हामीले ‘शोले’ हेरेको सिनेमा हलको पर्दा यति ठूलो थियो कि दर्शकले पूरा फिल्म हेर्न दायाँबाट बायाँ र बायाँबाट दायाँ टाउको घुमाउनुपर्थ्यो । यस्तो अनुभव सुनाउने व्यक्ति हुन्, नेपालका पुराना फिल्म पत्रकार र ‘शोले’का ठूलो प्रशंसक विजयरत्न तुलाधर ।
विजयरत्नको यो अनुभव ती सबै नेपाली दर्शकको साझा अनुभव हो, जसले आफ्नो बालापन वा किशोरावस्थामा फिल्म मोहका कारण २०० किमि टाढासम्म यात्रा गरेर भारतसम्म पुगी फिल्म हेर्ने गर्थे । उनले यो फिल्म हेर्न बाबाको गोजीबाट केही रुपैयाँ चोरेर काठमाडौंबाट रक्सौल पुगेका थिए । त्यो बेला अभिनेता धर्मेन्द्रको कुनै टिप्पणीबाट रिसाएका कारण नेपालमा उनको फिल्म प्रतिबन्धित थियो । त्यसैले ‘शोले’ पनि काठमाडौंमा प्रदर्शन हुन सकेन ।
‘शोले’ ५० वर्षअघि १५ अगस्त १९७५ मा रिलिज भएको थियो । यसको विशेषता के हो भने फिल्म रिलिज भएको पाँच दशक बितिसक्दा पनि भारतमा मात्र होइन, नेपालमा मात्र होइन, जहाँ जहाँ यो प्रदर्शन भयो, त्यहीँ त्यहीँ अहिलेसम्म यसलाई सम्झन्छन् । भारतमा अवधी र खडी बोलीको मिश्रित भाषा बोल्ने ‘शोले’को डाका गब्बर सिंह, भारतमा मात्र होइन, इरानजस्ता देशमा पनि आजसम्म ‘जब्बर सिंह’को नामले प्रसिद्ध छ ।
इरान–इराक युद्धमा शोले इरानमा भिडियो क्यासेट रेकर्डर (भीसीआर) राख्न प्रतिबन्ध थियो, तैपनि धेरै मानिसहरू ‘शोले’ हेर्न अनेक जुगाड गर्थे । यो ८० को दशकको कुरा हो । भारतमा ‘शोले’ रिलिज भएको केही वर्षपछि इरान–इराक युद्ध शुरु भयो । इरानी दर्शक कैतेयून केजेलबाश भन्छिन्, ‘त्यो बेला हामीकहाँ भीसीआर राख्नसमेत पाइँदैन थियो । अनेक जोगाड गरेर गोप्य रुपमा भिडियो टेप हेर्ने व्यवस्था मिलाइन्थ्यो र बन्द कोठामा अनेक फिल्म हेर्थ्यौ । त्यस्तै अवस्थामा हामीले ‘शोले’ हेरेका थियौं । त्यसमा वीरु र जयको मित्रता र तिनको रमाइलोले हाम्रो मन जित्यो ।’ उनी भन्छिन्, ‘जब रंगीन कपडा लगाएकी बसन्ती खाली खुट्टा गब्बरका अगाडि नाच्थिन्, म पनि मेरो कोठामा घुम्दै नाच्थें, मानौँ क्यामेराले मलाई नै खिचिरहेको होस् । युद्धको अनिश्चितता र डरका बीचमा हामीजस्ता केटाकेटीका लागि यो एउटा खुशीको पल हुन्थ्यो । ‘शोले’ मेरा लागि फिल्म मात्र थिएन, यो त इरानी बालापनको अमूल्य हिस्सा थियो ।’
बच्चाहरूको खेल, को बन्ने गब्बर नेपाल, इरान मात्र होइन, बाङ्लादेशमा पनि ‘शोले’का प्रशंसक कम छैनन् । ढाका निवासी फरजाना बारी भन्छिन्, ‘९० को दशकताका हामी सबैजसो बालबालिकाहरू परिवारसँग भीसीआरमा ‘शोले’ फिल्म हेर्थ्यौ । गब्बरको चरित्र यस्तो मज्जाको थियो कि बच्चाहरूलाई धेरै मन पर्थ्यो ।’ फिल्म हेरिसकेपछि बालबालिकाहरू कोही जय बन्थे, कोही बीरु बन्थे, कोही बसन्ती अनि कोही भने गब्बर सिंह । अनि उनीहरू हेरेका दृश्यहरू दोहोर्याउने गर्थे ।
अनुपमा चोपडाको किताब ‘शोलेः द मेकिङ अफ ए क्लासिक’ का अनुसार, ‘स्क्रिप्ट लेखक जावेद अख्तर यो गीत फिल्ममा समावेश गर्न सहमत थिएनन् । उनीहरूलाई लाग्थ्यो कि बीहडका डाकु गब्बर सिंहको चरित्रअनुसार यस्तो गाना हेर्दा सुहाउँदैन ।’ गीत सुनिसकेपछि भने जावेदले यो निकै राम्रो भएको पाए । धर्मेन्द्र र हेमालाई यो फिल्ममा नचाउने लागेको थियो तर निर्देशक रमेश सिप्पी र अन्यलाई भने यो जोडाको गीत भन्दा पनि अरु नै हिसाबले फिल्मांकन गर्नु उचित हुन्छ भन्ने लाग्यो ।
पाकिस्तानमा बिक्थे, संवादका टेप ‘शोले’
पाकिस्तानी सिनेमा हलमा वर्षौंसम्म रिलिज नभए पनि यसको १२० मिनेट लामो अडियो टेप पाकिस्तानमा किन्न पाइन्थ्यो । खाडी देशमा वैदेशिक रोजगारीमा गएका नातेदारहरू फर्कंदा अडियो टेप उपहारस्वरुप लिएर आउँथे । त्यो टेप गाउँभरि बज्थ्यो । बजाउँदाको शानको के कुरा !
त्यसैले पनि यसका संवादहरू मुखाग्र हुन्थे । एम. एलियास खानले एउटा अनुभव सुनाउँदै भने, ‘मलाई एउटा साथीले कार किन्न सघाएको थियो । केही दिनपछि उनले फोन गरेर सोधेका थिए– तिम्रो धन्नो कस्तो चलिरहेको छ ?’
‘शोले’ फिल्ममा बसन्तीले चलाउने टाँगा तान्ने घोडीको नाम धन्नो हो । पाकिस्तानमा सन् २०१५ मा ‘शोले’ रिलिज हुँदा दर्शकहरूले हलमा गब्बर, वसन्ती, जय र वीरुका संवादहरू पात्र सँगसँगै दोहोर्याइरहेको दृश्य हेर्न लायक थियो । आखिर के कारणले भाषा, देश र संस्कृतिको दूरी पार गरेर ‘शोले’ यति लोकप्रिय भयो त ?
इरानी मिडिया इतिहासकार बहरूज तोरानी भन्छन्, ‘असीको दशकमा इरानमा सरकारले नाचगानमाथि प्रतिबन्ध लगाएको थियो । तैपनि ‘शोले’ इरानमा धेरै प्रसिद्ध भयो किनभने जुन कुराहरूमाथि प्रतिबन्ध लगाइएको थियो, ती सबै कुरा ‘शोले’मा थिए ।’
‘इरानीहरूलाई ‘शोले’को रोमान्स, नायकत्व, गाना धेरै मन पर्यो । साथै भारतीय फिल्महरूको ‘लार्जर द्यान लाइफ’ देखाउने शैली पनि मन पर्यो ।’ शोले प्रदर्शनको ५० वर्ष पूरा भएपछि एउटा इरानी अखबारले हालै शोले फिल्ममाथि पूरा एक पृष्ठ समर्पित गरेको थियो । अखबारले फिल्मको कथा, गीत र केही दृश्यहरूका बारेमा विस्तारपूर्वक चर्चा गरेको थियो ।’
तीमध्ये एउटा दृश्य अमिताभ बच्चन र जया बच्चनको बीचको हो । उक्त दृश्य खिच्न २० दिन लागेको थियो । जय (अमिताभ बच्चन) हरेक साँझ हार्मोनिका बजाउँछ र प्रायः मौन रहने राधा (जया बच्चन) हरेक साँझ झैं त्यो साँझ पनि बालकनीमा लालटिनको उज्यालो निभाउन आउँछिन् । लालटिनको त्यो धमिलो उज्यालोले दुवै बीचमा हुर्कंदै गरेको सम्बन्धलाई देखाउँछ । यो सहानुभूति, मित्रता र प्रेमको बीचमा कतै केही छ । दुवैको बीचमा कुनै संवाद हुँदैन, तैपनि त्यो दृश्यले धेरै कुरा भन्छ ।