भिल ७६ वर्ष बाँचेर आफ्नो आविष्कार चुलिएको उपलब्धिलाई अघाउँजी हेर्न, देख्न भ्याएर बितेका थिए । आज म आरामदायी सिटमा बसेर घन्टांै घन्टा उड्दै गरेको यो विमानका आदिम स्रष्टा यिनै दुई दाजुभाइ थिए यद्यपि उनीहरूको आविष्कारमा थप अध्ययन, अनुसन्धान र प्रयोगपछि नै आजको सिङ्गो संसारले यो अवस्थामा यसरी उड्न भ्याएको हो ।
५ सय मात्र होइन सो भन्दा माथि सम्म पनि मानव र अन्य थुप्रै थुप्रै सरसामान बोकेर यो नीलो आकाशलाई धावनमार्ग बनाउने जहाज राइट दाजुभाइकै प्रयत्नको पृष्ठभूमिमा त छ । यो उनीहरूकै युगान्तकारी देनको परिणाम त हो । सम्झिन्छु– अघि कुनैबेला शिक्षक भइटोपल्दा कक्षाकोठाभित्र पसेर विद्यार्थीमाझ कसरी गफ लडाइन्थ्यो ।
पाठ्यपुस्तक छँदै थियो, त्यसभित्र पसेर विधागत शीर्षकमा खेल्न पाएकै हुन्थ्यो । त्यहाँ आफ्नो अलिकति झिनो मसिनो सीप थपिन्थ्यो होला । त्यत्ति न हो । यहीँनेर आइपुग्दा सम्झना अझ आलो भएर नजिक आइपुग्छ– विज्ञान जगत्का राइट ब्रदर्स, अल्बर्ट आइन्सटाइन, नाट्य जगत्का अमर शिल्पी शेक्सपियर, कला जगत्का लियोनार्दो दा भिन्चीजस्ता महामानवका जीवनी कक्षाकोठाभित्र विद्यार्थी समक्ष मलाई उभ्याएर पढाउन प्रेरित गर्ने वरेण्य विद्वान् डा. तारानाथ शर्माको समादरमा मनमनै भएपनि निहुरिनु यतिखेर म आफ्नो कर्तव्य ठान्छु ।
सन् १९०४ को प्रथम परीक्षणमा कसरी मात्र ४० सेकेन्ड र दोस्रोमा ५९ सेकेन्ड आकाशमा उडेर राइट दाजुभाइ पालैपालो धरतीमा ओर्लेका थिए त्यस दिन । आफ्नो प्रयोग र परीक्षणको अवलोकन गरिदिन भनेर त्यतिखेर थुप्रै थुप्रै मानिसलाई आमन्त्रण गरेका भए पनि साह्रै थोरै मान्छे मात्र उनीहरूको यो परीक्षण हेर्न उपस्थित भइदिएका थिए किन होला ? एकातिर केही थोरै मान्छेका अनुसन्धानमूलक उच्चतम क्रियाकलाप अर्कोतिर सामान्य मान्छेको स्वभाव । मान्छे उड्ने कुरा सायद नपत्याएर होला । विश्वास नभएर त होला ? मान्छेका काम अनि स्वभाव त्यसै छक्क लाग्छ ।
अब हाम्रो अवतरणको समय आइपुग्यो कि जस्तो लाग्यो । जहाजको गति कम हँुदै गएको छ । एकैछिनपछि झ्यालबाट बाहिरतिर हेर्दा एकाएक सिड्नी सहरकै हुनुपर्छ– झल्झलाकार सायंकालीन बत्तीको चमक–दमक स्पष्टसितै देखिन थाल्यो । आफ्नो घडी हेर्छु साढे तीन मात्रै जस्तो देख्छु । यता भने साँझको पौने आठ बजेको थाहा भयो । नेपाली समयको घडी र यताको घडी किन मिल्नुपथ्र्यो र ? अब अहिले जहाज सिड्नीको अन्तर्राष्ट्रिय एयरपोर्टमा अवतरित भइसकेको छ । लगातारै जस्तो १२ घन्टा आकाशमा झुन्डिएर बल्ल सिड्नीको तातो न्यानो स्पर्श पाइयो ।
जहाजबाट सिंढी ओर्लिनै परेन । एउटा कोठाबाट अर्कोमा गर्दै बाहिर आइसकिएछ । यथास्थान कानूनतः चेकजाँच गराउँदै काउन्टरबाट आफ्ना पोका पुन्तुरा बुझेर घिसार्दै बाहिरी गेट पार गर्नेबित्तिकै अलि पर डोलेन्द्र, अर्जुनबाबु, सागरबाबु हाम्रै प्रतीक्षामा उभिइरहेका देखिए । तुरुन्तै अगाडि बढेर हाम्रा सामानसहित हामीलाई आफ्ना गाडीमा बसाएर गाडी हुइँक्याए ।