हालको सत्ता परिवर्तन केवल दल वा नेताको अदलाबदली होइन, बरु लामो समयदेखि सञ्चित जनआक्रोशको परिणाम हो । यो परिवर्तनले पुराना भ्रष्ट अनुहारलाई अस्वीकार ग¥यो र नयाँ पुस्तामा आशा व्यक्त ग¥यो । जनताले अब अर्को द्वन्द्व होइन, स्थिरता, सुशासन र विकास चाहन्छन् । त्यसैले, राजनीतिक दलले पूर्ण पुस्तान्तरण गरेर मात्र जनताको आकांक्षा पूरा गर्न सक्छन् । अन्यथा, सडक फेरि बोल्नेछ ।
हेमन्त मल्ल
नेपालको राजनीतिक यात्रा लामो समयदेखि निरन्तर उतारचढावले भरिएको छ । राणाशासनको अन्त्यदेखि पञ्चायत सम्म, २०४६ को जनआन्दोलन, २०६२÷६३ को दोस्रो जनआन्दोलन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म आउँदासम्म नेपाली जनताले आफ्ना अधिकारका लागि निरन्तर संघर्ष गरेका छन् । तर विडम्बना के भने यी सबै राजनीतिक परिवर्तनपछि पनि जनताले अपेक्षित सुशासन, पारदर्शिता र विकास देख्न पाएनन् । बरु दलभित्र मौलाएको भ्रष्टाचार, बेथिती, परिवारवाद र आसेपासेको हालिमुहालीले आम नागरिकलाई निरास तुल्याएको छ । हालैको सत्ता परिवर्तन केवल एउटा दलबाट अर्को दलमा सत्ता हस्तान्तरण मात्र होइन बरु लामो समयदेखि सञ्चित जनआक्रोशको बिस्फोट हो । यो परिवर्तन पुराना अनुहारको अस्वीकृति र नयाँ पुस्ताप्रतिको आस्था दुवैको परिणाम हो ।
नेपाली राजनीतिमा मौलाएको खुला भ्रष्टाचार बारे हामी सबै जानकार छौं । नेपालमा भ्रष्टाचार एउटा सामान्य प्रवृत्ति नभएर जीवनशैली जस्तै बनिसकेको छ । ठेक्कापट्टामा हुने कमीशनखोरी, राजस्व चुहावट, सार्वजनिक सम्पत्ति निजी स्वार्थमा प्रयोग तथा पार्टीगत भागबन्डामा हुने नियुक्ति, यी सबै नेपाली राजनीतिका पहिचानसरह भइसकेका छन् । जब नेताहरु आफैं भ्रष्टाचारमा संलग्न हुन्छन् र राज्य संयन्त्रलाई आफ्नो स्वार्थमा प्रयोग गर्छन् तब जनता निरास हुने मात्र होइन, आक्रोशित हुनु स्वाभाविक हो पनि ।
अर्कोतिर बेथिती र कुशासनको चपेटा उस्तै छ । भ्रष्टाचारसँगै बेथिती र कुशासनले मुलुकलाई थला पारेको छ । छिटो छोटो सरकार बदलिने अस्थिरताले दीर्घकालीन नीतिहरू कार्यान्वयन हुन पाएका छैनन् । संसद् र मन्त्रीहरुको प्राथमिकता जनताको आधारभूत आवश्यकताभन्दा पनि सत्ता टिकाउने गणितमा सीमित छ । नोकरशाहीमा राजनीतिक हस्तक्षेप बढ्दा प्रशासन सेवा उन्मुख नभई पार्टी उन्मुख बनेको छ । यसरी, शासन व्यवस्थामा नै जब कुशासन र अव्यवस्था बढ्छ तब जनतामा असन्तोष र आक्रोश स्वाभाविक रूपमा बढ्छ ।
परिवारवाद र आसेपासेको हालिमुहाली पनि हामीले भोग्दै आएको बेथिति हो । नेपाली राजनीतिमा अर्को गहिरो रोग भनेको परिवारवाद हो । ठूला दलका प्रमुख नेताहरु आफ्ना परिवारलाई मात्रै उत्तराधिकारी बनाउन खोज्छन् । पार्टीभित्र निर्णय क्षमता योग्य कार्यकर्तासम्म पुग्दैन, बरु आसेपासे चाटुकारहरूको घेराभित्र सीमित हुन्छ । राजनीति सार्वजनिक सेवा होइन, व्यक्तिगत व्यवसाय वा सम्पत्ति जस्तै प्रयोग हुन्छ । यसले नयाँ पुस्ता, दक्ष र इमान्दार कार्यकर्तालाई पछाडि धकेलिदिएको छ । परिणामतः नयाँ पुस्ता सडकमै निस्केर पुराना नेताको विरोध गर्न बाध्य भएको छ ।
जनआक्रोश र नयाँ पुस्ताको उदय पनि अर्को सोचनीय विषय बनेर उदाएको छ । लामो समयदेखि मौन रहेको जनआक्रोश अन्ततः विस्फोटक रूपमा बाहिर आयोविश्वविद्यालयका विद्यार्थी, युवा अभियानकर्मी, प्रवासी नेपाली, नागरिक समाजका प्रतिनिधिहरूले पुराना भ्रष्ट प्रवृत्तिको विरुद्ध आवाज उठाए । सामाजिक सञ्जाल र स्वतन्त्र सञ्चार माध्यमले भ्रष्टाचार र कुशासन उजागर गर्दा आन्दोलनले गति लियो । अन्ततः यसै जनआक्रोशको परिणामस्वरूप सत्ता परिवर्तन भयो । यसरी, नयाँ पुस्ताले नेतृत्व गरेको आन्दोलनलाई जनताले खुलेर समर्थन गरे, जसले पुरानो पुस्ता असफल भइसकेको स्पष्ट संकेत दियो ।
अब अर्को द्वन्द्व जनताले कदापि स्वीकार्दैनन् । नेपालले विगतमा धेरै राजनीतिक द्वन्द्व भोगिसकेको छ । २०४६ को जनआन्दोलन, २०६२÷६३ को दोस्रो जनआन्दोलन, १० वर्षे सशस्त्र द्वन्द्व र निरन्तर राजनैतिक अस्थिरता, यी सबैले नेपाली जनतालाई थकित बनाइसकेका छन् । अब उनीहरु अर्को द्वन्द्व हेर्न वा भोग्न चाहँदैनन् । उनीहरुको अपेक्षा सुशासन, पारदर्शिता र विकासमा मात्र केन्द्रित छ ।
पुस्तान्तरणको अपरिहार्यता नै आजको आवश्यकता हो । राजनीतिक दललाई जनताले दिएको सबैभन्दा ठूलो सन्देश भनेको पुस्तान्तरणको आवश्यकता हो । पुराना अनुहार, जो दशकमौदेखि केवल कुर्सी र स्वार्थमा अडिएका छन् अब जनताले अस्वीकार गरेका छन् । नयाँ पुस्तामा शिक्षा, प्रविधि, पारदर्शिता र सेवामुखी राजनीति गर्ने क्षमता छ भन्ने विश्वास गरिएको छ । यदि दलहरुले आफ्ना संरचना सुधारेर नयाँ पुस्तालाई नेतृत्वमा ल्याएनन् भने सडक फेरि अर्को विकल्प सिर्जना गर्नेछ । पुस्तान्तरण भनेको केवल उमेरको हेरफेर होइन सोच, शैली र कार्यपद्धतिको मूलभूत परिवर्तन हो ।
भविष्यका सम्भावना र बाटा के होला भन्ने सन्दर्भ केलाउँदा के देखिन्छ भने यदि दलहरुले जनताको सन्देशलाई गहिरो तरिकाले बुझे भने नेपालले नयाँ युगतर्फ प्रवेश गर्न सक्छ । त्यसका लागि निम्न कुरा आवश्यक देखिन्छन्ः (क) भ्रष्टाचारविरुद्ध कठोर कानुनी व्यवस्था कार्यान्वयन गर्ने, (ख) संवैधानिक निकायमा भागबन्डा होइन, योग्यताको आधारमा नियुक्ति गर्ने, (ग) शिक्षित, सक्षम र पारदर्शी युवा पुस्तालाई नेतृत्वमा ल्याउने वातावरण बनाउने, (घ) शावश्यकताका आधारमा विकास र सेवा वितरणलाई मुख्य प्राथमिकता बनाउने व्यवहारिक शासन प्रणाली, (ङ) कर्मचारीमा कार्यक्षमताका आधारमा जिम्मेवारी । यी सुधार नभए, फेरि अर्को आक्रोश निस्किने सम्भावना उच्च रहन्छ ।
अन्त्यमा नेपालको हालको सत्ता परिवर्तन केवल दल वा नेताको अदला–बदली होइन, बरु लामो समयदेखि सञ्चित जनआक्रोशको परिणाम हो । यो परिवर्तनले पुराना भ्रष्ट अनुहारलाई अस्वीकार ग¥यो र नयाँ पुस्तामा आशा व्यक्त ग¥यो । जनताले अब अर्को द्वन्द्व होइन, स्थिरता, सुशासन र विकास चाहन्छन् । त्यसैले, राजनीतिक दलले पूर्ण पुस्तान्तरण गरेर मात्र जनताको आकांक्षा पूरा गर्न सक्छन् । अन्यथा, सडक फेरि बोल्नेछ । नेपालको भविष्य अब पुराना अनुहारसँग होइन, नयाँ सोच, नयाँ पुस्ता र सेवामुखी नेतृत्वसँग मात्र सुरक्षित छ ।
राजनीतिक दलमा मौलाएको खुल्ला भ्रष्टाचार, बेथिती, परिवार र आसेपासेको हालिमुहालीका कारण जनतामा चरम असंतुष्टी र आक्रोश बढेको थियो । जसका कारणले नया पुस्ताले नेतृत्व गरेको विरोधको समर्थनमा निस्किएको नेपाली जनताको आक्रोशको प्रतिफलका कारण भएको सत्ता परिवर्तन भएको हो । अब भविष्यमा अर्को द्वन्द नेपालीले हेर्न र भोग्न चाहेका छैनन् । भ्रष्टाचार, कुशासनको साम्राज्य स्थापित गरेका ती पुराना भ्रष्ट अनुहार नेपाली जनताले हेर्न चाहेका छैनन् । जनताको आकांक्षा पूरा गर्न राजनैतिक दलहरु पनि पुस्तान्तरण हुन जरुरी छ ।